हत्या गरिएका शिक्षकको परिवारले क्षतिपूर्ति नपाएको गुनासो, गृहको निर्णय आएको छैन–प्रशासन

मोरङ्ग । ०७८ पुस २५ गते

वि.स. ०७७ मङ्सिर २३ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाँउपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या गरेको ०७८ मङ्सिर २३ गते एक वर्ष पुरा भएको छ ।

तर, शिक्षक श्रेष्ठको परिवारलाई नेपाल सरकारले क्षतिपूर्ति भने हालसम्म उपलब्ध नगराएको पीडित परिवारले जनाएको छ । पतिको अपहरण पश्चात हत्यापछि तत्कालीन समयमा सरकारका प्रतिनिधिले पीडित परिवारले न्याय र क्षतिपूर्ति पाउने बताए पनि घटनाको भएको वर्ष दिन बितेपनि क्षतिपूर्ति पाउन नसकेको शिक्षक श्रेष्ठकी ५४ वर्षीया पत्नी धनकुमारी श्रेष्ठले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले भन्नुभयो– घटना भए लगत्तै सरकारका प्रतिनिधि र जनप्रतिनिधिले क्षतिपूर्ति दिने भन्नुभएको थियो, हालसम्म क्षतिपूर्ति पाएको छैन, बरू बाढीपीडितले क्षतिपूर्ति पाएँ ।

Rajendra Shrestha

पतिको हत्यापछि साविक बसोवासबाट विस्थापित भएर मिक्लाजुङ गाउँपालिका–२ मा छोराबुहारीसँग बसोवास गरीरहेको धनकुमारी श्रेष्ठले बताउनु भयो ।

पतिको हत्यापछि नेपाल सरकारले क्षतिपूर्ति दिने र त्यसका लागि जिल्ला प्रशासन कार्यालय मोरङले गृह मन्त्रालयलाई शिक्षक श्रेष्ठको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन चिठी लेखेको भएपनि गृहले चिठीको जबाफ हालसम्म नदिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताउनु भयो ।

गाउँपालिकाले क्षतिपूर्ति नदिने तर सङ्घीय सरकारले दिने क्षतिपूर्ति कहिले आउँछ भन्ने जानकारी गाउँपालिकामा आउने भएकाले आफू पटकपटक गाउँपालिका पुग्ने गरेको धनकुमारी श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो–स्थानीय सरकार समक्ष गुनासो लिएर धेरै पटक पुगेँ, गाउँपालिका अध्यक्षसँग भेटेर क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरे, तर अहिलेसम्म केही भएको छैन ।

धनकुमारी श्रेष्ठले भन्नुभयो-सरहरू क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं भन्नुहुन्छ, खै के गर्दै हुनुहुन्छ।’ गाउँपालिकामा गएर सोध्दा हुँदैहोला भन्ने जबाफ आउने गरेको छ । बरू बाढी पीडितले क्षतिपूर्ति पाउँछन्, हाम्रो त खै के हो ।’

पतिको हत्या भएको तत्कालीन समयमा शहीद घोषणा गर्ने, परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि हत्या भएको दुई दिनपछि ०७७ मङ्सिर २५ गते पतिको शव बुझेर मिक्लाजुङ गाउँपालिका–७ बक्राहाघाट(मलामीटहरा) मा अन्त्येष्टि गरिएको धनकुमारी श्रेष्ठले बताउनु भयो ।

घटनापछि थातथलोबाट विस्थापित

शिक्षक श्रेष्ठको हत्यापछि पीडित परिवारले मिक्लाजुङ गाउँपालिका–१ को थातथलो छाडेर हाल मिक्लाजुङ गाउँपालिका–२ मा बसोवास गरिरहेको छ । पतिको हत्यापछि डर र भयले बर्खे छाडेर हिँड्नु पर्‍यो–धनकुमारीले इन्सेककर्मीको फोन सम्पर्कमा भन्नुभयो ।‘बर्खेमा पति र म बस्थ्यौ, खेतीपाती र बाख्रापालन थियो, सबै छाडेर हिड्नु पर्‍यो, पतिको हत्यापछि त्यहाँ फर्केर जान सकेको छैन।’ मिक्लाजुङ गाउँपालिका–२ मा छोरा–बुहारीसँग बसिरहेको छु । घटनापछि बर्खेको खेतबारी पीडित परिवारले छिमेकीलाई जिम्मा लगाएको छ ।

