विद्यालय नजिकै छैन कहाँ पढ्ने ?

रसुवा । ०८० वैशाख ७ गते

गाउँमा पढाउने विद्यालय भए त नियमित पढ्न जान्थे । तीन वर्षदेखि पाँच वर्षका सात जना देश्या गाउँमा भेटिएका बालबालिका पढ्न जाँदैनन् । विहानको १० बजे विद्यालय खुल्छ तर यहाँ बालबालिका गाउँमै खेलेर दिन बिताउँछन् ।

गोसाइकुण्ड गाउँपालिका–१ को तार्स, देश्यागाउँका सात जना बालबालिकाहरू आधरभूत शिक्षाका लागि नजिकै विद्यालय नभएका कारण आधारभूत शिक्षाबाट वञ्चित भएका छन् ।

अभिभावक यो बुरी तामाङले भन्नुभयो, 'ढुङ्गा नै ढुङ्गा भएको भिरालो बाटो र बच्चा लड्ने डर हुन्छ दिनहुँ विद्यालय पुर्‍याउन पनि कठिन छ विद्यालय भवन टाढा भएका कारण नाति नातिनीहरू पढ्नबाट वञ्चित भएका छन् ।'

गाउँमा युवा विदेशतिर छन् । बृद्धबृद्धा मात्र बढि देखिन्छन् । कामको खोजीमा आमाबाबु टाढा पुग्ने भएकाले नाति नातिना सम्हालेर विद्यालय लैजान नसकेको अभिभावकहरू बताउँछन् ।

Photo_080-1-7_Rasuwa,

बालबालिकाहरूले पढ्न पाउनुपर्छ र उनीहरूलाई विद्यालय बाहिर राख्न नपाइने शिक्षा समन्वय इकाइका प्रमुख रमाकान्त अर्यालले बताउनु भयो । 'यसको मूख्य जिम्मेवार स्थानीय सरकार हो गाउँपालिकाले यस्तो समस्या हल गर्नुपर्छ', उहाँले भन्नुभयो । वडा नं १ को दाहालफेदीमा अरुणोदय विद्यालय, थुमन गाउँमा नेपाल राष्ट्रिय विद्यालय, र मेन्दो गाउँमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय गरी तीन ओटा विद्यालय रहेका छन् ।

लामा शिक्षा पढ्न भन्दै नेपालका विभिन्न स्थान र भारत जाने क्रम बढेपछि केही विद्यालय खाली हुन थालेको छ । १५ वर्ष अघिदेखिको यो क्रम बढ्दै छ । पर्यटकीय क्षेत्रका रूपमा परिचित गोसाइकुण्ड गाउँपालिका–१ थुमन, टिमुर, वडा नं ३ को बृद्धिम, खाम्जिङ, वडा नं ४ को लाङटाङ, वडा नं ५ को ठूलोस्याफ्रु, भार्खु, स्याफ्रुबेसीलगायत गाउँबाट विद्यार्थीहरूलाई यहाँ घुम्न आउने विदेशी पर्यटकले (स्पोन्सर) प्रायोजन गरेर शहरका निजी विद्यालयमा पढाइदिने गरकोले धेरैवर्ष अघिदेखि विद्यालय गाभ्ने र बन्द हुने क्रम चलेको छ । तर त्यहाँ नयाँ बालबालिकाहरू जन्मेपछि विद्यालय अभाव हुन थालेको छ ।

टोल टोलमा विद्यालय खोल्न सकिन्न बालबालिका कम हुँदै गएकोले अरु विद्यालय मर्ज हुने स्थितिमा रहेको गोसाइकुण्ड गाउँपालिका–१ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङले बताउनु भयो ।

गोसाइकुण्ड गाउँपालिका–३ को बृद्धिम, सुर्का, पेल्गो, खाम्जिङ, सेर्पागाउँलगायतका टोलबाट स्पोन्सर गरेर विदेशीले पढाउन धुन्चे र काठमाडौँका निजी विद्यालयमा लगेकोले गाउँका विद्यालय खाली भएको हो । वडा नं ३ मा पनि विद्यार्थी पढ्न नपाएर समस्यामा परेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । बृद्धिममा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय २०२८ सालमा स्थाना भएको थियो ।

विद्यार्थी अभाव हुन थालेपछि १४ वर्षअघि नै विद्यालय बन्द भयो । शेर्पा गाउँमा रहेको विद्यालय पनि बन्द छ । अध्यक्ष तामाङ भन्नुहुन्छ, ‘अहिले बृद्धिम ४/५ जना र शेर्पागाउँमा ५/६ जना बालबालिका छन् उनीहरू टाढा लगेर निजी विद्यालयमा पढ्न पठाउन पनि सक्दैनन् नजिक सरकारी विद्यालय पनि छैन समस्या छ ।’ अब यो समस्या कार्यापालिकामा लैजान्छु उहाँले भन्नुभयो ।

