१९ वर्षदेखि पतिको पर्खाइमा बस्दै बाँसगढीकी धनकुमारी थारु

रुपन्देही । ०८१ असार १८ गते

सैनामैना नगरपालिका–११, बाँसगढीकी धनकुमारी थारु उमेरले ५४ वर्ष हुनुभयो । सामान्य परिवारकी थारुको जेनतेन परिवार चलेको थियो । थारुका पति कमलप्रसाद चौधरी भारतमा काम गर्नुहुन्थ्यो । सबै राम्रै चलेको थियो । ०६२ भदौ ६ गते भारतबाट घरमा आउनुभएको थियो । उहाँ माइत अमुवा गाविस हालको सियारी गाउँपालिकामा जानुभएको थियो । उहाँको साथमा तीन वर्षीय छोरा र एक वर्षीया छोरी थियो । थारु भन्नुहुन्छ, 'भारतबाट आएपछि भदौ ११ गते ससुराली जान्छु भनेर मलाई भेट्न घरबाट हिँड्नुभएको रहेछ, बाटोमा तीन जना साथी पनिसँगै रहेछन् । खाजा खाएर अमुवा जाँदा बाटैबाट तत्कालीन शाही सेनाले लगेछ । त्यत्ति बेला फोन थिएन, त्यसपछि कता लगे के गरे अहिलेसम्म पत्तो छैन । सरकार मेरो पति खै ? मैले कहिले न्याय पाउँछु ?'

उतिबेला फोन थिएन । उहाँले घटना घटेको १५ दिनपछि मात्र थाहा पाउनुभयो । घरमा तीन दिनपछि मात्र थाहा भएको रहेछ । जताततै खोज्नुभएर कहीँ केही पत्तो भएन । एक दिन रामापुर खोलाको छेउमा एउटा लास छ भनेर खबर आयो । त्यहाँ हेर्न जाँदा त्यो लास पनि गायव गराएका रहेछन् । को थियो ? कस्तो अवस्थामा थियो ? केही थाहा भएन उहाँलाई । यसरी उहाँको केही पत्तो नभएपछि घरका सासु, ससुरा सबै परिवारले यो अलछिनीले मेरो छोरा खाइ भने, तँ अलछिनाले गर्दा मेरो काख रित्तियो भनेर धेरै गाली गलौज गर्न थाले । छोरा तीन वर्षको थियो । छोरी एक वर्षकी थिइन् । उहाँको आम्दानी केही थिएन । जुन कमाउने मान्छे हो, उहाँको पत्तो थिएन । घरका सबैले उहाँलाई गाली गर्थे ।

छोरा छोरी साना थिए, एकातिर पति बेपत्ता अर्कोतिर घरपरिवारको यातना । नाबालक छोराछोरीलाई पनि नानाथरी गाली गरे । तर पनि सहनु बाहेक उहाँको केही लाग्दैनथ्यो । घरमा दिनदिनै जसो गाली गलौज र पीडा दिन थालेपछि दुई नाबालक छोरा छोरी बोकेर माइत जानुभयो । उहाँको माइतीको अवस्था पनि धेरै राम्रो थिएन । माइतमै बसेर मेलापात, मजदुरी गरेर साना छोराछोरीलाई हुर्काउनुभयो । उहाँले भन्नुभयो,'मैले के सम्म गरिन, खोलामा गिटी बालुवाको काम गरेँ । अरुको खेतमा काम गरेर माइतमै बसेर छोरा छोरी हुर्काएँ । अहिले छोरा विए र छोरी विए दोस्राे वर्षमा पढ्दैछन् ।'

राज्यको तर्फबाट त्यही १० लाख रुपियाँ पाएको उहाँ बताउनुहुन्छ । कक्षा ६ देखि १२ कक्षासम्म छात्रावृत्तिमा होस्टलमा राखेर उहाँले पढाउनु भयो । बाबु फुटवल र नानी तेक्वादो खेल्थ्ये । कोभिडले अस्त व्यस्त पारिदियो । आर्थिक अवस्थाका कारण निरन्तरता दिन सकेनन् । राज्यले पनि हेर्दैन । यस्तै छ । आफ्नो मान्छे गुमाएपछि आफन्त र आफ्ना भनिएका पनि सबै पराई हुँदा रहेछ । दुखेको मुटुमा झन् भाला रोप्दा रहेछन् । कसरी यो अवस्थामा पुगे‌ं यही मनलाई थाहा छ । पति गुमाएको भए पनि घरपरिवार छ । दुःख र पीडामा साथ दिन्छ भन्ने थियो । अहिले झन् हुर्केका छोराछोरीलाई विभिन्न आरोप लगाउँदा एउटी एकल आमाको मन कस्तो हुन्छ होला ।

