राहत र पुनर्स्थापनाको पर्खाइमा बाढीपीडितहरु ( फोटो फिचर)

कञ्चनपुर । ०७८ कात्तिक ८ गते

सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको वर्षाका कारण विस्थापित भएका बाढीपीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका छन् ।

बाढीपीडित भएर विस्थापित भएको एक साता बितिसक्दा पनि आफूहरुले उचित राहत तथा पुनर्स्थापना हुन नसकेको कञ्चनपुर जिल्लाका बाढीपीडितहरुले दुखेसो पोखेका  छन् ।

अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका तथा वर्षाका कारण जनधनको क्षति व्यहोरेका पीडित परिवारहरु उद्धार तथा राहतका लागि गुहार मागिरहेका छन् । बाढीबाट प्रभावित भएकाहरु विद्यालयमा आश्रय लिएर बस्न बाध्य छन् ।

महाकाली नदी र दोदा नदीमा आएको बाढीका कारण विस्थापित भएका दोधाराचाँदनी, बेलौरी, पुर्नवास, कृष्णपुर, लालझाँडी, बेलडाँडी र भीमदत्त नगरका १ हजार भन्दा बढी पीडितहरुले प्रदेश र सङ्घीय सरकारबाट घोषणा गरेको राहत पाउन नसकेको गुनासो गरेका छन् ।

photo20211025kanchanpur (1)

भीमदत्त नगरपालिका–१३ पिपरैयाकी कलावती भुलले विस्थापित भएको एक साता बितिसक्दा पनि राहत नपाइएको गुनासो गर्नु भएको छ ।

उहाँले भन्नु भयो–‘बाढीबाट विस्थापित भएको एक हप्ता भइसक्यो । सरकारले आश्रय स्थलमा चाउचाउ, चिउरा र एक छाक खाना दियो । तेस्रो दिन घर फर्किएँ । बाढीले घरमा भएको अन्न समेत नष्ट भएकाले दैनिक गुजारा गर्न धौधौ भइरहेको र भुँइमा सुत्नु पर्ने बाध्यताले बिरामी भइएला भन्ने डर रहेको छ ।’

पिपरैयाकै भीमलाल दमाईंले बाढीले अन्नबाली र धनजनको क्षति भएको बताउँदै राहत नपाएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘कात्तिक १ गते घर डुबानमा परेपछि आश्रय लिन विद्यालयमा गयौँ । विद्यालयमा बस्दा खाना दिइएको थियो । घर आउँदा खाली हाल फर्किनु पर्‍यो । घरमा अन्न र राशन भिजेर नष्ट भएको छ । के खाने कसरी गुजारा चलाउने समस्या उत्पन्न भएको छ ।’

दोधाराचाँदनी नगरपालिका–५ कुतियाकबरका तोया थापामगरले राहतको नाममा एक किलो चामल समेत नपाएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘घरखेत डुबेर नष्ट भयो । जसोतसो आश्रयस्थलमा गएका थियौँ । त्यहाँ त खाना दिइएको थियो । घरमा पुग्दा बाढीले सबै नष्ट गरेको पायौँ । बिहान बेलुकीको छाक कसरी टार्ने हो चिन्ता भइरहेको छ ।’

photo20211025kanchanpur (2)

दोधारा चाँदनीकै गनी सुनारले पनि आश्रयस्थलमा खाना पाए पनि घर फर्कँदा अन्न सबै भिजेर नष्ट भएकाले भोकै बस्नु पर्ने बाध्यता आएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘अझै पनि घरभित्र, आँगन, खेतभरि पानी छ । भिजेको अन्न सडकमा ल्याएर सुकाइरहेकी छु ।’

भीमदत्त नगरपालिका–१३ का चन्द्रबहादुर पालले ६ हजार कुखुरा खोरमै दबेर नष्ट भएको भएपनि अहिलेसम्म राहत पाउन नसकेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘कात्तिक २ गते राति आएको बाढीले २५ लाख रुपियाँभन्दा बढी नोक्सान गरेको छ । व्यवसायनै चौपट भयो ।’

photo20211025kanchanpur (6)

