हेयभाव र भेदभावका कारण एचआइभी सङ्क्रमितमा थप पीडा

२०८० चैत ५

बुटवल उपमहानगरपालिका–११ की पुष्पा थापा ३७ वर्षकी हुनुभयो । थापाका दुई सन्तान छन् । पुष्पाका पति भारतमा काम गर्नुहुन्थ्यो । परिवारको खुशीका लागि मुग्लान गएका पति चार वर्ष अगाडि बिरामी परेपछि घर फर्कनु बिरामी पतिलाई पुष्पाले लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्नुभयो । चेक जाँच गर्दा एचआईभी पोजेटिभ देखियो । यो घटनाले पुष्पा बेचैन हुनुभयो । पुष्पाले आफूलाई समाल्न निकै कठिन भयो । पुष्पा भन्नुहुन्छ, 'बरु ऋण लागोस दिन नलागोस भन्थे, मलाई ऋण र दिन सबै लाग्यो ।' पतिलाई एचआइभी भएपछि चिकित्सकहरूले पुष्पालाई पनि एचआइभी जाँच गर्न सुझाब दिए । जाँचमा पुष्पालाई पनि एचआइभी पोजेटिभ देखियो । पुष्पाले आँखा भरी आँसु झार्दे भन्नुभयो के गर्नु पतिले पैसा कमाउलान छोरा छोरीको राम्रो शिक्षा दिक्षा होला भन्ने थियो । पतिले पैसा होइन रोग उपहार दिए । दुई वर्ष अगाडि पतिको मृत्यु भयो । आफू त मरेर जानुभयो । मलाई पनि जीउँदै मारेर जानुभयो । समाजले अहिले पनि फरक व्यवहार गर्छन । छोराछारीका साथीहरू पनि खेल्न आउँदैनन् । छोराछोरी दुवै नेगेटिभ छन् । तर पनि समाजले हेर्ने दृष्टिकोण अझै फेरिएको छैन् । दुई वर्षदेखि एआरभी औषधि खान सुरु गरेको छु । मेरो के गल्ती थियो र तर समाजले मलाई दोष देखाउँछ, सुक्क सुक्क गर्दे बोल्न सक्नुभएन् ।

मर्चवार गाउँपालिका-६ की संझना यादव ४२ वर्षकी हुनुभयो । भारतको मुम्वाईमा कोठीमा काम गर्ने पति मार्फत एचआईभी सङ्क्रमित हुनुभएकी यादवले एचआईभी भएकै कारण समाजमा धेरै समस्या खेप्नु परेको दुखेसो पोख्नुभयो । संझना भन्नुहुन्छ, 'मेरो के दोष थियो र एचआइभी हुनुमा, तर समाजले मलाई किन दोषी ठान्छ ।' आँखाभरी आँसु टिलपिल गर्दै थप्नुभयो, 'मर्न धेरै कोशिश गरे, छोरा छोरी हेरेर मर्न नि सकिन बाँचेर बाँचे जस्तो छैन् । सबैले हेला गर्छन, स्कुलमा पनि मेरो बच्चाहरूलाई तेरो बाआमालाई एचआइभी रोग छ रे भनी होच्याउँछन् । थाहा छैन कतिदिन बाँचिन्छ ।'

देवदह नगरपालिका-११ की मसिना खत्री ३८ वर्षकी हुनुभयो । खत्रीको सात जनाको परिवार छ । मध्यम वर्गीय खत्री दिनभरी खेतीपातीमै रमाउनुहुन्छ । खत्रीका पति सार्वजनिक बस चालक हुनुहुन्छ । तीन वर्ष अगाडि खत्री गर्भवती हुनुभयो । गर्भवती हुँदा एचआइभी जाँच गर्दा उहाँलाई एचआइभी पोजेटिभ देखियो । गर्भवती खत्रीसँगै उहाँका पतिको पनि एचआइभी जाँच गरियो पति पनि पोजेटिभ भएको र गर्भमा रहेको बच्चालाई सङ्क्रमणबाट जोगाउनका लागि औषधि सेवन गरेर एचआइभी नेगेटिभ जन्माउन सकिन्छ भनेर लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टरले सल्लाह दिनुभयो । डाक्टरको सल्लाह अनुसार औषधि खाएपछि उहाँको बच्चा नेगेटिभ देखियो । खत्री भन्नुहुन्छ, 'मेरो बच्चालाई एचआइभी छैन, तर पनि समाजले थाहा पाए हेला गर्लान भन्ने पीरले पिरोल्छ । मेरो के दोष थियो र यो सजाय भोगिरहेको छु ।'

पुष्पा,संझना र मसिना त प्रतिनिधि पात्र मात्र हुन यस्ता आफूले जोखिम व्यवहार नगरी एचआइभीको शिकार भएका धेरै निर्दोष महिलाहरू छन् । जसले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका जीवन साथीबाट धोका खाएर पटक पटक मरेर बाँचिरहेका छन् । उनीहरूलाई गल्ती नभई सजाय पाइरहेकोमा र समाजले लगाउने लाञ्छनाले घरी घरी बेचैन बनाउँछ र सन्तानका लागि सङ्घर्ष गर्नुपरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको विगत चार वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आ.व. ०७७/७८ एचआईभी भएर एआरटी खानेको सङ्ख्या १ हजार ४ सय ८७ जना र सोही वर्ष नयाँ पत्ता लागेको सङ्ख्या १ सय ५७ जना, ०७८/७९ मा १ हजार ६ सय ३३ जना सङ्क्रमितले एआरटी सेवन गर्ने भए भने १ सय ८७ जना नयाँ पत्ता लागेको, ०७९/८० मा १ हजार ७ सय ४८ जनाले एआरटी सेवन गर्ने सङ्ख्या र नयाँ पत्ता लागेको १ सय ८६ जना, आ.व. ०८०/८१ माघसम्म १ हजार ८ सय ९ जनाले एआरटी सेवन गर्छन भने १९ जना नयाँ सङ्क्रमित पत्ता लागेको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका एचआईभी फोकल पर्सन रिशव श्रेष्ठले बताउनु भयो ।

