वैदेशिक रोजगारीमा गएका महिलाको पीडा !

सिन्धुपाल्चोक । ०८० मङ्सिर २१ गते

कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य भएका छन् । रोजगारीका लागि विदेश गएका महिलाहरू जोखिममा रहेको पनि घटनाक्रमले उजागर गरेको छ ।

हिजो रोजगारीको नाममा दरबारमा धाइआमा र सुसारेको रूपमा काम गर्न बाध्य महिलाहरू आज नेपाली भूमिमा रोजगारी नपाउँदा कुवेत, साउदी अरब, इजरायल, जोर्डन लगायतका विदेशी नागरिकहरूको घर घरमा नव धाइआमा र सुसारे बन्न बाध्य छन् ।

आफूले चाहेको बेलामा घर आउन नदिने, जस्तोसुकै काम गर्न पनि बाध्य पारिने र चौविसै घण्टा साहुको सेवामा हाजिर हुनु पर्ने जस्ता समस्या विदेसिएका महिलाहरूले भोग्नु पर्ने बाध्यता रहेको छ । रोजगारीका लागि विदेसिएका कतिपय महिलाहरू बन्धक बनाइएका घटनाहरूले पनि नेपाली महिलाहरू विदेशी भूमिमा आधुनिक दासी र कमलरी हुन बाध्य पारिएको घटनाक्रमले प्रष्ट बनाउँछ भने कतिपय महिलाहरूमाथि गरेका शारीरिक र मानसिक शोषणका कारण उनीहरू चरम पीडा भोग्न बाध्य पारिएका छन् ।

विदेशी भूमिमा अलपत्र परेकी मध्यकी ३२ वर्षीया डिकी शेर्पा पाँच वर्षअघि घरायसी कामका लागि दलालीको मिलोमत्तोमा कम्पनी मार्फत १२ लाख खर्च गरेर युरोप जानुभएको थियो । युरोप जानुभएकी उहाँलाई दलालीले दुवईमा पुर्‍याए । हाल उहाँ दुवईमा अलपत्र परेको उहाँकी दिदी फुर्वा शेर्पाले बताउनु भयो ।

त्यस्तै बाह्रविसे नगरपालिकाकी ४४ वर्षीया सेरसाङ लामा र सोही ठाउँकी ४० वर्षीया याङजेन शेर्पालाई पनि दक्षिण अमेरिकाको क्यारेबियन एयरलायन्सका सुरक्षकर्मीले बन्धक बनाएको खबर आएको छ । २०८० साउनमा नयाँ पत्रिकाद्वारा प्रकाशन गरिएको नेपालका तीन महिला चार महिनादेखि दक्षिण अमेरिकी मुलुकमा बन्धक भन्ने उल्लेखित समाचार अनुसार लामा र शेर्पा दुवै जनाको परिवार अप्रत्यक्षरुपमा सम्पर्कमा आए पनि त्यस विषयमा कुनै उजुरी भने परेको छैन ।

कतिपय महिलाहरू विविध कारणले विदेशी भूमिमा समस्या झेल्न बाध्य छन् भने कतिपय विदेश गएर पनि केही महिनामा नै नेपाल फर्कन बाध्य छन् । वैदेशिक रोजगारी कै लागि ०७९ वैशाखमा कुवेत जानुभएकी बाह्रविसेकी ३० वर्षीया लक्ष्मी श्रेष्ठ तीन महिनामा नै नेपाल फर्कन बाध्य हुनुभयो । घरको पारिवारिक वातावरणमा बस्नुभएकी उहाँ लगातारको बिमारपछि नेपाल फर्कनु परेको उहाँको भनाइ छ । नेपाल फर्केपछि समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको गुनासो छ । कतिपयले त विदेशमा नराम्रो काम गर्न गएको भन्ने आरोप पनि लगाउने गरेको उहाँले बताउनु भयो ।

त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका-१ की ४५ वर्षीया कमला तामाङ (नाम परिवर्तन) पनि ०७८ वैशाखमा कम्पनी मार्फत रोजगारीका लागि जोर्डन जानुभएको गियो । उहाँ पनि १० महिनापछि नेपाल फर्कन बाध्य हुनुभयो । कम्पनी मार्फत भनिएता पनि सप्लाईमा पर्नुभएकी उहाँ तीन महिनापछि काम नपाएर नेपाल फर्केको बताउनु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले विदेश जानुभएकी तामाङ नेपाल फर्केपछि समाजले आफूलाई हेर्ने दृष्टिकोण फरक पाएको अनुभव सुनाउनु भयो । हुन त तामाङ घरायसी कामका लागि भनेर जानुभएको थियो । तर दलालको फन्दामा पर्नुभएकी उहाँ तीन महिना त साहुको घरमा २४ सै घण्टा काम गर्नु परेको दुखेसो सुनाउनु भयो । तीन महिनापछि दलालले अर्को साहुको घरमा काम लगाइदिन खोजेपछि आफू नेपाल फर्केको उहाँको भनाइ छ । विदेशमा भाषाको समस्या र कामको धेरै दुख हुने तामाङको अनुभव छ ।

घरायसी कामको लागि जोर्डन पुग्नुभएकी स्याउलेकी सोममाया तामाङको फरक घटना छ । ०७८ वैशाखमा जोर्डन पुग्नुभएकी उहाँ मानसिक र शारीरिक यातनाबाट थला परेपछि नेपाल फर्कन बाध्य हुनुभयो । चौताराकी सिरमाया लामा पनि आठ वर्ष अघि विदेश जानुभएको थियो । विदेशबाट फर्केपछि अहिले उहाँ ज्याला मजदुरी गरी गाउँमै बस्नुभएको छ । विदेशमा गएर काम गर्दाको दुःख अहिले पनि झलझली सम्झनुहुन्छ सिरमाया लामा । साहुको घरमा २४ सै घण्टा काम गर्दा जुन दुःख उहाँले भोग्नुभयो, अहिले पनि सम्झँदा आँशु नै झर्ने गरेको उहाँ बताउनुहुन्छ ।

यी उल्लेखित घटनाहरू प्रतिनिधि मुलक मात्र हुन् । सूचना भन्दा बाहिर रहेका र आफ्नो पीडा लुकाइ रहन बाध्य पारिएका महिलाहरूको पीडा र कथा धेरै हुन सक्छन् । नेपाली महिलाहरूको आन्दोलन सँगै महिला हक, हित र अधिकारको पक्षमा सकारात्मक सङ्केतहरू त देखिएको छ, तर हिजोको पुरुषप्रधान सोँच र मान्यताका कारण दविएका, हेपिएका र रोजगारीसँगै अनेक अवसरबाट वञ्चित गराइएका महिलाहरू आज आत्मनिर्भर र स्वालम्बन बन्नका लागि जुरमुराए पनि अवस्था सहज हुन सकेको छैन । स्वदेशमा पाइने रोजगारी लगायतको अवसरमा पुरुषकै बर्चस्व हुँदै आएको छ भने शिक्षा, चेतना, सीप र दक्षताको कमीले महिलाहरू उचित रोजगारीबाट वञ्चित हुनु परेको छ ।

हिजो राणाकालीन घटनाक्रमहरू हाम्रो मस्तिष्कमा ताजै छ । सामाजिक प्रतिष्ठा र आडम्बरका निम्ति राणा शासकको ‘भित्रिनी’ बन्ने महिलाहरू यही भूमिकै हुन् । समाजिक मर्यादाका नाममा  सामन्ती भोग बिलासको प्रशाधन बनेका महिलाहरू सदैव पीडित रहे, अपमानित र कलङ्कित रहे । यसका निम्ती राणाकालीन वैभव र बिकृति जन्य सामाजिक परिपाटी नै मुख्य रूपमा जिम्मेवार थियो । समयक्रमले राणाशासनको पतन भयो । तर उनीहरूको अपराधी मनोबृद्धिमा कुनै कमी आएन । राजनीतिक पतनपछि राणाहरू भारतीय भूमिका हवेलीहरूमा विस्थापित भए । यौनजन्य विकृतिले सल्केका राणाहरूको कामुकता त्याहाँ पनि सेलाउन सकेन । बरु त्यो वृकिति सँगै राणा परिवारभरी फैलियो । त्यसलाई शान्त पार्न राणाहरूले आफ्ना अर्दली र हुक्केहरू मार्फत नेपालबाट महिलाहरू मगाउन थाले । ती महिलाहरू केवल राणाहरूको वैभव र सन्तुष्टिका साधनमात्र बनेनन्, भारतका प्रतिष्ठित् व्यक्तिहरूका निम्ती समेत उपयोग हुन थाले । यसरी नै भारतीय भूमिमा नेपाली महिलाहरूको प्रतिष्ठा बेचिने क्रम प्रारम्भ भएको थियो ।

देशमा भएको ००७ साल, ०४६ साल, ०६२/६३ साल लगायतको आन्दोलनबाट व्यवस्थामा भएको परिवर्तनसँगै महिला हक, हित र अधिकार, स्वतन्त्रता, महिला शिक्षा र पटक पटक भएको मुक्ति आन्दोलनको आयामका कारण महिलाहरूमा केही जागरण त पैदा गर्‍यो तर महिलाहरूले स्वतन्त्रता पूर्वक बाँच्ने दिन कहिल्यै आएन । महिलाहरू लुटिनु पर्ने र बेचिनु पर्ने परिपाटिको अन्त्य कहिल्यै भएन ।

०८० साउन देखि कात्तिक चार महिनामा मात्र ४ हजार ३१ जना महिला रोजगारीको लागि विदेश गएको जिल्ला प्रशासान कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार गएको आर्थिक वर्ष २०७९/८० मा मात्र १८ हजार २ सय २५ जना महिलाहरू वैदेशिक रोजगारीको लागि विभिन्न देश पुगेका थिए । वैदेशिक रोजगारीका लागि विदेश जाने अधिकांश जनजाती समुदायका महिला भएको तथ्याङ्कले देखाउँछ ।

वैदेशिक रोजगारीमा गएर समस्यामा परेर स्वदेश फर्केका प्रभावित क्षेत्रहरूमा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, आयआर्जनका आधारहरू पहिचान गरी त्यसलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजाने जस्ता केही उपायहरू तत्काल अवलम्बन नगरे महिलाहरू विदेशमा गएर समस्यामा पर्ने क्रम नरोकिने सुरक्षित आप्रवासन कार्यक्रम सामीका मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठ बताउनुहुन्छ ।

- नातिबावु धिताल