शहीद परिवारको अपेक्षा : सरकारले गरेकोप्रतिबद्धता पुरा गरोस्
जनआन्दोलनमा शहीद भएका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएको भएपनि सोही अनुसारको सुविधा पाउनबाट बञ्चित भएको उनीहरूले गुनासो गरेका छन् ।
जनआन्दोलन ०६२/०६३ मा रौतहट जिल्लाका शहीद भएका ताहीर मियाँ अन्सारीलगायतको परिवारले सो गुनासो व्यक्त गरेका हुन । लोकतन्त्रको बहालीपश्चात् गठन भएको सरकारले ०६३ भदौ १३ गते थप चार जनालाई शहीद घोषणा गर्ने क्रममा अन्सारीलाई पनि शहीदको सूचीमा सूचीकृत गरिएको थियो ।
अन्सारीको परिवार अहिले बिभिन्न समस्याहरूकोबीच गरिबीमा बाँचिरहेको छ । अन्सारी परिवारलाई सरकारले उपलब्ध गराएको १० लाख रूपैयाँ बैंकको ऋण तिरेर सकेका छन् । सरकारले शहीद परिवारलाई रोजगारीको व्यवस्था गर्ने आश्वासन दिएको भएपनि सो आश्वासन पुरा नभएकाले अन्सारीका छ भाई छोरा अहिले बेरोजगार भई गाउँघरमा खेती किसानी गरेर बसिरहेको शहीद अन्सारीका एक छोरा हैदर अलि अन्सारीले बताएका छन् । शहीद अन्सारीको परिवारमा अहिले २० जनाको परिवार रहेका छन् ।
नेकपा एमालेसंग आवद्ध रहेका अन्सारी आन्दोलनमा नेकपा एमालले सबै कार्यकर्तालाई राजधानी उतार्ने क्रममा अन्सारी ०५९ चैत २४ गतेको जनआन्दोलनमा काठमाडौमा सहभागी भएका थिए । अन्सारी एमालेका रौतहट जिल्ला कमिटी सदस्य, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य समेत रहेका थिए ।
आन्दोलनमा सुरक्षाकर्मीले चलाएको अश्रुग्याँस लागि घाइते भएका अन्सारीलाई तत्कालै काठमाडौको बिनायक अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । ०६० बैशाख १ गते उपचारपछि उनलाई रौतहटस्थित घरमा ल्याइएको थियो । घरमा आएपछि अन्सारी बिमारी परेका थिए । उनलाई बैशाख २ गते उपचारका लागि बिरगञ्ज लगिएकोमा तीन दिनसम्म अस्पतालमा राख्दा समेत ठिक नभएपछि थप उपचारका लागि काठमाडौ लैजाँदै गर्दा ०६० बैशाख ५ गते उनको बारा जिल्लाको पथलैयामा निधन भएको थियो । शहीद अन्सारीको परिवारलाई भेट्न नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र जिल्ला स्तरीय एमाले नेता बाहेक अहिलेसम्म कोही पनि नआएको अन्सारीका कान्छा छोरा बाकर अलि अन्सारीले बताएका छन् ।
शहीद अन्सारीका परिवारमा अहिले एक श्रीमती, सात जना छोरा, चार छोरी र नातिनातीना गरि २० जनाको परिवार अहिले रौतहटको प्रतापपुर पल्टुवा गाविस-६ को खतवैया गाउँमा बसोबास गर्दै आइरहेको छन् । अन्सारीका जेठा छोरा जमसेद अलि अन्सारी एक बर्षपहिले बैदेशिक रोजगारीका लागि साउदी अरबमा गएका छन् भने अन्य छोराहरू फिरोज अन्सारी, सकिल अन्सारी, हैदर अलि अन्सारी, असगर अलि अन्सारी, जाफर अलि अन्सारी, बाकर अलि अन्सारी गाउँमै खेतीपाती गरेर गुजारा चलाईरहेका छन् ।
शहीद अन्सारीको गाउँमा हालसम्म पनि माद्यमिक बिद्यालय नभएकाले अधिकांश बालबालिकाले बीचैमा पढाई छाड्नु परेको गाउँलेहरूले बताएका छन् । अन्सारीका छोरा हैदर अलि अन्सारीले सरकारले शहीदको गाउँमा बाटो,बिजुली, बिद्यालयलगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । सरकारले शहीद परिवारका नाममा बैदेशिक रोजगारीमा जानका लागि कोटा छुट्याएपनि अन्सारीका कान्छा छोरा बाकर अन्सारीले काठमाडौ गएर बिभिन्न कार्यालयमा धाउँदा समेत सो कोटामा जान नपाएको गुनासो रहेको छ ।
