वर्षेनी बालिका बलात्कारका घटना बढ्दै
जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको छ भने आमा माइती भेटन गएको मौका छोपी नाबालिका मात्र घरमा भएको बेला सोही जिल्लाका छेडागाढ नगरपालिका–१२ कार्की गाउँका ३१ वर्षीय बलबहादुर सिहंले बलात्कार गरे ।
घरमा कोही नभएको समयमा टाढा बाट आएको बस्नलाई अन्य कतै ठाउँ नभएको बाहानामा उनले त्यही बास मागे र राति बालिकाको बलात्कार गरे । बालिकाले उक्त घटनाको प्रतिकार गर्दा र घटनाबारे बाहिर ल्याउने प्रयास गर्दा आरोपितले ज्यान मार्ने धम्की दिए । घटना पछि विस्तारै पीडितको शरीरको आकारमा फरक आउन थालेपछि आमाले डाक्टर सँग चेकअप गर्न जाँदा बालिकाको पेटमा गर्भ रहेको पुष्टी गरे । दिन वित्दै गएपछि बालिकाले ०७९ मङ्सिर ४ गते छोरीको जन्म दिइन् । हाल उनी एक संस्थाको संरक्षणमा बस्दै आएकी छन् ।
यस्तै जाजरकोट घर भइ सुर्खेतमा अध्ययनको शिलशिलामा बसेकी एक बालिकाको करिब ११ महिनाको फरकमा दुई पटक बलात्कृत भएकी छन् । शुनौलो भविष्यको सपना देखेर शहर पसेकी ११ वर्षीया बालिका दिदीसँग कोठा भाडामा बस्दै आएकी थिइन् । बालिकालाई ०७८ भदौ ४ गते हुम्लाका २३ वर्षीया प्रकाश जौशीले सडक छेउको झाडीमा लगेर बलात्कार गरे । साझँपख साइली दिदीको कोठाबाट ठुलीदिदीको कोठातिर जादैँ गर्दा बाटोमा नै बलात्कारको शिकार बन्न पुगिन् । आरोपित जैशी अहिले कारागारमा सजाय भोगिरहेका छन् ।
यस घटनाको ठिक एक वर्षपछि ०७९ साउन २७ गते वीरेन्द्रनगर १२ का २१ वर्षीय मनन सापकोटा र २३ वर्षिया कृष्ण रिजालले पिडितको कोठामा नै पुगेर बलात्कार गरे । पीडितलाई पढाइ दिने र पछि गएर उनीसँगै विहे गरिदिने भन्दै विभिन्न प्रलोभन देखाएर होस्टायल बनाएर पीडक सापकोटा धरौटीमा रिहा भए ।
यस्तै गरी सुर्खेतमा ०७८ माघ १० गते १८ वर्षीया एक बालिका बलात्कृत भइन् । अध्ययनको शिलशिलामा वीरेद्रनगरमा कोठा लिएर बस्दै आएकी थिइन् । गुर्भाकोट नगरपालिका– १३ नयाँगाउँका वर्ष ३२ को गोविन्द क्षेत्रीले उनलाई बलात्कार गरेका हुन् । पीडित एक प्राइभेट कम्पनीमा काम गर्दै र पढाइ खर्चको गुजारा गर्दै आएकी थिइन् । बलात्कार पछि पीडितलाई कसैलाई भनेमा काम गरिरहेको ठाउँबाट निकालिदिने र ज्यान मार्ने धम्की दिदै आएका थिए । यतिकैमा बालिकालाई पुनः ०७९ असोज ६ गते दोस्रोपटक बलात्कृत भइन् । पटक पटक आफूमाथि बलात्कार भएपछि पीडित कोठा छोडेर गाउँ जान बाध्य भइन् ।
बलात्कारको त्रिवर्षीय तथ्याङ्क अनुसार कर्णालीमा प्रत्येक वर्ष बलात्कार घटना बढेको पाइएको छ । तथ्याङ्कमा कर्णालीमा ४ सय ८० बलात्कारका घटना घटेका छन् । जसमा सबैभन्दा बढी सुर्खेतमा घटेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीमा १ सय ५८ बलात्कारका घटना घटेका छन् । यसैगरी आर्थिक वर्ष ०७८/७९ मा १ सय ५५ बलात्कारका घटना भएका छन् । भने ०७९/०८० मा कर्णालीमा १७० बलात्कारका घटना घटेका छन् । यी तीनै वर्षको तथ्याङ्क हेर्ने हो सुर्खेतमा सबैभन्दा बढी बलात्कारका घटना भएकाे छ ।
०७९/०८० मा सबैभन्दा धेरै सुर्खेतमा ७१ जना माथि बलात्कार भएको छ । आर्थिक वर्ष ०७९/८० को वैशाख अन्तिम साता सम्मको तथ्याङ्क अनुसार सल्यानमा १७ बलात्कारका घटना प्रहरीको दर्ता भएको छ । कालिकोटमा १५ ओटा बलात्कारका घटना भएका छन् । भने रुकुम पश्चिम र जुम्लामा १४/१४ ओटा बलात्कारका घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसै गरी दैलेखमा १३ ओटा घटना भएका छन् भने जाजरकोट र हुम्लामा ९/९ ओटा बलात्कारका घटना भएका छन् । मुगुमा सात बलात्कारका घटना भएका छन् भने सबै भन्दा कम डोल्पामा एक ओटा बलात्कारको घटना घटेको छ ।