पहल जारी छ, उपलब्धि छैन

मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले राजेन्द्र श्रेष्ठका परिवार क्षतिपूर्तिका लागि बुझ्न आउने गरेको बताउनु भयो । अध्यक्ष आचार्यले भन्नुभयो,‘ क्षतिपूर्ति कहिले पाउँछौं भनेर पीडित परिवारले सोध्नुहुन्छ, हामीले पहल जारी छ भन्ने मात्र जबाफ दिन सकेका छौँ, ठोस उपलब्धि भएको छैन । अध्यक्ष आचार्यले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल समक्ष क्षतिपूर्ति दिने भए दिनु पर्‍यो, हैन भने भएन भन्नु पर्‍यो भनेर प्रश्न गर्दा पहल भइरहेको जबाफ पाउने गरेको बताउनु भयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले गृह मन्त्रालयलाई क्षतिपूर्तिका लागि लेखेर पठाएको बताउनु भयो । उहाँले भन्नुभयो–घटना लगत्तै क्षतिपूर्तिका लागि गृहलाई पत्र पठाइएको हो, गृहबाट यसबारे ठोस निर्णय भएर आएको छैन ।

३५ जना आरोपितविरूद्ध मुद्दा दर्ता

मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको ०७७ मङसिर २३ गते अपहरणपछि घाँटी रेटेर हत्या गरिएको घटनाको आरोपमा प्रहरीले लुम्बिनी, कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा, थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भनिने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने, सङ्खुवासभा, मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ, केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा, गौरीगञ्ज गाउँपालिका–१ का २६ वर्षीय सञ्जय राई, भोजपुर, षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भनिने पुष्पलाल चौलागाई, धनकुटा शहीदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भनिने नविन राई, धनकुटा,पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर, काभ्रेपलाञ्चोक,चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भनिने माधव गौतम, सङ्खुवासभा, चैनपुर नगरपालिका– ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भनिने युवराज राई, भोजपुर, ट्याम्केमैयुम गाउँपालिका–७ का ४१ वर्षीय भीम भनिने कुमार राई, खोटाङ, दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्ब, महाकुलुङ गाउँपालिका– १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरू भनिने पेम्बा शेर्पा, ओखलढुङ्गा,लिखु गाउँपालिका–७ का ३१ वर्षीय अमृत सागर भनिने योगेन्द्र बस्नेत, गोरखा, अजिरकोट गाउँपालिका–४ की ४२ वर्षीया शिलु भनिने उमा भुजेल, झापा, दमक नगरपालिका–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु, सोताङ गाउँपालिका–१ का ३५ वर्षीय बालकुमार राई भनिने राकेश राई, भोजपुर,रामप्रसादराई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भनिने मिलन राई, सङ्खुवासभा चैनपुर नगरपालिका–४ मैदानेका २२ वर्षीय नाती भनिने बासन राई, ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भनिने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिका–१ का २३ वर्षीय लुङ्गा भनिने सुदम लुङखिम्बा (लिम्बू) , भोजपुर पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ का २९ वर्षीय सङ्ग्राम भनिने पूर्णबहादुर लिम्बू, धनकुटा, धनकुटा नगरपालिका–१ का २४ वर्षीय आशिष भन्ने विक्रम राई, मोरङ मिक्लाजुङ गाउँपालिका–१ का २२ वर्षीय बिर्जुम भनिने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का २५ वर्षीय विशाल लिम्बू, ताप्लेजुङ, फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय सङ्गम आङदम्बे, भोजपुर पौवादुङमा गाउँपालिका–४ की २४ वर्षीया अनुस्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भनिने जितमान राई, ४५ वर्षीय अविनाश भनिने डम्बर मगर र मिक्लाजुङ गाउँपालिका–८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । विप्लवको निर्देशनमा जितेन्द्र महरासहित ६ जनाले अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ । मुद्दा दायर गरिएका आरोपितहरूमध्ये संखुवासभा, मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रहरीले ०७७ माघ ७ गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको छ । विकको मुद्दा अदालतमा चलिरहेको छ ।

आरोपितमध्ये एक जना गिरफ्तार, मुद्दा अदालतमा

शिक्षक श्रेष्ठको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले सङ्खुवासभा, मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विकलाई ०७७ माघ ७ गते मोरङको बुढीगङ्गा गाउँपालिका–४ बाट गिरफ्तार पर्‍यो । प्रहरीले ३५ जना विरूद्ध ०७७ फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता पर्‍यो । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको तत्कालीन समयमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ३५ जना नेता तथा कार्यकर्ताविरूद्ध प्रहरीले जिल्ला अदालत मोरङमा अपहरण र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०७७ फागुन १० गतेको आदेशले आरोपित विकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सुराकीपछि हत्या–मेचीकोशी व्यूरो

