पिपलडाँडाबासीको त्यो कालो रात

सिन्धुपाल्चोक । ०८० वैशाख १४ गते

२०६२ साल वैशाख १४ गतेको रात । पिपलडाँडाका बासिन्दाहरूले कहिल्यै नबिर्सने त्यो कालो रात । गाउँलाई तीनतिरबाट घेराहालेर तीन सर्वसाधारण माओवादीकै शब्दमा सफाया गरेको रात ।

गाउँ घेराहाली स्थानीय सर्वसाधारण गाउँलेहरूलाई अन्धाधुन्दा कुटपिट गरी आक्रमण गरेको रात ।

अघिल्ला दिनहरू झैँ बस्तुभाउ गरेर सुरेन्द्र बस्नेतले परिवारसँगै खाना खाए । माओवादीको त्रासका कारण सम्साझैै सुनसान हुने ठाउँ जुठोभाँडो गरेर चाँडै सुत्ने चलन गाउँमा शुरु भएको थियो ।

बेलुका निन्द्रामा कसैले बोलायो । “सुरेन्द्र दाई उठ्नुस् न ।” निन्द्रामा कस्ले बोलायो होला, झ्यालबाट चियो गरे । बाहिर निकै हल्ला खल्लाको आवाज उनले सुने र विस्तारै झ्याल खोले ।

बन्दुक बोकेका थुप्रै माओवादी कार्यकर्ता देखे । चोटा बाट तल झरे, बुबा शम्शेर बहादुर बस्नेत माओवादीको आखा छल्दै बाहिर निस्के । बुबासँगै सुरेन्द्र पनि पछि लागे ।

1
सुरेन्द्र बस्नेत

केहि पर पुगेपछि सुरेन्द्रलाई पत्नी र छोराको याद आयो र उनि घरतर्फ फर्के । घरफर्कने क्रममा हतियारधारी माओवादी कार्यकर्ताले सुरेन्द्रलाई फेला पारे र कठालो समाए ।

'हाम्रा मान्छेलाई प्रशासन बुझाउने तै हैनस' भन्दै सुरेन्द्रको पिड्युलामा खुकुरी प्रहार गरे । सुरेन्द्र बस्नेतलाई खुकुरी हान्दै हान्दै घर माथी रहेको दक्षिणकाली प्राविको प्राङ्गणमा पुर्‍याई गोली हानी हत्या गरियो ।

यस रात पिपलडाँडाँ गाविस–३ का शंकर भण्डारी, सोही ठाउँका श्रीराम चुहान सहित तीन जना सर्वसाधारणको हत्या भयो । स्थानीय बासिन्दा धेरैलाई कुटपिट गरी घाइते बनाइयो ।

माओवादीको अप्रभावित रहेको र अधिकाङ्श पूर्व प्रहरी र सैनिकहरूको बाहुल्यता रहेको पिपलडाँडामा केही महिना अगाडिदेखि माओवादीको चन्दा आतङ्क तीब्र रहेको थियो ।

०६२ वैशाख ३ गते पिपलडाँडाका बासिन्दाहरू चैते दशैँ मनाइरहेको बखत पारेर पाँच जना माओवादी कार्यकर्ता चन्दा उठाउन आए । भनेजती रकम नदिएपछि पिपलडाँडा गाविस–३ स्थित भक्तबहादुर बस्नेतको कुटानी र पिसानी मिलमा माओवादीले ताल्चा लगाए ।

सोही दिन आफ्नै घरमा बसिरहेका स्थानीय शम्शेर बहादुर बस्नेतलाई भनेजती चन्दा नदिएको आरोपमा अपहरणको शैलीमा माओवादीलेसँगै लिएर गए ।

आफ्ना आफन्त लिएर गएको खबर गाउँभरी फैलियो । त्यसपछि सबै स्थानीय बासिन्दाहरू अपहरितलाई फिर्ता गर्नको लागी माओवादीको पछिपछि दौडिएर गए ।

स्थानीय केउरिनी खोलामा भेट भयो । तिमीहरू हाम्रा प्रतिकार गर्न आएका हौ । “तिमीहरू सबैलाई हामी सिध्याइदिन्छौँ, तिमीहरूको पत्नीहरूलाई सेतो फरिया किनेर राख” जस्ता अस्लिल शब्द माओवादीले भनेपछि जनता उत्तेजित भई केही दोहोरो भनाभन भयो ।

