सुरक्षित स्थानमा पुर्नस्थापनाको पर्खाइमा पहिरो पीडित (फोटो फिचर)

मुगु । ०७९ असोज २९ गते

यस पटकको दशैँ झयारी र सिगाडी गाउँका स्थानीयबासीले मनाउन पाएनन । घरपरिवारसँगै बस्ने, मिठो मसिनो खाने, राम्रा राम्रा कपडा लगाउने, मान्यजनको हातबाट टिका लगाउने इच्छा कसलाई पो हुँदैन र ? तर यस पटक दशैँको समयमा परेको अविरल वर्षातपछि आएको पहिरोले झ्यारी र सिगाडी गाउँका स्थानीयबासीलाई दशैँ मनाउन दिएन । रमाइलो पर्व दशैँ उनीहरूका लागि दसा बन्न पुग्यो ।

दशैँको दिनदेखि असोज २४ गतेसम्म लगातार परेको पानीले छाँयानाथ रारा नपा–८ झयारी र सिगाडी गाँउमा पहिरो गयो । दुबै गाँउ पहिरोको उच्च जोखिममा परेपछि दुबै गाँउका स्थानीयबासी नजिकैको जङ्गलमा त्रिपालको साहरामा बस्न पुगे । झयारी गाँउका १ सय ६ र सोही वडाको सिगाडी गाँउका पाँच घरधुरी गाँउ नजिक सुरक्षित स्थान नभएपछि रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रको जङ्गलमा बास बस्न पुगेका हुन ।

पहिरोले घरमात्र नभएर कतिपयको ज्यान समेत लगेको छ । छाँयानाथ रारा नपा–१२ को तलि सालिममा पहिरोले आठ जनाको ज्यान लगेको छ । बाढी पहिरोले जिल्लाका ३३ बस्ती उच्च जोखिममा रहेका छन, भने ३ सय भन्दा बढी घर पूर्ण क्षति भएको छ । छाँयानाथ रारा नपा–८ भmयारी र सिगाडी गाँउ नजिक बस्ने सुरक्षित स्थान नभएपछि उनीहरू जङ्गलमा बस्नु परेको छाँयानाथ रारा नपा–८ का वडा अध्यक्ष कर्ण रावलले जानकारी दिनु भएको छ ।

माथिबाट पहिरो आएपछि बस्ति नै जोखिममा छ । घर भत्किएर बस्ने ठाँउ छैन त्रिपाल हालेर बस्ने सुरक्षित स्थान नभएपछि जङ्गलमा बस्नु परेको हो । हालसम्म राहत पाएका छैनौ, केही त्रिपाल आएका भएपनि आफुले नपाएको छाँयानाथ रारा नपा–८ की ८८ वर्षीया बेला रावलले दुखेसो पोख्नु भयो ।

सरकारी निकायबाट ४० ओटा त्रिपाल मात्र आएको थियो, पहिरो पीडित १ सय ५६ घरधुरी रहेको पहिरो पीडित कृष्णा रावलले गुनासो गर्नु भयो । जङ्गलमा सुरक्षित भनेर बसेको भएपनि खानेपानी, शौचालयको समस्या भएको रावले बताउनु भयो । घरफर्किने अवस्था छैन, पहिरो रोकिएको भएपनि कहाँ बस्ने पहिरो पीडित रावलले चिन्ता गर्नु भयो ।

असोज २८ गते उक्त स्थानमा छाँयानाथ रारा नपाका मेयर बिष्णु भामसहित प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र सुरक्षा निकाय प्रमुखसहितको टोली अनुगमनमा पुगेको थियो । जङ्गलमा बसेका स्थानीयलाई जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले राहत उपलब्ध गराउने र उक्त राहत एकद्धार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयले केही दिनमै उपलब्ध गराउने जानकारी दिएको भएपनि पहिरो पीडितले स्थाई बसोबासकालागि सुरक्षित स्थानमा पुनस्थापनाका लागि पहल गरिदिन आग्रह गर्नु भएको छ ।

शिविरमा बसेका बृद्ध, बालबालिका, गर्भवति महिला र बिरामीहरू जेखिममा रहेका छन । शौचालय र खानेपानीको समस्याले झाडापखाल र चिसोले दमका रोगीलाई समस्या हुने हुँदा त्रिपाल, शौचालय र खानेपानीको समस्या समधानकालागि स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनु भयो ।

जिल्लाका ३३ बस्ती उच्च जोखिममा रहेको र ३ सय भन्दा बढी घर भत्किएर सर्वसाधारण घरबार बिहीन भएको भएपनि छाँयानाथ रारा नपा–८ का दुई बस्ती भने गाँउ नजिक सुरक्षित स्थान नपाउँदा जङ्गलमा त्रिपाल हालेर बस्नु परेको हो ।

Muguphoto20221015 (1) Muguphoto20221015 (2) Muguphoto20221015 (3) Muguphoto20221015 (4) Muguphoto20221015 (5) Muguphoto20221015 (6) Muguphoto20221015 (7) Muguphoto20221015 (8)
Photomugu20221015 (1) Photomugu20221015 (2) Photomugu20221015 (3) Photomugu20221015 (4)

- जीवन सेजुवाल