श्रमिक दिवसले छोएन इट्टाभट्टाका मजदुरलाई
अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मे १ तारिक भव्य रूपमा मनाइरहँदा भक्तपुरका इट्टाभट्टाका जदुरलाई भने दिवसले छोएन ।
बिहानदेखि मध्यान्हसम्म इट्टाभट्टामा काम गर्न व्यस्त यहाँका मजदरहरू मध्यान्हपछि परेको वर्षाका कारण झ्याउली भित्रै बस्न बाध्य भए पनि अपरान्हपछि भने फेरी आफ्नो रोजीरोटीका लागि इट्टा थन्क्याउन र बोक्न व्यस्त रहेका देखिन्थे ।
भक्तपुरमा सञ्चालित ३९ ओटा इट्टाभट्टाका अधिकाङ्श मजदुरलाई श्रमिक दिवसले छोएन । चाँगुनारायण नगरपालिका–९ ताथलीको बि.एम. इट्टाभट्टामा कार्यरत भकुण्डे बेशीकी सानी नेपालीले दैनिक दुई हजारदेखि २५ सय इट्टा बाक्ने गरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, 'पानी परेको छ, हामीलाई त वर्षा लागेपछि चिन्ता पो हुन्छ, इट्टा भिजेर बिग्रिएपछि पैसा पाइँदैन ।'
दुई वर्षीया छोरीलाई ६ वर्षीया अर्की छोरीलाई रेखदेख गर्न लगाएर हनुमान इट्टाभ उद्योगमा कार्यरत दाङ घोराहीकी सिमा घर्ती इट्टा बोकेर दैनिक एक हजार रुपियाँ कमाई हुने बताउनु हुन्छ ।
चाँगुनारायण नगरपालिका-२ दुवाकोट सेती भैरब इट्टाभट्टामा काम गर्ने दाङ घोराहीकी सानीकान्छी घर्तीले श्रमिक दिवसको बारेमा बुझ्ने फुर्सद नै नभएको बताउनु भयो ।
उहाँले भन्नु्भयो-'दिवसका चासो भएन, तीन दिनदेखि परेको पानीले हाम्रो एक हजार इट्टा बिग्रियो, साहुले पैसा दिँदैन, त्यत्रो मिहेनत खेर गयो, त्यसैको चिन्ता छ, दिवस भए पनि पानी रोकिएको बेलामा इट्टा बोक्न गयौँ, अहिले पानी परेकाले एक छिन झ्यालीमा बसियो, पानी रोकियो भने फेरी इट्टा बोक्न जानु पर्छ ।'
सिन्धुपाल्चोक माङ्खाको ४० वर्षीय रामकुमार परियार र ४० वर्षीया पत्नी कृष्णा परियारलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस भन्ने थाहा नभएको बताउनु भयो ।
यस वर्षका लागि ठेक्का लिएको तीन लाख इट्टा बनाई सकेर घर फर्कन आतुर परियारलाई जतिसक्दो छिटो ठेक्का लिएको काम सकेर फर्कने बारेमा चासो रहेको उल्लेख गर्नुभयो ।
तर लगातार परेको वर्षाका कारण काममा बाधा पुगेको र इट्टा नोक्सान भएको भन्दै यसको भर्पाइ गर्नु पर्ने चिन्ताले पिरोलेको बताउनु भयो ।
त्यसो त सरकारले सार्वजनिक विदा दिएको छ । तर परियारलाई न बिदा छ । चिन्ता छ त केबल अस्तिदेखि परेको पानीले भिजाएको इट्टा र त्यसले पारेको नोक्सानको चिन्ता । उहाँ भन्नुहुन्छ-'खोई के दिवस हो थाहा छैन, हामीलाई बिदा पनि छैन, पानीले सपै इट्टा बिगार्यो, नोक्सान कति पर्छ, यस्तो आपतमा के बिदा ।'
परियारलाई मात्रै हैन, भकुन्डेकी कल्पना बिकलाई पनि श्रमिक दिवस र बिदाको पत्तो छैन । तीन सन्तानकी आमा २६ वर्षीया बिकलाई चिन्ता छ त केबल साना तीन सन्तानको । उहाँ भन्नुहुन्छ-'पतिले आधा दिन काम गरेर जाँड खाएर बस्छ, दिउँसो पनि राति पनि हामीलाई गाह्रो, यी बच्चा बच्चीको चिन्ता छ, खै के गर्नु ।'
इट्टा बोक्दै गरेकी १७ वर्षीया टुल्की बिकलाई पनि एक वर्षकी एउटा छोरीको चिन्ता छ । पतिसँगै इट्टाभट्टामा काम गर्दै आउनुभएकी बिकलाई यस वर्ष ठेक्का लिएको इट्टा सबै सिध्याउने चटारो छ ।
त्यसमाथि पनि यस वर्ष धेरै पानी परेकाले धेरै इट्टा बिग्रिएकाले चिन्ता परेको बताउनु हुन्छ ।
'यस वर्ष धेरै पानी पर्दा निकै इट्टा बिग्रियो, हामीलाई नोक्सान भयो, ठेक्का लिएको जति सबै इट्टा नबनाए, जाने बेलामा सबै पैसा पाइँदैन, ऋण कसरी तिर्नु, अब त घर जानु परिहाल्छ ।'-उहाँले भन्नुभयो ।
'दिवस, के गर्छ दिवसले, खान दिँदैन, लाउन दिँदैन, काम सकेर पैसा बोकेर घर जान हतारो छ हामीलाई, गाउँमा मकै छर्न ढिला भैसक्यो ।'-सूर्यविनायक नगरपालिका-८ सिपाडोलको इट्टाभट्टामा इट्टा बोक्दा बोक्दै पानी परेर झ्यालीमा बस्नु भएकी शर्मिला धामीले भन्नुभयो ।
रामेछापबाट दुई छोरी, एक छोरा र पतिसँगै सिपाडोलको इट्टाभट्टामा इट्टा बोक्न आएकी २७ वर्षीया पवित्रा कार्कीलाई दिवसको पर्वाह छैन । उहाँ भन्नुहुन्छ—'यसपाली एक लाख रुपियाँमा इट्टा पार्ने ठेक्का लिएका छौँ, पानीले इट्टा बिगार्यो, अब पैसा लिएर घर जान हतारो छ, मकै छर्नु छ ।'
इट्टा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले दिवस भनेर मजदुरलाई बिदा नहुने बताउनु भयो । सबै ठेक्कामा काम हुने भएकाले शुक्रबार आधा दिन र शनिवार बिदा हुने गरे पनि दिवसमा भने मजदुरले बिदा बस्ने नगरेको बताउनु भयो ।
भक्तपुरमा सञ्चालित ३९ ओटा इट्टाभट्टामा करिब २५ हजार मजदुर कार्यरत रहेकोमा धेरै जसो मजदुरहरू घर फर्किएको र अब केही दिनमै इट्टा बनाउने काम बन्द हुने ह्याम्बाले बताउनु भयो ।
यस जिल्लामा रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट आएका मजदुरले काम गर्दै आएका छन् ।
- रमेश गिरी
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको…