सहज र सुखद् छैन विस्थापित जीवन
भोजराज तिमल्सिना
२८ भाद्र ०६२
काभ्रेपलाञ्चोक जिल्ला, साल्मेचाकल गाविस-८, असनचुलीका २८ वर्षीय हीराबहादुर आचार्य पहिला माओवादीमा लागेर हिँडे । माओवादीसँग वाक्क भएर उनले सो पार्टीपरित्याग गरेको घोषणा गरे । माओवादीमा लाग्न जति सजिलो भएको थियो, छाड्न त्यति सजिलो भएन उनलाई । माओवादीका स्थानीय नेताहरूलाई सम्झाइ-बुझाइ गर्न खोजे पनि सकेनन् । बरु उनीहरूले साल्मेचाकलकै छविलाल विश्वकर्मा (नेत्र) र धनबहादुर श्रेष्ठ (बिच्छु) को उदाहरण अगाडि सारे । नेत्र र बिच्छु भन्नेले आत्मर्समर्पण गरेको भनी माओवादीले केही वर्षघि जङ्गलमा लगेर मारेका थिए । ज्यानको माया कसलाई हुँदैन र ! हीराबहादुर पनि ज्यान जोगाउन गाउँ छाडेर सहर पसे । उनी ०५८ पुसदेखि सातजनाको परिवारसहित काठमाडौँमा डेरा गरी बस्न बाध्य छन् । आफ्नो सिरीखुरी सबै गाउँमै छाडेर हिँड्नु परेपछि उनको परिवारले मजदुरी गरेर जीवन निर्वाह गरिरहेको छ ।
काङ्ग्रेस, एमालेजस्ता पार्टी लागेको कारण माओवादीले मार्ने धम्की दिएपछि गाउँ छोड्न बाध्य भएकाहरूको संख्या पनि जिल्लामा कम छैन । नेपाली काङ्ग्रेसमा आस्था राखेकै कारण बनखु गाविस-१ का अर्जुन कुँवरलाई ०५७ साउन १५ गते माओवादीले अपहरण गरी कुटेर मर्यो भन्ठानी फ्याँकेर गए । अस्पताल लगी उपचार गरेपछि उनी बाँच्न त सफल भए, तर अपाङ्ग भएर । त्यसपछि गाउँको घरमा माओवादीले ताला लगाई घरमा भएका सबै सामान लिएर गए । चिन्तै चिन्ताले उनी ०६२ बैशाख १५ गते मरे भने सातजना परिवारजनको बिजोग छ । त्यस्तै एमालेमा लागेको कारण माओवादीले कानपुरका पूर्व उपाध्यक्ष धनकाजी लामालाई १५ दिनभित्र रु. ५० हजार नदिए ज्यान लिने धम्की दिएका कारण उनी गाउँबाट पलायन भए ।
ढुखर्क गाविस-८ का प्रेमबहादुर तिमल्सिनाको घरमा आन्तरिक विवादको कारण देखाएर माओवादीले ०५९ भदौ २० गते ताला लगाए । गाउँमा बस्न नसकेर उनी सहर आए । सरकार र व्रि्रोहीबीच भएको युद्धविराम अवधिमा नागरिकसमाजको दबाबमा आठ महिनापछि त्यो घरको ताला खुल्यो । व्रि्रोहीहरूले आइन्दा घर-व्यवहार सञ्चालनमा कुनै बाधा, अवरोध नगर्ने बताए तापनि उनी घर जान सकेका छैनन् । अर्कोतिर, उनी आफूलाई विस्थापित भन्न पनि सक्दैनन् ।
विस्थापनका कारण व्यक्ति मात्र नभएर पूरै बस्तीसमेत उठेको उदाहरण यहाँ छ । माओवादी धम्कीकै कारण तीन वर्षअगाडिदेखि बालुवा गाविस-५ स्थित स्वाधीन श्रेष्ठको तीनतले पक्की घर अहिले पनि बन्द देखिन्छ । ठूलो किराना पसल राखेर व्यापार गर्दै आएका उनी विस्थापित हुन बाध्य भएका छन् । जोगलाल, रेशमलाल र रामलाल श्रेष्ठका लस्करै रहेका तीनवटा पक्की घरका ताला पनि अझै खुल्न सकेको छैन् । घर वरपर ठूलो आँप बगैचा देखिन्छ । सम्पतिजति अरूलाई कमाउन दिएर उनीहरू सहर पसेका छन् । यता पहिले प्रहरी बस्ने बालुवाको चौकी भवन पनि माओवादीले आक्रमण गरेपछि रित्तो रहेकोमा हाल एक विश्वकर्मा परिवारलाई बसालिएको छ । घरधनी विस्थापित भएको एक अर्को घरमा आच्छावालाकै ज्वाई, छोरी बस्छन् । गाउँलेहरूको भनाइमा यो बस्तीका धनिजति विस्थापित भएका छन् भने उनीहरूले बनाएका पक्की घरमा गरिबहरूलाई राखिएको छ ।
