स्वास्थ्यकर्मीदेखि वडा सदस्यसम्म जातीय विभेदको मारमा

सुर्खेत । ०८० पुस १७ गते

मुगु जिल्लामा एक स्वास्थ्यकर्मीलाई घरबेटीले जातीय विभेद गरेको र केही कर्मचारीले यौन हिंसा गरेको घटना सार्वजनिक भयो । दाङ जिल्लाकाे तुल्सीपुर उपमहानगरपालिका–११ की २३ वर्षीया तुलसा कुमारी विश्वकर्मा २०७९ साल माघ ९ गतेदेखि सोरु गाउँपालिकाका–९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो । उक्त स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीको घरमा नै तुलसाले डेरा लिएर बस्नुहुन्थ्यो । शाहीको घरपरिवार र गाउँलेबाटै उनी जातीय विभेदको चपेटामा पर्नुभयो ।

तुलसीलाई गाउँका युवाहरुले अनावश्यक रुपमा राति फोन गर्ने, औषधिको निहु पारेर रक्सीको नसामा राति कोठामा आएर अवरोध गर्ने गरेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । गाउँमा प्रहरी गएर सम्झाइ बुझाई गरेपछि घरबेटीले तुलसालाई जातीय विभेद गरेका थिए । घटना बाहिर आएपछि गाउँपालिकाका उपाध्यक्ष र केही सञ्चारकर्मीले उहाँलाई सदरमुकाम गमगढी ल्याइयो । उहाँले सोरु गाउँपालिका –९ की ५४ वर्षीया झ्यापु शाही र सोरु गाउँपालिका –६ का ५१ वर्षीय धनप्रसाद भट्टविरूद्ध पुस ०८ गते जातिय विभेद तथा छुवाछुत गरेको भन्दै किटानी जाहेरी दिनुभयो ।

प्रहरीले सोही दिन नै झ्यापु र धनप्रसाद भट्ट शाहीलाई गिरफ्तार गर्यो । झ्यापु तुलसाकी घरबेटी तथा स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हनुहुन्छ । धनप्रसाद सोरुका स्थानीय व्यापारी हुनुहुन्छ ।  पीडितले पुस ०८ गते स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही विरुद्ध पनि जातीय विभेदको जाहेरी दिनुभएको थियो । प्रहरीले पुस ०९ गते  सुरजलाई गिरफ्तार गरेको थियो । जिल्ला अदालत मुगुबाट म्याद थप गरी आरोपितमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
‘झ्यापुले आफुलाई तल्लो जातको केटी भनेर बारम्बार कोठा छाड्न दवाव दिएको, सुरजले पनि सोही विषयमा विभेद गरेको र धनप्रसादले कात्तिक २६ गते किराना पसलमा गएर कलम किन्दा तल्लो जातको केटी भनेर पैसा र सामान हातमा नदिई भुईंमा दिएको जाहेरी आएपश्चात हामीले उहाँहरु तीनै जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेका छौं,’प्रमुख थापाले भन्नुभयो, ‘शिक्षा शाखा प्रमुखको विषयमा अदालतले नै सुचना जारी गरेको छ ।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल विरुद्ध पीडितले पुस १२ गते  जिल्ला अदालतमा यौन दुव्र्यवहारको मुद्दा दर्ता गर्नुभएको छ । अदालतले सोही दिन नै आदालतमा हाजिर हुन सुचना जारी गरेको छ । हालसम्म मल्ल अदालतमा उपस्थित नभएको अदालतका सुचना अधिकारी जयलाल बुढाले जानकारी दिनुभयो । आफूमाथि जातीय विभेद र यौन हिंसा गर्नेहरुलाई काुननी कारबाही गर्नुपर्ने पीडितको माग छ ।

उहाँ मात्रै होइन् कर्णालीमा यस्ता विभेदका घटनाहरु बारम्बार आउने गर्दछन् । ११ वर्ष अघि दैलेखको नौमुले गाउँपालिका–१ तोलीका सेते दमाइको हत्या भयो । छोराले अन्तरजातीय विवाह गरेपछि बुहारीको माइती पक्षबाट आएकाले उहाँको हत्या गरे ।

त्यस्तै गरी, ०७७ जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक मल्ल थरकी युवतीसँग भएको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोती पुगेका थिए । त्यहाँ प्रेमिकालाई भेट्न नपाउँदै विकसहित ६ जनाको हत्या गरियो । सेते दमाइ र नवराजहरु मात्रै होइन, जातीय विभेदकै कारण ०७५ जेठमा छिमेकीको कुटाईबाट कालिकोटकी मना सार्कीले समेत अकालमै ज्यान गुमाउनुभयो ।  उहाँ नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य समेत हुनुहुन्थ्यो । ०६८ मा चुलो छोएको निहुँमा कालिकोटकै मनवीरे सुनारको हत्या गरियो ।
यसरी जातकै आधारमा विभेद गरेर अकालमै कर्णालीका दलित समूदायले ज्यान गुमाउनु परेको छ ।

प्रहरीमा विभेदका घटना कम

पछिल्लो तीन आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा २४ जातिय विभेद तथा अपमानजन्य अपराधका घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष  २०७७/०७८ मा  सुर्खेतमा चार, जाजरकोटमा एक, जुम्लामा दुई, कालिकोटमा, दुई हुम्लामा एक जातीय विभेद तथा अपमानजन्य अपराधका घटना भएका थिए । सो आर्थिक वर्षमा अन्य पाँच जिल्लामा विभेदका घटना नभएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा जुम्ला दुई , जाजरकोटमा एक र हुम्लामा एक ओटा जातीय विभेदका घटना रहेका थिए । सो आर्थिक वर्षमा सात जिल्लामा जातिय विभेदका घटना भएको देखिएन ।  त्यस्तै  आर्थिक वर्ष २०७९/०८० मा सुर्खेतमा एक, जाजरकोटमा एक, कालिकोटमा दुई , सल्यानमा एक र हुम्लामा एक जातीय विभेदका घटना भएका छन् । त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म कर्णालीमा ४ जातिय विभेदका घटना भएका छन् । जसअनुसार सुर्खेतमा दुई , जुम्ला एक र मुगुमा एक ओटा जातीय विभेदका घटना प्रहरीसम्म आइपुगेको प्रदेश प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

गाउँमा जातीय विभेदका सयौं घटनाहरु भएपनि प्रहरी सामु कमै आउने गरेको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताउनुभयो । ‘चाहे धारो छोएको निहुँमा होस् चाहे चुलो छाएको निहुँमा प्रत्यक्ष, अप्रत्यक्षरुपमा दलितमाथि विभेद भइरहेको छ । तर, कतिपय घटनाहरु गाउँघरमै मिलापत्र गरिन्छ । कोही डरले कानुनी उपचार गर्न मान्दैनन्,’उहाँले भन्नुभयोे, ‘त्यहि कारण पनि प्रहरीसम्म जातीय विभेदका घटना आउँदैनन् ।’आएका घटनाहरुमा पनि विभिन्न आश्वासन र डरधम्कीका कारण मिलापत्र गराउने गरिएको अधिकारकर्मी सुनारको भनाइ छ ।

यस्ता विभेदका घटनाहरुलाई कानुनी उपचारका माध्यमद्वारा टुङ्ग्याउनुपर्ने इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो । विभेदका विषयमा पीडितलाई समयमै न्याय दिन सबैको भूमिका महत्वपुर्ण हुने उहाँको भनाइ छ ।

- जगतदल जनाला विक