मोतियाबिन्दु पीडित भन्छन्, 'स्थानीय सरकारले आँखा खोलिदियो'
गुल्मीदरवार गाउँपालिका-३ का ६० वर्षीय मोहन सुनार १६ वर्षको उमेरमा रोजिरोटीको लागि भारत पस्नुभयो । ४४ वर्ष भारतमा मजदुरी गर्नुभएका सुनारको पछिल्लो समय अचानक देब्रे आँखाले देख्नै छोड्यो । जसका कारण आँखासँगै मनोवल पनि कमजोर बन्यो ।
उहाँ अहिले काम छोडेर घर आउनुभएको छ । के गर्ने कहाँ जाने अन्यौलमै केही समय बिते । सुनार दम्पती केही दिन अघि नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार तथा शल्यक्रिया केन्द्र, तम्घासमा आउनुभयो । केन्द्रले आँखाको शल्यक्रिया गर्नुपर्ने र निःशुल्क हुने सुनायो । दम्पती खुसी भएर एक रात तम्घासमै बसेर आँखाको शल्यक्रिया गरे । अहिले मोहनका दुबै आँखा देख्ने भएका छन् । ‘आँखाका कारण रोजगारी गुमाएर घर फर्किएँ । उद्यमको बिकल्प नभएकाले गाउँमा खानबस्न नै मुस्किल थियो । उपचार निःशुल्क गरिदिने स्थानीय सरकारलाई धन्यवाद’, सुनारले खुशी हुँदै भन्नुभयो ।
बुढेसकाल त्यत्तिकै पनि पट्यारिलो हुन्छ । त्योमाथि दुबै आँखाले नदेख्दा मालिका गाउँपालिका-७ का ८१ वर्षीय प्रेम बहादुर नेपालीले निकै सास्ती खेप्नुभयो । देब्रे आँखामा फुलो परेको दुई वर्षदेखि दाहिने आँखाले पनि देख्न छोड्यो । घरका शाहारा दिने कोही छैनन् । नेपालीको बुढेसकालमा छोराबुहारी छुट्टिएर अलग्गै बस्थे । आँखा ठिक हुने बेलासम्म प्रेमबहादुरको हातमा सीप थियो । उहाँले २० वर्षको उमेरदेखि मादल बनाउनुहुन्थ्यो । मादल खरिद गर्न घरमै ग्राहक आउने भएपछि बजार जानुपर्ने थिएन । दुई/चार हजारको लागि कसैको आश थिएन नेपालीलाई ।
आम्दानी हुँदा छोराबुहारी र आफन्त पनि नजिक थिए । जब परिस्थितिले दुवै आँखा गुमे, त्यसपछि जीवन पीडादायी बन्यो । नौ सन्तानका बुबा प्रेम बहादुर नेपाली आँखाकै उपचार गर्न पनि छिमेकी गुहार्न पुग्नुपर्यो । प्रेम नेपालीले अहिले मालिका गाउँपालिकाले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिदिएपछि आँखा देख्ने हुनुभएको छ । ‘मैले परिवार गुमाए पनि आँखा फर्काएको छु । बाँच्ने बेलासम्म काम गरेर खान सक्छु । सबै खर्च व्यहोरेर ज्योति फकाइदिने सरकारलाई धन्यवाद’, नेपालीले भन्नुभयो ।
मालिका गाउँपालिका–७ का ६३ वर्षीय यम बहादुर दर्जीको दाहिने हर नै चल्दैन । उहाँ चार वर्ष पहिलेबाट प्यारालाइसेसले पीडित हुनुहुन्छ । पछि देब्रे आँखा पनि नदेख्ने भएपछि पीडामाथि पीडा थपियो । परिवारले प्यारालाइसेसको उपचारको लागि भारत लगेर थुप्रै उपचार गरे । उहाँको दाहिने आँखाको ज्योति अब फर्किदैन । अलि–अलि देख्ने अर्को आँखा पनि बन्द भएपछि गाउँपालिकाको सहयोगमा मोतियाबिन्दुको शल्यक्रिया गरेर देख्न थाल्नु भएको उहाँकी पत्नी मिना कुमारी दर्जीले बताउनु भयो ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । अहिलेसम्म जिल्लाका पाँच स्थानीय तहले मोतियाबिन्दुको निःशुल्क अप्रेशन सेवाको लागि सम्झौता गरेको नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी बिरबहादुर कार्कीले जानकारी दिनुभयो । रेसुङ्गा, गुल्मीदरवार, छत्रकोट, रुरुक्षेत्र र इस्मा गाउँपालिकाले सम्झौता गरेका छन् ।
