मारेको भए हाडखोड त देखाउ

आज फर्केलान् भोलि फर्केलान् भनेर बाटो हेरेको पनि छ वर्ष पुगिसक्यो । न कतै ज्यानै तलबितल केही भयो कि- बेला बखत यस्तो आशङ्का मनमा नलागेको पनि होइन तर आफैले मनलाई थामथुम पार्थे- पक्कै पनि काम लगाएका होलान् वा न उनीहरूको श्रम कैदमा राखेका छन् कि '

रामेछाप जिल्लाको प्रिती गाविस-६ का गुरागाई परिवार यस्तै दुविधाको सामना गर्दै बसेको थियो । कारबाहीमा परेका एक जना माओवादी कार्यकर्ताले बाबु मारिसकिएको जानकारी गराएपछि ६ वर्षअघि वेपत्ता पारिएका ४७ वर्षीय उपेन्द्र गुरार्गाइँका छोरा मोहन गुरागाईँको मन थामिएको छैन । बाबुलाई मारेको यत्रो वर्षबितिसक्दा पनि के कारणले सार्वजनिक गरिएन- मारिनु पर्ने उनको अपराध के थियो - राजनीतिसँग कुनै साइनो नभएको एक पुरोहितसँग दुश्मनी साध्नु पर्ने आवश्यकता किन पर्žयो उनीहरूलाई - बाबुको शरीरको अवशेष कहाँ भेटिएला -मोहन र उनका परिवार उपेन्द्रलाई गाडेको ठाउँको खोजीमा भौतारिएका छन् । हत्या गरिएका बाबुको हाडखोड पत्ता नलागेको कारण उपेन्द्रका छोराहरुले न बाबुको कृया गर्न पाएका छन् न थिति अनुसार उनको संस्कार नै गर्न पाएका छन् ।

'हामीलाईं त उनीहरूले नै अपहरण गरेका हुन् भन्ने कुरामा विश्वास थियो तर उनीहरुले स्वीकारेका थिएनन् । अपहरण गरे पनि घटनाको बारेमा केही नबताएकाले मारेकै होलान् भन्ने लागेको थिएन । अब त मारेकै हुन् भन्ने प्रष्ट भयो । तै पनि मारेर गाडेको ठाउँ देखाएका छैनन् । शव गाडिएको ठाउँ पत्ता लगाउन पाए जे भेटिन्छ त्यसैको संस्कार गरी काज क्रिया गर्नु हुन्थ्यो । त्यो पनि गर्न पाइएको छैन'- मोहन गुनासो गर्छन्।

प्रितीका गुरागाईँहरु स्थानीय हिन्दू धर्मालम्वीहरुका पुरोहित हुन् । उपेन्द्रको परिवारले पनि पुस्तौदेखि यजमानी पेशा गर्दै आएको थियो । हिन्दू धर्मशास्त्र नै त्यस्तै छ - न्वारानदेखि सद्गत गरेपछि पनि पुरोहितको आवश्यकता पर्दछ । पुरोहित नभई कुनै कामकाज नै चल्दैन ।

माओवादीको सशस्त्र द्वन्द्व सुरु भएपछि उनीहरुले ठाउँठाउँमा पुरोहितलाई पिण्ड कोच्याए रे । बाहुनलाई गाउँबाट लखेटे रे भन्ने समाचारहरु लगातार सञ्चारमाध्यमहरुमा आएपछि उपेन्द्र पनि नआत्तिएका होइनन् । कतिपटक त उनले अब यजमानी पेशा छाड्ने भनेर निर्णयपनि गरे । तर गाउँलेहरु आएर हामीले पूजी राखेको पुरोहित तपाईँले छाडेपछि हामीले कसलाई पुरोहित लगाउने भनेर कचकच गरेकाले उनले पेशा छाड्न सकेका थिएनन् । उपेन्द्रका छोरा मोहन गुरागाईले भने-'त्यस्ता समाचार सुनेपछि हामीले पनि बालाई यो पेशा छाडिदिन सल्लाह दिएका हौँ । तर गाउँलेहरुले जे परे पनि हामी व्यहोरौँला । तपाईँले गरी आएको काम छोड्न पाउनु हुन्न भनेर पटकपटक दवाव दिएपछि उहाँले पेशा छाड्न नसक्नु भएको रहेछ ।'

