स्थायी आवासको आशमा छन् आगलागी पीडितः पीडित भन्छन्,'आगोको पीडामाथि वर्षातको सास्ती खेप्नु नपरोस्'
लाठ्ठी बिना आफ्नै शरीर उभिन्न । लडेर खुट्टा नचल्ने भएपछि ७२ वर्षीय टीका बहादुर रायमाझीको जीवन ६ वर्षदेखि अप्ठ्यारो बनिरहेको छ । उहाँ वैशाख ८ गते घरमै हुनुहुन्थ्यो । तलबाट आगो दन्किएर आयो । उहाँसँग दगुर्ने उपाय थिएन । घर जल्न थाल्यो । रायमाझी आगोले ज्यान नै जोखिममा परेपछि सबै छोडेर बारीमा पल्टिनुभयो । रायमाझीले भन्नुभयो, ‘अन्यत्र जान नसक्ने भएकाले टहरोमा बसेको छु । धागो निकाल्न पाइएन लालपुर्जादेखि भत्ता पाउने कागजपत्र र सम्पत्ति खरानी बन्यो । आगोको पीडामाथि वर्षातको सास्ती खेप्न नपरे हुन्थ्यो ।’
हस्तिचौरकै चन्द्र बहादुर कुवँरको घरगोठ जल्यो । व्यावसायिक रूपमा कुटानीपिसानी मिल र बाख्रा पालन गर्नुभएको थियो । तर, आगोले क्षणभरमा मिल र नौ ओटा बाख्रा खरानी बनायो । उहाँले पाँच वर्षअघि १४ लाख खर्चेर घर बनाउनुभएको थियो । एक महिना अघि कान्छा छोराको बिहे भएकाले गहनाहरू पनि प्रसस्तै थिए । जङ्गलको आगो बस्तीमा पसेपछि इस्मा गाउँपालिका-२, सिदुङ्खाका १६ घर परिवारको बिचल्ली भएको छ । सोही गाउँका घन बहादुुर कुवँरको घरगोठ, पसल र पशुचौपाय नष्ट भए ।
तिव्र गतिको हावा र चर्को गर्मीका कारण आगोले बस्ती सखाप बनाएको छ । पीडित परिवार छिमेकी र त्रिपालका बास बसेका छन् । तर, मन बेचैन बनिरहेको छ । उनीहरूलाई सम्पत्ति सकिएको पीडामाथि राम्रो ओतको पिरलो परेको छ । अझै पीडा बल्झि रहेकाले आगोले ध्वस्त घर सफा गर्ने पीडित परिवारसँग हिम्मत पलाएको छैन । तर, वर्षात भए अर्को दुर्दशा सुरु हुने भएकाले घर पनि छिटोभन्दा छिटो चाहिएको पीडित कुवँरले गुनासो गर्नुभयो । ‘सरकारले दिने सहयोगले घर सफा गर्न नै पुग्दैन । आफ्नो सम्पत्ति खरानी बन्यो । अस्थायी पालभन्दा स्थायी घर चाहिएको छ’, कुवँरले भन्नुभयो ।
इस्मा गाउँपालिका-४, कोटकोटेरीका सुरेन्द्रलाल विकको पनि फेन्सी र किराना पसलसहितको घर जल्यो । अहिले छिमेकीको घरमा विकको परिवार बसेका छन् । परिस्थितीले हिँजो किराना बेच्ने सुरेन्द्रलाई आज दातासँग दाल, चामल थाप्ने बनाएको छ । आगोलागीबाट बढी प्रभावित जिल्लाको इस्मा गाउँपालिकाका तीन ठाउँका आगलागीबाट पीडितको माग तत्काल स्थायी आवासको रहेको छ । इस्मा गाउँपालिकाले पीडितको तत्काल स्थायी आवास निर्माण गर्न प्रति परिवार १ लाख रुपियाँ दिने भएको छ ।
इस्मा गाउँ कार्यपालिकाको वैशाख १२ गते बसेको बैठकले पूर्ण रूपमा घर जलेका परिवारलाई तत्काल स्थानीय तहले १ लाख रुपियाँ दिने र तीनै सरकारसँग साझेदारी मार्फत ४ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । उहाँले आगलागीबाट प्रभावित परिवारलाई मनसुन अगावै घर निर्माण गर्न गाउँपालिकाले १ लाख रुपियाँ प्रदान गर्ने र प्रदेश तथा सङ्घसँग साझेदारी गरेर बाँकी रकम उपलब्ध गराउने बताउनु भयो । खड्काका अनुसार इस्मा गाउँपालिकामा आगलागीबाट १ सय ९९ जना प्रभावित भएका छन् । प्रारम्भिक चरणको राहत र उद्धारको काम सकिएको छ । २६ घर ४९ गोठ र १५ परिवारको गोठ मात्रै जलेको छ । एकै परिवारका तीन गोठ समेत जलेका छन् ।
गुल्मीको इस्मा गाउँपालिकाले पछिल्ला वर्ष लगातार दुख र विपद्को सामना गरिरहेको छ । ०७७ सालमा गएको पहिरोका कारण डेढ सय परिवार विस्थापित भएका थिए । वर्षेनी वर्षातमा पहिरोले दर्जनौ परिवारको उठिबास भएको छ । हिउँदमा आगलागीले गाउँ सखाप हुने स्थिति आएको छ । नजिकैको वनको डढेलो घरगोठमा पस्दा घरगोठसँगै ७५ पशुचौपाया जलेर मरेका छन् । डढेलोबाट दुई जना मानिस र सात पशुचौपाया जलेर घाइते भएका छन् । डढेलोबाटै एक ट्याक्टर, दुई कुटानीपिसानी मिल, दुई किराना पसल, एक मन्दिर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी शङ्कर प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
