स्थानीयको विवादले चार वर्षदेखि खानेपानीको आयोजना अलपत्र, सिमकोटमा खानेपानीको समस्या !
सिमकोट गाउँपालिका–५, तल्लो गाउँकी हाँसु परियारले दुई वर्ष अघि आफ्नो घरमा सिमकोट खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानीको धारा जडान गर्नुभयो । सिमकोट तल्लो गाउँका नागरिकले परम्परागत रूपमा प्रयोग गर्दै आएको पुन्याराको मुहानको पानी सुक्दै जान थालेपछि उहाँले उपभोक्ता समितिमा ६ हजार रुपियाँ धरौटी राखेर धारा जडान गर्नुभयो । आर्थिक अवस्था निकै कमजोर भएकी परियारले धारा जडान गर्न आउने प्राविधिकलाई थप १ हजार रुपियाँ पनि तिर्नुपर्यो ।
नयाँ धारो जोडेको दुई महिनासम्म हाँसुको धारामा पानी आयो । त्यसपछि धारामा पानी कम हुँदै दुई महिनापछि ठप्पै बन्द भयो । निकै पटक हाँसुले धारोमा पानी छोड्न आग्रह गर्दै सिमकोट खानेपानी उपभोक्ताको कार्यालय धाएको गुनासो गर्नुभयो । अन्तमा कुनै सीप नलागेपछि अहिले उहाँलाई छिमेकिको घरमा आउने धाराको पानीमा भर पर्नुपर्ने बाध्यता छ । सिमकोट माथिल्लो बजारको सूचना टोलमा भएको जसबहादुर महताराको घरमा ०६५ सालमा खानेपानी उपभोक्ता समिति मार्फत खानेपानीको धारा जडान गरियो । ०६८ सालसम्म पानी आयो । दुई वर्षपछि पानी नआएपछि महताराले समितिमा हार गुहार गर्नुभयो । समितिमार्फत केही प्राविधिकहरू पनि आए । धारा हेरेर गए । उनीहरू आएको एक सातासम्म पानी आउने तर त्यसपछि फेरि बन्द हुने समस्याले महताराको परिवार अच्चमीत भए । एक वर्षसम्म कहिले आफ्नै धाराको पानी त कहिले छिमेकीको धाराको पानीले काम चलाएका महताराको घरमा ०६९ साल असार १ गतेदेखि उक्त धारा पूर्ण रूपमा बन्द भयो ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तल्लो गाउँकी हाँसु र माथिल्लो बजारका जसबहादुरको पानी नआउने धारा सिमकोट खानेपानी उपभोक्ता समितिले जडान गरेका ४ सय ४५ ओटा खानेपानीका धारा नमूना मात्र हुन् । बढ्दो जलवायु परिवर्तनको असरका कारण विकल्पका रूपमा अघि सारिएका सिमकोट खानेपानीको मुहानको पानी सुक्दै गएपछि समितिले वितरण गरेका धाराहरूमा प्रयाप्त पानी गएको छैन । घरमा धारा जडान गरेको भए पनि पानी नआउने समस्या सिमकोटका प्रायः घरले भोगिरहेका छन् ।
धारा जडान गरेका ६ महिनादेखि वर्ष दिनसम्म राम्रै पानी आउने त्यसपछि विस्तारै कम हुँदै ठप्प हुने समस्या सिमकोट खानेपानीको पुरानै रोग भएको सिमकोट गाउँपालिका–५ की बाँचु परियारको भनाइ छ । घरमा धारा जोडेको दुई वर्ष राम्रै पानी आयो । दुई महिना पुग्ने बित्तिकै कम हुँदै गएको पानीको धारामा एक वर्षपछि ठप्पै भयो । उहाँले भन्नुभयो - 'पानी फिटिक्कै आउँदैन पानी नआएपछि हामीले छिमेकीको घरको धारावाट ल्याएर काम चलाउने गरेका छौँ ।' खाना पकाउन र पिउने छिमेकीको धाराबाट ल्याएर काम चलाउने गरेकी बाँचुले कपडा धुन एक घण्टा टाढाको हुमाने खोला त कहिले तिनधारा जाने गरेको गुनासो गर्नुभयो ।
