विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या (फोटो फिचर)
शितगङ्गा नगरपालिका-१४, करेचुली गाउँमा रहेको पार्वती आधारभूत विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । विद्यालयमा खानेपानीको व्यवस्था नभएका कारण विद्यार्थीहरूले पिउनका लागि घरैबाट पानीका बोतल बोकेर विद्यालय आउन बाध्यता भएको र विद्यालयमा शौचालय गरेपछि हात सफा गर्न समेत पानीको समस्या भएको बताउनु हुन्छ कक्षा ८ मा अध्ययनरत छात्रा कृतिका पाण्डे ।
विद्यालयमा पानीको व्यवस्था नभएकोले घण्टौँ टाढा रहेको कुवाबाट पानी बोकेर विद्यार्थीहरूलाई दिवा खाजा बनाउनु परेको कार्यालय सहयोगी मुमबहादुर ठेडी मगरले बताउनु भयो । करेचुली गाउँ र पार्वती आधारभूत विद्यालय धेरै टाढा विकट ठाउँमा रहेको छ । विकासको योजनामा पहुँच पुग्न नसकेर होला खानेपानीको व्यवस्था गाउँमा पनि छैन र विद्यालयमा पनि हुन सकेको छैन । अहिले यस विद्यालयमा १ सय ५३ जना विद्यार्थीहरू भर्ना भएका छन् । वैशाख महिनाभरी भर्ना थपिने क्रम छ । विद्यालयमा कार्यालय सहयोगी एक जना मात्र हुनुहुन्छ । नजिकमा धारा पंधेरा छैनन् । एक ड्रम पानी लिन जान आउन दुई घण्टाभन्दा बढी समय लाग्छ । पानीको अभावका कारण विद्यालयको शौचालय प्रयोग गर्न र सफा राख्न समेत समस्या भएको प्रधानाध्यापक भुमबहादुर रास्कोटी बताउनुहुन्छ ।
करेचुली पार्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढालबहादुर बलालले विद्यालयमा खानेपानीको व्यवस्थापन गर्न नसक्नुको कारण करेचुली गाउँमै खानेपानीको सुविधा नभएको बताउनु भयो । त्यहाँ सजिलै पानी ल्याउन सकिने खानेपानीको श्रोत मुहान पनि छैन । यस वर्ष लामो समयदेखि पानी नपरेका कारण खडेरीले गर्दा खोल्सा खोलाका पानी सुकेका छन् । नजिकको कुवामा राति नै उठेर गए एक/दुई गाग्री पानी ल्याउन सकिने अध्यक्ष बलालको भनाइ छ । उक्त कुवामा पानी लिनको लागि ढिला गएमा दिनभर पालो कुर्नुपर्ने र बल भएकाले रातारात खोलाबाट पानी बोक्ने गरेको उहाँ बताउनुहुन्छ ।
करेचुलीमा खानेपानीको मात्र समस्या होइन, बाटो, स्वास्थ्य र विद्यालयकै समस्या छ । यहाँका विद्यार्थीहरूले आठ कक्षा पास गरेपछि अलिअलि हुने खानेले कपिलवस्तु र बुटवलमा पढ्न पठाउँछन् । गरिबका छोरा भारततिर कामको खोजिमा जान्छन् । छोरीहरू उमेर नपुग्दै विवाह गर्न बाध्य हुन्छन् । गाउँमा थोरै विद्यार्थी भए पनि १० कक्षासम्म चलाउन पाए यहाँका जनता शिक्षित र सचेत हुने थिए । करेचुलीमा राजनीतिक अस्थिरताका कारण आधारभूत विकासमा पछाडि परेको गुनासो उहाँ गर्नुहुन्छ ।
करेचुली सामुदायिक स्वास्थ्य केन्द्रकी सहायक स्वास्थ्यकर्मी रमा बिसीले गाउँमा खानेपानीको समस्या भएको र गाउँलेहरू खोल्सा कुवाको धमिलो पानी पिउने गरेका कारण उपचारका लागि आउने सेवाग्राहीहरू रुघा, खोकी, ज्वरो र पेट दुख्ने बिमार भएका बढी आउने गरेको जानकारी दिनुभयो । सहायक स्वास्थ्यकर्मी बिसीले विद्यालयमा जस्तै यस सामुदायिक स्वास्थ्य केन्द्रमा पनि पानीको अभाव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'पानी पिउनलाई डेराबाटै बोतलमा ल्याउने गरेकी छु । पानी कै अभावका कारण कार्यालय समयमा काम गर्दा गर्दै शौचालय जानु परेमा आफ्नै डेरामा पुग्नु पर्ने बाध्यता छ ।'
जेमेरे खोला मुल लिफ्टिङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष टायमबहादुर गाहाले खानेपानीको समस्या विद्यालयको मात्र नभएर करेचुली गाउँका १ सय ६७ घर कुरीयाको समस्या भएको बताउनु भयो । अहिले पनि हिउँदमा वर्षा खोल्साको पानी खाएर बाँच्न बाध्य भएका ८१/८२ घरधुरी छन् । अरु बाँकीले पुरानो पाइपलाइनको पानी टाढैबाट टाउकोमा बोकेर ल्याउने गरेका छन् । जेमेरे खोला मुल लिफ्टिङ्ग खानेपानी योजना २०७६ सालमा शुरु भएको २ करोडको योजना हो । सालमा सात/आठ लाख मात्र बजेट आउँछ । मुहानमा ट्याङ्की बने, पाइप जडान भएका छन् । मुल ट्याङ्कीको फाउण्डेशन मात्र भएको र आधा काम बाँकी रहेको स्थानीयहरूको भनाइ छ । आफूहरूले पुर्खौंदेखि खोल्साको धमिलो पानी पिउन बाध्य भएको र अहिले वन जङ्गलमा आगो लागेर खोल्सा कुवाको पानी सुकेपछि झन् पानीको हाकार भएको गुनासो गर्नुहुन्छ गाउँका स्थानीय कटवाल सालिकराम नेपाली ।