तत्कालीन सरकारले सङ्कटकाल घोषणा गरिसिकेको थियो । द्वन्द्व चरम चुलिमा पुगेको थियो । गाउँमा माओवादीको एकछत्र राज थियो । गाउँमा कहिले काहीँ गस्तीमा पुग्ने सुरक्षाकर्मीको टोलीले पनि स्थानीय मानिसहरूलाई माओवादी पालेको भन्दै सताउँथ्यो । अर्कातिर सुरक्षाकर्मी हिड्नासाथ माओवादी आएर सेनालाई खान दिएको वा सूचना दिएको बहानामा विभिन्न खालका सजाय गर्थे ।

उपेन्द्रका छोराहरू सेना र प्रहरीमा जागिरे भएकाले माओवादीले उनलाई अलि बढी नै दुःख दिने गरेका थिए । उनको घरमा गएर माओवादीहरुले पटकपटक छोराहरुको जागिर छुटा भनेर नभनेका हैनन् । तर उमेर पुगेका छोराहरू माओवादीले भनेको भन्दैमा उनले भनेर केको जागिर छाड्थे - उनीहरुले जागिर छाडेनन् । उनलाई छोराहरुको विषयलाई लिएर पटक पटक धम्क्याएका थिए । उनी त्रासको जीवन बाँचिरहेका थिए ।

यसैबीच गाउँकै उद्धवबहादुर कटवालकी आमाको मृत्यु भयो । मृत्यु भएपछि पुरोहितको काम परि त गयो । जौ-तिल हाल्न पुरोहित नभइ हुँदै भएन । त्यसैले उनी कृयापुत्री बसेको घरमा ढीकुराको पुजा गराउन धाउन लागे ।

उपेन्द्र सदा झैँ २०५९ सालको पुस १३ गते साँझ नपदै कृयापुत्री रुँघ्ने घरमा पुगे । उनी बेलुका घर फर्किएनन् । घर नफर्किएपछि परिवारका सदस्यहरुले कृयापुत्री भएकै घरमा बसे होलान् भन्ने अनुमान गरे । खासै खोजी भएन । भोलिपल्ट पनि अबेरसम्म उनी घर नफर्किएपछि घरका मानिसहरुले खोजी गरे । उनीहरु कृयापुत्री बसेको घरमा बुझ्न पुगे । घरका मानिसहरुले बाजे त साँझ नै यहाँबाट हिंड्नु भएको भनी बताए । छेउमा बस्ने मानिसहरुले बाजेलाई डाडाँ कटाई सके होलान् भनेर खासाखुसु गरेको खोजी गर्न जाने मानिसले सुनेका थिए । त्यसैले उनीहरुको मनमा शंकाको वादल मडारियो तर त्यहाँ केही नभनि हिँडे।

उनलाई खोज्न गएका परिवारका सदस्यहरु उनलाई त्यहाँ नदेखे पछि निक्कै आत्तिएका थिए । मोहन भन्छन्-'त्यो घरमा गरिएको दुईथरिका कुराले हामीलाई माओवादीले अपहरण गरे भन्ने शङ्का भइहाल्यो । केही दिन दुःख दिएर छाड्लान् भन्ने लागेको थियो । मार्लान् नै भन्ने चाहिँ लागेको थिएन ।' त्यसैले उनीहरुले माओवादीलाई सोधे तर उनीहरुले अपहरण गरेको स्वीकारेनन् ।

माओवादीले तत्काल मात्र हैन पछिसम्म पनि सो कुरा अस्वीकार गर्दै आएको थियो । वेपत्ता परिएकाहरुको सूचि बनाउन ६ महिनाअघि जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको सर्वदलीय बैठकमा पनि गुरार्गाइँलाई वेपत्ता परिएको कुरा अस्वीकार गरेको थियो । सो बैठकमा माओवादीका जिल्ला नेताले उनलाई अपहरण नगरेको बताएका थिए । त्यसैले जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उनलाई अज्ञात समूहबाट वेपत्ता पारिएको सूचिमा राखिएको छ ।

उनलाई माओवादीले अपरहरण गरेको कुराको पोल त्यतिबेला खुल्यो जति बेला माओवादीका एक जिम्मेवार कार्यकर्ता पार्टी कार्बाहीमा परे । माओवादीका तत्कालीन १० नं एरिया सेक्रेटरी बाम्ती गाविस-६ का प्रमोद भनिने तिर्थबहादुर कार्की कारबाहीमा परेपछि उनले सो कुरा सार्वजनिक गरे । उनले गुरागाईँका छोरा मोहनलाई भेटी उपेन्द्रको अपहरण माओवादीले नै गरेको र उनको अपहरणपछि हत्या गरेको बताए । उनको अपहरण कसको नेतृत्वमा गएको टोलीले गरेको थियो भन्ने बारेमा भने उनले केही नबताएको मोहनले बताए ।

कार्कीले गुरागाईँलाई चैत १२ गते भेटी उनलाई अपहरण गरेको र भोलिपल्ट ओखलढुङ्गा जिल्लाको गाम्नाङटारको तोरीबारी भन्ने ठाउँम पुर्žयाएर हत्या गरेको बताएका छन् । पार्टीले सार्वजनिक नगर्ने भनेकोले आफूले घटना सार्वजनिक गर्न नसकेको गुरागाईँसँग स्वीकारेका छन् । उनले यस बारेमा मानवअधिकार आयोगमा बयान दिन तयार रहेको पनि बताएका थिए ।

कार्कीले गुरागाईँको हत्या गरिएको स्वीकारेका भए पनि उनको लाश कहाँ गाडिएको थियो भन्ने बारेमा केही बताएका छैनन् । उनले सबै कुरा मानवअधिकार अयोगमा बयान दिने बताएका थिए । यसले गर्दा परिवालाई थप अन्योलग्रस्त बनाएको छ । पीडित परिवारले यस विषयमा राष्ट्रिय मानवअधिकार आयोग तथा स्थानीय प्रशासनमा पनि जानकारी गराएका छन् । कार्कीले सो कुरा बताएलगत्तै आफूले मानवअधिकार आयोग र प्रहरीलाई सो ब्यहोराको सूचना जानकारी गराएको मोहनले बताए । मानवअधिकार आयागले बाम्ती पुगेर एकपटक छानबिन पनि गरेको छ ।

घटना सार्वजनिक गरेपछि माओवादीले कार्कीलाई केन्द्रीय कार्यालयमा बोलाएर बयान लिएपछि उनले अहिले आफ्ना कुरा फेर्न लागेको पीडित परिवारले बताए । पीडितले भने-'उसले पहिला सबै कुरा बताउँछु भनेको थियो । त्यसो भनेका सुन्ने अरु मानिसहरु पनि छन् । माओवादीले उनलाई काठमाडौंमा बोलाएर के के भने कुन्नि,अहिले कुरा फेर्न लागेको छ ।'

पीडितका छोरा मोहनले भने-'उनको भनाइले मारेको कुरा त पुष्टि भयो तर शव कहाँ गाडिएको हो त्यो पत्ता लागेको छैन । मारिएको पत्ता लगाउन त ६ वर्ष कुर्नु पर्žयो गाडेको ठाउँ कहिले पत्ता लाग्ने हो ठेगान छैन । म अब मेरा बाबुको काजकृया गर्न के गरौं -'

दिगो शान्ति स्थापना गर्र्छौ र जनतालाई अधिकारसम्पन्न बनाउँछौँ भन्ने एकीकृत नेकपा माओवादीले मोहनको सांस्कृतिका अधिकार खोसिएको विषयमा गम्भिर भएर प्रस्तुत हुनु नपर्ला र ! आखिर हत्या गरेको कुरा त खुलिसक्यो भने शव गाडेको ठाउँ किन लुकाउनु पर्žयो र ।

नवराज पथिक

रामेछाप

०६६ जेठ १ गते

 

-