रेक्चामा पिउने पानीको अभाव, गाउँ छाड्दै स्थानीय

सुर्खेत । ०७९ चैत १६ गते

शहर भन्दा टाढा, सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । त्यो बस्ती हो सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नं ५ रेक्चा । यही बस्तीमा करिब ८० घरधुरी छन् । त्यही घरधुरी मध्येकी एक हुनुहुन्छ नन्दा जैसी । उहाँ उमेरले ५० वर्ष पुग्नुभयो । उहाँको हरेक बिहानी पानीको जोहोबाट सुरुवात हुन्छ । उहाँ जान्ने भएदेखि नै बिहान उठेदेखि साझँ नसुत्नेबेलासम्म  पानीको जोहो गर्दैमा दिन बित्ने गर्दछ । पानीको कुवा घर नजिकै छ । तर प्रयाप्त मात्रामा पानी नहुँदा प्यास मेट्ने गरी न स्थानीयले पानी पिउन पाउँछन् नत गाईवस्तुले नै ।

नन्दाको संयुक्त परिवार छ । चार छोरी चार छोरा नन्दाका पति नन्दा गरेर १० जनाको परिवार छ । तर उहाँले कुवाबाट पानी एक दिनमा दुई गाग्री मात्र लिन पाउँनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँको कुवामा धेरै पानी हुदैन् त्यसैले दिनमा दुई गाग्री मात्र पानी लिन पाइन्छ । त्यो भन्दा धेरै लिएमा कारवाही हुन्छ र हामीले धेरै पानी लियौ भने अन्य स्थानीयलाई पुग्दैन् ।’

उहाँ मात्र होइन् । रेक्चामा रहेका ८० घरधुरीले दिनमा दुई गाग्रीमात्र पानी लिन पाउँछन् कुवाबाट । उक्त स्थानमा १० ओटा कुवा अलि व्यवस्थित छन् भने अन्य आठ ओटा कुवा खुल्ला अस्तव्यस्त छन् । त्यहाँका स्थानीय त्यही पानी पिउँदै आएका छन् । गाईवस्तुनै पानी पिउनका लागि हप्तादिन पर्खिनुपर्ने बाध्यता छ । नजिकै पानीको स्रोत छैन् । कुवामा मानिसलाई नै प्रयाप्त पिउने पानी नपाउने भएकाले पनि गाईवस्तुले दिनहुँ जसो पानी पिउन नपाउने अर्का स्थानीय जितेन बिसीले गुनासो गर्नुभयो । त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, मुख धुने, शौचालयमा प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय नागरिकले सरसफाई नुहाईधुवाईका लागि ३ देखि ४ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

बस्तीमा खानेपानीको जोहो गर्न १८ ओटा इनार छन् । तीमध्ये १२ ओटा इनार फागुनमै सुके । अब चारओटा इनारमा पानी छ । बाँकी दुई ओटा इनार जीर्ण अवस्थामा छन ।  त्यो पनि देख्दा दूषित देखिन्छ । ५१ वर्षीय गजराज बीसी इनारको पानीजस्तो देखिए पनि खानैपर्ने बताउनुभयो । कुनै पनि घरले दैनिक दुई गाग्रीभन्दा बढी पानी लैजान पाउँदैन । पानीको पालो रेखदेख गर्न चौकीदार राखिएको छ । सोही चौकीदारले प्रतिघर दुई गाग्री पालो लगाउने गरेको बीसीले बताउनुभयो । सो बापत चौकीदारलाई एक घर एक पाथी गहुँ दिने गरिन्छ ।

पानीको चौकीदार जगत शाहीले दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गर्ने गरेको बताउनुभयो । पुसदेखि असार महिनासम्म चौकीदार राख्ने गरिएको छ । अरू बेला इनार भरिएर पानी धेरै हुने भएपछि चौकीदार राखिँदैन तर पानीको अभाव हुन थालेपछि पालो लगाउन चौकीदार राख्ने गरिएको छ । विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कार भएमा केही बढी गाग्री पानी दिने गरिए पनि अरू बेला दैनिक दुई गाग्रीभन्दा बढी पानी वितरण नगरिने चौकीदार शाहीले बताउनुभयो ।

Photo20230330Surkhet (4)

