समस्यामा भूकम्प प्रभावित : ‘घरले थिच्यो ,भाग्यले बाँचियो’
दार्मा गाउँपालिका–२ लिरापाजाका हर्कु खत्री उमेरले ८१ वर्षको हुनुभयो । घरायसी काम गर्न नसकेपनि उहाँले वरपर गर्ने, घरको देखदेख गर्ने, नातिनातिनाको रेखदेख गर्ने गर्नुहुन्छ । उहाँका कान्छा छोरा टेक बहादुर केसीले दुई वर्षअघि मात्रै दुई तले टिनले छाएको घर बनाउनुभएको थियो । घर बनाउँदाको ऋण तिर्ने पैसा कमाउन भन्दै टेक बहादुर असोज महिनामा कालापार (भारत) जानुभयो । उहाँले कालापार गएको झण्डै एक महिनापछि कात्तिक १७ गते बिहान घर फर्कनुभएको थियो ।
साँझको खाना खाएर कान्छा छोराको चार जनाको परिवार एउटा कोठामा सुत्न गए । ८१ वर्षीय हर्कु माइला छोराका दुई ओटा छोरा (नाति) सँग सुत्न अर्को कोठामा जानुभयो । रातको साढेँ ११ बजेतिर हर्कु शौच गएर फर्केपछि उहाँलाई निद्रा लागेन् । कोठामा बसेको बेला एक्कासी उहाँलाई हल्लायो । उहाँ बसेको ठाउँबाट उठ्नै सक्नुभएन् । अनि छोराबुहारीलाई बोलाउनुभयो । हर्कुले बोलाएपछि छोरा उठेर आफ्ना बच्चा र पतिलाई बाहिर निकाल्नु भएको थियो । त्यसबेला सम्म घरको भित्ता ढलेर ढुङ्गा ओछ्यानमा आइसकेका थिए । हतारमा आफुसँगै सुतेका नातिलाई उठाएर हुर्कु बाहिर निस्कदै हुनुहुन्थ्यो भित्ताको ढुङ्गाले उहाँले घाँटीमा र बुहारीको खुट्टामा लाग्यो । जब परिवारसबै बाहिर निस्किए, त्यसअघि नै घरको आधा भाग ढलिसकेको थियो ।
‘त्यही दिन विहान छोरा घरमा आयो, साँझ भुइँचालो गयो, सायद छोरा घरमा नआएको भए त, हाम्रो परिवार नै सकिने रहिछ, घर भत्कियो, तर हामी बाँच्न सफल भयौँ’ गहँभरी आँसु बनाएर ८१ वर्षीय हुर्कुले भन्नुभयो ‘भुइँचालो पहिले पनि जान्थेँ, तर यस्तो असर गर्थेनन्, यसपटक हाम्रो परिवार नै सिध्याउने रहेछ, तर धन्न भाग्यले बाँचियो, घर भत्किएर ढुङ्गाले लाग्दा पनि ठुलो चोट लागेन, हाम्रो परिवार सकुशल रहयो ।’
‘गाउँभरी हल्लाखल्ला मच्चियो, भैसी बाँधेको गोठ भत्कियो, झट्टपट्ट भैँसी फुकाएर बाहिर ल्यायौँ, घर भत्कियो, गोठ भत्कियो, चर्पी भत्कियो, मात्रै हामी सकुशल रहेका छौँ’ उहाँले थप्नुभयो ‘घर बनाउन ल्याएको ऋण तिर्न बाँकी छ, तर घर छैन्, रातको समय भएकाले गाउँमा जान सकिएन्, आँगनमा आगो ताप्दै रात काट्यौ, विहान उज्यालो हुँदा घर छैन्, गोठ छैन्, जेठा र माइला छोराको पनि घर छैन्, छिमेकीका घर छैनन्, धन्न मान्छे बाँच्यौ ।’
अहिले आँगनमा नै त्रिपाल टाँगेर रात काट्दै आएको उहाँ बताउनुहुन्छ । ‘सकेजतिका लत्ताकपडा र भाँडाकुडा भत्किएको घरबाट बाहिर तान्यौँ, अहिले आँगनमा नै बास भएको छ, न खान मन लाग्छ, न त निद्रा नै लाग्छ, यति ठुलो घर बनाएर त्रिपालमुनी सुत्नुपर्ला भन्ने कहिले पनि सोचेको थिएन्’ उहाँले भन्नुभयो ‘जे नहुनु थियो, त्यही भयो, अब हाम्रो व्यवस्थापन राज्यले गरोस् ।’
उहाँकै छिमेकी बहादुर दमाई ७९ बर्षको हुनुभयो । बहादुरका बुढाबुढी र छोराहरु एउटै घरमा तर अलग–अलग कोठामा बस्नुहन्छ । घरको माथिल्लो तलामा उहाँका बुढाबुढी र भुईतलामा उहाँका दुई ओटा छोरा छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । भूकम्प गएको दुई दिनअघि बहादुरका बुढाबुढी कान्छा छोराले बनाएको नयाँ घरमा बास बस्न जानुभएको थियो । ‘छोरा झ्यारीबाङबाट कपडा सिलाएर राती ११ बजे घरमा आयो, खाना खाएर अब सुत्छु भन्ने बेलामा घर एक्कसी हल्लियो, ओहो ! भुइँचुलो आयो भनेर बाहिर निस्कने बेलामा घर भत्कियो, ढोकाको चुक्कल लाग्यो, छोरा बाहिर तर बुहारी र नाति भित्र थुनिए, म एक्लै बाँचेर के गरु ? मरे सबै मरुम्ला भनेर ढोका फोडेपछि बुहारी र नाति बाहिर आए, अर्को कोठामा तीन जना नातिनी सुतेका थिए, घरको भित्ता भत्किए, तर ढोका नभत्किएकाले नातिनीहरु पनि सकुशल बाहिर आए’ उहाँले भन्नुभयो ।
‘हामी यही घरैमा भएको भए त माथिल्लो तलामा हामी बस्थिम, सुरुमा हामी मर्ने थियौँ’ रुदैँ उहाँले भन्नुभयो ‘सम्पतीका नाममा एउटा घर थियो, त्यही घरमा तीन जनाको परिवार बस्दै आएका थियो, भुइँचालोले त्यही घर पनि लियो, अहिले त हामी घर न घाटका भयौँ गरिवलाई त भगवानले पनि हेला गर्ने रहिछन् ।’ अहिले खुला आकाशमुनि शित छल्ने च्यादर हालेर बस्दै आएको उहाँको भनाइ छ ।
