विद्यालय छाडेर रात दिन श्रम गर्छन्उनीहरू

ज्ञानेन्द्र खड्का

उनी बिहान उज्यालो नहुंदै आँखा मिच्दै उठ्छिन् । अनि डोको र हंसिया बोकेर गाईलाई घाँस काट्न बारीतिर लाग्छिन् । घरमा आमा पछिको ठूलो जिम्मेवारी उनकै काँधमा छ । उनले डोको बोकेर बारीमा नपसे गाईले दिनभरि भोकै बस्नुपर्छ । बिहान घाम नझुल्किदै बारीमा भोको पेट लिएर उनी घाँसको भारी पुर्‍याउन लाग्छिन् । बारीको घाँस अरु गाउँलेले पनि काटेकाले भारी पुर्‍याउन उनलाई बिहान बिताउनुपर्छ । आफ्नो जीउभन्दा ठूलो घाँसको भारी बोकेर फर्किंदा ९ बजिसकेको हुन्छ । घर आइपुग्दा भाइबहिनी भोकले रोइरहेका हुन्छन् । आमा पनि बिहानैदेखि दुई छाकको जोहोको लागि अरुको मेलामा पुगिसकेकी हुन्छिन् ।

कहिलेकाँही त उनलाई दिक्क लाग्छ । घरमा आएर उनले एक मिनेट बसेर सास फेर्न पाउँदिनन् । चार जना भाइबहिनीको पेट भर्न तथा आफ्नो पनि भोक मार्नु छ । हतार हतार आगो जोड्न थाल्छिन् । मझेरीको कुनामा रहेको डालाको पिंधमा रहेको कोदाको पिठो कसौंडीमा हालेर उनी खोले पकाउन थाल्छिन् । उनले त्योभन्दा मिठो पकाएर खान दशैं तिहार नै कुर्नुपर्ने बाध्यता छ । खोले पाक्दा साडे ९ बजिसक्छ । छरछिमेकका साथीहरू रंगीचंगी पोशाकमा विद्यालय जान थालिसकेका बेला उनी भने भाइबहिनीलाई खोले खुवाउनमै व्यस्त हुन्छिन् ।

सुन्दापढ्दा कसैलाई यो एउटा कथाको किस्सा जस्तो लाग्छ । तर यस्तै बाध्यतामा बाँचेका छन् भोजपुरको मूलपानी गाविस-६ की १३ वर्षीया कोपिला राई यस्तै एक बालिका हुन् जसले सानो उमेरमा पनि ठूलो जिम्मेवारी वहन गर्नुपरेको छ । उनी घरमा आमापछिकी जिम्मेवार सदस्य हुन् । भगवती निमावि मूलपानीमा कक्षा ७ मा अध्ययन गरिरहेकी कोपिलाले अब चाहेर पनि विद्यालय जाने अवस्था छैन । उनले बाध्यताका कारण यो वर्षेखि विद्यालयको पढाइ त्याग्नु्परेको छ ।

घरबाट १० मिनेटको दुरीमा रहेको विद्यालय जाने रहर हुंदा हुंदै पनि उनी खुम्चिएर बस्न बाध्य छिन् । उनलाई धेरै पढेर शिक्षिका बन्ने रहर छ तर आफ्नो रहर रहरमै सीमित हुन लागेकोमा उनलाई पीर गर्ने फुर्सद छैन । अहिले उनी आमा मीनाकुमारीले झैं मेला गएबापत आउने ४० रुपैयाँ र एक मानो चामल नै अहिले उनको लागि महत्वको भएको छ ।

"म विद्यालय गएँ भने घरमा छाक बस्छ । भाइबहिनीलाई भोकै मारेर म पढ्दिन । बुबा र दिदी घरमा भएको भए म पनि पढ्ने थिएँ, भाइबहिनीलाई पनि पढाउने थिएं । आमालाई दुःख दिएर पढेर मात्रै के गर्नु । विद्यालयमा पढ्न पनि पैसा तिर्न सक्दिन म " कोपिला भन्छिन् ।

एक वर्षघिसम्म उनका बाबु अम्बरबहादुर राईले भारी बोकेर परिवार धान्दै आएका थिए । अम्बरबहादुर सधंैजसो धनकुटाको लेगुवाघाटबाट दिंला बजारसम्म साहुको भारी बोक्ने गर्थे । भारी बोक्ने क्रममा ०६२ साउनमा ढाड भाँचिएपछि यो परिवारको दशा शुरु भयो । उपचार गर्दा लागेको ३० हजार ऋण मीनाकुमारीले अझै तिर्न सकेकी छैनन् । उपचार गर्न भनी भारतको मुम्बई पुगेका अम्बरबहादुर घर फर्किने पैसा कमाउन नसकेर उतै अलपत्र छन्, यता छोराछोरीलाई भने विद्यालयको पढाइभन्दा पनि छाक टार्ने चिन्ताले सताएको छ । अम्बरबहादुर मुर्म्बईमै बिजोगमा परेपछि यो परिवार पूरै सहराविहीन अवस्थामा छ । बाबु गएसँगै घरकी जेठी छोरी पुष्पा राई पनि ०६३ मंसिरमा माओवादी सेनामा गएपछि परिवारको स्थिति अझै बिग्रिएको छ ।

