रोगले मरे पनि भोकले कोही नमरुन् !

सप्तरी । ०७८ असार ९ गते

निषेध आदेश लागु भएको अघिल्लो दिन काठमाडौँबाट राजविराजस्थित घर आइपुग्नु भएका २३ वर्षीय पंकेशराज कुशवाहा एक साता घरभित्रै बस्नु भयो । शरीर त पल्टियो तर निन्द्रा परेन । त्रास र पीडाले आँखा बन्द गर्नै दिएन । मनमा अनेक कुरा खेल्यो । लकडाउनको पूर्ण पालना गर्दै घरमा बस्नुभएका उहाँलाई घर बाहिरको कथाले पिरोल्यो । उहाँजस्तै स्कूल, क्याम्पस, विभिन्न अभ्यास र खेलमा व्यस्त भइरहने विद्यार्थीहरू पनि निषेध आदेशका कारण घरभित्रै बस्न बाध्य छन् । कुशवाहालाई भने सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका घर बाहिरका कथाले सुत्न दिएन । ‘घर भित्रै सुरक्षित बसेका थियौँ । खान लगाउन समस्या थिएन ।’–कुशवाहाले भन्नुभयो–‘हात बाँधेर घरमा बस्दा मनमा छटपटी भयो । घर बाहिरको अवस्था सोचेर केही नगरी घरभित्रै सीमित भएर बस्न मनले मानेन ।’

समुदायमै सङ्क्रमण फैलिएपछि वैशाख २५ गते मध्यरातदेखि सप्तरी जिल्लाका शहर, हाट, बजारमा निषेध आदेश लागू गरिएको छ । निषेध आदेशको अवधि लम्बिँदा दैनिक काम गरेर खानेहरूको रोजगारी खोसिएको छ । रोजीरोटी गुमेको छ । ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई दैनिक हातमुख जोर्न धौधौ भएको छ । महामारी नियन्त्रणका लागि सरकारी निकाय आ–आफ्नो ठाउँबाट काम गरिरहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । तरपनि एम्बुलेन्स, अक्सिजन, आइसीयू, भेण्टिलेटरलगायतका स्वास्थ्य उपकरण र पूर्वाधारको अभाव एवम् जनशक्तिको कमीका कारण कतिले सहज उपचार पाउन सकेका छैनन् । कोभिड महामारीको पहिलो लहरमा विपन्न, मजदुरलगायतलाई राहत वितरण गर्न अग्रसर तीनै तहको सरकारले यसपटक निषेध आदेश जारी गरिए पनि राहत वितरणतर्फ ध्यान पु¥याएको छैन ।

यस्तो भयावह अवस्थामा निषेध आदेशले पारेको असरबारे कुशवाहाले बाल क्लबमा सँगै काम गर्दा अध्यक्ष रहनुभएका साथी अमर यादवसँग फोनमा छलफल गर्नुभयो । रोजगारी गुमाएका विपन्नलाई खाद्यान्न सहयोग गर्ने निधो गरे पनि दुई जनाले सम्भव नभएकाले ४/५ वर्ष अघिको बाल क्लबका साथीहरूबीच भर्चुअल माध्यमबाट बैठक गरेको कुशवाहाले बताउनु भयो । समस्यामा परेकाहरूलाई सहयोग गर्नुपर्छ भन्दै अहिले उहाँहरूसँग सप्तरीका १९ देखि २३ वर्षका ७५ जनाभन्दा बढी युवा समाजसेवी ‘सहयोगका लागि युवा’ अभियानमा जुटेका छन् । जो आफ्नो ‘पकेट मनी’ बचाएर तथा युवा उद्यमी, व्यापारीबाट सहयोग जुटाएर भोकालाई खाना खुवाउन लागि परेका हुन् । कोभिड महामारीले बढ्दै आएको मानवीय सङ्कटमा सङ्क्रमणबाट जोगिँदै उनीहरू ‘युथ फोर निडेड पिपुल’ नाराका साथ खाद्यान्न जोहो गरेर अति विपन्नको घरको चुलो बाल्ने काम गरिरहेका छन् । ‘ज्याला मजदुरी गुमाएका, अति विपन्न, अपाङ्गता र टुहुराहरूलाई खाद्यान्न सहयोग गर्ने निर्णय गरेपछि कसरी गर्ने भनेर अलमलमा पर्‍यौँ ।’–यादवले भन्नुभयो–‘हामीले मात्र सबैलाई सहयोग गर्न सम्भव नभएपछि स्वेच्छिक सहयोगका लागि सामाजिक सञ्जालमा आह्वान गर्‍यौँ ।’ सहयोग दिनेहरूको प्रचार गरे पनि सहयोग पाउनेहरूको अनुहार र परिचय भने गोप्य राखिन्छ । सहयोगभन्दा ठूलो व्यानर राखेर, राहत लिँदै गरेको व्यक्तिको अनुहार, नाम सार्वजनिक गरेर फोटो सार्वजनिक गर्नुलाई उहाँहरू गरिबीको मजाक उडाएको ठान्नु हुन्छ । सामाजिक काम भन्दै राजनीतिक उद्देश्य राख्ने र सहयोगका नाममा अनावश्यक प्रचार गर्न आउनेहरूबाट उहाँहरू टाढा रहने गरेको कुशवाहाले बताउनु भयो ।

