म्याग्दी आक्रमणको २० वर्ष, पीडितको मनको घाउ उस्तै

म्याग्दी । ०८० चैत ७ गते

चैत ७ गते म्याग्दी आक्रमणको २० औं वर्ष पुग्दै गर्दा पनि पीडितहरुको मनको घाउ भने अझै पनि मेटिन सकेको छैन ।

तत्कालिन जिल्ला विकास समितिकी कर्मचारी तुलकुमारी गैरेलाई अहिले पनि कतै चट्याङ पर्दा होस या भाँडाहरु जुधेर अवाज आउँदा पनि त्यही कहालीलाग्दो दिनले तर्साउने गर्दछ । २०६० चैत ७ गते राती सदरमुकाम बेनीमा तत्कालिन सशस्त्र युद्धरत नेकपा माओवादीले भीषण आक्रमण गरेको थियो । त्यही आक्रमणको क्रममा युद्धस्थलमा रहेकी गैरेले आफ्नो पति गुमाउनु भएको थियो भने दुई वर्षकी बालिकालाई कसरी जोगाउने भन्दै १८ घण्टा भन्दा बढी समय कोठा भित्रै थुनिएर बस्नु परको थियो ।

हाल जिल्ला समन्वय समिति म्याग्दीमा कार्यालय सहयोगीका रुपमा रहनु भएकी गैरे तत्कालिन जिल्ला विकास समितिको कर्मचरी क्वाटरमा हुनुहुन्थ्यो । माओवादीले म्याग्दी सदरमुकाम आक्रमण गरेको समयमा युद्ध क्षेत्रमै रहेको जिल्ला विकास समितिको क्वाटरमा श्रीमान योगेन्द्र गैरे, १२ वर्षीय भतिजि र २ वर्षीया छोरीका साथमा हुनुहुन्थ्यो । राती ४ बजे तिर नेपाली सेनाका जवान पानी माग्न कोठाको ढोकामा आइपुग्दा ढोका खोल्ने क्रममा श्रीमानलाई छाती, कोखा र अन्यत्र गोलि लागेपछि आफ्नो आँखै अगाडि मृत्यु भएको तुलकुमारी सुनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ–‘गोलि लाग्यो अनि छटपटिएर यताउता गर्दा झन अरु ठाउँमा पनि लाग्यो र उहाँको मृत्यु भयो, अहिले पनि त्यो घटनास्थल पुग्दा होस या चट्याङ पर्दा पनि त्यही त्रासले सताउँछ ।’ ‘राती ११ बजे बाट लडाइँ सुरु भएको थियो साढे ४ बजे तिर श्रीमानको मृत्यु भए पनि दिउँसो ४ बजे पछि मात्र म भएको ठाउँमा उद्धार टोली आएका थिए, मलाइ पनि गोलिका छर्रा लागेको थियो रगतकै आहालमा बसेरै भए पनि धन्न म बाँचे श्रीमान बित्नुभयो’–गहभरी आसु पार्दै गैरेले भन्नुभयो । ‘राज्यको तर्फबाट दिने भनिएको मृतकको राहत १० लाख त पाएँ तर मान्छे गुमाएँ म आफै घाइते भएँ मानसिक पीडा त कहिले सकिएला र’ उहाँले सुनाउनुभयो ।

बेनी नगरपालिका– ७ जिल्ला प्रहरी कार्यालय अगाडि बस्ने मानबहादुर खत्रीको अनुभव पनि त्यस्तै छ । प्रहरी कार्यालयको ठिक आगाडि त्यस दिन बच्चा तथा पाहुना गरेर १७ जना थियौं । आक्रमण सुरु भयो बाहिर निस्कने आँटै भएन राती ११ बजे देखि दिउँसो १ बजे सम्म एउटा कोठा भित्रै थुनिएर बस्दाको यादले सँधै सताउँछ भन्नुहुन्छ–मानबहादुर क्षेत्री । ‘त्यो दिन पाँच जना बच्चा अनि अरु चार जना पाहुना तथा परिवार गरी १७ जना थियौं, सानो तिनो होटल गर्ने हामी चिया बेच्ने डेढसय जति सिसाका गिलासहरु थिए सबै फुटेका थिए, बाहिर निस्कने कुरा भएन चर्पी पनि बाहिरै थियो सबैले बाल्टीन, ग्यालीन तथा भाँडामै पिसाब फेरेरै बसियो तर धन्न कसैलाइ केही भएन’ उहाँले सुनाउनुभयो । पुलिस तथा सेनाहरु धेरै मरे तर मानसिक पीडा र यातना भोगे पनि हाम्रो परिवारमा त्यो दिन मानविय क्षति भएन त्यसैमा सन्तुष्टि मान्नु पर्ने अवस्था छ ।

२०६० चैत ७ गते म्याग्दी आक्रमण पछि रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा ५ सय माओवादी मारिएको र माओवादीहरू गरेको दावीमा १ सय २५ जना ‘शाही सेना’ र २६ जना प्रहरी मारिएको भनेतापनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ जना सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । उक्त आक्रमणमा घाइतेहरू मध्येबाट दुवैतर्फ के कति मृत्यु भयो, एकिन तथ्याङ्क कहीँ कतै नपाइएको भए पनि बेनी आक्रमणका क्रममा दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण मारिएका थिए ।

बेनी आक्रमणका क्रममा माओवादीले रोल्पाको उत्तरपूर्वी थवाङबाट रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दी सदरमुकाम बेनी झरेको १७ दिने पैदमार्गलाई रक्तिम मार्ग अर्थात गुरिल्ला मार्ग भन्ने गरिन्छ । म्याग्दीको बेनीबाट सुरु हुने यो पदमार्ग रोल्पा पुगेर टुङ्गिन्छ ।

नगरपालिकामा रहेको गोली लागेको बिजुलीको पोल 1 080-12-7 myagdi

- अमृतप्रसाद पौडेल