सानै उमेरमा गरिएको विवाहले लुटिएको खुसी

सुर्खेत । मङ्सिर २३ गते

मलिन अनुहार, सामान्य पोशाक, पछ्यौरीले छोपिएको उनको टाउको । अदालत बाहिरको चौरमा उभिएकी । उनको ध्यान जिल्ला अदालतको झ्यालमा केन्द्रित थियो । दायँबायाँ मानिसहरूको ठुलो हुल थियो तर त्यो हुलभित्र सुर्खेतको बराहताल गाउँपालिका–६ विउरेनिकी धनकुमारी विक एक्लै हुनुहुन्थ्यो ।

सहज जिवन जिउन मागगर्दै उहाँ जिल्ला अदालत सुर्खेतमा न्याय माग्न पुग्नु भएको हो । अदालतमा उहाँले पतिसँग सम्बन्ध विच्छेद गरीपाउँ भनि जाहेरी दिनु भएको रहेछ । जहाँ घर त्यहाँ भर भनिन्छ । त्यही घरबाट उहाँ पीडित भएर घरबारविहीन बन्न पुग्नु भयो । घरमा पतिको जति विश्वास अरु कसैको हुदैन, त्यहीबाट कल्पना गर्न नसक्ने घात उहाँको पति रविन्द्र विकबाट पटक पटक हुँदै आएको उहाँले गुनासो गर्नु भयो ।

उमेर सानै थियो, के सही के गलत त्यती राम्रोसँग छुट्याउन सक्ने अवस्था थिएन् । अन्जानमा १५ वर्षकै उमेरमा विवाह भयो । नत उहाँसँग प्रेम नै थियो नत परिवारको जवरजस्ती नै थियो । पतिको जवरजस्ती बोकेर धनकुमारीको विवाह भयो । सुरुमा त सम्बन्ध राम्रै थियो । घर माइत गरि राख्नु हुन्थ्यो धनकुमारी । यसैक्रममा १६ वर्षको उमेरमा उहाँले जेठो छोरालाई जन्मदिनु भयो । जब जेठो छोरो सन्दिप विकको जन्म भयो । त्यसपछि उहाँका कहालीलाग्दा दिन सुरु भए । सुत्केरी शरीर पतिले मदिरा सेवनन गरेको दिन हुन्थेन् । दिनहुँ जसो मदिरा खाएर कुटन् थाले धनकुमारीका पति रविन्द्र विकले । धनकुमारी मरणासन्न हुने गरी कुटिनुहुन्थ्यो । तर पनि जिवन साथी हो भन्ने कुरा भुल्न सक्नु भएन् । र पतिकै साथमा बसिरहुनु भयो । यसै क्रममा जेठो छोरा जन्मिएको डेढ वर्षपछि माइलो छोरा गोविन्दको जन्म भयो । तर उहाँका पतिले धनकुमारीलाई कुटपिट भने गर्न छाडेनन् ।

सुख दुख चलेकै थियो धनकुमारीको पुनः डेढ वर्षको फरकमा साइलो छोरा अमृतको जन्मभयो । यो पटकबाट धनकुमारीले मात्र होइन् उहाँका तीन छोराले समेत बाबुको कुटाइ खान थाले । घरबाट निकाल्नलाई धेरै प्रयास गरे धनकुमारीका पति रविन्द्र वीकले तर धनकुमारीले घर छोड्न मानिनन् । कहाँजाने ?, जाने ठाउँ छैन, ‘उहाँले भन्नुभयो, मारे पनि यही घरमा मर्छु भन्ने लागेर घर छोड्न सकिन ।’ यसरी नै दिनवित्दै थिए साइलो छोरा जन्मिएको पाँच वर्षपछि फेरी धनकुमारीको काइलो छोरा सन्तोषको जन्म भयो । अझ पनि उहाँका पति रविन्द्र विकले धनकुमारी माथि कुटपिट गर्न छाडेनन् । तर पनि धनकुमारीले हिक्मत हार्नु भएन् । छोराहरूको भविष्यको चिन्ताले पनि ती पिडा सहजै स्वीकार गर्दै आउन बाध्य हुनुभयो ।

जेनतेन गरेर घरव्यवहार धान्दै आउनु भएकी धनकुमारीले गाउँ नजिकैको सामुदायिक विद्यालयमा छोराहरूलाई भर्ना पनि गर्नु भएको थियो । संस्थाबाट ऋण लिएर १५/२० ओटा बाख्रा र कुखुरा पनि पाल्दै आउनु भएको थियो । त्यहीबाट आएको जेनतेन पैसाले छोराहरूको पढाइ लेखाइ र घरखर्च जुटाउँदै आउनु भएको थियो । यसै क्रममा काइलो छोरा २ वर्षको हुँदा फेरी कान्छो छोरा सुमनको जन्मभयो । तर पनि धनकुमारीका सुखका दिन भने फिर्न सकेनन् ।

