भूकम्पले बचायो, चिसोले मरिन्छ कि
दार्मा गाउँपालिका–५ राउटेवाडाकी तुलसा खडकाको दुई ओटै घर भूकम्पले भत्काएपछि एक महिनासम्म परिवारको बास त्रिपालमुनि भयो । सरकारले उपलब्ध गराएको पहिलो किस्ता वापत दिएको २५ हजार रुपियाँले उहाँले अस्थायी टहरा निर्माण गर्नुभयो । तर दिनदिनै बढदै गएको चिसोबाट अस्थायी टहराले जोगाउन सकेन । उहाँको जेठो छोरा बिरामी छन् । एकातिर मध्य हिउँदको चिसो, अर्कोतिर १२ दिनदेखि बिरामी छोरा । उहाँलाई चिसोबाट छोरालाई जोगाउन मुस्किल छ ।
दार्मा गाउँपालिका–२ लिजापाजाकी भद्री पाण्डे भुकम्प जाँदा गर्भवती हुनुहुन्थ्यो । भुकम्पपछिको त्रिपालको बास र चिसोले उहाँले बच्चा बचाउन सक्नुभएन् । जन्मेको केही समयपछि शिशुको मृत्यु भयो । उहाँ आफु पनि बिरामी हुनुहुन्छ । ‘चिसो धेरै भयो, टिन र त्रिपालबाट सित झर्छ, बिहान उठ्दा त ओड्ने ओछ्याउने भिजेका हुन्छन्’ उहाँ भन्नुहुन्छ ‘बच्चा जन्मियो तर चिसाकै कारण होकि के हो, बच्चा बचाउन सकिएन् ।’
दिनहुँ बढदै गएको चिसोले त्रिपाल र अस्थायी टहरामा बसेका अधिकांश बालबालिका, दीर्घरोगी ज्येष्ठ नागारि बिरामी छन् । उनीहरुलाई न्यानो कपडा अभाव छ । अधिकांशमा ज्वरो आउने, टाउको दुख्ने दम, मुटु दुख्ने हातखुट्टा सुन्निनेजस्ता समस्या देखिएका छन् । जस्तापाताले निर्माण भएका अस्थायी टहरामा पनि सित चुहिदा ओढने कपडा भिज्ने गरेका छन् । भूकम्पले क्षति पुगेको दार्मा गाउँपालिकामा अहिले न्युनतम तापक्रम ७ डिग्री सेलसियस छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका ४ सय ५० परिवारलाई अहिले अस्थायी टहरामा स्थानान्तरण त गरियो तर चिसोबाट भने जोगाउन सकिएको छैन । त्यसो त सात सय भन्दा बढि परिवार अहिले पनि त्रिपाल र चर्किएकै घरमा छन् ।
दिउँसो त उनीहरु जसोतसो दिन बिताउँछन् । तर बढ्दो चिसोले राति र साँझ बिहान बिताउन उनीहरुलाई निकै मुस्किल भएको अर्का भुकम्प पीडित चन्द्र बहादुर खडकाले बताउनुभयो । ‘चिसोका त कुरै नगरौँ, दिउँसो घाम लाग्ने भएकाले चिसोको महशुस हुदैन्, राति त असाध्यै चिसो हुन्छ, टिन र त्रिपालबाट सित झर्छ, ओढ्ने ओछ्याउने राम्रो छैनन्’ उहाँले भन्नुभयो ‘भुकम्प पछिका दुखका दिन अहिले सुरु भएका छन्, भुकम्पले बचायो, चिसोले मरिन्छ कि ।’
दार्मा गाउँपालिकामा ६ सय ७८ ज्येष्ठ नागरिक, १ सय ८६ गर्भवती, १ सय ३५ सुत्केरी, ७ सय २० दीर्घरोगी र अपाङ्गता भएका व्यक्ति तथा ७ सय २२ जना ५ वर्षमुनिका बालबालिका छन् । यहाँका अस्थायी टहरा र त्रिपालमा ५ सय १२ दीर्घरोगी बस्छन् । अस्थायी आवास भएपनि बिहान–बेलुकीको चिसोले दीर्घरोगी बढी प्रभावित भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनुभयो । भूकम्पपछि त्रिपालमा बसेका परिवारलाई मङ्सिरभित्र अस्थायी आवासमा सार्ने सरकारको लक्ष्य थियो । दार्मा गाउँपालिकामा १ हजार १ सय ७९ घरमा क्षति पुर्याएकोमा अहिलेसम्म ४ सय मात्र अस्थायी आवास बनेका छन् । एकातिर चिसो र अर्कोतिर निर्माण सामाग्रीको अभावका कारण आवास निर्माणमा ढिलाइ भइरहेको छ । जसकारण भुकम्प पीडित त्रिपाल र भत्किएकै घरमा बस्न बाध्य भएको दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले बताउनुभयो ।