शितगङ्गा नगरपालिका-१४ का वडाध्यक्ष दामोदर न्यौपानेले करेचुलीको गाउँको भुगोल निकै कठिन ठाउँमा रहेको कारण करेचुलीमा खानेपानीको समस्या भएको बताउनु भयो । उक्त समस्याको समाधान गर्न वडा र नगरपालिकाको बजेटबाट मात्र नसकिने भएकोले सङ्घबाट योजना पार्न आफूहरूको पहुँच नपुगेको उल्लेख गर्नुभयो । जेमेरे खोलाको मुल लिफ्टिङ्ग खानेपानी योजना प्रदेशको हो । यसैमा पनि पहुँच पुग्न नसकेर ढिला भएको होे । अब प्रदेश र केन्द्रमा करेचुलीको समस्यालाई लिएर कुरा राख्न जाँदैछौँ । जेमेरे खोला मुल लिफ्टिङ्ग खानेपानी योजना छिटो सम्पन्न गरी विद्यालय र स्वास्थ्य केन्द्रमा खानेपानीको व्यवस्थापन गर्ने कुरा उहाँ बताउनुहुन्छ ।
शितगङ्गा नगरपालिका उपप्रमुख गिता बिसीले नगरपालिकाको योजनामा आफूहरूले करेचुलीको गाउँ र जनताको समस्यालाई बेवास्ता नगरेको बताउनु भयो । त्यहाँको भौगोलिक समस्याले गर्दा खानेपानी, शिक्षा, स्वास्थ्य र बाटोका समस्या नगरपालिकाको योजनाले मात्र सम्भव नभएकोले प्रदेश र सङ्घबाट योजना पार्न प्रयास गरिरहेको बताउनु भयो । बाँकी रहेको खानेपानीको काम सञ्चालनमा ल्याई सम्पन्न गर्न प्रदेशमा छिटै छलफल गर्ने उहाँको प्रतिवद्धता छ ।
०७९ भदौ २१ गते प्रमाणीकरण भएको खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३ को उपदफा १ मा खानेपानी तथा सरसफाइको अधिकार सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार 'प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको अधिकार हुनेछ र त्यस्तो अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन र परिपूर्ति यस ऐन तथा प्रचलित कानुन बमोजिम हुनेछ । उपदफा १ बमोजिमको खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार अन्तर्गत प्रत्येक नारिकलाई (क) स्वच्छ खानेपानीमा सहज र सुलभ पहुँचको अधिकार, (ख) नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी प्राप्त गर्ने अधिकार, (ग) गुणस्तरीय सरसफाइ सेवाको सहज र सुलभ पहुँचको अधिकार हुनेछ । त्यसैगरी, उपदफा १ बमोजिमको अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन, परिपूर्ति र कार्यान्वयन गर्ने जिम्मेवारी पारस्परिक समन्वयमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ । यस ऐन बमोजिम प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको अधिकार सुनिश्चित गर्न 'एक घर, एक धारा' नीति कार्यन्वयन हुन नसक्दा शितगङ्गा नगरपालिका-१४, करेचुली गाउँमा र पार्वती आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको हो ।
- कुलबहादुर नेपाली
सम्बन्धित फिचरहरू
संविधान प्रदत्त अधिकारबाट वञ्चित ‘बालुवाटारवासी’
‘नेपालको संविधानको भाग ३ को धारा २५ को (१) मा प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार…
संविधान दिवसको खुशीयाली पुग्न नसकेको चेपाङ परिवार !
खरले छाएको घर । त्यही पनि लड्नै लागेको । ढुङ्गामाटोको घरमा २–३ डोको मकै । घर अगाडि फल्दै गरेको कोदो । आफ्नो पाँच जनाको परिवारसहित दुई जना भान्जीहरू समेत घरमा…
बेपत्ता पारिएका व्यक्तिको परिवारको पीडाः पीडित भन्छिन् – मेरो पति खै !
सैनामैना नगरपालिकाकी विष्णु नेपाली अहिले ३५ वर्षकी हुनुभयो । सानै उमेरमा तत्कालीन अमुवा गाविस-७ का सुरजबहादुर सार्कीसँग विष्णुको प्रेम विवाह भएको थियो । विवाह हुँदा विष्णुको उमेर त्यही १८ वर्षको…
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…