खानेपानीको अभाव भएपछि स्थानीय बस्ती छाड्दै

खानेपानीको अभाव भएपछि स्थानीय पुर्खौदेखि बस्दै आएको थातथलो छोड्न बाध्य भएका छन् । पानीको स्रोत नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि त्यहाँका बासिन्दा बर्सेनी बसाई सर्ने गरेका छन् । पाँच वर्षअघिसम्म रेक्चामा करिब १ सय १५ घरधुरी थिए, अहिले रेक्चामा ८० घरधुरी मात्र छन् । घरधुरी घट्नुको मुख्य कारण नै खानेपानीको अभाव रहेको वडा सदस्य तपेन्द्र विसीले बताउनुभयो । रेक्चामा चार/पाँच वर्षको अवधिमा ३५ घरधुरी खानेपानीकै कारण बसाँइ सरेको उहाँले बताउनुभयो । रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुङ्गालोटे बस्ती पर्छ । यी बस्तीबाट प्रत्येक वर्ष कुनै नै कुनै परिवार बसाइँ सरी अन्यत्र जाने गरेको वडा सदस्य विसीले बताउनुभयो ।

चैत २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त स्थानको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्थानीय नागरिकले शुद्ध पिउने पानी पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ उक्त स्थानमा देखिएको पिउने पानीको तत्काल समस्या समाधान गर्नुपर्ने स्थलगत अनुगमनका सदस्य इन्सेक कर्णाली प्रदेशका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले बताउनुभयो ।

लिफ्ट खानेपानी आयोजना अलपत्र

अघिल्लो वर्ष ती इनारहरूलाई व्यवस्थित गर्न कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ४५ लाख रुपियाँ बजेट दिएको थियो । त्यो बजेटबाट जीर्ण तथा पुराना इनार मर्मत गर्ने र पानी झिक्नका लागि सहज हुने उपकरण जडान गरिएको वडा नं. ५ का वडा सदस्य बीसीले बताउनुभयो । सोही बजेटबाट बस्तुभाउलाई पानी खुवाउने इनारसमेत बनाइएको छ । पानीको चरम अभाव भएपछि प्रदेश सरकारको लगानी र चौकुने गाउँपालिकाको समन्वयमा १ करोड २६ लाख रुपियाँको लागतमा लिफ्ट खानेपानी आयोजना निर्माण गरिँदै छ तर त्यो आयोजना विद्युत् नहुँदा अलपत्र छ । मुहानसम्म विद्युतको ट्रान्सफर्मर पु¥याउने सडक नहुँदा खानेपानी आयोजना अलपत्र परेको छ । चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले सडक निमार्णका लागि आवश्यक बजेट नभएका कारण तत्कालका लागि खानेपानी समस्या समाधान गर्न नसकिने बताउनुभयो । आयोजनासम्म पुग्ने सडक निमार्णका लागि ५० लाख रुपियाँ बजेट आवश्यक पर्छ तर त्यो बजेट अहिले गाउँपालिकासँग नभएकाले तत्काल पिउने पानीको समस्या समाधान पालिकाले गर्न नसक्ने उहाँको भनाई छ ।

Photo20230330Surkhet (1)

महिलालाई महिनावारी हुँदा थप समस्या

महिनावारीका बेला चार दिनका दिनमा मात्रै होइन कि दिनहुँ नुहाउनुपर्छ । नुहाउँदा शरीर राम्ररी धुनुपर्छ । महिनावारी भएका बेला अन्य सयमको तुलनामा महिलाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । महिनावारीका समयमा स्वच्छतामा ख्याल नगरे प्रजनन मार्गको सङ्क्रमणको जोखिम बढ्न सक्छ । तर रेक्चाका स्थानीय महिलाले महिनावारी हुँदा कुवा समेत छुन पाउँदैनन् । २ देखि ३ घण्टा हिडेर टाढा नुहाउन जान नसकिने स्थानीय तुलसी बाह्रघरेले बताउनुभयो । घरभन्दा छुट्दै छाउगोठमा बस्नुपर्छ । प्यास मेटिने गरी पिउने पानी त पाइदैन् कसरी नुहाउनु, उहाँले भन्नुभयो ।

