हाम्रो पीडामा सरकारले मलम लगाउन सकेन !

बर्दिया । ०८१ मङ्सिर २९ गते

‘मेरो जिन्दगीमा निको नहुने घाउ लागेको छ । सायद मेरा घाउहरूको उपचार गर्ने कुनै औषधी बनेको छैन । पीडाको अर्थ भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । देख्ने र सुन्नेहरूले केवल सान्त्वना दिन मात्र सक्छन् । तर सान्त्वनाले पीडामा मलमको काम गर्दैन’ - बाँसगढी नगरपालिका–२, लखनाकी २१ वर्षीया निरा थारुको भनाइ हो । द्वन्द्वले दिएकोे पीडाका बारेमा निराको यो भनाइ सामान्य अभिव्यक्ति होइन । यी अभिव्यक्ति भित्रको पीडा बेग्लै छ । कथा बेग्लै छ । सङ्घर्ष बेग्लै छ । दुःखहरू बेग्लै छ । मनमा चल्ने अन्तरद्वन्द्व बेग्लै छ । कपाल काट्छु र छोराहरूको लागि औषधि पनि लिएर आउँछु भनेर घरबाट निस्किनु भएका २१ वर्षीय सन्तराम थारुलाई २०५८ साल चैत १० गते सेनाले बेपत्ता पारेको थियो । हालसम्म पनि थारुको अवस्थाको बारेमा परिवार अन्योलमा नै छ ।

निरा भन्नहुन्छ – ‘बुबा बेपत्ता हुँदा म आमाको गर्भमा रहेकी थिएँ रे । बुबा बेपत्ता भएको ६ महिनापछि मेरो जन्म भयो । जान्ने बुझ्ने भएपछि आमा भनेर थाहा पाएकी हुँ ।’ बुबा बेपत्ता भएको २१ वर्षको हुँदा समेत राज्यले बुबाको न लाश देखाउन सक्यो न ज्यान । आफ्नो बुवाको मुख देख्न नपाएको भन्दै उहाँले दुखेसो पोख्नुभयो । उहाँको बुबा बेपत्ता भएपछि घरको जिम्मेवारी आमाको काँधमा आइपरेको उहाँ बताउनुहुन्छ । 'जसोतसो आमाले दाई र मलाई हुर्काउनु भयो । आर्थिक अवस्था कमजोर भएकोले हामीले खासै पढ्न पाएनौँ । दाई कमाउन भारत जानु भएको छ । आमा र म घरमा छौँ । मैले कक्षा १० सम्म मात्र पढ्न सकेँ । म अहिले गाउँको पसलमा सिलाईकटाईको काम गर्छु । बेपत्ता बुबाको आशमा आमा बसेको देख्दा चिन्ता लागेर आउँछ । बुबा नहुँदा परिवारले अनेक समस्या सामाना गर्नु परेको छ । घरमा मूल देउता पुज्ने, चाडपर्व समेत राम्रोसँग नमाएको वर्षौँ भएको छ । परिवारको अन्य सदस्यले संस्कार अनुसारले दाह्रसंस्कार गर्नुपर्छ भन्छन् । तर आमा मान्नुहुन्न’ – निराले भन्नुभयो ।

बेपत्ता हुनेमा बढी विपन्न र किसान परिवार 

द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले द्वन्दकालमा बेपत्ता पारिएका व्यक्ति मध्ये अधिकांश गाउँका नागरिक रहेका, पहुँच नभएका सोझा र गरिबहरू बेपत्ता पारिएको बताउनु भयो । उहाँले भन्नुभयो - ‘शान्तिपूर्ण जनआन्दोलन भएको पनि १९ वर्ष हुन लाग्यो । द्वन्द्वरत दुबै पक्ष सदनमा छन् । अब द्वन्द्वपीडितहरूको मुद्दा टुङ्ग्याउने गरी काम गर्न जरुरी छ ।’
द्वन्द्वरत समयका सरकार पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीले शङ्काको रुपमा बेपत्ता पार्ने काम गरेको देखिन्छ । बेपत्ता पर्नेहरूमा विपन्न, किसान तथा ग्रामीण शिक्षाको पहुँचमा नभएका व्यक्तिहरू बढी छन् ।

नेपालको संविधानको धारा ४२ (सामाजिक न्यायको हक) उपधारा (५ ) मा नेपालमा लोकतान्त्रिक परिर्वतनको लागि भएका सङ्घर्षका क्रममा ‘ जीवन उत्सर्ग गर्ने सहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवार लोकतन्त्रमा यौद्धा द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मान सम्मानसहित शिक्षा स्वास्थ्य रोजगारी आवास र सामाजिक सुरक्षामा कानुनबमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुने व्यवस्था रहे

संविधानको धारा ४२ (५) मा नेपालमा लोकतान्त्रिक परिवर्तनको लागि भएका सङ्घर्षका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा प्राथमिकताका साथ अवसर पाउने हक हुने व्यवस्था रहे पनि सो अधिकारको अनुभूति पीडितहरूले गर्न पाएका छैनन् । बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ पनि ३ पटक संशोधन भएर प्रमाणित भए पनि पीडितले न्याय पाउन सकेका छैनन् ।

शान्ति सम्झौता भएको १८ वर्ष हुँदा समेत बेपत्ताको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद भएको निरा थारुको धारणा रहेको छ । थारु भन्नुहुन्छ - ‘बुबा नहुँदा हाम्रो परिवारले अनेक कष्ट सहनु पर्‍यो । अहिले पनि घरमा चाडपर्व आउँदा मन खिन्न हुन्छ । हाम्रो परिवारले धार्मिक, साँस्कृतिक, सामाजिक र कानुनी जटिलताका कारण भोग्दै आउनु परेको छ । तर सरकारले हाम्रो पीडा बुझ्न सकेन, हाम्रो पीडामा सरकारले मलम लगाउन सकेन वा चाहेन ।’

अब निराको मुख्य माग भनेको सत्य थाहा पाउने र परिपूरणको माग हो । सरकारले पीडित केन्द्रित न्यायभित्र सत्यतथ्य जान्न पाउने अधिकार र परिपूरण पाउने अधिकारलाई पहिलो प्राथमिकतामा राख्ने निरा थारुको धारण रहेको छ । बेपत्ता बुबाको बारेका सत्य थाहा पाएपछि दोषीलाई सजाय दिने वा माफी दिने भन्ने सजायको लागि कानुनी प्रकृयामा जाने उहाँको भनाइ रहेको छ । अब निराको एउटै चाहना छ – 'बेपत्ता परिवारको हैसियतले राज्यले परिपूरणको ज्ञारेन्टी गर्ने र द्वन्द्व पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षाका ज्ञारेन्टी हुनुपर्छ । मैले जस्तै कसैले पनि बिना कारण बुबा गुमाउन नपरोस् भन्ने लाग्छ । बुबाको याद झन् बढी आउँछ । अब हामीले बुबाको बारेमा सत्य थाहा पाएर हामीले न्याय पाउनुपर्छ ।’

- प्रकाश पौडेल