राजधानीकै विद्यालयमा कक्षाकोठा अभाव, बरण्डामा बसेर पढ्न बाध्य विद्यार्थी

सुर्खेत । ०७९ फागुन ७

विहानको करिब दश बज्न केही मिनेट मात्र बाँकी हुन्छ । हतार हतार ३ जना विद्यार्थी विद्यालयको हाताभित्र प्रवेश गर्छन् । तीनजना विद्यार्थी मध्ये दुई जना सरासर आफ्नो कक्षाकोठामा प्रवेश गर्छन् भने एक जना छात्रा विद्यालयको बाहिर बरण्डामा उभिरहेकी हुन्छिन् । उनी हुन् वीरेन्द्रनगर–६ की सम्झना सार्की । उनि  वीरेन्द्रनगर– ६ जुनतारा प्राथामिक विद्यालयमा कक्षा तीनमा अध्ययनरत छात्रा हुन् ।

सोही बरण्डामा उनकै उमेर समुहका १०/१२ जना साथीहरुपनि छन् । भित्र एउटा कोठाबाट शिक्षिकाले २÷३ वटा बेन्च ल्याएपछि उनीहरु बाहिर बरण्डामा आ–आफ्नो स्थानमा बस्छन् । उनिहरुसँगै आएका कतिपय विद्यार्थी भने आफ्नो कक्षाकोठा भित्र प्रवेश गरिसकेका हुन्छन । उनीहरु भने विद्यालयको बरण्डामा बस्दै आएका छन् ।

कक्षा तीनमा २५ जना विद्यार्थी छन् । उनीहरु कक्षा दुई पास भएर कक्षा तीनमा पुगे देखी नै विद्यालयको बाहिर बरण्डामा बसेर अध्ययन गर्दै आएका छन् । यो विद्यालय कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको बजारभित्र अवस्थित छ । जुन विद्यालयको भौतिक अवस्था दैयनिय छ ।

शिक्षण शिकाई क्रियाकलापमा कक्षाकोठा व्यवस्थापन प्रमुख पक्ष हो जसले विद्यार्थीको पठन पाठनमा प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । तर जुनतारा प्राथामिक विद्यालयमा भने भवन अभावका कारण विद्यार्थीहरु बरण्डामा बसेर पढ्न्  बाध्य छन् । भने कार्यालय कोठा बाल क्लव, टोलविकास समिती तथा आमा समूहको कोठामा रहेको छ । त्यही कोठामा बालविकासका बालबालिकालाई समेत राख्ने गरिएको छ ।

विद्यालयमा कक्षा पाँच सम्मको पठन पाठ्न स्वीकृति भएपनि कक्षा कोठा अभावमा कक्षा चार र पाँच का विद्यार्थीहरूलाई वीरेन्द्रनगर ६ कै नेरामावि (डाँडास्कूल) मा पढ्न पठाइने गरिएको छ । जुनतारामा भने अहिले कक्षा तीन सम्म मात्र पढाई हुने गरेको छ ।

विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । तर कक्षाकोठा भने तीनवटा मात्र रहेका छन् । विद्यालयका प्रधानाध्यापक जुमनादेवी गौलीले विद्यालयसंग अहिले तीन वटा कोठामात्रै भएको पनि जानकारी दिनु भयो । ‘कक्षा तीन लाई बरण्डामा राखेर पढाउने गरिएको छ, साँघुरो बरण्डामा कक्षा तीन का २५ जना विद्यार्थी पढ्ने गरेका छन्’, उहाँले भन्नु भयो, ‘विद्यार्थीहरु बरण्डामा पढ्ने पढाउने र प्रशासन भने बाल क्लवको कोठाबाट चलाउने गरिएको छ । विद्यालयको कार्यालय बाल क्लवको कार्यालय, टोलविकास समिती तथा बालक्लबको कार्यालय भएको कोठामै राखिएकोले सामानको सुरक्षामा चुनौती रहेको प्रध्यानाध्यापक गौलीको भनाई छ ।

यस विद्यालयमा दलित तथा आसपासका बस्तीमा बस्ने दैनिक ज्याला मजदुरी गर्ने अभिभावकहरूका छोराछोरीहरू पढ्ने गरेका छन् । गरिव, विपन्न र मजदुरका छोराछोरीहरू पढ्ने यस विद्यालय जिल्लाको सदरमुकाम र प्रदेशकै राजधानीभित्रै भएपनि सरोकारवाला निकायले यसको व्यवस्थापनमा ध्यान दिन नसकेको प्रधानाध्यापक गौलीको भनाई छ ।

