२३ वर्षदेखि राज्यसँग न्याय माग्दै द्वन्द्वपीडित पुर्णप्रसाद !
नेपालगञ्जको धम्बोजी चोकबाट बर्दिमा आएका हतियारधारी व्यक्तिहरूको समूहले २०५८ मङ्सिर १४ गते वीरेन्द्रनगर नगरपालिका–६ का ६८ वर्षीय पुर्णप्रसाद पौडललाई गिरफ्तार गर्यो । उहाँलाई हात बाँधेर आँखामा पट्टी लगाई जङ्गलभित्र लगियो । त्यो जङ्गल अरु ठाउँ नभएर बाँके स्थित नेपाली सेनाका भीमकाल गुल्म चिसापानी ब्यारेक थियो । त्यहाँ लिएर उहाँलाई क्रुर यातना दिइयो । त्यो यातना उहाँलाई १८ महिनासम्म निरन्तर दिइयो । यतिसम्मकी खुट्टामा फलामले पेल्ने, पैतला चिर्ने र औँलामा पिन घोचेर यातना दिइयो । उहाँलाई नेपाली सेनाले माओवादीलाई सहयोग गरेको आरोप लगाएर त्यस्तो यातना दिएको थियो । उहाँ सुर्खेतमा बसेर यातायातका क्षेत्रमा काम गर्नुहुन्थ्यो । पुर्णप्रसाद मध्यपश्चिम जीप तथा ट्याक्सी यातायात व्यवसायी सङ्घका अध्यक्ष हुनुहुन्थ्यो । उहाँका दुई ओटा गाडी पनि थिए ।
सोही वर्षको पुस २४ गते पौडेलको वीरेन्द्रनगरस्थित ७० जना सेनाको समूह आएर घर घेर्यो । १० जनाले उहाँको पत्नीलाई बलात्कार गरे । बजारमा भएको पसल तहस नहस गरे । दुई ओटा बोलेरो गाडी लिए । त्यस्तै विद्यालयमा गएका छोरा छोरीलाई कक्षाकोठाबाट निकालेर मरणासन्न हुनेगरी कुटपिट गरे । त्यसको केही महिनापछि पुर्णप्रसादका कान्छा छोरा नारदको मृत्यु भयो । सेनाबाट बच्नका लागि पढ्दै गरेका १४ र १५ वर्षीया दुई जना छोरीलाई आफन्त मिलेर बालविवाह गराइदिए । उहाँको घरमा राखेको ५ लाख रुपियाँ समेत सेनाले लुट्यो । २०७४ सालमा जेठो छोरा राजेन्द्रले पनि नदीमा हामफालेर आत्महत्या गर्नुभयो ।
१८ महिनापछि २०६० साल जेठ ५ गते पौडेल इन्सेकको पहलमा हिरासतमुक्त हुनुभयो । तर, उहाँको शरीर पुरै अपाङ्ग भइसकेको थियो । भेरी अञ्चल अस्पतालमा उपचार सम्भाव नभएपछि उहाँलाई इन्सेककै समन्वयमा काठमाडौँको न्युरो अस्पतालमा उपचार गरियो । पुर्णप्रसाद बल्लतल्ल आँखा देख्न सक्ने हुनुभयो । अझैपनि उहाँका हातखुट्टा र ढाड कमजोर छन् । बिहान बेलुका औषधि नखाएर उहाँलाई निन्दा लाग्दैन । उहाँकी पत्नीको अवस्था पनि त्यस्तै छ । त्यही बेलाको असरका कारण पाठेघर नै फाल्नुपर्यो । दुबै जना अहिले नियमित औषधि सेवन गर्छन् । उपचारमा उहाँलाई समस्या परिरहेको छ । घर धितो राखेर उपचार गरिरहेका पुर्णप्रसादसँग घरबाहेक अरु केही सम्पत्ति छैन । अहिले आर्थिक सहयोग मागेर उनीहरू औषधि खान्छन् । तर, उहाँको यो पीडामा राज्यले मलम पट्टी लगाउन सकेको छैन । बरु राज्यले अटेर गरेर विभिन्न निकायबाट भएका आदेशहरूलाई समेत व्यवास्ता गरिरहेको छ ।
पुर्णप्रसादले भन्नुभयो - ‘यातायात व्यवसायमा लागेर आफ्नो जीवन चलाइरहेको थिएँ । दुई ओटा गाडी थिए । पसल थियो । डाँडा स्कुलको व्यवस्थापन समितिको अध्यक्ष थिएँ । मेरो जीवन राम्रै चलिरहेको थियो । नयाँ गाडी किन्नका लागि नेपालगञ्ज गएको बेला एकाएक मलाई बिना कसुर आर्मीले गिरफ्तार गरेर १८ महिनासम्म यातना दियो । मेरी पत्नीलाई बलात्कार गरे । मेरो पसल, पैसा लुटे, छोराछोरीलाई कुटे ।’
आयोग र अदालतको आदेश कार्यान्वयन हुँदैन
पुर्णप्रसाद आफू र आफ्नो परिवारलाई क्रूर यातना दिनेलाई कडा कारबाही, उपचार गर्न, लुटिएको सम्पत्तिको क्षतिपूर्तिका लागि दुई दशकदेखि न्याय प्राप्तिको यात्रामा हिँडिरहनुभएको छ । आफ्नो सर्वस्व गुम्दा पनि उहाँका लागि न्याय महङ्गो परेको छ । अहिले पौडेल राष्ट्रिय मानव अधिकार आयोगले दिएको सिफारिस पत्र, उच्च अदालत सुर्खेतले दिएको आदेश हातमा समाउँदै जिल्ला प्रशासन कार्यालय र विभिन्न निकाय धाइरहनुभएको छ । तर, पनि पौडेलले अझै न्याय पाउनु भएको छैन ।
