संविधान प्रदत्त अधिकारबाट वञ्चित ‘बालुवाटारवासी’
‘नेपालको संविधानको भाग ३ को धारा २५ को (१) मा प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ’ भनेर उल्लेख गरिएको छ । तर, वीरेन्द्रनगर नगरपालिका–११ स्थित ‘बालुवाटार’ बस्तीका नागरिक यो हकबाट वञ्चित भएका छन् । दुरीका हिसाबले वीरेन्द्रनगर बजारदेखि १० किलोमिटर मात्रै टाढा छ, यो बस्ती । यहाँका २६ घरधुरीले नै अहिलेसम्म जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । जसबाट उनीहरू कानुनी रूपमा जग्गाको मालिक बन्न पाएका छैनन् ।
पाँच रोपनी जग्गा भए पनि १५ वर्षदेखि पुर्जाविहिन भएको स्थानीय कर्णबहादुर गन्धर्वले बताउनु भयो । ‘नाम सुन्दा काठमाडौँ बालुवाटार सुनिए पनि यहाँको पीडा व्यथा भने अर्कै मूलकको जस्तो छ । पाँच रोपनी जग्गाको अहिलेसम्म पुर्जा पाउन सकेको छैन । एक गैरसरकारी संस्थाको सहयोगमा विद्युत पुगे पनि सडक र शिक्षाको अवस्था भने उस्तै छ', उहाँले भन्नुभयो ।
वडा कार्यालय र स्वास्थ्य संस्था जान पनि एक घण्टौँ टाढा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार बालविवाह, गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्य बालुवाटार बस्तीका प्रमुख समस्या हुन् ।
विद्यालय जान पनि ४०/४५ मिनेट जङ्गलको बाटो हिँड्नुपर्ने बाध्यता रहेको कर्णबहादुरको भनाइ छ । नजिक स्वास्थ्य संस्था पनि छैन । आधा बाटो हिँडेर त्यसपछि चार/पाँच सय रुपियाँ अटोमा खर्च गरेर सिटामोल ल्याउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो - 'यहाँ हुनेखाने होइन, हुँदा खाने मानिसहरू बस्छन्, कसले बुझिदिने हाम्रा पीडा ।’
यहाँको एक मात्र आयआर्जनको स्रोत भनेको नजिकै बगिरहेको झुप्रा खोला हो । जहाँबाट बालुवा निकालेर आयआर्जनको रूपमा स्थानीयले लिने गरेका थिए । तर, पछिल्ला केही वर्ष यता नगरपालिकाले ठेक्का मार्फत मेसिनबाट बालुवा निकाल्दा उनीहरूको आय स्रोत समेत रोकिएको छ । ‘पहिला बालुवा बेचेर जिविका चलाउँथ्यौँ । अहिले त नगरपालिकाले ठेक्कामा दिएपछि, डोजरले बालुवा तान्छ । हाम्रो काम बन्द भयो । पति पनि दोस्रो विवाह गरेर बेपत्ता छन् । सात सन्तानको पालनपोषण मैले नै गर्नुपर्छ । अहिले त साँझ बिहानको छाक टार्न पनि मुस्किल छ', स्थानीय तुलसी बैगारले भन्नुभयो ।
कर्णबहादुर र तुलसी मात्रै होइनन्, बालुवा बेच्न नपाउँदा यो बस्तीका अधिकांश घरपरिवारलाई छाक टार्न मुस्किल भएको छ । तीन घरधुरी मात्रै गैर दलित समुदाय रहेको बालुवाटार बस्तीमा १ सय ५० कुल जनसङ्ख्या छ । यो बस्तीमा ९८ प्रतिशत दलित समुदायको बसोवास छ । सामान्य टाउको दुखेर सिटामोल ल्याउन पनि चार/पाँच सय रुपियाँ खर्च गरेर वीरेन्द्रनगर बजार आउनुपर्छ । बस्तीमा कक्षा १२ पास गरेका जम्मा दुई जना व्यक्ति मात्रै छन् । १० कक्षा पास गरेका चार जना छन् । धेरैले चार/पाँच कक्षा पढ्दा पढ्दै छोडेर स्थानीय स्तरमा र भारततिर काम गर्न जान्छन् ।
शैक्षिक सामग्री र विद्यालय पोसाक नहुँदा छोराछोरीलाई स्कुल पठाउन नसकिएको अर्की स्थानीय विर्मा दमाईले बताउनु भयो । ‘सम्पत्ति भने पनि सुविधा भने पनि यिनै झुप्रा हुन् । धेरै उत्पादन हुने जमिन पनि छैन । सबथोक किनेर खानुपर्छ । कापी–कलम र ड्रेस नहुँदा छोराछोरीलाई स्कुलमा पठाउन सकिएको छैन', उहाँले भन्नुभयो ।
हरेक हिसाबले अभाव झेल्दै आएको यो बस्ती समस्याको खानीका रूपमा परिचित छ । साँझ बिहान त के खाउँ भन्ने छ ? 'कक्षा १२ पढेर पनि केही काम पाउन सकेका छैनन् । कसरी उच्च शिक्षा पढ्ने ? मसँगका साथीहरू त सबै भारत कोही काठमाडौँका त कोही विदेशमा काम गर्छन्', गोकर्ण गन्धर्वले भन्नुभयो ।
नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । तर, कर्णाली प्रदेशको राजधानीमै रहेको बालुवाटार बस्तीका नागरिकले संविधान प्रदत्त शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकारबाट वञ्चित भएका छन् ।
बस्तीका लागि सरकारले आयआर्जनसँगै रोजगारीका कार्यक्रमहरू ल्याइदिन स्थानीयले अनुरोध गरेपछि खानेपानी र सडकको काम यसै वर्षभित्र सम्पन्न गर्नेगरी योजना बनाएको वीरेन्द्रनगर नगरपालिका-११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताउनु भयो। ‘बालुवाटारलाई व्यवस्थित गर्न म निर्वाचित भइ सकेपछि अधा बाटोसम्म कच्ची सडक पुर्याइएको छ। केही समयमा खानेपानीको कामलाई पनि सुरु गर्नेछौँ’, वडा अध्यक्ष देवकोटाले भन्नुभयो ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…