गाउँबाट विस्थापित भएकाहरू बनेपा, धुलिखेल, पनौती, काठमाण्डौ, भक्तपुर र ललितपुरमा डेरा लिएर बसेका भेटिन्छन् भने डाँडापारिका केही परिवार ढुर्खर्क, शंखुपाटीचौर र भकुन्डेबेसीमा आफन्तकोमा शरण लिएर बसेका छन् । जिल्लामा बस्न नसकेर केही परिवार र्सलाही, चितवन, निजगढ र रौतहटतर्फबसाइँ सरेको पनि देखिन्छ । डाँडापारिक्षेत्र र तराइका जिल्लामा सिधा सर्म्पर्क तथा आवतजावत सजिलो भएर पनि त्यतातर्फविस्थापनको ओइरो लाग्ने गरेको हो । कतिपय विस्थापित परिवारको मूली मान्छे मरिसकेको हुँदा बालबच्चाहरूको बिजोग देखिन्छ ।
जिल्लामा विस्थापितको संख्या कति छ भन्ने सम्बन्धमा पुर्ण तथ्याङ्क कसैसँग पनि छैन । मानवअधिकारवादी संस्था इन्सेकको तथ्याङ्क अनुसार काभ्रेमा कम्तीमा १ सय ८३ परिवारका ९ सय ७३ जना विस्थापनमा परेका छन् । जिल्लाका ८७ गाविस र तीन नगरपालिकामध्ये ४३ गाविसमा विस्थापनको समस्या देखिएको छ । गाउँबाट विस्थापित भएर अन्य जिल्लामा गएका मात्र होइन, अन्य जिल्लाबाट विस्थापनमा परी यहाँ आएका पनि भेटिन्छन् । सबै भन्दा बढी भीमखोरी र बनखु गाविसमा विस्थापनको समस्या देखिएको छ । भीमखोरीबाट २० जना र बनखुबाट १४ जनाले विस्थापित हुनु परेको छ । माओवादी धम्कीका कारण एकै परिवारका १७ जनासम्म विस्थापित बनेका छन् । जिल्लामा आन्तरिक विस्थापन मात्र होइन, विदेश पलायन हुने क्रम पनि बढेको देखिएको छ । एक आँकलन अनुसार, विदेश जानेहरूमध्ये करिब ३० प्रतिशत व्यक्तिहरू द्वन्द्वपीडित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा १ सय ३५ परिवार विस्थापित भएका छन् । तीमध्ये महिला र पुरुष कति कति संख्यामा छन् भन्ने अभिलेख भने प्रहरीसँग छैन । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार जिल्लामा १ सय ९ परिवार विस्थापित छन् । प्रहरी प्रतिवेदनजस्तै प्रशासनको प्रतिवेदनमा पनि महिला, पुरुष खुलेको देखिन्न । यता विस्थापितको बारेमा पत्रपत्रिकाहरूले सार्वजनिक गरेको सूची प्रहरी, प्रशासनको सूचीसँग मेल खाँदैन । प्रहरी/प्रशासनकोमा विस्थापित भन्न नसक्ने, तर केही अवसर आउँदा आफूलाई विस्थापितको रूपमा पेश गर्नेहरू पनि देखिएका छन् । जिल्ला बालकल्याण समितिले द्वन्द्व पीडित बालबालिकाको लागि छात्रवृतिको व्यवस्था गर्दा त्यहाँ विस्थापित भनेर नाम लेखाउने कतिपयको नाम प्रहरी/प्रशासनको सूचीमा देखिन्न । प्रहरी प्रशासनले आफ्नो नाम विस्थापित भनेर सार्वजनिक गरिदियो भने माओवादीले थाहा पाउलान् र कहिल्यै गाउँ जान नपाइएला भनेर विस्थापितको सूचीमा नाम दर्ता नगराएको विस्थापितहरू बताउँछन् । 'गाउँ त जान परिहाल्छ नि ! शान्ति भइहाल्यो भने घर फिर्नुपर्छ । माओवादीले विस्थापित भत्ता बुझेको थाहा पाए भने मार्छन् ।' एकजना विस्थापित बताउँछन् ।
विस्थापितहरूको सुरक्षा व्यवस्था राम्रो भएको प्रहरीको आँकलन छ । प्रहरी प्रतिवेदनअनुसार माओवादीका कार्यकर्ताले ज्यान लिने धम्की दिएका कारण गाउँबाट विस्थापित बनेकाहरू सहरमा सुरक्षित अवस्थामा छन् । तर पहिलो सङ्कटकालअघि जिल्लामा ३३ वटा प्रहरी चौकी रहेकोमा हाल जिल्लामा ५ वटा मात्र चौकी छन् । अरू सबै त्रासका कारण विस्थापित भएर जिल्ला सदरमुकाममा गाभिएका छन् ।