उहाँ माथि हुने शारीरिक हिंसा मात्र होइन् । यौन हिंसा समेत भोग्न बाध्य हुनुभएको थियो । दिनहुँ जसो मदिरा सेवन गरी राती १२/१ बजे घर आउने पतिको दैनिकी नै थियो भने धनकुमारीले दिनहुँ शारिरिक यातना तथा यौन यातना भोग्ने क्रम जारी नै थियो । कयौँ पटक मरेर बाचेको उहाँ सुनाउनु हुन्छ । पटक पटक म माथि ज्यान मार्ने प्रयास भयो, तर पनि म बाच्न सफल भए, ‘उहाँ बताउनुहुन्छ ।’ तर मेरा छोराहरू माथि भएको पटक पटकको आक्रमण सहन गाह्रो भयो ।

सानोतिना पीडा दिनहुँ जसो भइरहेका नै थिए । धन कुमारीको शरिर माथि । २०७९ वैशाख २५ गते राती उहाँको शरिर माथि सब्बल प्रहार भयो । उहाँ बेहोस हुनुभयो । अस्पतालसम्म पु¥याउने आफ्नो मान्छे थिएन् । छमेकी दिदी वहिनीको सहयोगमा बिहान होस खुलेको उहाँ बताउनुहुन्छ ।

यो हिंसामा धनकुमारी मात्र होइन् उहाँका पाँच ओटै छोरा पनि पीडित भएका छन् । जेठो छोरालाई जन्मिएदेखि नै पटक पटक यातना दिदै आए । धनकुमारीका पति रविन्द्र विक । बाबुले नै हानेर माइलो छोराको मेरुदण्ड बाङ्गिएको छ । गाह्रो काम गर्न सक्ने अवस्था छैन् । साइलो छोराको हातको औला काटि दिएका छन् । अन्य दुईओटा छोराको बाहिर देखिने घाउ भने छैन् तर पटक पटक यातना भने खेप्न बाध्य भए । पतिले पटक पटक घर निकाल्ने प्रयास गर्दै आएको धनकुमारीको भनाई छ ।

सँगै जिवनजिउने बाचा गरी घर भित्र्याएको पतिले मृत्युको बाटो देखाउने बाहेक अरु प्रयास धनकुमारीको जिवनमा भएन् । त्यसपछि उहाँले विकल्पको बाटो खोज्न थाल्नु भयो । छिमेकी दिदीवहिनीको सहयोगमा उहाँ सामाजिक संघ सस्थाको सहयोग माग्न वीरेन्द्रनगर आइपुग्नु भयो । त्यहीबाट सुरु भयो धनकुमारीको न्यायिक प्रक्रियाको बाटो । उहाँ भन्नुहुन्छ म मेरो छोराहरूसँग छुट्टै बसेर मेरो दैनिकी गुजार्ने प्रयास गर्छु, ‘मलाई न्याय चाहिएको छ, म बाच्नु छ, मेरो छोराहरूलाई टुहुरा भएको देख्न सक्दिन म ।’

धनकुमारीसँग अहिले चारवटा छोरा छन् । उहाँ वीरेन्द्रनगर नगरपालिका–४ मा कोठा भाडामा बस्दै आउनु भएको छ । जेठो छोरा गाउँमा नै बाबुसँग बस्दै आउनु भएको छ । धनकुमारी अहिले मानसिक कमजोर मात्र होइन् पतिले दिएको यातनाका कारण उहाँ अशक्त्त जस्तै बन्नु भएको छ । शरीरका कुनै पनि अंगले राम्रोसँग काम गरेर खान सक्ने अवस्था छैन् । धनकुमारी दैनिक ज्याला मजदुरी गर्न जानुहुन्थ्यो तर शरीरले नसकेपछि केही दिनयता सहयोगको अपेक्षामा भौतारिनु भएको छ । साझँ बिहान के खाने ? आमा र चार छोरा सहित पाँच जनाको परिवारलाई के खुवाएर दिन कटाउने धौ धौ भएको छ ।

यता छोराहरूको पढाई लेखाइ पूर्ण रुपमा बन्द भएको छ । साझँ बिहानको छाक टार्न समस्या भएको वेला कसरी छोरालाई पढाउने समस्या भएको धनकुमारीको भनाई छ ।

- प्रभा कुमारी रावत