डढेलोले जिल्लाको इस्मा गाउँपालिकाको वडा नं. १, २ र ४ मा ठूलो क्षति भएको छ । इस्मा गाउँपालिका-४, दोहलीको हुल, मड्किना र कोटकोटेरीमा डढेलोका कारण नौ ओटा घर, १९ गोठ र एक मन्दिर जलेर नष्ट भएका छन् । साथै पाँच ओटा भैँसी र १८ ओटा बाख्रा आगलागीको कारण मरेको इस्मा गाउँपालिका-४ का वडाध्यक्ष राजु बस्नेतले बताउनु भयो । अहिले क्षतिको तथ्याङ्क सङ्कलन, मुचुल्का प्रतिवेदन, खाद्यान्य, लत्ता कपडासहितको राहत वितरण, खानेपानी तथा विद्युत सुचारु गर्ने कामहरू भइरहेका छन् ।
जिल्लामा पीडितहरूको लागि विभिन्न सहयोग सङ्कलन अभियान सुरु भएको छ । जिल्ला विपद् व्यावस्थापन समितिले सङ्कलन गरिएको सहयोगलाई एकद्वार प्रणाली मार्फत वितरण गर्न आग्रह गरेको छ । इस्मा गाउँपालिकाले सार्वजनिक सूचना मार्फत सबै सङ्घसंस्था र निकायहरूलाई विपद्मा स्थानीय तहको विपद् व्यावस्थापन कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । अहिले जिल्ला प्रशासन कार्यालयले विपद् व्यावस्थापन समितिबाट तत्काललाई प्रति व्यक्ति २० हजार रुपियाँ प्रदान गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहहरूले खाद्यान्य, रेडक्रस मार्फत टेण्ट र कम्बलसहितको सामग्री र सहयोगी संस्थाहरूलाई आवश्यकताको आधारमा सहयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । शर्माले वर्षात अगाडि नै पीडित परिवारलाई स्थायी आवास बनाएर राख्ने गरेर सबै क्षेत्रमा समन्वय भइरहेको बताउनु भयो । तत्काल स्थायी आवास निर्माण गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् व्यावस्थापन प्राधिकरणको प्राविधिक टोलीले घटनास्थलको अनुगमन गरिसकेको छ । प्राधिकारणका प्रवक्ता डा. डिजन भट्टराईले अहिले अवस्थाको अनुगमन गरिएकाले तत्काल घर निर्माणमा सहजीकरण गर्ने गरेर सुझाव पेश गर्ने बताउनु भयो ।
वैशाख ८ गतेको आगलागीको कारण पाठ्यपुस्तक जलेपछि इस्मा गाउँपालिकाका ३१ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । इस्मा गाउँपालिका-२ को हस्तिचौरका १८ जना विद्यार्थीका पाठ्यपुस्तक, पोशाक र झोला जलेर नष्ट भएका छन् । उनीहरू स्थानीय देविस्थान मावि र जनता प्राविमा अध्ययन गर्थे । विद्यालयले भर्नासँगै किताबहरू पनि वितरण गरेकाले आगलागीबाट नष्ट भएको देविस्थान माविका शिक्षक नारायण मरासिनीले बताउनु भयो ।
त्यस्तै इस्मा गाउँपालिका-४ को दोहली कोटकोटरीका १३ जना विद्यार्थीका घरगोठसँगै पाठ्यपुस्तक, पोशाक र झोला जलेर नष्ट भएका छन् । उनीहरू चन्द्र आधारभुत विद्यालय र सरस्वती माविमा अध्ययन गर्ने विद्यार्थी हुन् । शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक, पोशाक र झोला जलेपछि विद्यार्थीहरू निराश भएका छन् । इस्मा गाउँपालिकाले हस्तिचौरको जनता प्राविलाई सेल्टर बनाएको छ । सोही ठाउँमा पोशाक जलेका विद्यार्थीहरूको पोशाक निःशुल्क रूपमा सिलाईको व्यावस्था गरिएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काले समुदाय, विद्यालय र स्थानीय तह स्तरबाट पीडित बालबालिकाको पठनपाठनको सहजताको प्रर्बन्ध गरिने बताउनु भयो ।
- टोपलाल अर्याल
सम्बन्धित फिचरहरू
आगलागी पीडितको गुनासो - ‘आगोले सम्पती सक्यो सरकारले ऋण थप्यो’ !
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र…
चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे…
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…