१९ वर्ष बितिसके अहिलेसम्म पनि आफ्नो मान्छेको अवस्थाका विषयमा राज्यले केही नगरेको देख्दा र म जस्ता पीडितले सत्य जान्न नपाउँदा जतिको पीडा के नै होला र । कहिलेसम्म बेपत्ता परिवारको सदस्य भएर बाँच्नु, बेपत्ता परिवारको सदस्य भएकै कारण सामाजिक सुरक्षा सेवाबाट पनि वञ्चित हुनुपरेको छ । गाउँका मान्छेले धेरै गाली गरेपछि सुकुम्बासी जग्गा ६ कट्ठा दिएका छन् । केही गर्न परे बैङ्कमा धितो राखेर केही गर्न सक्ने अवस्था उहाँको छैन । के गर्नु कसरी बाँच्नु कसरी जीविका चलाउनु रूदै उहाँले भन्नुभयो ।

यति लामो समयसम्म माइत बसेर कसरी दिन कटाउनुभयो होला, नाबालक छोरा छोरीलाई कसरी हुर्काउनुभयो होला उहाँले । सधैँ माइतीको आसमा बस्दा धेरै कुरा काट्ने, लोग्ने भए पो जाओस, घरकाले वास्ता गर्दैन सधै माइतै बस्ने त हो भनेर छिमेकीले कुरा काट्ने गरेको उहाँको गुनासो छ । सरकारले आफूहरूलाई सधैँ बेपत्ता परिवार भनेर हिँड्ने बनाएको उहाँले बताउनु भयो ।

सानै उमेरमा उहाँको विवाह भयो । कलिलै उमेरमा दुई साना नाबालक सन्तानलाई हुर्काउनुपर्‍यो । अहिलेसम्म जति दुःख सहे पनि यति लामो समय भयो । आफ्नो पतिको जेजस्तो अवस्था हो आफूले जान्न पाउनुपर्ने उहाँको भनाइ छ । न्याय पाउनुपर्छ । क्षतिपूर्ति र परिपूरणको व्यवस्था होस् । उहाँले भन्नुभयो,'मासिका र केयर गेयर पढेको छु । सरकारले रोजगारीको व्यवस्था गरोस् । राज्यले पनि विभेद गर्‍यो । राजनीतिक पहुँचको आधारमा व्यवहार हुँदो रहेछ । मासिका पढेका सबै जसोलाई अनमी पढायो । आफूलाई केही गरेन । जहाँ पनि पैसा र पद हेरिदो रहेछ । सबैले बलेको आगो ताप्दा रहेछन् ।'

सरकारले बेपत्ताका परिवारको सदस्यको परिचयपत्र दिएको छ । तर त्यसको कुनै काम आएको छैन । न बसले छुट दिन्छ न अन्य केही कामको लागि काम गर्दछ । यसरी सरकारले पीडितको आँखामा छारो हालेर पीडितलाई झन् पीडित बनाएको उहाँले बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालीन विद्रोहीबाट भएका घटनाहरूको इन्सेकले अभिलेख गरेको बताउनु भयो । उहाँले उनीहरूको न्यायमा पहुँच पुर्‍याउनका लागि विभिन्न सरोकारवाला निकायहरूलाई जवाफदेही बनाउने, सङ्क्रमणकालीन मुद्धाहरूलाई छिटो भन्दा छिटो टुङ्याउनका लागि पैरवी गरिरहेको बताउनु भयो । निर्देशक गौतमले विस्तृत शान्ति सम्झौता भएको ६० दिन भित्रमा सङ्क्रमणकालीन न्यायका घटनाहरू टुङ्ग्याउनुपर्ने भने पनि लामो समय न्याय नपाउँदा पीडित झन पीडित हुनुपरेको बताउनु भयो । सरकारले विभिन्न आयोगहरू निर्माण गरे पनि पीडितको रेकर्ड राख्ने भन्दा अन्य काम गर्न नसकेको बताउँदै सरकारले विभिन्न समिति बनाउने, कार्यविधि बनाउने र कार्यविधि बनाएर अगाडि बढेकोले ढिलो चाडो न्याय पाउने उहाँले बताउनु भयो ।

वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले सशस्त्र द्वन्द्वका समयमा भएको मानव अधिकार उल्लङ्घनको घटनामध्ये बलपूर्वक बेपत्ता पार्ने कार्य गम्भीर अपराध भएकोले विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सङ्क्रमणकालीन घटनाहरूको टुङ्गाे लगाइसक्नुपर्ने भने पनि आज १८ वर्षसम्म जस्ताको तस्तै हुनु दुःखद भएको बताउनु भयो । वरिष्ठ अधिवक्ता गौडेलले सरकारले दुई ओटा आयोग गठन गरेको भए पनि राजनीतिक नियुक्तीका कारण टुङ्गोमा पुर्‍याउन नसकिएको उल्लेख गर्नुभयो । सरकारले अहिले पनि तीन सदस्यीय राजनीतिक समिति गठन गरेर मस्याैदा र विधेयकलाई सहमतिको आधारमा टुङ्गो लगाउने भनेको र त्यो गलत भएकोले यस्ता मानव अधिकारको गम्भीर विषयलाई संसदमा सबै सांसदहरूको बीचमा छलफल गरेर टुङ्गो लगाउन र लामो समय हुँदा पीडितको साक्षीको पनि मृत्यु भइसकेकोले अब ढिला गर्नु भनेको न्याय नपाउनु सरह भएको बताउनु भयो ।

- रीमा बिसी