‘पत्नी पनि बिरामी भइरहन्छिन् । म अहिलेसम्म पनि अपाङ्ग छु । दुई छोरा सेनाकै कुटाइले गर्दा मानसिक समस्यामा परेर मृत्यू भयो । गाडी, पसल र नगद लुटेर मेरो सर्वस्व गुम्दा पनि राज्यले अझै न्याय दिएको छैन । मेरो र पत्नीको उपचारमा ३० लाखभन्दा बढी खर्च भइसक्यो । न पीडकलाई कारबाही भएको छ नत मलाई क्षतिपूर्ती नै मिलेको छ । ०६१ सालदेखि निरन्तर लाग्दा पनि न्याय पाउन सकेको छैन । अब सरकार मलाई मृत्युदण्ड देउ’ – उहाँले भन्नुभयो ।
आफू र आफ्नो परिवारलाई यातना दिने नेपाली सेना भीमकाल गुल्म चिसापानी ब्यारेकका तत्कालीन मेजर अजित थापा, सोही गुल्मका तत्कालीन क्याप्टेन रमेश स्वाँर र सुर्खेतको मंगलगढी ब्यारेकका तत्कालीन जमदार रामबहादुर महत दोषी भएको भनी अदालतले कारबाही सिफारिस गर्दा पनि उनीहरूलाई कारबाही नभएको उहाँको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोग र सत्यनिरुपण तथा मेलामिलाप आयोगले पनि पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको भन्दै गृह मन्त्रालयलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो । यस घटनामा संलग्न सैनिक अधिकृत अजित थापा, रमेश स्वाँर र रामबहादुर महतलाई कारबाही गर्न र उनीहरूका निःशुल्क उपचारको व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ । तर, उक्त आदेश हालसम्म पनि कुनै निकायले कार्यान्वयन गरेका छैनन् ।
२०६४ सालमा पौडेलले सुर्खेत जिल्ला प्रहरी कार्यालयमा सम्पत्तिको मुचुल्का गरिदिन र पत्नीलाई बलात्कार गरेका सेनाका तत्कालीन जमदार रामबहादुर महत विरुद्ध किटानी जाहेरी दिनुभएको थियो । सम्पत्ति जफतको मुचुल्का पनि भयो । बलात्कार जाहेरी दर्ता भएन । त्यसलगत्तै २०६६ सालमा उहाँले तत्कालीन सुर्खेत पुनरावेदन अदालतमा पुनरावेदन गर्नुभयो । सम्पत्ति जफतको परिपूर्ति र लडाइँमा घाइते भएको भन्दै उपचार गर्ने फैसला भयो तर यो फैसला अझैसम्म कार्यान्वयन भएको छैन । त्यस्तै २०७१ सालमा पौडेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभयोे । त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले परिपूर्ति भनेर ३ लाख रुपियाँ र घाइते भएकालाई उपचार गर्न २ लाख रुपियाँ सिफारिस गर्यो । त्यो पनि सिफारिसमै समिति बन्यो । यही जेठमा उहाँले उच्च अदालत सुर्खेतमा समेत जिल्ला प्रहरी कार्यालय सुर्खेतका तत्कालीन प्रहरी उपरिक्षकलाई विपक्षी बनाएर पीडकको विषयमा जाहेरी लिनुपर्ने मागसहित रिट दर्ता गर्नुभयो । अदालतले ०८१ कात्तिक २० गते जाहेरी दर्ता गर्नुपर्ने आदेश दिएको छ । तर, प्रहरीले उक्त मुद्दाको विषयमा हेडक्वाटरबाटै आदेश आउनुपर्ने भन्दै जाहेरी लिएन । त्यति मात्र होइन पसल गर्दा र उपचार गर्दा लागेको ऋण बढिरहेको छ । उपचारका लागि बैङ्कमा राखेको घरको ऋण बढेको बढेको छ । बैङ्कले ताकेता गरिहेको छ । घर लिलाम हुने अवस्थामा रहेको पौडेलले बताउनु भयो ।
उहाँले आफ्नो पीडा सरकारमा आउने हरेक प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई कहिल्यै हुलाक त कहिल्यै भेटेरै सुनाउनुहुन्छ । तर, उहाँको पीडामा कसैको चासो जाँदैन । बरु उहाँलाई सिंहदरबारभित्र छिर्न बन्देज लगाइन्छ । धेरै पटक सिंहदरबार बाहिरैबाट फर्किएको उहाँले सुनाउनु भयो ।
‘यी सबै कागजात र आफ्नो पीडा देशका प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई हुलाक र प्रत्यक्ष भेटेर भन्छु । कसैले वास्ता गर्दैनन् । कसैले फेरि पार्टीको सदस्यता काट भन्छन् । बालकृष्ण खाण गृहमन्त्री भएको बेला सिंहदरबार गएर कुरा गरे । त्यहाँबाट मलाई सुरक्षाकर्मी लगाएर बाहिर पठाइयो । त्यसयता त त्यहाँभित्र जानै बन्देज लगाए’ - उहाँले भन्नुभयो ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…