मुसिकोट नगरपालिकाले सम्झौता नगरे पनि शल्यक्रिया गरेको बिलको आधारमा भुक्तानी गरेर नागरिकलाई उपचारमा प्रोत्साहन तथा सहयोग गरिरहेको कार्कीले बताउनु भयो । सम्झौता अनुसार गत वर्ष रेसुङ्गाका ९८ जना, गुल्मीदरवारका ५६ जना र इस्माका ३४ जना नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ । यो आर्थिक वर्षमा रेसुङ्गाका ७३ जना, गुल्मी दरवारका ४९ जना, छत्रकोटका २८ जना, इस्माका १८ जना र रुरुक्षेत्र गाउँपालिकाका सात जनाको निःशुल्क रूपमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको सूचना अधिकारी कार्कीले बताउनु भयो ।
जिल्लामा नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीले वार्षिक करिव ३३ हजार नागरिकको आँखाको उपचार र करिव ५ सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । सङ्घको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/७९ मा ३२ हजार ३ सय ८१ जनाको आँखाको उपचार भएको छ भने गत वर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको छ ।
यो आर्थिक वर्षको आठ महिनामा २० हजार ६ सय २२ जनाको आँखाको उपचार भएको सङ्घले जनाएको छ । नेपाल नेत्रज्योति सङ्घको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित बामी, शान्तिपुर, सिमलटारी र मदाने गरेर पाँच ओटा आँखा उपचार केन्द्रहरू रहेका छन् । जिल्लामा स्थायी रूपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति सङ्घको शाखा स्थापना भएको थियो ।
सङ्घीयतासँगै स्थानीय तहले गाउँगाउँमा विशेषज्ञसहितको शिविरहरू सञ्चालन गरिरहेका छन् भने निःशुल्क उपचार, औषधि र उपकरणहरूको सहयोग गर्न थालेपछि लामो समय उपचार नगरेरै घरमा बसेकाहरू पनि स्वास्थ्य संस्थामा पुग्न थालेका छन् । आँखाको उपचारको लागि नेत्रज्योति सङ्घको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित बामी, शान्तिपुर, सिमलटारी र मदाने गरेर पाँच ओटा आँखा उपचार केन्द्रहरू रहेका छन् । स्थानीय तहहरूले निःशुल्क आँखा उपचार तथा शल्यक्रियाका शिविरहरू सञ्चालन गर्ने तथा केन्द्रसँग वार्षिक सम्झौता गरेर भुक्तानी गर्ने गरेकाले नागरिकलाई सजिलो भएको नेपाल नेत्रज्योति सङ्घ गुल्मीका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घले आँखा उपचार केन्द्रहरू मार्फत प्रदान गर्ने सेवाले नागरिकबिचमा लोकप्रियता कमाएको छ । केन्द्रले सयौँ नागरिकलाई अन्धोपनाबाट जोगाएको छ भने हजारौँका गुमेका आँखा ज्योति फर्काएको छ । त्यसमा पनि स्थानीय तहहरूले बढाएको सहयोग र समन्वयले नागरिकलाई धेरै फाइदा पुगेको जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले बताउनु भयो । स्थानीय तहहरूले केही विभिन्न नागरिकको स्वास्थ्य बिमा गर्ने, दिर्घ रोगहरूको औषधि निःशुल्क वितरण गर्ने र घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै आएका छन् । रेसुङ्गा नगरपालिकामा नगरप्रमुख खिलध्वज पन्थीले नागरिक स्वस्थ्य नभएसम्म कुनैपनि राजनीतिक उद्देश्य पुरा नहुने भएकाले सबै सरकारले स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले आफू निर्वाचित भएको पहिलो वर्ष नै नागरिकहरूको आँखा उपचारलाई ध्यान दिएर मोतियाबिन्दुको शल्यक्रियाको पैसा नगरपालिकाले व्यहोर्ने गरेर निःशुल्क गरिएको मेयर पन्थीले बताउनु भयो ।
- टोपलाल अर्याल
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…