राहतको आशमा छ वर्ष बित्यो

"अब त झमक्क साँझ पनि परिसक्यो, भोलि बिहानै उठेर घरधन्दा र मेलापात पनि गर्नु छ, घरको सबै काम आफैले नगरी हुँदैन । गाईवस्तु पनि हेर्नै पर्‍यो । छोराछोरीलाई स्कुल पनि पठाउनै पर्‍यो ।" घरको दलानको थाममा टुसुक्क बस्दै तारानाथ बञ्जरा भोर्लाको पातमा सुर्ती बेहेरेर अगुल्ठोले सल्काउँदै सोच्छन् । "खुइया ! मेरो दुःखको दिन पनि कहिले नजाने भयो । घरभरि बग्रेल्ती छोराछोरी छन्, छाक टार्न पनि धौ-धौ छ । वर्षभरि कमाइ गर्‍यो, छ महिना पनि राम्ररी खान पुग्दैन । चाडवाड पनि मनाउनै पर्‍यो । श्रीमती बिरामी हुँदाको ऋण साहूलाई बुझाउन पनि सकिएन, धन्न दयालु छन् साहू चन्द्रसिं राई, नत्र त मेरो उठीबास नै भइसक्थ्यो, यतिखेर ! "यसरी नै मनमा अनेक दुःखका कुरा सोच्दा-सोच्दै बिँडीबाट सल्किदै आएको आगोले औंला पोलेपछि मात्रै झस्कन्छन् बञ्जरा ।

 

सशस्त्र द्वन्द्वको समयमा माइन विस्फोटनमा परी देब्रे खुट्टा गुमाएकी सुन्तले गाविस-२ की ३५ वर्षीय शान्तादेवी बञ्जराका पति ५५ वर्षीय तारानाथ दिनहुँ यस्तै दुःखको कुरा सम्झिएर टोलाइ रहन्छन् । ०६४ चैत १० गते घाँस काट्न सोही गाविसस्थित सुनापातल सिस्नेरी रिपिटर टावर गएको समयमा नेपाली सेनाले विछ्याएको माइन विस्फोट हुँदा खुट्टा गुमेर पत्नी अपाङ्ग भएपछि उनको परिवारले हालसम्म पनि राहत पाएको छैन । राहत नपाउँदा पीडित परिवार थप पीडित बनेका छन् । सुन्तले गाविसस्थित सुनापातल सिस्नेरी रिपिटर टावर सुरक्षार्थ बसेका नेपाली सेनाले बिछ्याएको माइन नहटाउँदा विस्फोट भएको थियो । विस्फोटनमा परी देब्रे खुट्टाको घुँडामुनी चुडिएपछि पीडित परिवारले राहतको माग राखी ०६५ सालमा स्थानीय शान्ति समितिमार्फ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

 

"जे नहुनुपर्ने थियो, भइहाल्यो । मेरो जीवनमा यस्तो दिन नआइदिएको भए सायद अहिले मेरो परिवार सुखी हुन्थ्यो होला, दशा बाजा बजाएर नआउँदोरहेछ ! के गर्नु मेरै परिवारमा यस्तो विपत्ति आइपर्‍यो ।" बञ्जरा मनमनै सोच्छन् "थोरै भए पनि राहत पाए हातमुख जोर्न केही सहज हुने थियो कि - हुन त मलाई मात्रै यस्तो विपत्ति परेको हैन, द्वन्द्वको समयमा हजारौ मान्छेको परिवारलाई मेरोजस्तो विपत्ति परेको छ । घरको काम, मेलापात र घाँसदाउरा गर्ने दाहिने हात मुख्य व्यक्ति नै विस्फोटनमा परेर थलिएपछि सबै जिम्मेवारी पनि मेरै काँधमा आएको छ । छोराछोरीले कमाउने बेला भएको छैन, मेरो पनि उमेरले डाँडा काटिसक्यो । यो विकट ठाउँमा दुःख गरेर कहिले पो सुखले बस्ने होला । माछामासु खाएको ऋण तिर्न पनि समस्या पर्दै आएको छ, घरको कमजोर आर्थिक अवस्थाले गर्दा छोराछोरीलाई पनि राम्ररी पढाउन पाएको छैन । कतै मेरै जस्तो दुःख पो हुने हो कि छोराछोरीको पनि - हुन त सम्पति भनेकै नौ जना छोरी र एउटा छोरा मात्रै त हो ।"

 

तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, डीएसपी बसन्तकुमार थापा, जिल्ला अस्पतालका डाक्टर ओमविजु पन्तलगायतले ०६८ साउन ४ गते सो परिवार द्वन्द्वपीडित हो भनेर शान्ति तथा पुन: र्निर्माण मन्त्रालयको राहत तथा पुनःस्थापना इकाइ बवरमहलमा सिफारिस पठाएको थियो । उनीसँगै सिफारिसमा परेका फाक्टाङ गाविसका कृष्णबहादुर राईको परिवारलाई भने राज्यले एक लाख रुपियाँ राहत दिइसकेको छ । उनको पनि विस्फोटनमा परी देब्रे खुट्टाको घुँडामुनि चुडिएको थियो । जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका नायव सुब्बा लीलाकुमार विश्वकर्माले पहिला नै सिफारिस गरिएको द्वन्द्वपीडित परिवारको आउनुपर्ने राहत नआएकाले मन्त्रालयमा थप कुरा बुझ्नुपर्ने बताए ।

 

राहत पाइने आश गर्दागर्दै वर्षौं बितिसक्यो । निमुखाको लागि भगवान पनि देब्रा हुन्छन् भनेको साँच्चै हो रहेछ । धेरै ठाउँमा धाइयो, अब त आश पनि छैन पाइन्छ भनेर । पत्नीले पनि केही काम गर्न सक्दिन, यताउता गर्न परे पनि लाठीको सहारा लिनुपर्छ । बूढोहुँदै गएको एक्लो ज्यानले १२ जनाको परिवार पो कसरी धान्ने होला - साहू खोजेर कति दिन चलाउनु - साहूले पनि एकपटक दया गरेर दिन्छन् फेरि-फेरि माग्ने ठाउँ पनि हुँदैन । जे होस् दुःख सुख गरेर छोरा हुर्काएपछि केही त गर्दो हो ! अक्षर चिन्ने भएपछि उसलाई पनि केही इलम गर्न लगाउनु पर्‍यो, नत्र विदेश पठाएरै भए पनि साहूको ऋण चाहिं तिर्न पाए शान्ति मिल्थ्यो कि - उमेर छँदा नै आफू पनि विदेश गएको भए सायद, यतिबेला सुखका साथ बसिन्थ्यो कि - घाइते अवस्थाकी पत्नीलाई कसरी छाड्न सक्थें र - दुःखसुख दिन कटाइएकै छ, कति पो बाँचिन्छ र, छोराछोरीको भविष्य उज्यालो बनाउन पाए हुन्थ्यो ।"बञ्जराले सोच्दा सोच्दै आधा रात बितिसके, जेठी छोरी सपनाले पकाएको एक कराइ ढिंडो सेलाइसक्यो । छोरीले अन्तिमपल्ट ढिडो खान बोलाउँदामात्र उनी सोचिरहेको सपनाबाट झस्कन्छन् ।

 

राहतको लागि बञ्जराले गाउँ विकास समितिको सर्वदलीय बैठकमार्फत स्थानीय शान्ति समिति हुँदै प्रशासनको ढोकासम्म नपुगेको पनि होइन् । उनका चार वर्षीय एक छोरा र एउटी १७ वर्षीय र अरु त्योभन्दा कम उमेरका छोरीहरू छन् । घरको कमजोर आर्थिक अवस्थाले छोरीहरूको शिक्षादीक्षामा समेत समस्या परेको उनी बताउँछन् । उनले छोरीहरूलाई स्थानीय ज्यू माध्यमिक विद्यालय सुन्तलेमा जसोतसो पढाइरहेका छन् । स्थानीय शान्ति समितिका नायव सुब्बा रमेश पोखरेलले बञ्जराको परिवार द्वन्द्वपीडित भएको सर्वदलीय संयन्त्रमार्फ शान्ति मन्त्रालयमा राहतको लागि सिफारिस पठाएको बताए । उनीसँगै सिफारिस भएका अर्को व्यक्तिको राहत आएको तर उनकोे नआउनु आर्श्चर्यजनक भएको उनको भनाइ छ ।

 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वमा परी पाँचजना बेपत्ता, ३५ जना अङ्गभङ्ग/घाइते, दुई जना द्वन्द्वपीडित परिवार, दुई जना लडाकु जीवन निर्वाह र चारजना अपहरणमा परेका थिए ।  उनीहरूको परिवारले राज्यबाट पाउने राहत लिइसकेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा लिलाकुमार विश्वकर्माले बताए । स्थानीय शान्ति समितिका नायव सुब्बा रमेश पोखरेलले ५५ जना पीडितहरूले शान्ति समितिमा निवेदन पेश गरेको बताए । उनीहरूको निवेदनउपर सर्वदलीय संयन्त्रको बैठकमार्फ निवेदनहरूको टुंगो लगाउन र सिफारिस गर्न बाँकी छ ।

डीएम चाम्लिङ राई

-