'धारा जोड्दा ६ हजार रुपियाँ धरौटी राख्यौँ । धारो जोड्न आउनेलाई १ हजार रकम तिरेका थियौँ । पानीको धारा जोडेदेखि महिनाको ५० रुपियाँ शुल्क हुन्छ भन्छन् । त्यही अनुसार हामीले पानी नआउने धाराको नियमित रकम तिरिरहेकै छौँ । तर पानीको थोपा पनि धारोमा चुहिएको देख्न सकेका छैनौँ' - बाँचुले भन्नुभयो । बिहान ६ देखि १० बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म पानी छोड्ने तालिका सिमकाट खाने पानी उपभोक्ता समितिको छ । समितिले निर्माण गरेको पानी ट्याङ्कीमा जम्मा भएसम्मको पानी ग्राहकलाई पठाउने गरे पनि पानी नआएको गुनासो कहिल्यै नरोकिएको बताउँदै समितिका सदस्य तथा अपरेटर लोकमणी रावतले बताउनु भयो ।
२०४५ सालदेखि हालसम्म वितरण गरेका पानीका लाइनहरू छन् । कुनैमा प्वाइन्ट नै नभेटिने समस्या पनि छ । त्यसले कुनै धारामा पानी नजाने समस्या छ । ठूलो समस्या त खानेपानीको मुहान सुक्दै गएर नै हो । मुहानमा पानीको स्रोत घट्दै गएको छ । पानी कम हुँदा ट्याङ्कीमा पनि कम पानी जम्मा हुने हो । पानी ट्याङ्कीमा जति जम्मा हुन्छ त्यति नै आफूहरूले ग्राहलाई वितरण गरेका धारमा छोडेको रावतले बताउनु भयो ।
परम्परागत रूपमा सिमकोटका दुई गाउँले नजिकैको मुहानबाट पानी खाने गरेको सिमकोट माथिल्लो गाउँमा रहेको लादेवाडाको मुग्रा धाराको पानी र तल्लो गाउँको सिमकोटको खायकले पुन्याराको पानी प्रयोग गर्दै आएका थिए । पानीका प्रयोगकर्ताको सङ्ख्या बढेपछि क्रमशः सिमकोटको खानेपानी अभावको समस्या शुरु भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका प्रमुख ज्वालाराज शाहीले बताउनु भयो । उहाँका अनुसार २०३४ सालपछि पञ्चायतकालीन अवस्थामा सिमकोट खानेपानी आयोजनाका रूपमा भएका मुहानको व्यवस्थापन भयो । पछि २०५४ साल पश्चात सिमकोटमा खानेपानीको सबै जिम्मा सिमकोट खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
नजिकै हुमाने खोलाको मुहानबाट पाइपलाइनमा सिमकोट ल्याएर वितरण गर्ने काम भयो । सिमकोट खानेपानीमा बढ्दो उपभोक्ताको सङ्ख्या र घट्दो पानीको मुहानका कारण २०६० को दशकमै उक्त मुहान पनि अप्रयाप्त हुन थाल्यो । घरघरमा जडान भएका धारामा पानी वितरण गर्ने प्रर्णाली र आयोजनाको व्यवस्थापन प्रभावकारी नभएको स्विकार गरेका शाहीले दोस्रो विकल्पका रूपमा लामो अध्ययन र सर्वेक्षणले बुराउँसे माथिको स्याल्तर खोलाको मुहानबाट पानी ल्याउने योजना अघि सारिएको बताउनु भयो ।
शुरुका केही वर्ष सबै धारोमा राम्रो पानी गएको उल्लेख गर्दै शाहीले भन्नुभयो - '२०७० पछि उक्त मुहानले पनि पानी पुग्न छोड्यो । देशकै शिर्ष सदरमुकाम भएकाले चिसो पनि त्यस्तै बढी नै छ । चिसोका कारण दिनको थोरै मात्र समय पानी नछोड्ने गर्ने काम हो भने पाइपमै बरफ जमेर लाइनमा पानी नजाने समस्याका कारण निरन्तर पानी छोड्नु पर्ने बाध्यता सिमकोटमा छ ।' आफूहरूले पानी वितरण गर्ने मिटर प्रर्णाली लागु गर्न दुई पटक प्रयास गरेको तर चिसोका कारण त्यो प्रयास सफल हुन नसकेको उहाँको भनाइ छ । त्यसपछि निरन्तर पानी छोड्दा सबैतिर अपुग भएको देखिन्छ । सिमकोट