कोपिलाका १० वर्षा भाइ राजेन्द्र राईले पनि १० वर्षै कलिलो उमेरमा विद्यालयको पढाइको माया मारेका छन्,जिम्मेवारीका कारण । घरको छाक टार्न उनी पनि दिदी कोपिलासँगै अरुको मेला र पर्वमा जाने गरेका छन् । भगवती निमावि मूलपानीमा कक्षा ४ मा पढिरहेका राजेन्द्र महिनामा १५ दिन विद्यालय जान्छन् भने १५ दिन घरमा अन्नको जोहो गर्न मेला जाने गर्छन् । आमासँगै मेलामा गएर दिनको ३५ रुपैयाँ कमाउँछन् । दाजुदिदीले विद्यालय जान छोडेपछि ८ वर्षीय मणि राईले पनि २ कक्षा पढ्दापढ्दै विद्यालय छोडेका छन् । उनी आमा, दाजु र दिदी काम गर्न हिंडेपछि दिनभरि घरमा बसेर दुई भाइबहिनी स्याहार्छन् ।

उनीहरूकी आमा मीनाकुमारी भन्छिन्-"पुष्पाले ९ कक्षामा एसएलसीको ४ सय शुल्क तिर्न नसक्दा पढाइ छोड्नुपर्‍यो । कोपिला र राजेन्द्रलाई पुस्तक, कपी र पोशाक किनिदिन नसक्दा र घरमा काम गर्नुपरेकाले पढाइ छोडे । मेरो सहारा भनेका अहिले यिनै भएका छन् । यी दुवैलाई पनि विद्यालय पठाएँ भने मेरो घरको चुल्हो बल्दैन ।" पैसाको अभावमा मीनाकुमारीले सबै छोराछोरीको जन्म दर्ता समेत गर्न सकेकी छैनन् ।

नागरिक समाज दिंलाका भोजकुमार भुजेल ती बालबालिकाहरूको पढ्ने वातावरणको लागि राज्यले चासो दिन नसकेको गुनासो गरे । स्थानीय विद्यालयले पनि उनीहरूलाई विद्यालयले लिने शुल्कमा छुट दिन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

छोराछोरीलाई पढाउन नसकेकोमा मीनाकुमारीलाई दुःख त लागेको छ । उनी कसैले सहयोग गरे सबैलाई छोराछोरीलाई पढाउने धोको रहेको बताउँछिन् । तर छोराछोरीलाई सबैलाई विद्यालय पठाउँदा घरमा ताला लाग्ने तथा भोको पेट बस्नुपर्ने बाध्यता उनको छ ।

घरकी ठूली छोरीलाई समेत मासिक ७ हजार दिने प्रलोभनमा पारेर माओवादीले लगेका थिए । माओवादीको ७ हजारको प्रलोभनले उनले सहजै छोरी त दिइन् तर अहिले न ७ हजार पायो त्यो परिवारले न त छोरी नै । माओवादीमा गएदेखि १ पटक घर फर्केर आएकी छिन् । बाबु मुर्म्बई गएपछि पुष्पाले नै सबै घरको व्यवहार धानेकी थिइन् तर उनको अनुपस्थितिमा त्यो स्थिति रहेन ।

कोपिला र उनका भाइबहिनी जस्ता बालबालिकाको शिक्षा लिने अधिकारको संरक्षण राज्यले गर्न नसकेको देख्दा जोकोहीको मन रुन्छ । राज्यले बालबालिकालाई पोशक तत्वको व्यवस्था, उचित शिक्षाको प्रवन्ध आदि कुराको ग्यारेन्टी गर्ने कागजमा लेखिएपनि यी बालबालिकाले न त एकसरो लुगा लाउन पाएका छन् न त पेटभरि खान नै पाएका छन् । शिक्षा लिने कुरा त परै जाओस् ।

बालबालिकाको अधिकार संरक्षणको कुरा सहरका तारे होटलमा जति गरेपनि यी निर्दोष बालबालिकालाई पेटभरि खान दिएर ढुक्कले शिक्षाले लिने वातावरण नबनाएसम्म ती गोष्ठी र अन्तरक्रिया अनि भाषणको के औचित्य रहला र । बालअधिकारको कुरा १० वर्षनपुग्दै पेट भर्नका लागि रातो दिन रगत पसिना बगाइरहेका बालबालिकाको झुपडीमा पुर्‍याउन आज जरुरी भइसकेको छ । उनीहरूको अधिकारको पूर्ण ग्यारेन्टी नभएसम्म राज्य जिम्मेवार भएको समेत ठहर गर्न सकिने अवस्था हुने छैन ।

कलिलै उमेरमा बारी जोत्ने, बारी खन्ने, भारी बोक्ने लगायतका काममा पोख्त भएका कोपिला र राजेन्द्रलाई विद्यालय जाने रहर त छ तर उनीहरूमाथि दोहोरो जिम्मेवारीका कारण घरैछेउको विद्यालयलाई घरको आँगनबाट चिहाएर चित्त बुझाउनु परेको छ । अहिलेलाई भने स्थिति यही हो, कोपिला र राजेन्द्र बिहान ९:३० बज्दा घाँस र दाउरको भारी लिएर घरतिर आइरहेका हुन्छन् भने अन्य छरछिमेकका हुने खानेका छोराछोरी रंगीचंगी पोशाक किताव र कपी बोकेर विद्यालय गइरहेका हुन्छन् ।

भोजपुर । ०६४ जेठ

-