सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’

गुल्मी । ०८१ माघ २७ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा माघ २३ गते उजुरी दिनुभएको थियो । पीडित महिलाले गुल्मी अस्पताल, तम्घासमा माघ १६ गते बच्चा जन्माउनुभएको छ । आमा र बच्चा जिल्लाको एक आश्रयस्थलमा रहेका छन् ।

सन्तान पाउँदा आमामा प्राप्त हुने खुसीको बयान हुँदैन । सन्तान प्राप्ती शौभाग्य पनि हो । छोरी काखमा हुँदा पनि बेरसिलो देखिनुहुन्थ्यो । उहाँले प्रसवको चिच्याहट अझै बिर्सिनुभएको छैन । खान र सुत्न पीर छैन । स्याहार पनि राम्रै पाउनुभएको छ । तर, मनमा शान्ति पटक्कै छैन । किनकी १२ औ दिनसम्म पनि कहाँ जाने टुङ्गो छैन । उहाँलाई आफू र सन्तानको भविष्यले पिरोलेको छ । उहाँले १६ माघमा गुल्मी अस्पतालमा छोरी जन्माउनुभयो । माइतमा पेट दुखेपछि अस्पताल आउनुभएकी महिलालाई बच्चा पाउँछु भन्ने लागेको थिएन । उहाँ केही दिन पहिलेबाट माइतमा हुनुहुन्थ्यो । उहाँले बच्चा अर्कैको भएको दावी गर्नुभयो ।

आरोपित धुर्कोट गाउँपालिका–२ का २९ वर्षीय दिपेश जिसी प्रहरीको हिरासतमा छन् । पीडित पक्षले ०८१ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा जिसी विरुद्ध उजुरी दिएको थियो । बच्चा जन्मिएको खबरले माइती र घर परिवारमा समेत खुसीभन्दा स्तब्धता बढ्यो । तीन दिनपछि अस्पतालले डिस्चार्ज गरेकाले कतै जाने मेसो नभएकाले छोरीसँग अमरकल्याणको आश्रयमा पीडित हुनुहुन्छ । अबैध सम्बन्ध राख्ने जिसीको पनि छोराछोरीसहितको परिवार छ । बच्चा जन्माउने युवतीको पनि छोरासहितको परिवार छ । पीडितले गर्भावस्थामा हुने गर्भजाँच समेत गर्नुभएन ।

पाँच/छ महिनासम्म नियमित महिनावारी नहुने र पति पनि घरमै भएकाले बच्चा रहेको पत्तै नहुँदा समस्या भएको उहाँले बताउनु भयो । उहाँको गल्ती महसुस गरेर घरमै फर्किने चाहाना छ । तर, सोँचे अनुसार सजिलो छैन । उहाँको र बच्चाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । बच्चा आठ महिनामा जन्मिएको हो । माइतमा ११ दिन नहुँदै जान नमिल्ने धार्मिक कारण र घरमा अर्कैको गर्भका कारण स्विकार नभएपछि आफूहरूले सहकारीको आश्रयमा ल्याएर व्यावस्थापन गरेको अमरकल्याण बहुउदेश्यीय सहकारी संस्थाको व्यावस्थापक अन्जु पन्थीले बताउनु भयो ।

