राहत होइन्, बेपत्ता छोरी चाहियो !

सुर्खेत । ०७९ भदौ २० गते

प्रश्न धेरै छन् सरकारप्रति ! त्यो मध्येको एक महत्वपूर्ण प्रश्न मेरो छोरी कहाँ छिन् ? मारियो कि ज्यूँदै छिन् ? यसको जबाफ चाहिएको छ मलाई । यसको उत्तर कसले दिने ? यति भन्दै गर्दा उहाँको आँखामा गहभरी आँशु भइसकेको थियो । उहाँले अगाडि थप्नुभयो–‘२०६० सालमा सिलाइकटाई सिक्न बजार गएकी छोरी आजसम्म फर्किएकी छैनन् । यति बोलिरहँदा वीरेन्द्रनगर नपा–१ ढोडेखालीकी भगवती पुरीको गला अवरुद्ध भइसकेको थियो । उमेरले ७० वर्ष नाघिसकेकी उहाँ अहिले पनि छोरीको नाममा भौँतारिएर विभिन्न सङ्घसंस्था गुहार्न पुग्नुहुन्छ । बेपत्ता पारिएकामध्ये कतिपयले आफन्त खोज्ने कि राहत लिने भन्दा धेरैजसोले राहत लिने भने । तर, भगवतीले राहत होइन मलाई छोरी चाहिएको छ । मलाई मेरी छोरी खोजी देऊ भन्नुभयो । राहत लिनेले राहत पाए उहाँले अहिलेसम्म राहत पाउनु भएको छैन । ‘छोरीको न लास पाएँ न त सास नै !’ पुरी रुँदै भन्नु हुन्छ–‘छोरीको एउटा छोरा छ । उसको खाने बस्ने व्यवस्था छैन । उसको बाबुले उसलाई बस्न दिएन । नातिको साहारा पनि मै बुढीले गर्नु परेको छ ।’

Photosurkhet20220805 (1)

यस्तै लेकवेशी नगरपालिका–४ की कलसा थापाका पतिको पनि कुनै पत्तो फाँट छैन । २०६२ सालमा उहाँका पति पदमबहादुर थापालाई राति सुतेको बेला माओवादीले उठाएर लगे । त्यतिबेला उहाँका दुई छोरा सेनामा कार्यरत थिए । त्यही कारण देखाएर माओवादीले पतिलाई अपहरण गरेका थिए । अहिले उहाँ एक्लै बस्दै आउनुभएको छ । ‘बुढेसकालमा साहाराको आवश्यक पर्छ । तर, अहिले म सँग कोही छैन । छोराछोरी सबै आ–आफ्नो घरमा छन् । म एक्लै छु । जब साँझ पर्दै आउँछ आँखाभरी आँशु हुन्छ । सम्झेर के गर्ने ? अत्तोपत्तो छैन ।’ राति कसैले ढोका ढक्ढक्याउँदा पति आउनु भयो कि जस्तो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । ‘गाउँमा कोही नयाँ मान्छे आएको देख्दा पनि उहाँ नै आउनु भयो कि जस्तो लाग्छ ।’–उहाँले भन्नु भयो । उहाँले पति बेपत्ता पारेको बदलामा राज्यबाट १० लाख रुपियाँ पाउनु भएको छ ।

Photosurkhet20220805 (2)

वीरेन्द्रनगर नपा–८ का उदिराम चुनाराका भाइ जगत चुनारा राज्य पक्षबाट बेपत्ता पारिए । माओवादी पार्टीमा आबद्ध उहाँ राति सुतेको बेला नेपाली सेनाको गस्ती टोलीले फेला पारेर लगेको थियो । तर, अहिलेसम्म पनि भाइको विषयमा बेखबर भएको उहाँको भनाइ छ । ‘बाँचेको भए सास र मरेको भए लास दिनुपर्‍यो । कमसेकम हामीले काजक्रिया त गर्न पाउँछौ । के भएको थाहा चाहियो ?’–उहाँले भन्नु भयो ।

Photosurkhet20220805 (3)

बेपत्ता पारिएका व्यक्तिको अवस्था सरकारले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । केही राहात रकम थमाएर समस्याको हल नहुने भन्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा पीडितजनको माग छ । कर्णालीमा धेरै जना बेपत्ता भए राहत नपाइने भनेपछि धेरैले मृतकको सूचीमा नाम लेखाएका थिए । त्यसैले बेपत्ताको सङख्या धेरै रहे पनि तथ्याङकमा कम देखिने गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो । राज्य र तत्कालीन विद्रोही पक्षबाट कर्णालीमा ९९ जना व्यक्ति बेपत्ता भएको इन्सेकसँग तथ्याङ्क छ । त्यस्तै हत्या गरिएका २ हजार ७ सय ५ र ४ सय ३२ जनाको अङ्गभङ्ग भएको तथ्याङ्क इन्सेकले प्रकाशन गरेको द्वन्द्वपीडित पाश्र्वचित्रमा उल्लेख छ ।
बेपत्ता पारिएका व्यक्तिका परिवारमा बिचल्ली छ । कमाउने छोरा, छोरी मारिएका छन्, घरको मुली बेपत्ता छ । बेपत्ता परिवारमा मनोसामाजिक समस्या छ । पति बेपत्ता बनाइएपछि पत्नीहरू घर समाजबाट अपहेलित छन् । उनीहरूको संरक्षणको जिम्मा लिनुपर्ने राज्य चुपचाप छ । राज्य वा विद्रोही पक्ष जसले बेपत्ता पारे पनि बेपत्ता पार्ने काम जघन्य अपराध भएको मानव अधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले बताउनु भयो ।

१० वर्षे लामो सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै मार कर्णालीले खेप्यो । हरेक जसो परिवारले कोही न कोही आफन्त गुमाएका छन् । २०६३ मङ्सिर ५ गते भएको १२ बुँदे शान्ति सम्झौतापछि १० वर्ष लामो युद्ध अन्त्य भयो । विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने नेपाल सरकार र विद्रोही पक्षबिच सहमति भएपनि आज विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष बित्दा समेत उक्त सहमति कार्यान्वयन भएको छैन । द्वन्द्व प्रभावित कर्णालीका गाउँमा आज पनि युद्धको घाउ उस्तै छ ।

- प्रभा रावत