पानीको अभावका कारण विद्यालय छोड्दै बालबालिका

स्थानीय स्तरमा पानीको स्रोत नहुँदा यसको असर विद्यालयमा पनि परेको छ । केही वर्ष पहिला २ देखि ३ सय जनासम्म बालबालिका विद्यालयमा अध्ययनरत थिए । हाल विद्यालयमा ६०–७० जना बालबालिका अध्ययनरत छन् । कुवाबाट ल्याउने पानी हिलेपानी हुन्छ । त्यसलाई शुद्ध गर्नको लागि कपडाले छानेर पानी पिउनुपर्ने बाध्यता रहेको जनकल्याण आधारभुत विद्यालय थारमारे सैन रेक्चाका प्रद्यानाध्यापक शिवराम बुढाले बताउनुभयो । प्रयाप्त मात्रामा पानी नहुँदा शौचालयमा समेत समस्या हुने गरेको छ । पानीको अभावका कारण स्थानीयले वस्ती छाड्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्यामा कमी आएको प्रधानाध्यापक बुढाले बताउनुभयो । विद्यालयमा गरिब समुदायका बालबालिका मात्र अध्ययनरत रहेको उहाँले बताउनुभयो । मध्यम वर्गका बालबालिकालाई पठनपाठनका लागि विजौरा तथा गुटुमा पढाउने गरेको उहाँको भनाई छ  । दुषित पानी पिउँदा बालबालिकामा पटक पटक टाइफाइट, जुका झाडापखला जस्ता समस्या देखापर्ने गरेको प्रद्यानाध्यापक बुढाले बताउनुभयो । विद्यालयमा शौचालयको समस्या भएका कारण प्रदेश सरकारसँग बजेट माग गरेर अहिले १० लाख रुपियाँमा शौचालय निर्माण भइरहेको छ, उहाँले भन्नुभयो, ‘शौचालय त बन्नेभयो तर पानीको व्यवस्थापनमा भने समस्या उस्तै छ ।’

कर्णाली पाँच प्रतिशत शुद्ध पिउने पानीको पहुँचमा

कर्णाली प्रदेश पाँच प्रतिशत शुद्ध पिउने पानीको पहुँचमा रहेको प्रदेश सरकारले जनाएको छ । सरकारले भर्खर गरेको परीक्षणको आधारमा कर्णाली प्रदेश पाँच प्रतिशत शुद्ध पिउने पानीको पहुँचमा रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादर शाहीले जानकारी दिनु भएको छ । दुषित पानी पिउनु स्वास्थ्यका लागि निकै हानीकारक रहेको प्रमुख शाहीले बताउनुभयो । पानी देखिदा मात्र होइन् वायोलोजिकल रुपमा पनि शुद्ध हुनुपर्ने उहाँको भनाई छ । पानीका कारण रसायनिक तत्वका आधारमा विभिन्न प्रकारका रोगले आक्रमण गर्न सक्ने महाशाखा प्रमुख शाहीले बताउनुभयो ।

दूषित पानीका कारण हैजा, झाडापखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड हुनुसक्छन् । नुहाउन, धुनको लागि फोहोर पानी प्रयोग गर्दा लुतो, दाद, घाउ–खटिरा जस्ता छाला सम्बन्धी रोगहरू हुने प्रमुख शाहीले बताउनुभयो । फोहोर पानीको प्रयोगले ट्रक्रोमा तथा नुहाउन, धुनको लागि पानीको कम भएमा लुतो, दाद, घाउ–खटिरा जस्ता छालासम्बन्धी रोगहरू र ट्रक्रोमा साथै खेर गएको पानी, फोहोर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कन्छन् र तिनीहरूले औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस जस्ता रोग सार्न सक्ने प्रमुख शाहीले बताउनुभयो ।

Photo20230330Surkhet (2)

स्थानीयले बजेट माग गरेमा उपलब्ध गराउन सकिने

कर्णाली प्रदेश सभा सदस्य विन्दमान विष्टले स्थानीयले आयोजनाका लागि आवश्यक बजेटको माग गरेमा सरकारमार्फत उपलब्ध गराउन सक्ने बताउनुभयो । सरकारले विभिन्न अनुदानमार्फत दिने रकमलाई स्थानीयले माग गरेको खण्डमा बजेट उपलब्ध गराउन सकिने बताउनुभयो ।

स्थानीय सरकारले वेवास्ता गर्‍यो:  जिसस प्रमुख सुनार

जिल्ला समन्वय समिति सुर्खेतले केही समय अगाडी उक्त स्थानको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि पिउने पानीको समस्याका विषयमा पालिकालाई ध्यानाकर्षण गराएको थियो । तर पालिकाले वेवास्ता गरेको जिसस प्रमुख गंगाराम सुनारले बताउनु भएको छ । सडकको नयाँ ट्रयाक खोल्नका लागि जिससले आवश्यक पर्ने तेलको व्यवस्था आफै गर्ने तर जेसिवी मेसिनको लागि पालिकासँग माग गर्दा पालिकाले जेसिवी मेसिन समेत दिन नमानेको जिसस प्रमुख सुनारको आरोप छ ।

Photo20230330Surkhet (3)

- प्रभाकुमारी रावत