मध्यमाञ्चल क्षेत्रमा मानवअधिकारः तराईमाउल्लंघन बढ्दो

भोजराज तिमल्सिना

'तराईको समस्या समाधान भएको छैन । सरकारी कार्यालयहरूमा पहाडी मुलका कर्मचारी बस्दैनन्' रौतहटका इन्सेक वर्षपुस्तक प्रतिनिधि विपीन गौतम भन्छन् - १७ घर पहाडे मूलका मानिसहरू विस्थापित भएका छन् । राजनीतिक दलका गतिविधि शून्य छन् । माओवादीसमेत सदरमुकाम र सुगम स्थानमा केन्द्रित छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौंद्वारा धुलिखेलमा आयोजित तीनदिने अर्धवार्षिक प्रतिवेदन सम्पादन भेलामा उनले उक्त भनाई राखेका हुन् । इन्सेकद्वारा सन् १९९२ देखि नेपाल मानवअधिकार वर्षपुस्तक प्रकाशित हुँदै आएको छ । भेलामा मध्यमाञ्चल क्षेत्रका १७ जिल्लाका वर्षपुस्तक प्रतिनिधिहरूको सहभागिता छ ।

'गैरकानुनी गिरफ्तारी र धम्कीका घटनामा बढोत्तरी देखिन्छ । अदालतमा न्यायाधीश नै छैनन् । गाविस सचिवहरू सदरमुकाममा केन्द्रित हुँदा विकासका काम हुन सकेका छैनन्' धनुषाका प्रतिनिधि रोशनदीप ढकालको भनाईमा पहाडी मुलका २ सय ४ जनाले आफ्नो घर बेचीसकेका छन् । जिल्लामा गोइत र ज्वालासिंह समूहका कार्यकर्ताहरू सक्रिय छन् । यस्तै समस्या महोत्तरीमा पनि देखिन्छ । 'तीन न्यायाधीश, श्रेस्तेदार र तहसिलदार नभएका कारण अदालतमा मुद्दा दर्ता हुन सकेको छैन । सरकारी कार्यालयहरूमा पहाडिया मुलका कर्मचारी बस्न सकेका छैनन्' महोत्तरीका प्रतिनिधि इश्वरी काफ्लेको भनाईमा झण्डा गाडेको भरमा जग्गा कब्जा भयो भन्छन् । संविधानसभाको निर्वाचन हुन्छ र ! भन्ने स्थिति छ ।

'ज्वालासिंह र गोइत समूहले आफ्ना गतिविधिलाई बारामा सक्रिय बनाएका छन्,' प्रतिनिधि रोशनराज अर्याल थप्छन् - 'निर्वाचन आयोग नै प्रमुखविहीन अवस्थामा छ । एम थ्रि (मोवाइल, मनी र मोटरसाइकल) बोकेर हिड्यो भने मानिसहरू असुरक्षित देखिन्छन् ।' व्यक्तिगत हत्या, अपहरण, चोरी, डकैतीका घटना बढीरहेको सर्लाहीका प्रतिनिधि विदुरकुमार प्याकुरेलले बताए । उनको भनाईमा आठ राजनीतिक दलको गतिविधिमा कमी भए पनि चुरे भावर र फोरमबीचको द्वन्द्व कायमै छ ।

तराईका अधिकाशं जिल्लामा मानवअधिकार उलंघनका घटनामा बढोत्तरी भए पनि पहाडमा भने कमी देखिन्छ । माओवादी र एमालेबीचमा समन्वयको स्थिति देखिन्न । व्यक्ति हत्याका घटना भैरहेका छन् । नुवाकोटका प्रतिनिधि केशव मिश्रको भनाईमा पार्टीले आफ्नो जिल्ला कमिटीका बैठक काठमाडौंमा गर्छन् । माओवादी शिविरबाट भागीरहेको बताउँदै सिन्धुलीका प्रतिनिधि आनन्द दाहाल थप्छन् - संविधानसभाको निर्वाचन हुनसक्ने अवस्था छ । मानवअधिकार उलंघनका छिट्पुट घटना भएका छन् ।

काठमाडौं, काभ्रे र ललितपुरमा मानवअधिकारको अवस्था उस्तै देखिन्छ । यी जिल्लाहरूमा आपराधिक गतिविधि बढ्दै गएको र सुरक्षा निकायको मनोवल घटेको देखिन्छ । काठमाडौंका राजु पासवान र ललितपुरका गोपीकृष्ण भट्टराईले यस्तै समस्या बताए । धादिङमा मानवअधिकार उल्लंघनको स्थिति विगतको तुलनामा कमी देखिन्छ । प्रतिनिधि सीताराम अधिकारी भन्छन् - 'केही गैसस संविधानसभाको कार्यक्रम लिएर गाँउतिर लागे पनि आठ राजनीतिक दल सहरतिरै केन्द्रित छन् ।' दोलखामा भने अधिकांश विषय सहमतिका आधारमा अघि बढ्छन्,प्रतिनिधि उद्धवप्रसाद पोखरेल भन्छन् - 'छिटपुट अपराधिक घटना भएका छन् । संविधानसभा निर्वाचनसम्बन्धी कार्यक्रम भने यस जिल्लामा पनि पार्टीले गाउँसम्म पुर्‍याउन सकेका छैनन् ।'

'संविधानसभा निर्वाचन सहज ढंगबाट हुन्छ । समस्याहरू देखिए भने आठ दल बसेर मिलाउँछन्' - मकवानपुरका प्रतिनिधि प्रताप विष्टको भनाई छ - 'लेख्न हतार गर्दा झनै द्वन्द्व चर्किन्छ । दलहरूलाई सुधारको दिशामा लैजानुपर्छ ।' भक्तपुर जिल्लामा पनि संविधानसभा निर्वाचन सहज ढंगबाट हुने मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रतिनिधि अकुर न्यौपानेले बताए । रसुवामा माओवादीको भय र त्रासको अवस्था पहिलाको जस्तै भएको प्रतिनिधि हेमनाथ खतिवडा बताउँछन् । उनले भने 'माओवादी र एमालबीच समन्वय देखिन्न ।'

'आजकाल मानिसहरू मारिएका छैनन् तर भय र त्रासको अवस्था उस्तै देखिन्छ' सिन्धुपाल्चोकका प्रतिनिधि नातीबाबु धिताल पनि रसुवाको जस्तै एमाले र माओवादीबीचमा असमझदारी रहेको बताउँछन् । रामेछापमा पनि यस्तो समस्या देखिएको छ । प्रतिनिधि नवराज पथिककाअनुसार संविधानसभा निर्वाचनसम्वन्धी कार्यक्रमहरू जिल्लामा त्यति भएका छैनन् ।

भेलाको पहिलो दिन जिल्लाको मानवअधिकार स्थितिबारे छलफलमा नै केन्द्रित भयो । भेलाको दोस्रो दिन मानवअधिकार वर्षपुस्तक निर्देशिकाको बारेमा छलफल तथा प्रतिवेदन सम्पादनमा केन्द्रित भयो । भेलामा इन्सेक मानवअधिकार प्रसार तथा प्रलेख प्रमुख प्रेक्षा ओझाले वर्षपुस्तक र इन्सेक अनलाईनमा पठाइने घटनाका विषयमा जानकारी दिइन् । इन्सेक केन्द्रिय कार्यालयका गणेश भण्डारी र मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले आगामी दिनमा गर्नुपर्ने काम र विगतमा काम गर्दा भएका कमीकमजोरीका विषयमा आफ्ना भनाई राखेका थिए ।

काभ्रे ०६४ साउन १४

 

-