बेपत्ता भएको छोराको वषौँदेखि प्रतिक्षामा
दुई दशक बित्यो, द्वन्द्वमा बेपत्ता भएका छोराको न लास छ, न सास छ, खबरसम्म पनि पाइएन । द्वन्द्वमा बेपत्ता भएका छोराको प्रतिक्षामा तिला गाउँपालिका –४ साँपुल्ली गाउँका ६३ वर्षीया जयकुरा कामी र उहाँका पति ६५ वर्षीय हरिकेश कामीे ।
उहाँका छोरा २० वर्षको उमेरमा बेपत्ता भएका हुन् । साविक कुडारी गाविस हाल तिला गाउँपालिका–४ सापुल्ली गाउँकी जयकुरा कामीले सशस्त्र द्वन्द्वमा आफ्नो कोखबाट जन्माएको छोरा गुमाउनु भएको छ । जयकुराका छोरा २० वर्षीय परिमल कामी २०५९ कार्तिक २८ गतेदेखि बेपत्ता भएका हुन् ।
तत्कालीन माओवादीले साँपुल्लिगाउँदेखि गुठीचौर गाउँपालिका – २ गुठीचौर भेडा फर्म नजिक भारी भोक्न लगेको थियो । परिमल कामी माओवादी पार्टीमा आबद्ध पनि भएका थिएनन् । तर माओवादीले सहयोग गरिदिन भनेपछि भारी फाल्न जानु भयो । गुठीचौरको भेडा फर्म नजिक भारी फालेर फर्केर आउदा चन्दननाथ नगरपालिकाको छिनासाँघुमा नेपाली सेनाले खान तलासी गर्दा जुत्ता भित्र माओवादीको पत्र भेटाएपछि त्यहीबाट गिरफ्तार गरेको थियो । परिमल कामीसँग भारी फाल्न गएका साँपुल्ली गाउँका २३ वर्षीय धनजित कामी पनि नेपाली सेनाको गिरफ्तारीमा पर्नु भयो । नेपाली सेनाले माओवादी भएको आरोपमा गिरफ्तार गरी लगेकोमा हाल सम्म बेपत्ता छन् ।
परिमल कामी र धनजितकी आमा क्रमश जयकुरा र विष्णु कामीले भन्नुभयो ‘गाउँबाट ८–१० जना भारी फाल्न गएका थिए । २०८९ कार्तिक २८ गते बेलुका सबै घर फर्केर आए ।’ तर परिमल र धनजित घरमा आएनन् । उनीहरुसँग गएका दलविर कामीसँग सोध्यौँ । हामी जंगलको बाटो भएर घर आयौँ । तर उनीहरु (परिमल र धनजित) चन्दननाथ नगरपालिका – ६ छिनागाउँ फुपुको घर खाना खान भनेर छिनासाँघु पुल तरेर जाने भनेर गए । त्यही पुलमा नेपाली सेनाले गिरफ्तार गरेछ ।
परिमल कामीको आमा जयकुरा कामीले भन्नुभयो ‘भोलि पल्ट २०५९ कार्तिक २९ गते छोरा खोज्दै सदुरमुकाम खलंगा पुयौँ । नेपाली सेनाको व्यारेक पनि गरौँ । धेरै ठाउँ खोयौँ । त्यतिबेला २०५९ कार्तिक २८ गते तत्कालीन माओवादी पार्टीले जुम्ला जिल्लाको सदरमुकाम खलंगा आक्रमण गरेको थियो । जताततै मानिसका लासै लास थिए । सबै लास एक एक गरि हेरौँ तर छोरा भेटाएनौँ । अहिले सम्म न त लास भेटाएका छौँ न त सास नै । ’
परिमल र धनजित एकै दिनदेखि बेपत्ता भएको धनजितकी आमा विष्णु कामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यतिबेला खोज तलासका लागि शान्ति समिति र रेडक्रसमा उजुरी दिएका थियौँ । अहिलेसम्म पत्ता लाग्न सकेको छैन । छोरा धनजितले विवाह पनि गरेको थियो । दुई बच्चा जन्मेका पनि हुन् । बच्चा जन्मेको एक/एक वर्ष नपुग्दै मृत्यु भयो । त्यतिबेला राम्रो उपचार पनि पाएनन् । राम्रो उपचार गर्ने नजिक अस्पताल पनि थिएनन् । द्वन्द्वकालमा सहज रुपमा उपचार गर्न जान सक्ने वातावरण पनि थिएन । छोरा बेपत्ता भएको तीन वर्षपछि (धनजितकी पत्नि) बुहारीले पनि अर्काे विवाह गरिन् । छोरा पनि भएन । विवाह नगर पनि भन्न सकेनौँ ।’
