शिक्षा, स्वास्थ्य र यातायातबाट वञ्चित बालुवाटार बस्ती
कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर बजारदेखि करिब १० किलोमिटर पूर्वतिर एक जंगलको छेउमा बालुवाटार बस्ती छ । हरेक हिसाबले अभाव झेल्दै आएको यो बस्ती समस्याको खानीका रुपमा परिचित छ । काठमाडौंको बालुवाटार सुविधासम्पन्न हुँदा यहाँको बालुवाटार बस्ती भन्ने गरिबी, भोकमरी, अशिक्षा र विकास निर्माणले पछि परेको छ । वीरेन्द्रनगर नगरपालिका– ११ स्थित यो बस्तीमा शिक्षा, स्वास्थ्य र यातायातबाट वञ्चित मानिसहरु बस्छन् । त्यसभित्र पनि दलित समुदायको बाहुल्यता अझै बढी छ ।
बालुवाटार बस्तीमा २६ घरधुरी छन् । जसमध्य तीन घरधुरी मात्रै गैरदलित समुदायका छन् । १ सय ५० कुल जनसंख्या भएको यो बस्तीमा ९८ प्रतिशत दलित समुदायको बसोबास छ । एक सयको हाराहारीम मतदाता रहेको यो बस्तीमा नजिकमा वडा कार्यालय छैन । त्यहाँ जान पनि एकघण्टा पैदल हिँड्नपर्छ । सामान्य टाउको दुखेर सिटामोल ल्याउन पनि चार÷पाँच सय रुपियाँ खर्च गरेर वीरेन्द्रनगर बजार आउनुपर्छ । राजधानीमै रहेको यो बस्तीका नागरिकले राज्यबाट पाउने आधारभूत सेवा–सुविधा समेत पाउन समेत मुस्किल पर्छ ।
नाम सुन्दा काठमाण्डौंको बालुवाटार सुनिएपनि यहाँको पीडा व्यथा भने हकै मूलकको जस्तो रहेको स्थानीय अगुवा कर्णबहादुर गन्धर्वले बताउनुभयो ।
‘यहाँ वडा कार्यालय जान पनि एकघण्टा लाग्छ । बालबालिकाले पढ्न पनि ४०/४५ मिनेट जंगलको बाटो हिँड्नपर्छ,’कर्णबहादुरले भन्नुभयोे, ‘नजिक स्वास्थ्य संस्था पनि छैन । आधा बाटो हिँडेर त्यसपछि चार/पाँच सय रुपियाँ अटोमा खर्च गरेर सिटामोल ल्याउनुपर्ने अवस्था छ ।’
सामुदायिक वन छेउको बस्ती भएकाले अहिलेसम्म पनि जग्गाको नापजोख नभएको कर्णबहादुरको भनाइ छ । उहाँका अनुसार एक फियान नेपालको सहयोगमा विद्युत पुगेपनि सडक र जग्गाको लालपुर्जा छैनन् । विशेषगरी बालविवाह, गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्य बालुवाटारका प्रमुख समस्या हुन् ।
वर्षोंदेखि बसिरहेको थातथलोको लालपुर्जा नबन्दा अहिलेसम्म यहाँका नागरिक जमिनको हकवाला बन्न पाएका छैनन् । यहाँको एक मात्र आय आर्जनको स्रोत भनेको नजिकै बगिरहेको झुप्रा खोला हो । जहाँबाट बालुवा निकालेर आय आर्जनको रुपमा लिने गरेका छन् । पछिल्लो समय त नगरपालिकाले बालुवा चालेर बेच्न नपाउने भएपछि स्थानीयको दैनिकीमा समस्या भएको स्थानीय तुल्सी बैगारले बताउनुभयो । ‘पहिला बालुवा बेचेर जिविका चलाउँथ्यौं । अहिले त नगरपालिकाले ठेक्कामा दिएपछि त्यहि पनि बन्द भयो,’४६ वर्षीया उहाँले भन्नुभयो, ‘श्रीमान् पनि दोस्रो विवाह गरेर बेपत्ता छन् । सात सन्तानको पालनपोषण मैले नै गर्नुपर्छ । अहिले त साँझ बिहानको छाक टार्न पनि मुस्किल भएको छ ।’ तुल्सीलाई मात्रै होइन, बालुवा बेच्न नपाउँदा यो बस्तीका अधिकांश घरपरिवारलाई छाक टार्न मुस्किल भएको छ ।
यस बस्तीमा कक्षा १२ पास गरेका जम्मा दुई जना व्यक्ति मात्रै छन् । १० कक्षा पास गरेका चार जना छन् । धेरैले चार/पाँच कक्षा पढ्दा सानै उमेरदेखि नै पढाई छोडेर स्थानीयस्तरमा र भारततिर जान्छन् । १० र १२ कक्षा पास गरेकाहरु पनि भारततिर नै छन् । आर्थिक अवस्था कमजोर भएकै कारण पढाईलाई अगाडी बढाउन नसकेको कक्षा १२ पास गरेर बसेका गोकर्ण गन्धर्वले बताउनुभयो ।
‘साँझ बिहान त के खाउँ भन्ने छ ? कक्षा १२ पढेर पनि केही काम पाउन सकेको छैन । कसरी उच्च शिक्षा पढ्ने?,’ २२ वर्षीय गोकर्णले भन्नुभयोे, ‘मसँगका साथीहरु त सबै भारत, कोही काठमाण्डौं त कोही विदेशमा काम गर्छन् ।’
शैक्षिक सामग्री र विद्यालय पोसाक नहुँदा छोराछोरीलाई स्कुल पठाउन नसकिएको ५२ वर्षीया विर्मा दमाईले सुनाउनुभयो । ‘सम्पत्ति भनेपनि सुविधा भनेपनि भएका यी झुप्रा हुन् । धेरै उत्पादन हुने जमिन पनि छैन,’उहाँले भन्नुभयो, ‘सबथोक किनेर खानपर्छ । कापी–कलम र ड्रेस नहुँदा छोराछोरीलाई स्कुलमा पठाउन सकिएको छैन ।’
बालुवाटार बस्तीका लागि सरकारले आय आर्जनसँगै रोजगारीका कार्यक्रमहरु ल्याइदिन स्थानीयले अनुरोध गरेका छन् ।
खानेपानी र सडकको काम यसै वर्षभित्र सम्पन्न गर्नेगरी योजना बनाएको वीरेन्द्रन्गर–११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताउनुभयो । ‘बालुवाटारलाई व्यवस्थित गर्न म निर्वाचित भइसकेपछि आधा बाटोसम्म कच्ची सडक पुर्याइएको छ । केही समयमा खानेपानीको कामलाई पनि सुरु गर्नेछौं,’वडाअध्यक्ष देवकोटाले भन्नुभयो ।
- जगतदल जनाला विक
सम्बन्धित फिचरहरू
वैदेशिक रोजगारीमा गएका महिलाको पीडा, बर्वतापूर्ण र दुखद अभिव्यक्ति
कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य…
घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति…
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…