मतदाता शिक्षाका विषयमा मतदाता अनविज्ञ

सुर्खेत । ०७९ कात्तिक ४ गते

सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेकी सुशीला खत्रीलाई आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी छैन् । त्यति मात्र होइन्, उहाँलाई कहिले कुन कुन तहमा निर्वाचन हुँदैछ भन्ने विषयमा समेत जानकारी छैन् । उहाँले हालसम्म तीनपटक मतदान गर्नुभयो । तर निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा कसैले पनि आफुलाई जानकारी नगराएको बताउनुहुन्छ । ‘मइले भोट त हालेको छु तर बदर भयो की सदर भयो मेरो भोट मलाई थाहा छैन्,’ उहाँले भन्नुभयो, ‘ अब आउने निर्वाचनमा पनि मइले भोट हाल्न पाउँछु होला तर कसरी भोट हाल्ने अहिलेसम्म कसैले यो विषयमा सिकाउनु भएको छैन् ।’Photosurkhet20221021 Shusila khatri

यस्तै दैलेख जिल्लाको नारायण नगरपालिका–११ जुफियाँकी कस्तुरी रावतलाई पनि अब आउने निर्वाचनका विषयमा जानकारी छैन् । कहिले कसो रेडियो सुन्दा रेडियोको समाचारमा चुनावको समाचार भनिरहेको हुन्छ त्यहीमार्फत चुनाव हुँदैछ । भन्ने विषय थाहा पाएको उहाँको भनाई छ । उमेरले उहाँ ५१ वर्ष पुग्नुभयो । आफुले धेरै पटक मतदान गरेको भएपनि आफन्तकै साहारामा उहाँले मतदान गर्दै आएको सुनाउनुहुन्छ । ‘वैशाखमा भएको चुनावमा पनि मैले छोराको सहयोगबाट मतदान गरे, फेरी पनि चुनाव हुँदैछ रे यस पटिक पनि अरुकै सहयोगमा भोट हाल्छु ,’ उहाँले भन्नुभयो, ‘ आफुले पढे लेखेको छैन् कसरी भोट हाल्ने भनेर कसैले सिकाएका पनि छैनन् त्यही भएर अलि बुझेको आफ्नो कुनै आफन्तसँग भोट हालिमाग्छु ।’

Photosurkeht20221021Kasturi rawat-pic-2
मतदाता शिक्षाका विषयमा पूर्णरुपमा जानकारी नहुँदा कतिपय मतदाता आफुले चाहेको व्यक्तिलाई मतदान गर्नबाट बञ्चित भएका हुन्छन् । सुर्खेतको वीरेन्द्रनगर नपा–१ ढोडेखालीकी ६७ वर्षीया माया सुनारले आफुले मतदान गर्न सक्नुहुन्न । आफन्तकै सहयोगमा मतदान गर्दे आउनुभएकी उहाँले सहयोगीले पनि आफुले चाहेकै व्यक्तिलाई मतदान गरेनगरेको पक्का नहुने बताउनुभयो । यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–५ की कल्पना विकलाई पनि निर्वाचन हुँदैछ भन्ने विषयमा जानकारी भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी छैन्, ‘उहाँले भन्नुभयो, स्थानीय तहमा जस्तो सजिलो छैन् रे यसपटक त दुई ठाँउमा मतदान पर्नुपर्छ रे, तर कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी छैन् ।’ यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–५ का गोविन्द विकले पनि मतदाता शिक्षाका विषयमा जानकारी नभएको बताउनुभयो । रेडियोमा प्रसारण भएको समाचारमार्फत निर्वाचन हुने विषय थाहा पाएको भन्दै उहाँले मतदाता शिक्षाका विषयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।
जिल्ला तथा प्रदेशमा यी पात्र प्रतिनिधि पात्र मात्र हुन् । यी र यस्ता व्यक्ति धेरै छन् । जुन मतदाता शिक्षाका विषयमा जानकारी नहुँदा सहयोगीको भरमा मतदान गर्न बाध्य हुन्छन् भने कतिपयलाई मतदानका विषयमा जानकारी नहुँदा कतिपय मतपत्र वदर हुने सम्भावना बढी हुने गर्दछ । मतदाता शिक्षाका विषयमा प्रभावकारी रुपमा सचेतनामुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउननुभयो । इन्सेकले पनि निर्वाचन शिक्षालाई मध्यनजर गर्दै रेडियो कार्यक्रम तथा पिएसए र जिङ्गलमार्फत सूचना प्रवाह गरिरहेको जानकारी दिनुभयो । कार्यालयले विभिन्न समूहमार्फत मानव अधिकार शिक्षामा निर्वाचनलाई मध्येनजर गर्दे सूचना प्रवाह गरेको बताउनुभयो । २०४८ सालदेखि निर्वाचनको पर्यवेक्षक गर्दै आएको इन्सेकले यो पटकको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ८८ जना पर्यवेक्षक परिचालन गर्न लागेको समेत जानकारी दिनुभयो । निष्पक्ष र भयरहित निर्वाचन बनाउनका लागि इन्सेकले सबै स्थानीय तहमा निर्वाचनको अनुगमन गर्ने भएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी छ । तर स्थानीय तहमा निर्वाचन शिक्षा सामाग्री नपुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले केन्द्रबाट अब छिट्टै नै निर्वाचन शिक्षा सामाग्री आइपुग्ने बताउनुभयो । तिहार लगतै निर्वाचन शिक्षाका विषयमा जानकारी दिने समेत उहाँको भनाई छ । आयोगले मतदाता शिक्षाका विषयमा निर्देशिका बनाइसकेकाले अब तिहार लगतै स्थानीय तहसँगको समन्वयमा वडा तहमार्फत मतदाता शिक्षाका विषयमा जानकारी दिने प्रमुख चालीसेले बताउनुभयो । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १४ मतदाता रहेका छन् ।

- प्रभा कुमारी रावत