सङ्घर्षले बदलिएको तुलसीको जीवन !

सुर्खेत । ०८१ माघ २६ गते

भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश पुरीको २०७९ साल वैशाख २ गते मुखको क्यान्सरबाट निधन भयो, तब उहाँ समाज र घरपरिवारबाट विधवा भनेर हेपिन थाल्नुभयो । यतिसम्मकी परिवारसँग धेरै सङ्घर्ष गरेर पतिको काजकिरिया गर्न पाउनुभयो ।

एक छोराको पालनपोषण र कलिलै उमेरमा विधुवा हुनुको पीडा उहाँलाई थियो । यता घरपरिवार उहाँको पतिको नाममा रहेको सम्पत्ति कसरी वञ्चित गराउने भन्ने योजनामा थियो । पतिको मृत्यु दर्ता बनाएर उहाँको नाममा भएको रकम लिने प्रयास परिवारले गरे । उहाँले आफ्नो न्यायको लागि समाज र माइतीसँग हारगुहार गर्नुभयो । तर, उहाँको हारगुहार कसैले सुनेन । उहाँले आफ्नो अधिकारका लागि ०७९ साउन १५ गते जिल्ला अदालत सुर्खेतमा जेठाजु र ससुरा विरुद्ध अंश र खाना खर्चको मुद्दा दिनुभयो । उहाँसँग मुद्दा लड्नका लागि आर्थिक स्रोत थिएन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उहाँलाई ५ हजार रुपियाँ कानुनी सहयाताका लागि सहयोग गर्‍यो । साढे दुई वर्षसम्म तुलसीले परिवार विरुद्ध अदालतमा मुद्दा लड्नुभयो । फलस्वरुप ०८१ पुस १८ गते अदालतले उहाँकै पक्षमा फैसला गर्‍यो ।

‘१९ वर्षको उमेरमा विवाह गरेँ । छोरा साढे चार वर्षको हुँदा पतिलाई गुमाएँ । घरपरिवारको अपहेलना सहन नसकेपछि माइतीको शरणमा पुगेँ । तर माइतीले जे गछौँ गर भनेपछि मेरो लागि न त समाउने हाँगो थियो न त टेक्ने कुनै खुड्किलो । एक्लै भएपनि छोराको लागि कानुनी लडाईं लड्न बाध्य भएँ’ - पुराना दिन सम्झँदै तुलसीले भन्नुभयो । उहाँले अदालतमा मुद्दा दिएपछि त घरमा प्रवेश गर्न नै दिइएन् । फेरिपनि उहाँ माइतमा गएर बस्न बाध्य हुनुभयो । मानसिक रुपमा उहाँ साह्रै विक्षिप्त हुनुभयो । इन्सेकले भदौ ६ गते उहाँलाई वीरेन्द्रनगरको मानव अधिकार रक्षकका रूपमा कामगर्ने अवसर दियो । उहाँले ०७९ भदौ ७ गते इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको मानव अधिकार रक्षकका लागि तीन दिने मनोसामाजिक प्राथमिक उपचार विषयक तालिममा सहभागी हुने अवसर पाउनुभयो । त्यो तालिमले जिन्दगीमा नयाँ जोश र जाँगर ल्याएको उहाँ बताउनुहुन्छ । त्यतिमात्र होइन अहिले पनि इन्सेकले आयोजना गरेका विभिन्न कार्यक्रममा उहाँ सहभागी हुनुहुन्छ ।

‘मेरो यो सफलता र मेरो जिन्दगीमा आएको जुन परिवर्तन छ यसको श्रेय म इन्सेकलाई दिन चाहान्छु । इन्सेक मेरो जीवनको संवाहक हो । इन्सेककै कारण तालिम र जागिर पाएँ । त्योसँगै मुद्दा पनि जित्न सफल भएँ’ - उहाँले भन्नुभयो । तीन दिने मनोसामाजिक तालिमले उहाँलाई हौसला दियो । अहिले तुलसी माइतमा बसेर विगत दुई वर्षदेखि सहकर्मी समाज नामक गैरसरकारी संस्थामा सामाजिक परिचालकको रुपमा कार्यरत हुनुहुन्छ । त्योसँगै उहाँ हिंसा पीडित महिलाको अधिकारका क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । युवा मानव अधिकार रक्षक सुर्खेतको सहसचिव हुनुहुन्छ ।

‘जब जिन्दगीमा निरासाले मात्रै काम गर्दैन रहेछ भन्ने बुझेँ । त्यसपछि मनलाई बलियो बनाएर अघि बढेँ । त्यसैको परिणाम हो अहिले समाजको नेतृत्व गरेर हिँडिरहेकी छु । अहिले गाउँगाउँ गएर नागरिकका समस्या बुझ्ने त्यसको समस्या समाधान गर्ने जागिर पाएकी छु । जसका कारण मलाई पहिले विधुवा भनेर हेप्ने समाज अहिले तुलसी म्याडम भनेर सम्मान गर्छ’ - उहाँले भन्नुभयो । उहाँ अहिले नागरिकलाई परेका समस्या समाधानका लागि वडा र नगरपालिकासँग समन्वय गरेर समाधान गर्नुहुन्छ । उहाँकै अगुवाइमा वीरेन्द्रनगर नगरपालिका–१ मा सरसफाई, नशामुक्त अभियान, खानेपानी निःशुल्क औषधी जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन भएका छन् । कक्षा १२ पढ्दै गर्नुभएकी गिरीको पढाइ विवाह पश्चात छुटेको थियो । तर उहाँले सामाजिक क्षेत्रमा काम गर्दै गर्दा आफ्नो पढाइलाई समेत निरन्तरता दिनुभएको छ । अहिले उहाँ मध्यपश्चिम विश्वविद्यालयमा समाजशास्त्र संकायको स्नातक तहको पाँचौ सेमेष्टारमा अध्ययनरत हुनुहुन्छ । सँगै छोरालाई पनि राम्रो निजी विद्यालयमा पढाई रहनुभएको छ । उहाँका छोरा कक्षा १ मा पढ्दैछन् । उहाँको लक्ष्य अब समाजसास्त्रमा मास्टर्स डिग्री गरेर समाजकै हितका लागि काम रहेको छ ।

Photo08022025Surkhet

- जगतदल जनाला विक