शिविरभित्र विद्यालय भवन, विद्यार्थीचौरमा

आनन्द दाहाल
कात्तिक २६ गते बिहानै कर्थामा रहेको रातमाटे सामुदायिक वनको क्षेत्रमा अपरिचित मान्छेको चहल पहल बढ्यो । जनजागृति निमावि पनि रहेको सो वन क्षेत्रमा के हुन थाल्यो भनी गाउँलेहरू त्यतातिर झुम्मिए । रातमाटे सामुदायिक वनका अध्यक्ष एवम् जनजागृति निमावि कोगटीका विद्यालय व्यवस्थापन समितिका सदस्य कुमार शर्मा र प्रधानाध्यापक कुमार पौडेल पनि त्यतैतिर दौडिए । तर, उनीहरू पुग्दा नपुग्दै माओवादी सेनाले उक्त विद्यालयका क्षेत्र घेराबन्दी गरिसकेका थिए । बन्दै गरेको विद्यालय भवनतिर उनीहरू जान खोजे तर दिइएन । एकै छिनपछि उक्त स्थानमाथि हेलिकोप्टर घुम्यो र तत्काल त्यहाँ बस्यो। निर्माणाधीन विद्यालय क्षेत्रभित्र हेलिकोप्टर बसेपछि गाउँलेहरूमा पनि खुल्दुली मञ्चियो । आफ्नो विद्यालय क्षेत्रमा पुगेका शर्मा र पौडेललाई बल्ल थाहा भयो कि आफ्नो विद्यालय क्षेत्रमा माओवादीको दोस्रो डिभिजन बस्दै रहेछ ।

श्री जनजागृति निमाविको ०६४ वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु भएपछि पुरानो भवन रहेको स्थलमा कक्षाकोठा अपुग भयो । रातमाटे सामुदायिक वन क्षेत्रभित्र बनिरहेको विद्यालय भवन माओवादीको शिविरभित्र पर्‍यो । ०६४ वैशाख ५ गतेदेखि २० गतेसम्म भवनको व्यवस्था गर्न सकिन्छ कि भनी विद्यालय बन्द भयो । तर १५ दिनपछि विद्यालय खोल्दा समेत कुनै व्यवस्था गर्न नसक्दा विद्यार्थीहरू चौरमा बसेर पढिरहेका छन् । कक्षा १,कक्षा २ र बाल कक्षाका विद्यार्थीहरू एउटै कक्षाभित्र तीनतिर फर्केर अध्ययन गर्न बाध्य भएका छन् ।

उक्त विद्यालय सिन्धुली जिल्लाको दुधौली गाविस- १ कोगटीमा रहेको छ । यस विद्यालयमा छात्र १ सय ५९ र छात्रा १ सय ९० गरी ३ सय ४९ विद्यार्थीहरू अध्ययनरत छन् । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला छ कक्षासम्म पढाइ हुने यस विद्यालय यसै शैक्षिक सत्रदेखि कक्षा ७ पनि सञ्चालन गरिएको छ । निमावि सञ्चालन गर्दा कक्षाकोठा नपुग्ने भएका कारण विद्यालय र्सार्न भनी रातमाटे सामुदायिक वन र विद्यालय व्यवस्थपन समितिको सहमतिमा उक्त सामुदायिक वन क्षेत्रभित्र विद्यालयको नयाँ भवन बनाउँदै गरिएको थियो। तर पूर्व सूचना विना विद्यालय निर्माणाधीन क्षेत्रमा माओवादी सेनाको शिविर बसेपछि विद्यार्थीहरूको विचल्ली भएको छ ।

विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिले उक्त स्थानमा पुगेका पूर्व सरकारी वार्ता टोलीका सदस्य एवम् तत्कालीन मन्त्री युवराज ज्ञवाली, माओवादी डेपुटी कमाण्डर पासाङ, भौतिक योजना तथा निर्माण मन्त्री हिसीला यमी र शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलसम्म नपुगेका होइनन् । सरकारका उच्चपदस्थ व्यक्तिहरूसँग हारगुहार गर्दा पनि विद्यालयको कुनै वैकल्पिक व्यवस्था हुन सकेको छैन् । ०६३ मंसिर २० गते विद्यालय व्यवस्थापन समितिको बैठक बसी माओवादी सेनाको शिविरभित्र विद्यालयको आठ कोठे भवन पर्न गएकोले वैकल्पिक व्यवस्था गर्न भनी सिन्धुलीस्थित जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्लामा क्रियाशिल छ राजनीतिक दल र विभिन्न संघ संस्थाहरूलाई अनुरोध गर्ने निर्णय गर्‍यो । शिक्षा कार्यालयले अनुगमन गरी प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझायो तर विद्यालयको स्थिति जस्तोको त्यस्तै छ । विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले भने- अब त समस्या भन्दाभन्दा दिक्क लागि सक्यो । सबै सोध्न आउँछन् । कुरा टिपेर लान्छन् तर काम भने भएको छैन । उनले विद्यार्थीको दयनीय अवस्थाका बारेमा बुझ्न जाने जोकोहीलाई पनि बताउने गरेका छन् ।

विद्यालयको अवस्था बुझ्न गएका अधिकारवादीहरूको टोलीले माओवादी दुई नम्बर डिभिजनका बिग्रेडिएर कमाण्डर मिलनसँग भेटघाट गर्‍यो । मिलनले शिविरभित्र विद्यालय परेको स्वीकारदै विद्यालयको भवन खाद्य गोदाम र गेष्ट रुमको रुपमा प्रयोग भएको बताए । उनले यो सबै जिम्मेवारी राज्यको हो भन्दै अर्को वैकल्पिक भवन निर्माण गर्न निःशुल्क श्रमदान र २० बोरा सिमेन्ट उपलब्ध गराउने बताए ।

विद्यार्थीहरूले वैशाख जेठको चर्को घाम झेलिसकेका छन् । सो समयमा विद्यार्थी नौ बजेपछि चौरमा बसेर पढ्न सक्ने अवस्था थिएन । वर्षो बिदापछि विद्यालय खोल्ने समय भइसक्यो । तर अब त झन वर्षादको समय छ विद्यालय खुले पनि विद्यार्थीलाई पढाउने अवस्था छैन । वर्षादको समयभरि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक पौडेल बताउँछन् । अझैसम्म कसैको पनि विद्यालयको वैकल्पिक व्यवस्थातर्फध्यान गएको देखिँदैन । विद्यार्थीहरू पढ्ने अवसरबाट वञ्चित भइरहेका छन् । यसरी कहिलेसम्म विद्यार्थीहरू चौरमा बसेर पढ्नुपर्ने हो - यो प्रश्न हालसम्म अनुत्तरित नै रहेको छ ।

 

-