भीमदत्त नगरपालिका–१२ की सुस्मिता केसीले बाढीका कारण लत्ताकपडा, भाँडाकुँडा र अन्न नष्ट भएको र घरभित्र लेदाम्य भएर बस्न नसक्ने अवस्थामा रहेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘बाढीले घरमा समेत क्षति भएको छ । नयाँ मानिसहरु गाउँमा आएपछि राहत लिएर आएका होलान् भनेर गाउँलेहरु भेला हुने गरेका छन् । बिहान बेलुकीको छाक टार्न समस्या भएको छ । घरभित्र पूरै लेदो भरिएको छ । चार / पाँच दिनदेखि राम्रोसँग सुत्न र खान पाइएको छैन । बिचल्ली भएको छ ।’

photo20211025kanchanpur (3)

भिमदत्त नगरपालिकाकी ६५ वर्षीया हेमादेवी केसीको घर बाढीले बगाएपछि उहाँको पनि बिचल्ली भएको छ ।

उहाँले भकानिँदै भन्नु भयो– ‘बाढीले हाम्रो बिचल्ली नै गरेको छ । अब कहाँ बस्ने ? के खाने ३० वर्षदेखि एक्लै त्यही झुप्रोमा बस्दै आएकी थिएँ । सहारा कोही छैन । छोरा भारतमा भए पनि लामो समयदेखि सम्पर्कमा छैन । बाढी गाउँमा पसेपछि प्रहरीले उद्धार गरेको थियो । पानी रोकिएपछि बस्तीमै छु । क्षतिग्रस्त झुप्रो हेरेर बसेकी छु । सुत्नका लागि नजिकैको विद्यालयमा जाने गरेकी छु । मागेर जोहो गरेको चामल, पिठो बाढीका कारण नष्ट भयो । घरभित्र बस्न सक्ने अवस्था छैन । चार दिनदेखि भोकभोकै बस्नु पर्ने अवस्था आएको छ । विद्यालयमा चाउचाउ, चिउरा दिएको थियो । तर, चपाएर खानै सकिनँ ।’

photo20211025kanchanpur (5)

बाढीका कारण, घर डुवानमा पर्नुको साथै घर भित्र रहेका, लत्ताकपडा, भाँडकुँडा र अन्न नष्ट भएको भएपनि हालसम्म राहत पाउन नसकेको आरक्ष पीडित समुदायका मधुवा चौधरी, हिरासिंह भण्डारी, मधु बोहराले दुखेसो पोख्नु भयो ।

बाढीका कारण भण्डारण गरेको अन्न बाढीले बगाएपछि १० जनाको परिवारको बास खडकमा भएको पुरनर्वास नगरपालिकाका साम चौधरीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘ पेटभरि खान पाइएको छैन । नसुतेको तीन दिन भयो । घर भित्र हिलाम्मे भएको छ । गाइगोरु सडकमै राखेका छौँ । ’

photo20211025kanchanpur (4)

लालझाडीकी बाढीपीडित मानमती तिरुवाले सहकारीबाट ऋणमा ल्याएको बिउबिजन मेहेनत गरेर धानबाली लगाइएको भएपनि बाढीले बगाएपछि भोकै बस्नु पर्ने अवस्था भएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘सहकारी र समूहबाट ल्याएको ऋण कसरी तिर्ने हो ? केटाकेटी कसरी पढाउने ? र उनीहरुलाई बिहानबेलुकी कसरी खुवाउने भन्ने चिन्ताले सताएको छ । अहिलेसम्म राहत पाएका छैनौँ ।’

photo20211025kanchanpur (8)

निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बाढी समान्य हुँदै आएपछि भीमदत्त नगरपालिका क्षेत्रका बाढीपीडितहरु घर फर्किन थालेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘दोधाराचाँदनीका ४० / ५० घरपरिवार घर फर्किन बाँकी छ । उहाँहरू पनि एक / दुई दिनमै फर्किनु हुन्छ । बाढीपीडितहरुको तथ्याङ्क सङ्कलन गर्न  स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । तथ्याङ्क प्राप्त भएपछि राहतको व्यवस्थाका लागि पहल गरिने छ ।’

बाढीका कारण बेलौरी, पुनर्वास, कृष्णपुर, लालझाडी, बेलडाडी नगरपालिकाका स्थानीयहरुका घर डुवानमा परी क्षति पुग्नुका साथै धानबाली नष्ट भएको छ ।

photo20211025kanchanpur (9)

- लिली कुँवर