प्रध्यानाध्यापक गौलीले आफ्नो विद्यालय नजिकै निजी विद्यालय तथा मन्टेश्वरीहरू भएपनि आफ्नो विद्यालयमा आउने बालबालिकाको संख्या धेरै रहेको दाबी गर्नु भयो । विद्यालयमा अहिले बालविकासमा ५२ जना, कक्षा १ मा ४८ जना, कक्षा २ मा ३५ जना र कक्षा तीन मा २५ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनु भयो ।

कक्षा तीनका विद्यार्थी बस्ने कक्षाकोठा (बरण्डा) को ठिक अगाडी शौचालय र पानीको धारा छ । शैचालयबाट आउने गन्ध र पानीको धाराले विद्यार्थीलाई झनै पढाईमा बाधा पुग्ने गरेको छ । विद्यालयको अगाडी करिब १० मिटरको फरकमा मानव वस्ती पनि छ । जसका कारण बाहीरको होहल्लाले समेत विद्यार्थीको पढाईमा बाधा पुग्ने गरेको प्रधानाध्यापक गौलीको भनाई छ । बरण्डामा बसेर पढ्दा बाह्य दृश्य देखिने तथा बाहिरबाट आउने  आवाजले पढाईमा बाधा पुग्नेगरेको कक्षा तीनमा अध्ययनरत छात्र गणेश थापाको भनाई छ ।

विद्याथीकोलागि खेल्ने खेलमैदानको समेत अभाव रहेको कक्षा तीनमा अध्ययनरत छात्रा पवित्रा नेपालीले बताउनु भयो । यस विद्यालयमा सेविकादेखि प्रधानाध्यापक गरी आठ जना कार्यरत भएको र उनीहरु सबै महिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाले बताउनु भयो ।

‘एक जना स्थायी, दुई जना बालविकास सहजकर्ता, तीन जना राहत, एक जना सहयोगी र एक जना सेविका सबै महिला महिलानै हुनुहुन्छ’, उहाँले भन्नु भयो, ‘सबै महिला हुँदा यस विद्यालयको पढाउने वातावरण राम्रो र मायालु भएको अभिभावकहरुको भनाई छ ।’

केहीदिन अघि विद्यालयको दुई कोठे भवनको शिलान्यास भने भएको छ । कर्णाली प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयको २० लाखको लागतमा दुई कोठे भवन बनाउन लागिएको छ ।

तर २ कोठा भवन थप भएपनि प्रयाप्त रुपमा कक्षाकोठा भने नहुँने विद्यालयले जनाएको छ । वडा नं. ६ का वडाअध्यक्ष जनकबहादुर रावलले विगतमा पनि वडाले सहयोग गर्दै आएको र यसपटक पनि विद्यालयको सेविकाको पारिश्रमिकका लागि एक लाख बजेट बिनियोजन भएको जानकारी दिनु भयो ।

पूर्व वडाअध्यक्ष मोतीप्रसाद कँडेलले आगामी जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनु भएको छ । विद्यालयलाई समाजसेवा हरिशचन्द्र चलाउने ५१ हजारको अक्षयकोषको स्थापना गर्दै यसै महिनादेखि एक छात्र र एक छात्रालाई स्टेशनरीका लागि मासिक एक हजार सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।

कर्णाली प्रदेशमा ३२ सय ३८ विद्यालय संख्या छ  । जसमा नेपाल अधिराज्यको ९.३ प्रतिशत हुन आउँछ । जसमा तीन हजार ३४ सामुदायिक विद्यालय छन् । भने संस्थागत २ सय ४ छन् । प्रदेशमा वालविकास केन्द्र २८ सय ३२ रहेका छन् । प्रदेशको राजधानी रहेको सुर्खेतमा सबैखाले विद्यालय गरी ५ सय ९६ विद्यालय रहेको शिक्षा विकास निर्देशानलयको तथ्याङकमा उल्लेख छ । भौगोलिक रुपमा विकट रहेका कर्णालीका कतिपय शैक्षिक भवनको अवस्था दैयनिय छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गर्न उपयुक्त किसिमको सिकाइ सहजीकरण प्रक्रिया आवश्यक हुन्छ । सहीढंगले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रकृयालाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ ।

Photo20230219Surkhet

- प्रभाकुमारी रावत