सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !

कास्की । ०८० जेठ १६ गते

२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो दुई जनाको आउजाउ बाक्लै हुन्थ्यो । कृष्णका बाबु केशव गौतम र काका पुष्पराज गौतम तत्कालिन माओवादी समर्थक थिए । त्यसैले शसस्त्र द्वन्द्वकालीन समयमा माओवादीहरूले उनीहरूको घरमा सामान छाड्ने गर्थे । माओवादीको आउजाउ सचेततापूर्वक र बारम्बार भइरहन्थ्यो ।

photo20230530kaski (2)

रामचन्द्र कृष्णको घरमा खाटमा बस्नु भएको थियो । त्यही बेला पुष्पराज गौतमले सेतो बारूदको धुलो निकालेर टिनको डब्बमा राखेर सलाई कोर्नु भयो । त्यो वस्तु सल्कियो । पड्किएन । नपड्किएपछि बम होइन भन्ने लाग्यो । बाँकी रहेको बारुदहरूलाई एक जनाले खाटमुनी राखेका रहेछन् । १५ वर्षको बाल्य अवस्थामा  काैतुहलता हुने नै भयो । जे गर्न हुँदैन भन्यो त्यही वस्तुतर्फ धेरै आकर्षण हुने उमेर नै त्यस्तै थियो । खाटामुनी रहेको अर्को पोकामा रहेको वस्तुलाई रामचन्द्रले फलामको रडले चलाउँदै गर्दा उक्त वस्तुमा आगोको झिल्का जस्तो निस्कयो । त्यहाँ भएका अरु विस्फोटक पदार्थमा सल्केर पड्कियो । त्यसपछि के भयो थाहा नै भएन । उहाँलाई उपचारका लागि तत्कालै फुलवारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको रहेछ । घटनास्थलमा बमले रामचन्द्रका दुवै गोडा गुमिसकेका थिए । माछापुच्छ्रे  गाउँपालिका–२ सार्दीखोलामा २०४८ सालमा जन्मनु भएका रामचन्द्र बिकको जीवनमा १५ वर्षकै उमेरमा ठूलो भुकम्प गयो । सानैदेखि खेलकुद र नृत्यमा निकै रुचि राख्ने रामचन्द्रको सपना भविष्यमा राम्रो कलाकार बन्ने थियो । तर, १५ वर्षकै उमेरमा रामचन्द्रको सपनाको मृत्यु भयो । सशस्त्र द्वन्द्वको अवधिमा भएको विष्फोटनबाट दुवै गोडा र रामचन्द्रका सपनासँगसँगे गुमे ।

१९ दिनसम्म गरिएको उपचारपछि उहाँ होस्मा आउनु भयो । अचेत अवस्थामा रहेर होस आएपछि जुरुक्क उठ्ने प्रयास गर्नु भयो । त्यतिबेला उनलाई गोडा छैन भन्ने थाहा नै थिएन । उठ्न खोज्दा लडेर अर्को बेडमा ठोक्किएर बेहोस हुनुभएछ । त्यसको दुई-तीन दिनपछि होस आउँदा बल्ल दुवै गोडा छैन भन्ने थाहा भयो । उहाँ छाँगाबाट खसेजस्तै हुनुभयाे अब जीवन नै सकिएको जस्तो लाग्न थाल्यो । नौ महिना मणिपाल र चार महिना हरियोखर्क अस्पतालमा गरी १३ महिनासम्म अस्पतालमा उपचारका लागि बस्नु पर्‍यो । १९ दिनसम्म मणिपालको कोमामा अचेत अवस्थामा रहँदा गोडाको भित्रभित्रै हड्डी कुहिएर क्यान्सर फैलिँदै गएपछि नौ पटकसम्म गोडा काट्नुपरेको रामचन्द्र बताउनुहुन्छ । त्यतिबेला उपचारमा ५ लाख रुपियाँ खर्च भयो । दुवै गोडा छैन । बाँचेर पनि के गर्नु ? जस्तो लाग्थ्यो अस्पतालमा बस्दा । तर, हरियोखर्क अस्पतालमा सँगै उपचार गराइरहेका भुवन गुरुङले–‘तँ त आफैँ दिसा पिसाब गर्न सक्छस् । लट्ठी टेकेर आफैँ हिँडडुल गर्न सक्छस् । म त दिसा पिसाब आएको समेत थाहा नै पाउँदिन । ह्विल चेयरमा हिँडछु ।’ भनेपछि आत्मबल बढाएको रामचन्द्रको अनुभव छ ।

photo20230530kaski (7)

कक्षा नौ मा पढ्दै गर्दा घाइते भएका उनले उपचारपछि पढाइलाई भने निरन्तरता दिनुभयाे । हिँडेर जान समस्या भएपछि उहाँ विद्यालयमै एउटा खाली कोठा मागेर त्यहीँ बसेर पढेर एसएलसी दिनु भयो । यसरी नै १२ कक्षासम्मको पढाइ पुरा गर्नु भयो । पढ्ने बेलामा साथीहरूले निकै सहयोग गरेको उहाँ बताउनुहुन्छ । इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा आफ्नो नाम अभिलेख गरेको र द्वन्द्व पीडितका रूपमा आफ्नो बारेमा घटना अभिलेख भएकाले धेरै सङ्घसंस्थाबाट सहयोग पुगेको उहाँको भनाइ छ । इन्सेकबाटै आफुले २०६७ सालमा ५ हजार रुपियाँ आर्थिक सहयोग पनि पाएको उहाँले बताउनु भयो । अपाङ्गता भएकाहरूसँग मिलेर उहाँले गाउँपालिकामा समिति बनाएर पेश गरेपछि ५० हजार रुपियाँ र आइसीआरसीको ३५ हजार रुपियाँ सहयोगबाट सानो मोबाइल पसलको सुरुवात गर्नु भयो । यसरी उहाँले आफ्नै व्यवसाय सञ्चालन गर्न थाल्नु भयो ‘सरकारले द्वन्द्वपीडितको पहिचान गरी क्षमता अनुसारको रोजगारी दिनुपर्ने र सहुलित ब्याजमा ऋण उपलब्ध गराएमा पीडितहरूले व्यवसाय गरेर भएपनि आफ्नो जीविकोपार्जन गर्न सकिन्थ्यो ।’–रामचन्द्र भन्नु हुन्छ ।

२०७७ मा उहाँले अपाङ्गताको परिचयपत्र पाउनु भयो । ०६८ सालतिर सरकारबाट ५० प्रतिशत अपाङ्गता भनेर १ लाख रुपियाँ पाउनु भयो । हाल उहाँले मासिक १८ हजार रुपियाँ जीवन निर्वाह भत्ता पाइरहनु भएको छ । कृत्रिम गोडाको सहाराले हिँडडुल गर्दै आउनु भएका रामचन्दको हरेक चार-पाँच वर्षको अन्तरालमा गोडा परिवर्तन गरिरहनु पर्छ । कृत्रिम गोडाको मुल्य २ लाख ५० हजार रुपियाँको हाराहारीमा पर्छ । ‘सुरुमा त यस्तो गोडा आइसीआरसीले राखदिएको थियो तर अहिले आफैँले किन्नु पर्छ ।’–उहाँको गुनासो छ । लठ्ठीको सहाराले सामान्य हिँडडुल गर्ने उहाँ अझैपनि कतै गीत बज्यो कि नाच्न तयार भइहाल्नुहुन्छ । तर, के गर्नु दुवै गोडा कृत्रिम छन् । !

photo20230530kaski (10)

photo20230530kaski (3)

photo20230530kaski (9)

- रेनुका बिक