खानेपानीको व्यवस्थापन, वितरण र मर्मतको जिम्मा लिएको सिमकोट खानेपानी उपभोक्ता समितिले भने पानी नपुग्ने दोष ग्राहकमाथि थुपार्दै आएको छ । समितिले शुरुदेखि अहिलेसम्म वितरण गरेका धाराका ग्राहकले पानीको आफ्नो धारा खुल्ला छोड्ने, पानीको प्रयोगमा मित व्ययीता नअपनाएका कारण अलिहेको समस्या निम्तिएको समितिका अध्यक्ष कर्ण भण्डारीले बताउनु भयो । आफ्नो कार्यकालमा पानी ट्याङ्की मर्मतदेखि निर्माणका धेरै काम गरेको बताउँदै भण्डारीले ग्राहकहरूले ख्याल गर्ने हो भने सिमकोटमा पानीको अभाव आधाभन्दा बढी हल हुने दावी गर्नुभयो ।
'मुग्राधाराको विकल्प हुमाने खोला रोजेको, त्यसले पनि माग अनुसार पानी पुगेन । हुमानेको विकल्पका रूपमा आफूहरूले स्याल्तर खोलाको मुहानलाई रोज्यौँ । त्यो मुहानको पानी पनि सुक्दै गयो, सिमकोटको बस्ती पनि बढ्दै गएपछि फेरि अभाव पानीको अभाव पनि बढ्दै गयो । २०६८ सालमा अघि बढाइएको हेप्का मुहानको पानी सिमकोट ल्याउने आयोजना कार्यान्वयनमा ल्याउन झण्डै एक दशक लाग्यो' - समितिका अध्यक्ष भण्डारीले भन्नुभयो । देशको नयाँ संरचना अनुसार तत्कालीन खानेपानी कार्यालय प्रदेश सरकार मातहतको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा रुपान्तरित भयो । त्यसको फ्लोअप गर्ने कामले पनि निरन्तरता नपाएपछि अपेक्षित रूपमा आयोजना कार्यान्वयनमा आउन ढिला भयो ।
२०७८/७९ देखि कार्यान्वयनमा आएको आयोजना अँझै सम्पन्न भएको छैन । सङ्घीय सरकारको १३ करोड लागतमा कार्यान्वयन अवधि बढाइएको आयोजना निर्माणको जिम्मा काठमाडौँको ठेक्का कम्पनी एएम धुलिखेल प्याराडाइजले पायो । २०७८ कात्तिक २५ गते सम्झौता भएको आयोजना २४ महिना अर्थात दुई वर्षमा सम्पन्न गर्नुपर्ने समयसिमा तोकियो । तर आयोजनाको मुहानमा नाम्खा १ को तागिन, हेप्काका स्थानीय बासिन्दाले र पाइप लाइन लिने बारे सिमकोट गाउँपालिका–७, डाँडाफयाका बासिन्दाको विरोधले निर्धारित मितिमा काम सकिएन । आयोजना सम्पन्न हुने मिति १२ महिना सकियो । अँझै आयोजना सकिने कुनै सङ्केत देखिँदैन ।
२०८० कात्तिक २४ गतेसम्म आयोजनाको काम आधा पनि नसकिएपछि विभिन्न कारण खुलाई एक वर्षको निर्माण अवधी थपेर काम सम्पन्न गर्ने जिम्मा एएम धुलिखेल प्याराडाइजलाई नै दिइयो । यस अवधीमा विवाद समाधानका लागि धेरै पटक जिल्ला प्रशासन कार्यालय, सिमकोट गाउँपालिका, सिमकोट खाने पानी उपभोक्ता समिति र जिल्लाका राजनीति दलहरूलाई निर्माण कम्पनीले अनेकन अनुरोध गर्यो तर कतैबाट सहयोग नपाएको कम्पनीका प्रतिनिधि अमर लामाले बताउनु भयो । निर्धारित मितिमा काम सम्पन्न गर्न आफूले सबैलाई बोलाएको तर कसैले पनि सहयोग नगरेको उहाँको भनाइ छ ।
आफ्नो सामूहिक खेतीको सिंचाई गर्न र पशुवस्तुलाई पानी खुवाउने मुहान भएकाले लिन दिन हुँदैन भन्ने विरोध नाम्खाको तागिन र हेप्काबाट भएको लामाले दुःखेसो पोखे । सामुदायिक बन क्षेत्रका रुख कटान हुने, जग्गामा मासिने भयो भनेर डाँडाफयाका नागरिकले निकै चर्को विरोध गरे । सहमति ल्याउन आफूले सबैको खुट्टा समेत मोले तर समयमा काम सकाउन नसकेको उहाँको भनाइ छ । दोस्रो पटक म्याद थप्ने तयारी शुरुको २४ महिनामा आधा मात्र काम नसकिएपछि १२ महिनामा आयोजनाको धेरै काम सकिएको प्रतिक्रिया निर्माण पक्षले गरेको छ ।