‘हामीले बाल क्लबमा रहेर तालिम लिँदा एकअर्कालाई सहयोग गर्नुपर्छ भनेर सुन्यौ र सिक्यौँ ।’–सुरुङ्गा नगरपालिकाका विश्वेन्द्र पासवान भन्नुहुन्छ–‘अहिले आएर तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रयास गर्दैछौँ ।’ उहाँहरूले सप्तरीका १८ मध्ये १२ ओटा स्थानीय तहमा संयोजकसहित ६/६ जनाको टोली तयार गरिसक्नु भएको छ । राजविराज, कञ्चनरूप, सुरुङ्गा, डाक्नेश्वरी, सप्तकोशी, शम्भुनाथ, खडक र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा छिन्नमस्ता, महादेवा, तिलाठी कोइलाडी र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा सक्रिय टोलीले आफ्नो गाउँटोल निरीक्षण गरेर सबैभन्दा विपन्न परिवार छनौट गर्छन् र एक महिनाको राशन जुटाउँछन् । आफैँ र सहयोगीबाट राशन जुटेपछि खाद्यान्न बोकेर सघाउन घर पुग्ने गरेको खडक नगरपालिकाका श्रवण पासवानले बताउनु भयो । सामाजिक कार्यको सराहना गर्दै केही मनकारी व्यक्ति र संस्थाले आर्थिक सहयोग उपलब्ध गराउन थालेको राजविराजका महेश साह सुनाउनु हुन्छ ।

आवश्यक व्यक्तिका लागि सहयोगी हात बनेका ७५ जना सबै विद्यार्थी हुन् । आपतविपतमा हमेसा अग्रपङ्क्तिमा उभिन तयार रहनुपर्ने कञ्चनरूपकी रंज्योती चौधरी र सरीता सरदारको भनाइ छ । यसअघि उहाँहरूले बालविवाह र बालश्रम रोक्ने, बालबालिकाको उद्धार गर्ने र बालअधिकारको क्षेत्रमा काम गरेको कञ्चनरूप नगरपालिका प्रमुख बसन्त मिश्रले बताउनुभयो । अति विपन्न परिवारको खोजीमा धेरै समय लगाउने उहाँहरू सहयोग भने सुटुक्क दिएर फर्कनु हुन्छ । फर्कने बेला थाहा पाउने केही छिमेकीहरूले अति आवश्यक परिवारलाई सहयोग गर्‍यौ भनेर धन्यवाद दिँदा आत्मसन्तुष्टि मिल्ने गरेको राजविराजका रोशन साहले बताउनु भयो । सहयोगमा जुटेका सबै विद्यार्थीको एउटै भनाइ छ–‘रोगले मरेको देखिरहेका छौँ । भोकले मरेको सुन्नु पनि नपरोस् ।’ आपतविपतमा अरुले के गर्‍यो–के गरेन भन्दा पनि आफूले के गरेँ ? भन्ने कुरा महत्वपूर्ण हो भन्नुहुन्छ उहाँहरू । राजविराजकी नम्रता परियारले राज्यप्रतिको दायित्व पूरा गरिरहेको बताउनु भयो । ‘युवाले देशमा आपतविपत आइपर्दा हमेसा साथ दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ युवाहरूले एकस्वरमा भने–‘राज्यले हामीलाई के दियो होइन, हामीले राज्यलाई के दियौँ भन्ने मान्यताका साथ सबैले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

photo20210623saptari (8)

photo20210623saptari (2)

photo20210623saptari (4)

photo20210623saptari (5)

photo20210623saptari (7)

photo20210623saptari (1)

photo20210623saptari (6)

photo20210623saptari (9)

- –मनोहरकुमार पोखरेल