माओवादी कमाण्डरले मिलमा लगाएको तल्चा खोलिदिने र अपहरण गरेको व्यक्तिलाई फिर्ता गरिदिने वचन दिएपछि माओवादीका कमाण्डर सिन्धु भनिने दिनेश दुलाल ताल्चा खोल्न गाउँतर्फ फर्के ।

बाँकी चार जना माओवादीलाई जनतालेसँगै गाउँतिर ल्याए । ताल्चा खोलेर फर्केका दिनेश दुलाल र पछि आउँदै गरेका अन्य चार जना माओवादी र जनताबीच स्थानीय श्री दक्षिणकाली प्रावि मा भेट भयो ।

कुराकानी गरौँ ! समस्या किन यस्तो उत्पन्न भयो ? आदि कुरा जनताले भनेपछि दुवै पक्ष कुराकानी गर्न मञ्जुर भए । कुराकानीको सुरुवात गर्न खोजिरहेकै अवस्थामा एक जना स्थानीय व्यक्तिले माओवादी कमाण्डर भनिने दिनेश दुलाललाई पछाडिबाट घचेडे ।

उनि जनताको बीचमा लड्न पुगे । लडेको व्यक्तिलाई आक्रोशित भीडले कुटपिट गर्‍यो ।

कुटपिटबाट अन्य चार जनालाई समेत सामान्य चोटपटक लाग्यो । दुवै हात पछाडी बाँधेर स्थानीय गाउँलेहरूले चन्दा आतङ्क मच्चाउने माओवादी कार्यकर्ताहरूलाई सदरमुकाम चौतारा पुर्‍याई स्थानीय प्रशासनलाई बुझाए पछि गाउँमा माओवादीको आक्रमणको त्रास बढेको थियो ।

कुनै बेला माओवादीले बदला लिएर आक्रमण गर्छ भन्ने ठानेर स्थानीय बासिन्दाहरू त्रसित भएका थिए ।

आफ्ना कार्यकर्ताहरूलाई समाएर प्रशासनमा बुझाएको बदला लिन २०६२ वैशाख १४ गते बेलुका ७.४५ बजे यात्रुबहाक बस सहित लिएर माओवादी पश्चिमतर्फ रहेको नवलपुरबाट पिपलडाँडा प्रवेश गरे ।

बस स्थानीय केउरिनी खोलामा रोकियो तर दुई ओटा मोटरसाइकल त्यस गाउँको माथीसम्म आइपुग्यो । माओवादीका कार्यकर्ताको मोटरसाइकलमा आएको देखेर केही स्थानीय गाउँलेहरूले माओवादीको आक्रमणको सङ्केत थाहा पाएपछि ज्यान जोगाउन जङ्गल तर्फ भाग्न सुरु गरे ।

उता माओवादीले भने गाउँलाई तीन ठाउँबाट चुहान टोल, झिङ्गटी टोल र ताप्केचौर टोलबाट आक्रमण सुरु गरे ।

आक्रमणको क्रममा माओवादीले गाउँलाई घेरेको, भाग्दै गरेका मान्छेहरूलाई हात बाँधेर कुटपिट गरेको, घरबाहिर निस्कन नसकेका तर नलुकेका व्यक्तिहरूलाई घरबाटै तानेर बाहिर ल्याई खुकुरी, डण्डी, मुङ्ग्रोले कुटपिट गरेका थिए ।

आफ्नो ज्यान जोगाउन नसक्नेहरू जस्तै बालबालिका, ज्यष्ठ नागरिक र असक्त महिलाहरू आक्रमणबाट धेरै पीडित भए । बालबालिकाहरू धेरै रोए , महिलाहरूले धेरै गुहार लगाए, बुढाबुढीहरूले बाबु हो हामीलाई नमार भने । तर आक्रमण गर्न आएकाहरूले कसैको कुरा सुनेनन् ।

आक्रमणको सुरुमै कब्जामा लिएका ४४ वर्षीय शंकर भण्डारी र २५ वर्षीय सुरेन्द्र बस्नेतलाई खुट्टामा खुकुरी प्रहार गर्दै गर्दै घरभन्दा केही माथी रहेको श्री दक्षिणकाली प्रावि को प्राङ्गणमा पुर्‍याएर  गोली हानियो । सुरेन्द्रलाई छात्तिमा गोली हानेपछि पनि शरीरको विभिन्न भागमा काटेर हत्या गरे ।

2
श्रीराम चुहान

त्यसैगरी घरमै बसेका ४४ वर्षीय श्रीराम चुहानलाई पनि घरबाट बोलाएर घरभन्दा ५० मिटर तल लगेर खुकुरी प्रहार गरे । आफ्नै घर छेउमा अचानो राखेर घाँटिमा धारिलो हतियारले प्रहार गरेर हत्या गरे । चुहानको टाउको नछिनेको, तालुमा खुकुरीले ताछेको, कुम निर गोली प्रहार भएको अवस्थामा माओवादीले छाडेर हिँडेका थिए ।

