हुम्लाका विस्थापितहरू भन्छन्, सक्छौ भनेछिट्टै घरमा फर्काइदेऊ

दुर्गा थापा

१५ भाद्र ०६२

"पेटभरी आफूले खान पाए पो यसले पनि पेटभरी दुध खान पाउँछ", सात महिनाकी छोरीलाई देखाँउदै बेला भण्डारीले भनिन्, "घरमा जाऊँ, बास छैन, यहाँ खाने गाँस छैन । यसरी हामी कति दिन बाँच्ने हो, त्यो पनि ठेगान छैन ।"

हुम्ला जिल्ला, श्रीनगर गाविस-१ की बेला भण्डारीको छजनाको परिवार सुर्खेत झरेको अढाइ वर्षबितिसकेको छ । जनयुद्धको विरुद्धमा लागेको आरोपमा माओवादीले सर्वस्वहरण गरेपछि भण्डारीको परिवार सुर्खेतमा झरेको हो । यस बीचमा भण्डारी परिवारले न कुनै संघसंस्थाबाट सहयोग पाए, न त सरकारबाट राहत नै । एकसरो कपडाको भरमा सुर्खेत झरेकी ४५ वर्षीय बेलाको दुःख सुर्खेत झरेकै दिनदेखि सुरु हुँदै गएपनि डेढ वर्षम्म भने श्रीमान्को खरिदार जागिरको पेन्सन र छोराको मजदुरीले उनीहरूको साँझ/बिहानको छाक टारेको थियो । तर श्रीमान् धनु भण्डारी काम विशेषले र कमाइ गर्ने छोरा दलु पनि कामको खोजीमा गत वर्षकाठमाण्डौ गएदेखि बेखबर हुँदा भण्डारीको परिवारमा दुःख झन् थपिएको हो ।

सुत्ने, खाने र बस्ने स्थानको उचित व्यवस्था नहुँदा दूधे बालिका र आफू प्रायः जसो बिरामी परिरहने गरेको बेला बताउँछिन् । विद्यालय जाने उमेरका उनका दुईजना छोराहरू १४ वर्षीय शिव र १२ वर्षीय दीप अहिले मजदुरीको खोजीमा भौँतारिन बाध्य भएका छन् । धेरैजसो भोकभोकै बस्नुपरेकाले कुपोषित तथा ख्याउटे अनुहार भएका आफ्ना छोराहरूतर्फहेरी गहभरि आँसु झार्दै बेला माओवादीसँग प्रश्न पनि गर्छिन्, "यो कस्तो जनयुद्ध हो,हामीजस्ता गरिब निमुखाले घरमा बस्न नपाउने र भोकभोकै दिन बिताउनुपर्ने -"

अहिले सुर्खेतमा नारकीय जीवन बिताइरहने भण्डारी परिवार एक्लो हैन, कालिकोट जिल्ला, ओदानकु गाविसका हंसबहादुर मल्लको परिवारका १४ जना, हुम्ला जिल्ला, कालिका गाविस-६ का मुनसिंह बुढाको परिवारका आठजना तथा हुम्लाकै श्रीनगर गाविस-४ का नरबहादुर फडेरा पनि यहाँ विस्थापित जीवन जीउन बाध्य छन् । सुर्खेतमा बाह्य जिल्लाका १६० र आन्तरिक २४२ भन्दा बढी घरपरिवारका झण्डै २१ सय जनाले यस्तै नियती भोग्नु परेको आँकलन छ ।

दुई वर्षअघि सुर्खेत झरेदेखि नै वीरेन्द्रनगर नगरपालिका-१, बाङ्गेसिमलमा बसेका हुम्लाका मुनसिंह बुढा र नरबहादुर फडेरा भन्छन्, "यहाँ यस्तो बिजोग बेहोर्नु भन्दा कोही सक्छौ भने छिट्टै घरमा फर्काइदेऊ, भोकभोकै मर्नु परे पनि घर आगँनमै मर्न पाइने त थियो ।" आफ्ना १८ वर्षीय छोरा कुलबहादुर बुढालाई ०५९ कार्तिक १२ गते आफैलाई खाल्डो खन्न लगाएर जिउँदै खाल्डोमा पुरिदिएको घटना सम्झँदा अहिले पनि भक्कानिने मुनसिंहले अगाडि भने, "गुमाउने गुमाइसक्यौं, पाउने दुःख पनि भोगिसक्यौं । हामीले यो व्यथा कसैलाई भनेर केही पनि पाउँदैनौं, अब माओवादी हामीलाई घर र्फकन नरोक ।" मुलुकमा पहिलो पटक लागू गरिएको संकटकालपछि हुम्लाबाट मात्रै एक दर्जन घरपरिवारका ८० जना भन्दा बढी मानिस विस्थापित भई सुर्खेतमा झरेको र उनीहरूले पनि सुर्खेतमा हाल आफूहरूले जस्तै नारकीय जीवन बिताइरहेको पनि बुढाले बताए ।

-