एचआइभी एडसको आ.व. ०७९/८० मा प्रादेशिक रुपमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी बागमती प्रदेशमा ८ सय ८३ जना र सबैभन्दा कम कर्णली प्रदेशमा ५६ जनामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कले देखाउँछ । त्यसैगरी मधेश प्रदेशमा ६ सय ६ जना, कोशी प्रदेशमा ३ सय ८१ जना, गण्डकी प्रदेशमा २ सय ४६ जना, लुम्बिनी प्रदेशमा ३ सय ३९ जना, सुदुरपश्चिम प्रदेशमा २ सय ५२ जना र राष्ट्रियस्तरमा ३ हजार ४६ जनामा एचआइभी सङ्क्रमण भएको राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन राम प्रसाद भट्टराईका अनुसार अहिले लुम्बिनी प्रदेशका १५ ओटा स्वास्थ्य संस्थाहरूबाट ४ हजार ५ सय ९८ जनाले नियमित रूपमा एआरटी सेवन गरेको बताउनु भयो ।

देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रहरूबाट आ.व. २०७४/७५ मा १६ हजार ४ सय २८ जनाले उपचार लिएको, आ.व. ०७५/७६ मा १७ हजार ९ सय ८७ जनाले, आ.व. ०७६/७७ मा १९ हजार २ सय ११ जना, आ.व. ०७७/७८ मा २० हजार ८ सय ८३ जनाले, आ.व. ०७९/८० मा २४ हजार २ सय ३७ जनाले उपचार सेवा लिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको जनाएको छ । सरकारी तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या घटेपनि उपचार सेवा लिनेको सङ्ख्यामा भने कमी आएको देखिँदैन । सरकारले पाँच वर्षभित्र आमाबाट बच्चामा हुने एचआइभी सङ्क्रमणको अन्त्य गर्ने लक्ष्य राखेको अनुरुप सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

देशभर आमाको पेटमै सङ्क्रमित भएको सङ्ख्या करिब १ हजार ३ सय रहेको छ । यसमा भर्खरै जन्मिएका शिशुदेखि १४ वर्षसम्मका बालबालिका रहेको र कुल सङ्ख्याको ४ दशमलव २ प्रतिशत रहेको राष्ट्रिय यौनरोग नियन्त्रण कार्यालय टेकुको तथ्याङ्कमा उल्लेख छ । एचआइभी सङ्क्रमित गर्भवती महिलाको सङ्ख्या २ सय १६ छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजार रहेको उल्लेख गरेको छ । जसमध्ये महिला सङ्क्रमित १३ हजार र पुरुष १६ हजार र १४ वर्ष मुनीका बालबालिकाहरू १ हजार जना रहेका छन् । केन्द्रले वार्षिक ७ सय ५४ सङ्क्रमित थपिने जनाएको छ । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्र महिला १ हजार १ सय २३ जना, पुरुष १ हजार ७ सय ८३ जना, टान्सजेण्डर १ सय ४० जनामा १४ वर्ष मुनीका बालबालिका ९४ जना १५ देखिका युवाहरू २ हजार ९ सय ५२ जनामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन आठ ओटा छ । सातै ओटा प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र रहेका छन् । नेपालमा एचआइभीको उच्च जोखिममा सुइद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरू समेत एचआइभीको उच्च जोखिममा रहेका छन् । एचआइभी सङ्क्रमितहरूलाई औषधिको पहुँच बढाउनको लागि ८५ ओटा एआरटी केन्द्र स्थापना गरी ४६ डिस्पेन्सिङ्ग एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको छ ।

एचआइभी एडस रोकथामका लागि सरकारले नीतिको दिर्घकालीन सोँच बनाएर नेपाललाई एचआइभी र एड्स तथा यौन रोगमुक्त समाजको रूपमा स्थापित गर्ने, नीतिको निर्दिष्ट लक्ष्य एचआइभीको सङ्क्रमण दरलाई कम गर्दै यसबाट पर्ने नकरात्मक असरलाई न्यूनीकरण गर्दै नागरिकको स्वस्थ जीवन जीउनका लागि प्रत्याभूत बनाउने बताएको छ ।

त्यस्तै राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१ र २०२६ को निर्माण गरी नेपालमा एचआइभी तथा एड्स सम्बन्धि क्रियाकलापहरू राष्ट्रिय एचआइभी रणनीतिक योजनाले निर्देश गरे अनुरुप सञ्चालित छन् । जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने परिकल्पना लिएर अगाडि बढेको छ । नेपालमा हरेक दिन एक जना मानिसहरू एचआइभी सङ्क्रमित हुने गरेको अनमान गरिएको छ ।

- रीमा बिसी