शिक्षक श्रेष्ठको हत्या पार्टीका गतिविधि सुराक गरेको आरोपमा गरिएको तत्कालीन प्रतिवन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेचीकोशी व्यूरो इञ्जार्च प्रतापले ०७७ मङ्सिर २३ गते प्रेस वक्तव्य जारी गर्दै घटनाको जिम्मा लिएका थिए । पार्टीका गतिविधि प्रहरीलाई सुराक गरेको, वि.स.०७६ फागुन २६ गते पार्टीको मेचीकोशी व्यूरो बैठकका क्रममा प्रहरीलाई सूचना दिएर दमन गरेको, ०७७ कात्तिक १२ गते व्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेशन गराई व्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तारी गराएको साथै १ लाख रुपियाँ लुट्न सघाएको आरोपमा शिक्षक श्रेष्ठको हत्या गरिएको इञ्चार्ज प्रतापले बताए । पार्टीका गतिविधि प्रहरीलाई सुराक नगर्न शिक्षक श्रेष्ठलाई पटकपटक चेतावनी दिएको र ०७७ मङ्सिर २३ गते घरमै गएर सम्झाउन खोज्दा हतियारसहित आक्रमणमा शिक्षक श्रेष्ठ आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको सो पार्टीका मेचीकोशी व्यूरो इञ्जार्च प्रतापले प्रेस वक्तव्यमार्फत घटनाको जिल्ला लिएका थिए ।

photo 20220109 Morang (1)

घटनाको विरोधमा विज्ञप्ति र विद्यायल बन्द

शिक्षक श्रेष्ठको हत्या घटनाका दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी मिक्लाजुङ गाउँ सङ्गठन कमिटि अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेलले ०७७ मङ्सिर २४ गते विज्ञप्ति जारी गरेका थिए । शिक्षक श्रेष्ठको हत्यापछि शिक्षकहरू असुरक्षित भएको भएको र पठनपाठनका लागि भयरहित वातावरण बनाउँन माग गर्‍यो । नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङका अध्यक्ष दामोदर सिग्देलले ०७७ मङ्सिर २५ गते मोरङ भरीका सामुदायिक विद्यालय बन्द गर्न विज्ञप्ति जारी गरे । विज्ञप्तिपछि शिक्षक श्रेष्ठको हत्याको विरोधमा एक दिन मोरङका सामुदायिक विद्यालय बन्द गरिएका थिए ।

photo 20220109 Morang (2)photo 20220109 Morang (3)

अपहरणपछि गरै न्यायिक हत्या–इन्सेक

शिक्षक श्रेष्ठको हत्यापछि इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाको नेतृत्वमा अधिकारकर्मीहरूको टोलीले मङ्सिर २९ गते घटनाको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारकर्मीको टोलीले पीडित परिवारका सदस्य, जनप्रतिनिधि, प्रहरी, प्रत्यक्षदर्शी तथा स्थानीयलाई भेटी घटनाको वास्तविकताका बारेमा जानकारी लिएको थियो । इन्सेकले शिक्षक श्रेष्ठको हत्याको स्थलगत प्रतिवेदन ०७७ पुस २ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै घटना गैर न्यायिक भएको निश्कर्ष सार्वजनिक गर्‍यो । इन्सेकले राजनीतिका नाममा व्यक्तिको बाँच्न पाउने अधिकार खोसिएको भन्दै मानव अधिकारको प्रत्याभूति दिलाउन र पीडित परिवारलाई न्यायसहित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।

Report coverPhoto 20201217 Press meet (3)photo 20220109 Morang (5)photo 20220109 Morang (4)

विप्लवमाथिको प्रतिवन्ध फुकुवा

नेपाल सरकार मन्त्री परिषद्को ०७५ फागुन २८ गतेको निर्णयले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । राजनीतिका नाममा सो पार्टीले अपराधिक क्रियाकलाप सञ्चालन गरेको, विकासका पूर्वाधारमाथि बम विष्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामा आक्रमण गर्ने गरेको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको थियो । नेपाल सरका मन्त्री परिषद्को ०७७ फागुन २० गतेको बैठकले सो पार्टीका प्रतिबन्ध फुकुवा गरेको छ । तत्कालीन गृह मन्त्री तथा सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा वार्ता टोली प्रमुख खड्गप्रसाद विश्वकर्मा“प्रकाण्ड” बिच भएको तीन बुँदे सहमति अनुसार सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्ययमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने लगायत छन् । शिक्षक श्रेष्ठको हत्या घटनाको ८६ दिनपछि सो पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

Government-biplap-920x1024

- इन्सेक प्रदेश १ कार्यालय, विराटनगर