पीडितले उचित अभिभावकत्व नपाउनु र पीडितमा आत्मरक्षाका विषयमा जानकार नहुँनु प्रमुख पक्ष रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता गोपालचन्द भट्टराइले जानकारी दिनु भयो । यस्ता खाल घटना न्युनिकरणका लागि प्रहरी प्रशासनले निरन्तर रुपमा प्रयास जारी नै राखेको उहाँको भनाइ छ । सुर्खेतमा वर्षेनी बलात्कारको घटना बढ्नुमा अव्यवस्थित बसोबास र जनसङ्ख्या बढी भएकाले पनि बलात्कार घटना बढेको एसएसपी तथा प्रवक्ता भट्टराइले बताउनुभयो ।
यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा बलात्कारका घटनामा ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । बलात्कार प्रयासका घटनामा ११ र यौन दुव्र्यहारका घटनामा २२ जना गरी सन् २०२२ मा कर्णालीमा १ सय २१ जना महिला तथा बालिकाहरू बलात्कारबाट पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । इन्सेकको त्रैमासिक तथ्याङ्क अनुसार कर्णालीमा सन २०२३ जनवरी देखि मार्च सम्मको अवधिमा ११ जना बालिका बलात्कार भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा बलात्कारका घटना बढ्नुमा कानुन कार्यान्वयनको पक्ष बलियो नभएको बताउनुभएको छ । पीडकलाई कानुनको दायरामा ल्याउन सकेमा यस्ता खालका घटनामा कमी ल्याउन सकिने उहाँको भनाइ छ । बालिका समाज, घरपरिवार, आफन्त, नातागोताबाट नै असुरक्षित भएका कारण जिम्मेवार पक्ष अभिभावक यसमा बढी नै सचेत हुनुपर्ने बताउनु भयो । जिम्मेवार निकायलाई यस्ता विषयमा जानकार बनाउन समेत आवश्यक रहेको उहाँको भनाइ छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ मा बलात्कार (जबर्जस्ती करणी) र बाल यौन दुरुपयोगबारे छुट्टाछुट्टै व्यवस्था छ । ऐनको दफा २१९ मा कुनै पनि महिलाको मञ्जुरी नलिएमा वा १८ वर्षमुनिको किशोरीसँग मञ्जुरी लिएरै यौनसम्बन्ध राखेमा जबर्जस्ती करणी हुने व्यवस्था छ ।
उच्च अदालत सुर्खेतका वैतनिक वकिल गिता कोइरालाले वर्षेनी बलात्कारका घटना बढेको बताउनु भयो । त्यसमा पनि दलित समुदायबाट यस्ता घटना बढी आउने गरेको उहाँको भनाइ छ । हाडनाता करणीमा तथा आर्थिक अवस्था कमजोर भएका दलित समुदायबाट यस्ता मुद्दा बढी आउने गरेको वैतनिक वकिल कोइरालाले बताउनुभयो ।
१० वर्ष भन्दा मुनिका बालिका, अशक्त, गर्भवती महिला, ७० वर्ष भन्दा माथिको महिला माथि बलात्कार गरेमा जन्मकैदको सजाय हुने व्यवस्था छ । १० वर्ष भन्दा माथि र १४ वर्ष भन्दा मुनिका बालिका माथि बलात्कार भएमा १८ वर्ष देखि २० वर्ष सम्म सजाय हुने व्यवस्था छ । यसै गरी १४ वर्ष भन्दा माथि र १६ वर्ष भन्दा तलका बालिका माथि बलात्कार गरेमा १२ देखि १४ वर्ष सम्म कैद हुन सक्ने व्यवस्था गरेको छ । १६ वर्ष भन्दा माथि १८ वर्ष भन्दा कम उमेरको महिला माथि बलात्कार गरेमा १० देखि १२ वर्ष सम्मको कैद सजाय हुन्छ भने १८ वर्ष भन्दा माथिको महिला भएमा ७ देखि १० वर्ष सम्म कैद सजाय तोकेको छ । बैवाहिक बलात्कार भएमा ५ वर्ष कैद सजायको व्यवस्था समेत गरेको छ ।
- प्रभाकुमारी रावत
सम्बन्धित फिचरहरू
सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !
२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो…
द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या
बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध…
अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो
रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।…
कुपोषणको मारमा बालबालिकाहरू
उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्…
द्वन्द्वमा बेपत्ता पारिएका परिवारको यथावतै छ पीडा
साबिक पिपलडाँडा गाविस-२ पिँडालुवारी हाल चौतारा सागाचोकगढी नगरपालिका-६ मा बस्दै आउनुभएकी सीता बस्नेत आहिले एक्लो जीवन बिताइरहनु भएको छ । उहाँका एक छोरा र एक छोरी थिए । छोरा नेपाली सेनामा…