गोसाइकुण्ड गाउँपालिका भित्र सानोभार्खु, ब्राबल, खैदी, मुण्डु, बृद्धिम, शेर्पागाउँ, घट्टेखोलामा रहेका सात ओटा विद्यालय बन्द भए । थुमन, लिङलिङ र मेन्दोगाउँका विद्यालयमा विद्यार्थी कम भएकोले बन्द हुने अवस्थामा छन् ।

गोसाइकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष ढिण्डु लामा जाङवा तामाङका अनुसार यहाँका धेरै बालबालिकाहरू विदेशी पर्यटकले प्रायोजन गरिदिएकोले काठमाडौँमा पढ्छन् । लाङटाङ लिरुङ आधारभूत विद्यालय धेरै वर्षदेखि बन्द छ । त्यहाँ तीन जना स्थायी शिक्षक छन् तर घरमै बस्छन् ।

एक संस्थाले खोलिदिएको स्कुलमा ६० जना बालबालिकाहरू अध्ययनरत छन् । वडा अध्यक्ष तामाङ भन्नुहुन्छ ‘यहाँ तीन जना सरकारी स्थायी शिक्षकले घरमै बसेर तलब खाने गरेका छन् । यो समस्या सुरुदेखि नै कार्यापालिका बैठकमा कुरा मैले राखेको छु’ । त्यहाँ खोलिएको विद्यालय कतै दर्ता भएको छैन ।

०७४ सालदेखि नै त्यहाँ बालबालिकाहरू जम्मा गरेर पढाउने गरेपनि कतै दर्ता गरिएको छैन । सो विद्यालयलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको देखिँदैन । निजी विद्यालय स्थानीय सरकारको सिफरिसमा शिक्षा समन्वय इकाइमा दर्ता गर्नुपर्ने सरकारी नीति छ । सरकारी शिक्षक बेकम्मा अवस्थामा छन् भने त्यहाँ निजी विद्यालय खोलेर बिना दर्ता सञ्चालनमा छ ।

‘गाउँमा विद्यालय जाने उमेरका बालबालिका गाउँमा देखिएपनि विद्यालयको छैन सबैले आधारभूत विद्यालय गाउँमा छैन कहाँ पढाउने ?’ गोसाइकुण्ड गाउँपालिका–३ का युवा दावा तामाङ भन्नुहुन्छ । उहाँले थप्नुहुन्छ ‘सबैको टाढा राखेर निजी विद्यालयमा पढाउने हैसियत हुँदैन । त्यहाँ रहेका बालबालिका पढ्ने वातावरण हुनपर्छ ।’

Photo_080-1-7_Rasuwa

गाउँपालिका–३ को खाम्जिङमा होस्टल तथा वडा नं ४ को लाङटाङमा निजी विद्यालय अनुमति तथा दर्ता बेगर चलेको सुनेको यसबारे तत्काल अनुगमन गर्ने गोसाइकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण खत्रीले बताउनु भयो ।

कतै विद्यालय गाभिने तथा कतै बन्द हुने कारण विद्यार्थी अध्ययनमा देखा परेको समस्याका लागि टिमुरे र स्याफ्रुमा निर्माणधीन भवन पूरा भएपछि पालिकाबाट पूर्ण रुपमा होस्टल सञ्चालन गरे पछि समस्या हल हुने शिक्षा शाखा प्रमुख खत्रीले बताउनु भयो । वैशाख देखि गाउँ गाउँ भर्ना अभियान सुरु हुने भएकोले घर घरमा पुगेर नयाँ भर्ना गराउने र सबैलाई विद्यालय ल्याउने वातावरण तयार गर्ने खत्रीले बताउनु भयो ।

विद्यालयको पहुँचबाट टाढा रहेको विद्यार्थीहरूलाई लक्षित गरेर गाउँपालिकाले विद्यार्थीहरूका लागि पोशाक सहित छात्रावास खोल्ने निर्णय गरी १ करोड ३७ लाख रुपियाँ बजेट समेत विनियोजन गरेको सामाजिक विकास तथा बालबालिका शाखा प्रमुख धु्रबप्रसाद लामिछानेले बताउनु भयो ।

‘केही विद्यालयमा विद्यार्थी अभाव छ, शिक्षक मात्र छन् भने कतै विद्यालय गाभिएर त्यहाँ विद्यालय जाने उमेरका बालबालिका देखिन थालेकोले गाउँपालिकाले धुन्चे र स्याफ्रुमा छात्रावास खोल्न लागेको हो' लामिछानेले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले यस्ता समस्या समाधानका लागि गाउँपालिकाले होस्टेल खोल्न लागेकोले यस वर्ष होस्टेल खुल्ने बताउनु भयो ।

विद्यार्थीहरू विद्यालय पाएको ठाउँमा नभएको गुनासो छ भने वर्षौँदेखि स्थानीय सरकारले नीति नियम अनुरुप अनुमति तथा दर्ता बेगर चलेको होस्टेल र निजी विद्यालय कानुनी दायरामा ल्याउन नसकेको गुनासो समाधान गर्न नसकेको देखन्छ ।

- हेमनाथ खतिवडा