सहकारीले ०७३ सालबाट अल्पकालीन आश्रयको व्यावस्था गर्दै आएको छ । पीडितको लागि माघ १९ गतेबाट सबै सुत्केरी स्याहारको काम अमरकल्याणले गरेको छ । सुत्केरी र बच्चाको लागि एक जना सुसारेको व्यावस्थापन गरिएको छ । खानपान, लुगा धुने, बच्चा हेर्ने, चिसोतातो सवै व्यावस्थापन आश्रय स्थलमा रहेको छ । धार्मिक आस्थाका आधारमा ६ दिनमा गर्ने काम पनि गरिएको व्यावस्थापक पन्थीले बताउनु भयो । उहाँले ११ औँ दिनमा न्वारन गर्न खोजे पनि विभिन्न कारणले नसकिएको बताउनु भयो । जिल्लामा संरक्षण गृह (सेफ हाउस) छैन । अमरकल्याणले घरेलु हिंसामा परेका, बलात्कार पीडित, अंश मुद्दा, व्यावरिसे अवस्थामा भेटिएका व्यक्तिहरूलाई आश्रय र उचित मार्ग प्रदान गर्ने काम गरिरहेको छ । यो आरोपित जिसीको पहिलो घटना होइन । उनले पहिलो पटक अर्कैको पत्नी भगाएर विवाह गरेर बच्चा समेत रहेको छ भने अर्को विवाह गरेर घरमा एउटा बच्चासहितको पत्नी पनि छन् । त्यसपछि उनले अहिले अर्कै महिलालाई गर्भाधारण गराए । गाउँमा धेरै पटक घटना भइरहेकाले आफन्त कोही पनि आरोपितको पक्षमा नरहेको स्थानीय जनप्रतिनिधिले बताए ।

अमरकल्याण धेरै पीडितको साहारा बनिरहेको छ । इस्मा गाउँपालिकाकी २२ वर्षीया घरेलु हिंसा पीडित युवती दुई पटक अमरकल्याणको आश्रयमा बस्नुभयो । प्रेम सम्बन्धबाट विवाह भएको केही समयमै घरमा खटपट भयो । पतीको हिंसा सहन नसकेर पीडितले प्रहरीमा उजुरी गर्नुभयो्, अमरकल्याणको आश्रयमा चार दिन बस्नुपर्‍यो । मिलापत्र भएपछि घर गएर छोराछोरी पनि भए । फेरि हिंसा भएपछि अहिले कानुनी उपचारको काम अगाडि बढेको छ । मुसिकोट नगरपालिकाकी ३८ वर्षीया महिलाका दुई छोरा र एक छोरी छन् । पतिको कोभिडको बेला ज्यान गयो । उहाँको नागरिकता छैन । तर, परिवारले अर्कैसँग विवाह गरेको आरोप लगाएर नागरिकता दिँदैनन् । ०८१ पुस १२ गतेदेखि १५ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर कानुनी उपचार खोजे पनि केही टुङ्गो नलागेको व्यावस्थापक पन्थीले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकाकी २५ वर्षीया युवतीका दुई बच्चा छन् । पतीले अर्कैसँग सम्बन्ध राखेर आफूहरूको कुनै वास्था गर्दैनन् । कैयौँपटक छलफलको प्रयास असफल भए । उहाँलाई माइतमै बसेर छोराछोरीको व्यावस्थापन गर्न मुस्किल परिरहेको छ । ०८१ असोज १६ देखि २२ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर प्रहरीमा कानुनी उपचारको विकल्पहरू खोजिन् ।

तर, अहिले पालिकास्तरमा मिलापत्रको प्रयास भइरहेको छ । चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया बालिकालाई ५४ वर्षीया मामाले बलात्कार गरेपछि ०८१ भदौ ५ गतेदेखि चार दिन बालिकासहित परिवारका तीन सदस्यलाई अमरकल्याणले चार दिन आश्रय दियो । अमरकल्याणले थुप्रै पीडित व्यक्तिहरूलाई आश्रय मार्फत न्यायमा सहजीकरण गरिरहेको छ । आफूहरूले ३५ दिनसम्म राख्ने अनुमती भए पनि व्यावहारिक समस्याले चार महिनासम्म आश्रय दिनुपर्ने अवस्था आएको अमर कल्याण बहुउदेश्यीय सहकारी संस्थाको व्यावस्थापक पन्थीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले आरोपित विरुद्ध पीडित पक्षले बलात्कारको जाहेरी दर्ता गरेकोले गिरफ्तार गरेर कानुनी प्रक्रिया अगाडि बढाएको बताउनु भयो । उहाँले सुत्केरी र बच्चाको लागि अमरकल्याण बहुउदेश्यीय सहकारी सहकारी संस्थाले व्यावस्थापन गरिरहेको जानकारी दिनुभयो ।

- टोपलाल अर्याल