मानवअधिकारका विषयमा हुने भेला र गोष्ठीहरूमा विस्थापितहरू घर जान चाहेको बताउँछन् । उनीहरूलाई घर फर्काउने भनेर माओवादीले एक पटक अभियान पनि चलाए । तर त्यसै बेला उनीहरूले कोशीपारिक्षेत्रका ३३ जनालाई कार्बाही गर्ने धम्कीसहित सूची टाँसेपछि सूचीमा पर्नेहरू सदरमुकामतिरै ओइरिए । गाउँ र्फकन पाइहालिन्छ कि भन्ने आशा गर्नेहरू सो घटनापछि एकदमै हताश भएका छन् । माओवादीहरू भने कसैलाई पनि घर जानबाट वञ्चित नगरेको स्पष्टीकरण दिइरहन्छन् । तर विस्थापनको सूचीमा रहेर जिल्ला प्रशासनबाट विस्थापित भत्ता बुझ्नेहरू माओवादीले बोलाउँदा पनि घर जान सकेका छैनन् । यसको कारण के भने माओवादीले विस्थापित परिवारलाई झनै निशाना बनाउने गरेको पाइन्छ ।
विस्थापित जीवन सहज र सुखद् छैन । अधिकांश विस्थापित परिवारहरू गरिबीबाट झनै गरिबीतर्फओरालो लागेका छन् । गाउँमा २२ रोपनी जग्गाका धनी रहेका बनखुका अफिलध्वज लामा अचेल सातजना छोराछोरीलाई गुम्बामा राखेर आफू ज्यामी काम गर्छन् । मिल्चेका काजीमान रुम्बासँग गाउँमा त्यति नै जग्गा रहे पनि माओवादीले पटक-पटक बच्चाहरू मागेका कारण बस्ती नै छोडेर छजना छोराछोरीलाई गलैँचामा काम लगाई आफू मजदुरी गर्छन् । यस्तै पीडा फोक्सिङटारका धनध्वज दोङ र वाल्टिङका प्रेमकुमार शाहको पनि छ । उनीहरू ज्यालामजदुरी गर्छन् भने मिल्चेका मानबहादुर घलान कूचो र बनखुका हेमलाल तामाङ दाउरा बेच्छन् ।
परिवारका मूली विस्थापित भई आफूचाहिँ गाउँमै छाडिएका महिला र बालबालिकाको स्थिति पनि कम दारुण छैन । केटाकेटी हेर्न, घरधन्दा सम्हाल्न र जग्गाजमीनको हेरचाह गर्न महिलाहरूलाई धौधौ परेको छ । जन्ती,मलामीका निम्ति पनि पुरुषहरूको अभाव खड्किन्छ । कमाउ पुरुष सहरतिरै भएकाले कतिपयका खेतबारी पूरै बाँझो देखिन्छ । कतिपयको घरमा माओवादीले ताला लगाएका कारण भित्रै कुहेका अन्नपातहरू डङ्डङ्ती गनाएका छन् । अर्कोतिर, गाउँमा अन्नपात नभए पनि माओवादीलाई खुवाउनुपर्ने समस्या छ । खाना नखुवाएमा माओवादीको गाउँ जनसरकार घरजग्गाको कर उठाउन आइपुग्छ । कर नतिरेमा घरमा ताला लाग्छ र पूरै परिवार विस्थापित हुनु पर्ने अवस्था आउँछ । केही घरहरूलाई त माओवादीले आगो लगाएर ध्वस्तै पारिदिएका छन् । गाउँमा बस्ने महिला तथा बालबालिका सामान्य बतास लाग्दा पनि सेना वा माओवादी आए कि भनी तर्सन्छन् ।
सरकारले ४० जिल्लामा शान्तिप्रक्रियाका साथै द्वन्द्वपीडितहरूका लागि प्राथमिक राहत कार्यक्रम लागू गर्ने भनेर आश्वासन दिए पनि अहिलेसम्म त्यस्तो राहत कसैले पाएको देखिन्न।द्वन्द्वपीडितहरूका लागि सरकारले विकास निर्माण, रोजगारी, व्यवसाय र उत्पादनमूलक कार्यक्रम सञ्चालन गरेको बताइए तापनि विस्थापितहरूलाई समावेश गरेको पाइन्न । पढ्ने उमेरका बालबालिकाहरू बाबुआमासँग पछि लागेर जहाँ गए पनि सहजै पढ्ने वातावरण मिलाउन, स्वास्थ्य सुविधाबाट वञ्चितहरूका लागि निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न, योग्यता तथा उमेर पुगेकालाई सीपमूलक तालिम एवं रोजगारीको व्यवस्था गर्न र वृद्ध, महिला र बालबालिकाहरूका लागि विशेष सुरक्षाको व्यवस्था गर्न विस्थापितहरू राज्यसँग माग राख्दछन् । विस्थापित कस्तालाई मान्ने र कसको सिफारिसमा विस्थापितले सुविधा पाउने भन्ने कुराको यकीन गर्न पनि उनीहरूको अनुरोध छ ।
-
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…