माओवादी नेतृत्वमा गठित सरकारमा एमालेलगायत तराई आन्दोलनको नेतृत्व गरिरहेका राजनीतिक दलसम्मिलित सरकार शहीदहरूको माग र अवस्थाप्रति उदासिन देखिएको छ । नेकपा एमालेका रौतहट जिल्ला सचिव महेन्द्र चौलागाईँले सरकारले शहीद घोषणा गरि १० लाख क्षतिपूर्ति दिएर मात्र शहीदको सपना साकार नहुने बताएका छन् । शहीदले लोकतन्त्रको लागि ज्यानको आहुती दिएर आन्दोलनमा उत्रिएको बताउँदै उनले अहिले सरकारले शहीदमाथि राजनीति गरेको समेत आरोप लगाए । शहीद भनेको कुनै पार्टी बिशेषको नभएर सिंगो देशको नै भएकाले सरकारले शहीदको परिवारको लागि छुट्टै राहतको कार्यक्रम ल्याउन माग समेत गरेका छन् । त्यसैगरी, नेपाली काँगे्रसका जिल्ला सह-सचिव देवप्रसाद तिमिल्सिनाले सरकारले शहीदको अपमान गरेको बताउँदै शहीदलाई १० लाख रूपैंयाँमा सरकारले किनेको आरोप लगाए । उनले शहीदहरूको योगदानबाट लोकतन्त्र आई गणतन्त्र समेत आइसकेको अवस्थामा शहीद परिवारलाई सरकारले बिर्से आरोप लगाए ।
जनआन्दोलनमा यस जिल्लाका पहिलो शहीद अन्सारीको सम्झनामा उनकै मातृ पार्टी एमालेले समेत केही गर्न सकेको छैन । शहीद अन्सारीका कान्छा छोरा बाकल अन्सारीका अनुसार पार्टी शहीद परिवारले पाउनुपर्ने रकम दिलाउन प्रयत्न गरेपनि त्यसपछिका दिनमा केही गरेको छैन । एमाले जिल्ला कमिटी सचिव चौलागार्इँका अनुसार पार्टी अन्सारीको शालिक बनाउने तयारी गरिरहेको भएपनि ठाउँको अभावमा बनाउन नसकेको उनले जानकारी गराए । उनी भन्छन्, "छिट्टै गौर नगरपालिकालाई भनेर जग्गा उपलव्ध गराई शालिक निर्माण गर्नेछौं ।" हालसम्म शहीद र शहीदपरिवारका लागि यथोचित व्यवस्था हुन नसकेको जनचासो बढिरहेको अवस्थामा सामन्य अवस्थामा मृतकहरूलाई शहीद घोषणा गरिनुले शहीदहरूको मानमर्दन भएको जिल्लास्थित नागरिक समाजका अगुवाहरू बताउँछन् ।
बिपिन गौतम
रौतहट । माघ १५ गते
-
सम्बन्धित फिचरहरू
न्यायको पर्खाइमा द्वन्द्वमा बेपत्ता पारिएकाहरूका परिवार !
वीरेन्द्रनगर नगरपालिका–१२ की ५१ वर्षीय मायादेवी हमाल सशस्त्र द्वन्द्वमा आफूले पाएको पीडा र भाइलाई राज्य पक्षले बनाएको बेपत्ताप्रति राज्यमाथि प्रश्न गर्दै आउनु भएको छ । उहाँको पुरानो घर जुम्ला हो…
कि मुक्ति, कि मृत्यु देउ सरकार !
७० वर्षको वृद्ध शरीर, एउटा हातमा प्ले कार्ड, अर्को हातमा हिँड्ने सहायताका लागि लौरो । माघको चिसोले कठ्याङग्रीएका हात, खुट्टा चलाउन धौ धौ भइरहेका बेला घोराही उमनपा–१४ झिगौँराका प्रभु चौधरीलाई…
सुत्केरी आमाको बिचल्ली, पीडित भन्नुहुन्छ - ‘मेरो पीडाभन्दा बच्चाको भविष्यको चिन्ता रह्यो !’
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…
सङ्घर्षले बदलिएको तुलसीको जीवन !
भनिन्छ नि ! दुःखपछि सुख आउँछ । हो त्यस्तै जीवनमा थुप्रै दुःखहरू भोग्दै आइरहनुभएकी वीरेन्द्रनगर नगरपालिका–१ की २८ वर्षीया तुलसी गिरीको जीवन पनि बदलिएको छ । जब उहाँका पति दिनेश…
द्वन्द्वपीडित परिवार भन्छन् - 'कहिले न्याय पाइएला ?'
बुद्धभुमी नगरपालिका–१, चङघाटकी चित्रकला बेल्बासे अहिले ६१ वर्ष हुनुभयो । दुई छोरा र पाँच छोरीका आमा रहनुभएकी चित्रकलाका पति ओम प्रकाश वेल्बासे नेपाली कांग्रेसको स्थानीय कार्यकर्ता हुनुहुन्थ्यो । मध्यम वर्गाीय…