पहिलो पटक थपेको १२ महिना आगामी २०८१ कात्तिक २५ गतेसम्म सकिँदै छ । उक्त समयमा पनि काम सकिएन । विभिन्न समुहहरूसँगको छलफल पश्चात आयोजनाका निर्माण सामाग्रीको खरिद ढुवानी र ट्याङ्की, च्याम्बर निर्माणका काम थप समयमा सम्पन्न भएको दावी निर्माण कम्पनीको गरेको छ । कुनै समूह र समुदायले विवाद नगर्ने हो भने अबको एक महिनामा सबै काम सक्ने तयारी ठेकदार कम्पनीले गरेको छ । अब धेरै काम छैन । डाँडाफयाको ओख्रेनमा पाइपलाइन खन्ने, सिमकोट रानीवनमा पाइप लाइन दिने काम बाहेक प्रायः काम सकिएको छ ।
जिल्लाका कामदारबाट काम ढिला हुने भएपछि आफूहरूले बाजुरा, कालिकोट लगायतका जिल्लाबाट कामदार ल्याएर काम गर्ने तयारी गरेको कम्पनीका प्रतिनिधि लामाले बताउनु भयो । राम्रोसँग काम गर्न दिए ढिलोमा एक महिना भित्रमा सबै काम सकिन्छ । दोस्रो पटक थप गरेको समयमा आयोजनाको काम पुरा हुने छाँट नदेखिएपछि ठेकेदार कम्पनीले दोस्रो पटक म्याद थपको प्रक्रिया बढाइसकेको छ । निर्माण कम्पनीले थोरै काम बाँकी रहेको प्रतिक्रिया दिए पनि पाइपलाइन खन्ने देखि अन्य थुप्रै काम बाँकी छ । कसैले विरोध नगरेको खण्डमा कात्तिक सम्ममा सबै काम सम्पन्न गर्ने प्रतिक्रिया निर्माण कम्पनीले दिँदै आएको छ । यद्यपी काम नसकिने निष्कर्ष सहित दोस्रो पटक तीन महिनाको म्याद थपको प्रक्रिया लगभग अन्तिम चरणमा छ । आयोजनाले दोस्रो पटक म्याद थप्ने कानुन अनुसार तीन महिना अर्थात माघ २५ गतेसम्मको समय पाउने निश्चित जस्तै भएको खानेपानी व्यवस्थापन विभागले जानएको छ । विवाद समाधानका लागि स्थानीय प्रशासन, स्थानीय सरकारदेखि सरोकारवालाले खासै चासो देखाएको छैन । विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक रामचन्द्र काफ्लेले दोस्रो पटक भएको समयमा आयोजनाको काम सकियोस भन्ने प्रयासमा रहेको बताउनु भयो ।
- नन्द सिंह
सम्बन्धित फिचरहरू
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…
नेता आएर गए व्यथा गएन !
बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा…
गरिब परिवारमै गम्भीर रोगः सम्पत्तिसँगै जीवन सकिँदै !
इस्मा गाउँपालिका–४ का केशव बहादुर मगरले आर्थिक अभावको कारण १६ वर्षीया छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्याउनुभयो…
टाउकोमा डोकाको व्यापारसँगै न्यायको लडाइँमा पदमकन्या !
मगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पदमकन्या चौलागाईले जीवनमा धोकै धोका पाउनुभयो । परिवार र पतिको धोकाका कारण उहाँको जीवन सङ्घर्षरत छ । १२ वर्षकै उमेरमा विवाह गरेका पति तिर्थराज…
आगलागी पीडितको गुनासो - ‘आगोले सम्पत्ति सक्यो सरकारले ऋण थप्यो’ !
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र…