संविधान दिवसको खुशीयाली पुग्न नसकेको चेपाङ परिवार !
खरले छाएको घर । त्यही पनि लड्नै लागेको । ढुङ्गामाटोको घरमा २–३ डोको मकै । घर अगाडि फल्दै गरेको कोदो । आफ्नो पाँच जनाको परिवारसहित दुई जना भान्जीहरू समेत घरमा सँगै । मेलापात गरेर परिवार धान्न हम्मेहम्मे । पाइन्ट काटेर बनाइएको कट्टु अनि पुरानो मैलो गन्जी र सर्टमा आँगनमा भेटिनु भयो बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उद्धव चेपाङ । कारुणिक अवस्थाको यो उद्धव चेपाङको परिवारले सरकारको राहत र सहयोग बिना नै आफूलाई जिउँदो उभ्याउन सकिरहेको छ ।
उद्धवका नौ वर्षीया भान्जी अन्जिता चेपाङ र सात वर्षीया भान्जी मजिता चेपाङको आमा सुकुमायाको पनि १० महिनाअघि क्षयरोग लागेर उपचार गराउन नसकेपछि मृत्यु भयो । बालिकाका बाबु ज्याला गर्न घर छाडेर हिँडेपछि मामा माइजुको सहारामा आइपुगेका उनीहरु पढाइलाई कठिन अवस्थामा पनि निरन्तरता दिइरहेका छन् । घरमा लगाउने कपडा समेत नभएपछि परिवारका सदस्य अरुले दिएको कपडा लगाउन बाध्य छन् । त्यो पनि उनीहरूलाई लाख बनेको छ ।
नजिकै पञ्चकन्या आधारभुत विद्यालय भएकोले कठिन अवस्थामा पनि बालबालिकाले पढाइलाई भने निरन्तरता दिइरहेका छन् । तीन कक्षासम्म अध्यायन हुने यो विद्यालयमा ३० जना छात्रा र २४ जना छात्र पढ्न आउने गरेको विद्यालयका शिक्षक अर्जुृन चेपाङले बताउनु भयो ।
मासखर्क गरिबीसँग जुधिरहेको यो गाउँमा अझैपनि खर (फुस) को छाना भएको घर उद्ध्व चेपाङको मात्र नभएर नीमबहादुर चेपाङ, धनलाल चेपाङ, सानुमायाँ चेपाङ र पञ्चलाल चेपाङको पनि छ । मासखर्कमा ३५ घर चेपाङ बसोबास गर्छन् । सबैको अवस्था भने एकपेट खान र लाज छोप्ने कपडा खोज्नमै सङ्घर्ष गरिरहनु परेको छ । न उनीहरूले वर्षभरी खान पाउँछन् न उनीहरू काम खोज्न गएर पेट भर्न र लुगा लगाउन पाउने आम्दानी हुन्छ । निर्वाचनको समयमा भोट माग्न आउनेभन्दा बाहेक कोहीपनि गाउँ आइपुग्ने गरेको जानकारीमा नभएको शिक्षक तिलक चेपाङले बताउनु भयो ।
सहर र सदरमुकाममा संविधान दिवस मनाइरहँदा मासखर्कमा भने बिहान बेलुकाको जोहो गर्ने चिन्ता बाहेक केही छैन । स्थानीय सरकारले विद्यालयमा दिवा खाजा बाहेक गरिब विद्यार्थीका लागि योजना नबनाएको मासखर्कबासीको गुनासो छ । स्वास्थ्य सेवा लिन समेत नपाएपछि क्षयरोग लागेर मृत्यु भएको उदाहरण आफ्नै गाउँमा भएकोले जनताका लागि नाना, खाना र छानाको लागि दिर्घकालिन कार्यक्रम ल्याउन चेपाङ समुदायले माग गरिरहेका छन् । मलिन मुहार बनाउँदै उद्धव चेपाङ् नाना, खाना र छानाको याचना सरकारसम्म पुर्याउन आग्रह गर्नुहुन्छ । देशभर संविधान दिवस मनाइरहेको सन्दर्भमा यो परिवार भने हातमुख जोर्न सङ्घर्षरत छ ।
- सीताराम अधिकारी
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो…