माओवादीकै शिविरबाट बेपत्ता भएकाओमबहादुरको पत्तो लागेन

नवराज पथिक

ए बा म आइपुगेँ भन्दै छोरा जुनसुकै बेला घर आउन सक्छ । माओवादी सरकारमा सामेल भइसकेपछि त आज भोलि नै पक्का आउँछ भनेर विश्वास नलागेको पनि होइन । तर ओमबहादुर घर फर्किएन । छोरो घर फर्किने आस झिनो हुँदै जान थालेको छ । तर अझै मरेको चाहिँ छैन । आफ्नो प्रयत्न अझै जारी राखेका छन् -जमानसिंहले ।

मान्छेको मर्ने चोला हो एक दिन मर्नु पर्दछ नै । आफन्त मर्दा मानिसलाई केही समय पीडा दिए पनि समयले विस्तारै दुखका घाउ सुक्दै जान्छ । तर बेपत्ता भएकाका परिवारहरुको पीडा त्योभन्दा अलग्गै कहाली लाग्दो हुने गरेको छ । उनीहरु हराएका आफन्तहरुलाई न माया मार्न सक्दछन् न उनीहरु फर्केर नै आउँछन् । हराएकाहरुको सम्झनामा उनका आफन्तहरु हजारौ पटक मर्ने र बाच्ने गर्दछन् । यस्तै पीडा बोकिरहेका छन् रामेछापको हिमगंगा गाविस- ७ का ओमबहादुर विकका परिवारले ।

देश र जनतको लागि लड्न भनेर माओवादी पार्टी लागेका ओम बिक अहिले मरे वा बाँचेको कुनै खोजखबर छैन- उनको परिवारलाई । पाँच वर्षेदेखि उनले न घरमा सम्पर्क गरेका छन्, न कुनै चिठ्ठीपत्र नै पठाएका छन् । छोरो घर फर्कने बाटो हेरेर बसेका बाबु आमाको आँखा टट्याइसके तर पनि उनी घर फर्किएका छैनन् ।

छ कक्षामा पढ्दै गरेका ओमबहादुर नौ वर्षअघि ६ कक्षामा फेल भएपछि गाउँ छाडेर काठमाण्डौ हिडेका थिए । गाउँबाट काठमाडौं गएपछि त्यहाँ एक महिना बसेर त्यसपछि माओवादीमा लागेका थिए । माओवादी पार्टी लागेपछि उनी काठमाण्डौबाट पश्चिम नेपालतिर लागेका थिए ।

माओवादी पार्टी लागेपछि पनि उनले पटकपटक घरमा सम्पर्क गर्ने तथा पत्राचार गर्ने गरेका थिए । उनले पछिल्लो पटक आफू स्याङजाको माओवादी सेनाको बी कम्पनीमा भएको कुरा उल्लेख गर्दै घरमा पत्र पठाएका थिए । पत्रमा उनले आफू गरिबको लागि लडाइमा लागेको भन्दै घरको र भाइबहिनीको राम्रो हेरचार गर्न बाबु जमानसिंहलाई सम्झाएका थिए । चार पेज लामो सो पत्रमा उनले बाबुलाई सेनासँग जोगिन र घरमा आएका माओवादी कार्यकर्तालाई सहयोग गर्न पनि भनेका थिए ।

स्याङजाबाट ०५९ साल असोज ३ गतेको मितिमा पत्र पठाएपछि उनको परिवारसँग कुनै सम्पर्क छैन । उनले घरमा न पत्र पठाए, न फोन वा कुनै मानिसको हात समाचार नै पठाएका छन् । उनी अहिले कहाँ कुन अवस्थामा छन् भन्ने कुराको परिवारलाई कुनै अत्तोपत्तो छैन । परिवारजनहरू उनको खबरको प्रतीक्षामा रातदिन बाटो हेरेर बसिरहेका छन् ।

राज्य र माओवादी बीच चलेको १० वर्ष युद्ध रोकियो । युद्धकालमा माओवादीको सेनामा लागेका लडाकुहरु बिदा मिलाएर परिवारजनसँग भेटघाट गर्न घर आउने क्रम चल्यो । युद्धमा गएका माओवादी सेनाको लर्काे गाउँगाउँमा फर्कियो । आफ्ना परिवारसँग भेट गरी दुःखसुख बाँडे । सबैका छोराछोरीहरू घर फर्कन लागेपछि जमानसिंह र उनकी पत्नी ज्योति पनि आफ्नो छोरो घर फर्कने प्रतीक्षामा थिए । दिन बिते, हप्ता बिते, अब त महिना पनि धेरै बितिसके । तर ओमबहादुर घर फर्किएनन् ।

बाब आमाको मन छोरा घर नफर्किएपछि त्यसै चूप लागेर बस्न के मान्दथ्यो र ! गाउँमा माओवादीको सिविरबाट फर्किएका लडाकुहरु आउने बित्तिकै जमानस्रिह उनीहरुको घरमा पुगिहाल्थे - छोराको केही पत्तो लाग्दछ कि भनेर,तर ओमलाई भेटेको खबर कसैले सुनाएनन् । उनी जो आए पनि छोराको खबर पाउने आशा लिएर जान्थे तर फर्कदा निराश भएर फर्कन्थे । उनको यो क्रम लामो समयसम्म चल्यो तर उपलब्धि भने केही हात लागेन ।

गाउँमा छोराको कुनै पत्तो नलागेपछि उनी खोजीकै क्रममा जिल्ला सदरमुकामस्थित माओवादीको पार्टी कार्यालयमा पुगे । उनले आफ्नो छोराको बारेमा सबै कुरा पार्टी सहसेक्रेटरी विगुल भनिने ताराबहादुर श्रेष्ठलाई बेलिविस्तार लगाए । छोराले पछिल्लो पटक माओवादीको शिविरबाट पठाएको पत्र पनि देखाए । पहिलो दिन त विगुलले तपाईको छोरा शिविरमा नै होला । कहाँ छ बुझेर खबर दिउँला भनेपछि उनको विस्मात्लाई हर्षे छपक्क छोपेको थियो । तर भोलिपल्ट नै उनको आशा निराशामा परिणत भयो । बिगुलले हामीले धेरै ठाउँमा फोन गर्‍यौँ,तपाईको छोराको पत्तो लागेन भनेर जवाफ दिएपछि माओवादीप्रतिको उनको सहानुभूति पनि छताछुल्ल भयो ।

"आफ्नो पार्टीको सेनामा लागेको मान्छे कहाँ छ भन्ने पनि थाहा नहुने कस्तो पार्टी आफ्नो पार्टी सेना मरेबाँचेको समेत पत्तो नहुने - उनीहरूलाई माया नभए पनि हाम्रो सन्तानको हामीलाई त माया छ नि । मरे वा बाँचेको त ठेगान हुनुपर्‍यो । ज्यूँदै छ भने कहाँ छ सम्पर्क गराइदिनुपर्‍यो । मरेको भए पनि कहाँ मरेको हो बताइदिनुपर्ने त हो नि " -जमानसिंह भन्छन् ।

जमानसिंह र ज्योतिका पाँच सन्तानमध्ये ओम जेठा छोरा हुन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका जमानसिंहको परिवारको आशा बनेका थिए ओम । उनी घर छाड्दा भर्खरै १६ वर्षपुगेर १७ वर्षलागेका थिए । "म पनि अब बुढो भएं । त्यति काम गर्न पनि सक्दिन । घरका अरु केटाकेटी सानै छन् । हुर्किएको छोराको कुनै अत्तोपत्तो छैन । यो उमेरमा मैले छोराको शोक बोकेर मर्नुपर्ने भयो" - यति भनेपछि जमानसिंहको ओठ थरथराउँछ मात्र, उनको भावना आँखाबाट भलभली व्यक्त हुन थाल्छ ।

रामेछाप । ०६४ भदौ १९ गते

 

-