पिपलडाँडाकैै काइली भनिने बालकुमारी चुहानको पसल राखेको घर आगो लगाई पूर्ण रुपले ध्वस्त भएको थियो ।

सोही ठाउँका भक्तबहादुर बस्नेतको घर र मिलमा बम विस्फोट गरी ध्वस्त पारिएको थियो ।

आक्रमणको क्रम ९.३० बजे सम्म रह्यो । त्यसपछि स्थानीय केउरिनी खोलाबाट बस चढेर माओवादी कार्यकर्ता नवलपुरतर्फ गए । रातभर गाउँ मसानघाटमा परिणत भयो । वरपरका वडाहरूबाट जनता कोही आएनन् ।

अधिकाङ्श वडाबासिहरू भाग्न सफल भई जङ्गलमा बास बसे । भाग्न नसक्नेहरू छटपटाई सडक र बारीमा बस्नु पर्‍यो । को मारिए, को घाइते भए, को अपहरणमा परे तत्काल कसैलाई थाहा हुन सकेन ।

भोलीपल्ट विहान ७ बजे माथिल्लो गाउँका मान्छेहरू गएपछि मारिएकाहरूको सनाखत भयो । घाइतेहरूलाई जम्मा गरी उपचारको लागी अस्पताल लाने र बालबालिकाहरूलाई खोज्ने काम भयो ।

मारिने तीन जनामा एकजना पूर्व सैनिक श्रीराम चुहान, एकजना पुर्व माओवादी गाउँ जनसरकारमा बसी आत्मसमर्पण गरेका शंकर भण्डारी र एक वर्ष अगाडी मात्र विदेशबाट फर्केका सुरेन्द्र बस्नेत थिए ।

शवको पोष्टमार्टम गर्न चौतारा अस्पतालबाट चिकित्सक घटना स्थलमा पुगे । धार्मिक रीति अनुसार काजक्रिया गर्न मृतकका परिवारहरूले घरमा बसेर गर्न पुनः आक्रमणको डरले सकेनन् । सदरमुकाम स्थित तत्कालीन सिंचाई कार्यालयको परिसरमा सामुहिक क्रिया गरे ।

माओवादीबाट पिपलडाँडामा भएको बदला आक्रमणपछि गाउँ शून्य भयो । विद्यालयमा विद्यार्थिहरू नगएका कारण विद्यलय बन्द भयो । गाउँलेहरू प्राय सबैजसो गाउँ छोडी सदरमुकाम वा राजधानी गई बसे ।

माओवादीको आक्रमणपछि ३९ जना बालबालिका गाउँ छाडी विस्थापित भए । त्यसैगरी १ सय ५२ जना महिला र पुरुष माओवादीको पुनः आक्रमणको डरले गाउँमा बस्न नसकेर घरछोडी अन्यत्र विस्थापित भए ।

द्वन्द्वबाट देश शान्तितर्फ उन्मुख भयो । तत्कालिन द्वन्द्वरत पक्षहरू देश सञ्चालन गर्न सरकारमा पुगे । शान्ति मन्त्रालय समेत बन्यो तर माओवादीको आक्रमणको निशाना बनेका पिपलडाँडाबासीले आज सम्म शान्तिको महसुस गर्न नपाएको मृतक सुरेन्द्र बस्नेतका बुबा शम्शेरबहादुर बस्नेतले बताउनु भयो ।

घरमा बसेका आफन्तको हत्या गर्ने व्यक्तिहरूलाई कारबाहीको माग धेरै पटक गरेपनि हालसम्म पुरा नभएको मृतक श्रीराम चुहानकी पत्नी सुन्तली चुहानले उल्लेख गर्नुभयो ।

यसरी २०६२ साल वैशाख १४ गतेको रातलाई पिपलडाँडाबासीहरूले सँधै कालो रातको रुपमा लिने गरेका छन् । त्यस्तो कालो रात पुनः नदोहोरियोस् पिपलडाँडाबासीले कामना गरेका छन् ।

Photo_080-1-14_Sindhupalchok
मृतक सुरेन्द्र बस्नेतको बुबा शम्शेर बहादुर बस्नेत र छिमेकी युवाहरूसँग घटनाको बारेमा छलफल गर्दै इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताल

- नातिबावु धिताल