न निद्रा लाग्छ, न भोक
भूकम्पबाट दार्मा गाउँपालिका धेरै प्रभावित भएको छ । यसै गाउँपालिका वडा नं. १, २, ५ र ६ नम्बर वडा बढी प्रभावित भएका छन् । भूकम्पका कारण प्रभावित नागरिकलाई भूकम्पको त्रास अझै पनि छ । कति बेला भुकम्प आउँछ भन्ने त्रासैत्रासमा रात दिन बित्ने गरेको स्थानीय गोपाल केसीले बताउनुभयो ।
‘भूकम्पका कारण घरमा बस्ने अवस्था छैन्, चौडा ठाउँमा ४ वर्षअघि मात्रै लाखौँ खर्च गरेर घर बनाएका हौँ, घरमा सिमेन्ट बालुवाले प्लास्टर गरेका छौँ, छड राखेर पिलर ठडाइ बार्दलीमा पनि ढलान गरेका छौँ, जतिसक्दो मजबुद होस् भनेर घर बनाएका हौँ, तर भूकम्पले क्षति गरेको छ, घरमा बस्नसक्ने अवस्था नै छैन्’ उहाँले भन्नुभयो ।
भुकम्पका कारण निद्रा, भोक सबै हराएको उहाँको भनाइ छ । उहाँको परिवारमा ११ जना हुनुहुन्छ ।
भूकम्पबाट ५ सय २६ घरगोठमा क्षति
भूकम्पमा परेर सल्यानमा ५ सय २६ घरगोठमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार कुनै मानवीय क्षति नभएपनि भौतिक संरचनामा भने ठुलो मात्रामा क्षति भएको हो । जसमा पुर्णरुपमा ९५ घरमा क्षति भएको छ । यस्तै आंशिक रुपमा २ सय ५६ र १ सय १७ घरमा सामान्य क्षति भएको सल्यान प्रहरी प्रमुख, डिएसपि नबिन कार्कीले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै दार्मा गाउँपालिकामा क्षति भएको छ । दार्मा गाउँपालिकामा ९३ घरमा पुर्ण, आंशिक रुपमा २ सय ३६ र सामान्य ६६ घरमा गरेर ३ सय ९८ घरमा क्षति पुगेको छ । यस्तै सिद्धकुमाख गाउँपालिकामा आंशिक दुई र सामान्य १८ गरी जम्मा २० घरमा क्षति भएको छ ।
यस्तै शारदा नगरपालिकामा आंशिक एक र सामान्य दुई गरी तीन ओटा घरमा, बागचौर नगरपालिकामा पुर्ण क्षति दुई घरमा, आंशिक दुई घरमा र सामान्य १७ गरी जम्मा २२ ओटा घरमा क्षति भएको छ । यस्तै गरी कपुरकोट गाउँपालिकामा आंशिक तीन ओटा घर र सामान्य २३ ओटा गरी जम्मा २६ घरमा, त्रिवेणी गाँउपालिकामा आंशिक एक घरमा र बनगाड कुपिन्डे नगरपालिकामा आंशिक ६ र सामान्य ४६ गरी जम्मा ५२ ओटा घरमा क्षति भएको छ ।
भूकम्प प्रभावितलाई त्रिपाल, कम्बल र खाद्यान्न
भूकम्पबाट प्रभावित भएका यहाँका नागरिकलाई राहत वितरण गर्न थालिएको छ । घर भत्किएर चौरमा बस्दै आएका पीडितलाई तत्कालको लागि त्रिपाल, कम्बल, खाद्यान्न वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । पूर्णरुपमा घर भत्किएर चौरमा बस्दै आएका पीडितलाई प्राथमिकता दिएर राहत वितरण गर्न थालिएको उहाँले बताउनुभयो ।
‘क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ, पडितको पहिचान गर्ने र तत्कालको लागि गाँस, बासकोे व्यवस्था गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘हामीले अहिले दिएको राहत तत्कालको लागि हो, पालिकाले भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्छ, हामीले हाम्रा नागरिकलाई भोकभोकै मर्न दिदैनौँ, वास्तविक पीडित नछुटोस् भन्ने हेतुका साथै प्रहरी, जनप्रतिनिधि, कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छौँ ।’
दार्माका भूकम्प प्रभावितको लागि नेपाल रेडक्रस सोसाइटीले राहत सामाग्री उपलब्ध गराएको छ । रेडक्रसले ६० थान कम्बल र ५० थान त्रिपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको रेडक्रसका जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
- बुद्धिमान पुन
सम्बन्धित फिचरहरू
बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने…
खाेला र नदीमा जलवायु परिवर्तनकाे असर, माछा मारेरै जीविका चलाउनेहरू मर्कामा !
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै…
नदी उत्खनन्ले सोनाहाहरूको पेशा सङ्कटमा ! (फोटो फिचर)
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ…
राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या !
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम…
‘देशलाई दृष्टि चढाएर अन्धकारमा बाँच्दैछु !’
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।…