मास्क-'हुनेले दिन्छन्, नहुनेले लिन्छन् !'

सप्तरी । ०७८ साउन २४ गते

राजविराजस्थित गजेन्द्र चोकमा साढे एक महिनादेखि प्रत्येक साँझ एउटा टेबुल राखिन्छ । टेबुल राखेपछि वरिपरीका पसलेहरूले केही कुर्सी, स्टुल र बेञ्च ल्याएर राखिदिन्छन् । त्यसमा बस्नु अघि भेला भएका आधा दर्जन महिला र पुरुषहरूले ब्यानर झुण्ड्याउँछन् । ठूलो अक्षरमा मास्क बैङ्क लेखिएको ब्यानरको बिचमा लेखिएको छ–‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ ।’ टेबुलमा जनचेतनामूलक पर्चा पम्प्लेट र सेनिटाइजरको बोतल छ । सँगै राखिएको एउटा बट्टामा ठूलो साइजको र अर्को बट्टामा सानो साइजको मास्क छन् । मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिबृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले इन्सेक, समग्र जनउत्थान केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाललगायतका गैरसरकारी संस्था मिलेर असार १० गते मास्क बैङ्क स्थापना गरेका हुन् । असार ७ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १३ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारी, सार्वजनिक संस्थानलगायतका कार्यालयको सबै सेवा सुचारु गर्ने निर्णय गरेपछि बजारमा चहलपहल बढेको छ । मास्क नलगाई हिँड्नेहरूलाई अभियानकर्मी रोक्छन र भन्छन्–‘मास्क लगाएर जानुहोस ।’ हेर्दा र सुन्दा सामान्य लाग्ने यो वाक्यको महत्व बुझाउन उनीहरूले अभियान नै सञ्चालन गरेका छन् । सार्वजनिक सवारीसाधन, कार्यालय, हाट, पसल, बैङ्क तथा वित्तीय संस्था खुल्दा दिनदिनै पुनः सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि ‘मास्क बैङ्क’ स्थापना गरेर अभियान सुरू गरेको सुष्मा गुप्ताले बताउनु भयो । अभियानको प्रशंसा गर्दै केहीले मास्क र पैसा दिएर जान्छन भने अधिकांशले मास्क लगाएर जान्छन् ।

अहिले नेपालमा कोभिड महामारीको तेस्रो लहर आउन लागेको बताउँदै स्वास्थ्य अधिकारीहरूले स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिँदै सजग गराएका छन् । ‘हामी यतिखेर तेस्रो लहरको लगभग पूर्वार्धमा आइसकेका छौँ ।’–स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारी भन्नु हुन्छ–‘कोभिड भएर अस्पताल आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ । तर, अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ ।’ सप्तरीमा पहिलो लहरमा २१ हजार २ सय ४८ ओटा स्वाब परीक्षण गरिएकोमा १ हजार ८ सय ३३ जना सङ्क्रमित भएका थिए । जसमा ४१ जनाको मृत्यु भयो । यस्तै ०७८ वैशाखदेखि साउन २२ गतेसम्म ७ हजार १ सय १४ ओटा स्वाब परीक्षण गरिएकोमा २ हजार ४ सय ३ जना सङ्क्रमित भए । जसमा १ सय १५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै आएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सप्तरी जिल्लाभर लागु गरिएको निषेध आदेश साउन २६ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनु भयो । मास्क बैङ्कको निरन्तरताको प्रशंसा गर्दै साउन २१ गते प्रजिअ आचार्य, गणपति निरज भण्डारी, एसपी राजेन्द्रप्रसाद धमला, डिएसपी माधवप्रसाद काफ्ले, सशस्त्र डिएसपी श्याममणी ढकाल पनि सडकमा निस्कनु भयो । सवारी साधन रोकेर ‘तपाइँको मास्क खोइ ?’ भन्दै प्रजिअ आचार्यले सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पुनः लकडाउन गर्नु पर्ने स्थितिबाट रोक्न यो अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने र प्रमुख बजारहरूमा विस्तार गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नाले सङ्क्रमण झन्झन् बढेकाले सचेत गराउन मास्क अभियान सुरू गरिएको एकल महिला समूहकी प्रदेश २ की अध्यक्ष अनीता देवकोटाले बताउनु भयो । ‘घर बाहिर निस्कँदा र भीडभाडमा जाँदासमेत मास्क लगाउन छाडेका छन् ।’–उहाँले थप्नु भयो–‘घर बाहिर निस्कँदा मास्क नलगाई निस्कनु हुन्न भन्ने चेतना फैलाउन पनि अभियान थालिएको हो । त्यसैगरी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले भन्नुभयो–‘बजार क्षेत्रमा भीडभाड बढेको छ । यस्तो अवस्थामा नागरिक आफैँ सचेत हुनुपर्नेमा त्यस्तो देखिँदैन ।’ अभियानका क्रममा मास्क नलगाउने र लगाए पनि सुरक्षित ढङ्गले नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउँदा सकारात्मक प्रभाव परेको भन्सालीले बताउनु भयो ।

मास्कले मात्र कोभिड–१९ को सङ्क्रमण र प्रसारण रोकिने होइन् तर सङ्क्रमण र वायु प्रदुषणबाट जोगिने सबभन्दा भरपर्दो र महत्वपूर्ण उपाय मास्कको प्रयोग भएको चिकित्सकहरू बताउँछन् । हाच्छिउँ वा खोकी गर्दा र बारम्बार हातले मुख छुने बानीले भाइरस सर्न सक्ने अवस्थाबाट मास्कले सुरक्षा दिने डाक्टर मनोजकुमार यादवले बताउनु भयो । न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन् । हावामा रहने प्रदुषण र भाइरस प्रवेशलाई मास्कले रोक्नुका साथै हातले बारम्बार नाक, मुख छुने कार्य पनि रोकिनाले आफ्नो परिवार, आफ्नो समुदायसँगै आफ्नो पनि सुरक्षा हुने डाक्टर कल्पना साहले बताउनु भयो । उहाँले भन्नु भयो–‘मास्क प्रभावकारी हुनका लागि सही तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सही तरिकाले फाल्नु पर्छ ।’ लक्षण बिना पनि भाइरस रहेको हुन सक्न बताउँदै डाक्टर सुभाषकुमार मण्डलले केही भएको छैन भनेर स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा थाहै नपाई परिवारका सदस्य र समुदायमा सङ्क्रमण फैलिन सक्ने उल्लेख गर्नु भयो । मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रूपमा फाल्नुपर्ने भन्दै चिकित्सकहरूले मास्क प्रयोग गर्दा निम्न सुझाव दिएका छन् ।

  • मास्क लगाउँदा मास्कको सतहमा नछोई इलास्टिक लुप वा डोरीमा समाउनुहोस् ।
  • मास्क फेरि लगाउनु अघि हात धुनुहोस ।
  • एक जनाले लगाएको मास्क अर्कोले नलगाउनुहोस् ।
  • खुकुलो मास्क नलगाउनुहोस् ।
  • मुख, नाक र चिउँडो छोपिने गरी लगाउनु होस् ।
  • मास्कलाई नाकमुनि र चिउँडोमुनि नतान्नुहोस् ।
  • फोहोर, बिग्रिएको वा भिजेको मास्क नलगाउनुहोस् ।

धुन र पुनः प्रयोग गर्न सकिने एन ९५ वा कपडाको तीन तहको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रूपमा धुनु उपयुक्त हुन्छ । मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा घाममा सुक्न दिनु पर्छ । मास्कको प्रयोगसँगै स्वास्थ्य सुरक्षा मापदण्डका अरु उपायहरू संयुक्त रूपमा प्रयोग गरे प्रभावकारी हुने औषधि व्यवसायी समेत रहेका राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताउनु भयो ।

मास्क रमाइलो वस्तु नभए पनि मास्क लगाउनुले हामी एक अर्काको ख्याल राख्दछौं भनेर देखाउँदछ । कोभिड–१९ लाई रोकथाम गर्न विशेषज्ञहरू दिनरात कठिन मेहनत गरिरहेका बेला मास्क लगाउने लगायतका हरेक प्रकारको सावधानी अपनाएर कोभिड–१९ को रोकथाममा सहयोग पु¥याउन सकिने अभियानकर्मीहरूको भनाइ छ । ‘सबैलाई मास्क लगाएर हिँडन आग्रह गर्छौँ । मास्कको अभाव भए लगाएर जान भन्छौँ ।’ महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी प्रिया सिंह थारु भन्नुहुन्छ–‘अधिकांशले मान्छन्, कोही मान्दैनन्, अधिकांशले मास्क लगाएर जान्छन्, कतिपयले पैसा वा मास्कको पोका नै दिएर जान्छन् ।

f

f

photo20210808saptari (3)

photo20210808saptari (4)

photo20210808saptari (5)

photo20210808saptari (6)

photo20210808saptari (7)

f
photo20210808saptari (9)

photo20210808saptari (10)

- मनोहरकुमार पोखरेल