दार्मा गाउँपालिकामा १ हजार १ सय ७९ घर पुर्ण रुपमा क्षति र एक हजारको सेरोफेरोमा आंशिक क्षति भएको भनिएपनि पटक पटक गइरहेको पराकम्पका कारण लाभग्राहीको सङ्ख्या बढदै गएको छ । गाउँपालिकामा अहिलेसम्म ४ सय १३ जनाले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् भने बाँकि ५ सय २० जनालाई मात्र पुग्ने पहिलो किस्ता वापतको रकम प्राप्त भएको छ । बाँकीलाई थप निकासा माग्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।
पहिलो किस्ताको रकम पाउन अझै समय लाग्ने
भूकम्प पीडितले पहिलो किस्ता पाउन अझै समय लाग्ने देखिएको छ । जिल्लाको दार्मा गाउँपालिका, बागचौर नगरपालिका र कुमाख गाउँपालिकाका भूकम्प पीडितले सरकारले पठाएको पहिलो किस्ता वापतको रकम पाउन अझै समय लाग्ने देखिएको हो । दार्मा गाउँपालिकामा सबै भन्दा बढि १ हजार १ सय ७९ घरमा क्षति भएको छ भने बागचौर नगरपालिकामा ३ सय ६६ घर र कुमाख गाउँपालिकामा एक सय ४० घरमा भूकम्पले क्षति पुर्याएको छ ।
सरकारले पठाएको पहिलो किस्ता वाफत दार्मामा अस्थायी आवास निर्माणका लागि १ करोड ३ं० लाख रुपियाँ, कुमाखमा १५ लाख रुपियाँ र बागचौरमा ३५ लाख रुपियाँ जिल्ला विपद व्यवस्थापन समितीले पालिकाका खातामा पठाएको थियो । दार्मा गाउँपालिकामा अहिलेसम्म ५ सय २० जनाको लागि पहिलो किस्ता वापतको रकम पठाएपनि बाँकी ६ सय ६९ जनाले पहिलो किस्ता पाउन बाँकी रहेको छ ।
कुमाख गाउँपालिकामा ६० जना भूकम्प प्रभावितले मात्र पहिलो किस्ता प्राप्त गरेको छन् । एक सय ६३ लाभग्राहीका लागि पहिलो किस्ता माग गरिएकोमा १५ लाख मात्र बजेट प्राप्त भएकाले ६० जनालाई पहिलो किस्ता वापतको रकम पुगेको हो । यता बागचौर नगरपालिकामा ३ सय ६६ भूकम्प प्रभावित रहेकोमा कसैले पनि पहिलो किस्ता पाउन सकेका छैनन् । अस्थायी आवास निर्माणका लागि ३५ लाख पालिकामा पठाइएपनि अहिलेसम्म पालिकाको ढिलाइका कारण प्रभावितले पहिलो किस्ता पाउन सकेका छैनन् ।
- बुद्धिमान पुन
सम्बन्धित फिचरहरू
परिपूरणमा स्थानीय सरकारः निःशुल्क स्वास्थ्य बिमा गर्न द्वन्द्वपीडितहरूको माग
जवान छोरा इन्द्रबहादुरलाई २०६० चैत २५ गते सेनाले मारिदिएपछि त्यसै त पीर चिन्ताले गलेका ८० वर्षीय विन्तीराम चौधरी दमले ग्रस्त हुनुहुन्छ । उमेर ढल्कीदै जाँदा सानातिना दुख बिमारले पनि सताइरहन्छन्…
द्वन्द्वपीडित भन्छन् - न्याय पाइएला भन्ने ढुक्क त छैन, तर आशावादी छु !
बुटवल उपमहानगरपालिका–१०, कालिकानगरकी कलावती केसी ५५ वर्षकी हुनुभयो । १४ वर्षको कलिलो उमेरमा कलावतीको विवाह बुटवल उपमहानगरपालिका सूर्यबहादुर केसीसँग भएको थियो । छोरा नजन्मिएपछि जेठी छोरीको विवाह गरेमा छोरा जन्मन्छ…
बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !
विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको…
पुनर्स्थापनाको अभावमा कष्टकर जीवन बाँच्न बाध्य आरक्षपीडित ! (फोटो फिचर)
२०५८ सालमा विस्थापित गरिएका आरक्षपीडितहरुको पुनर्स्थापना नगरिएका कारण खुला आकाशमुनि कष्टकर जीवन जिउन बाध्य भएका छन् । वन्यजन्तुको संरक्षणका लागि २३ वर्ष अगाडि सरकारले तत्कालीन शाही शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तार…
द्वन्द्वपीडित भन्छन्, 'छाना नभएको घरजस्तै भो हाम्रो जीन्दगी'
बुटवल उपमहानगरपालिका-१० की सरस्वती श्रेष्ठ अहिले ५५ वर्षकी हुनुभयो । मध्यम परिवारमा जन्मेकी सरस्वतीको विवाह नवलपरासी जिल्लाको तत्कालीन रामनगर गाविसका कृष्णकुमार श्रेष्ठसँग भएको थियो । विवाह गरेपछि कृष्ण पत्नी, एक…