परिमल कामीको आमा जयकुराले भन्नु भयो ‘अहिले २१ वर्षको नाती (परिमलको छोरा) छ । नाती ६ महिनाको हुदा छोरा बेपत्ता भएको हो । नाती दुई वर्षको भएपछि बुहारीले (परिमलको पत्नि) दोस्रो विवाह गरिन् । नाती अहिले १२ कक्षा पढ्दै छ । नातीलाई राम्रोसँग पढाउने धोको छ । ’
रेडक्रसको अन्तर्राष्ट्रिय समिति, बेपत्ता आयोग लगाययत अन्य सङ्घ संस्थाहरूसँग छोराको अवस्था बारे बुझिदिन आग्रह गर्दा समेत कुनै पत्तो लागेन जयकुराले गुनासो गर्नुभयो । तत्कालीन युद्धको समयका द्वन्द्वरत पक्षहरू अहिले सरकारमा एकै ठाउँमा छन् । अहिलेको सरकारले सास या लास देखाइदिए हुन्थ्यो ।
झण्डै बीस वर्षदेखि छोरा हराएको र खोजिको निम्ती धेरै पटक धेरै ठाउँमा धाइसकेको तर कतैबाट पनि सुनुवाई नभएको जयकुराले दुखेसो गर्नुभयो । यसरी पटक पटक आग्रह गर्दा पनि जानकार निकायबाट कुनै जानकारी नपाएको बताइएकाले अब देशमा कानुन नभएको अनुभव जयकुरालाई भएको छ ।
लामो सास फेर्दै जयकुराले भन्नुभयो ‘यति धेरै लामो समय भईसक्यो छोरा फर्केर आउदैन । विस्तारै आस पनि मर्दै जान थालेको छ । उसको छिनो एक नाती छ । त्यसैको अनुहार हर्दै बसेका छौँ । नातीको भविश्य सुधार्न पाएका भए आनन्द मनले मर्न सकिन्छ कि भन्ने छ । ’
त्यतिबेला रेडक्रसले भाडा बर्तन, लत्ताकपडा चामल राहत दिएको बेपत्ता भएका व्यक्तिका (परिमल र धनजित) परिवारले बताउने गरेका छन् । सरकारबाट १०÷१० लाख रकम पनि राहत पायौँ । अब त सरकारले पनि सहिद घोषणा गरिसकेको छ । जयकुराले भन्नुभयो ‘मरिसके भनेर त सरकारले सहित घोषणा गरेको होला । ’
जग्गा जमिन पनि कमै छ । अरु छोरा पनि रोजगार छैनन् । घरको उत्पादनले तीन महिना मात्रै खाना पुग्छ । अरु नौ महिना ज्याला मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएको धनजित कामीका आमा विष्णु कामीले बताउनु भयो । उहाँले त्यही कमै भएको जग्गा पनि गत दुई वर्ष आएको बाढीपहिरोले क्षति पुर्याएको छ । खनजोत गरी अन्नबाली उत्पादन गर्न सकिने अवस्था पनि छैन । जिविकोपार्जन गर्न निकै असहज छ ।
- मानदत्त रावल
सम्बन्धित फिचरहरू
वैदेशिक रोजगारीमा गएका महिलाको पीडा, बर्वतापूर्ण र दुखद अभिव्यक्ति
कुनै बेला चेलीबेटी बेचबिखन गर्ने जिल्लाको रूपमा चिनिएको सिन्धुपाल्चोक अहिले महिला आप्रवासनका लागि पनि चिनिन थालेको छ । राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै सङ्ख्यामा महिलाहरू विदेश जान बाध्य…
घरेलु हिंसाबाट ज्यान जोगाएर बाँचेका महिलाहरु
गत वर्षको साउनमा गुर्भाकोट नगरपालिका–१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै काम गरिरहनुभएको थियो । घरमा सासुको मृत्यु भएकोले घरायसी काममै व्यस्त हुनुहुन्थ्यो । त्यस अगाडि उहाँलाई ३७ वर्षीया पति…
द्वन्द्वमा बेपत्ता पारिएको छोरो फर्किने आसमा हुनुहुन्छ ८६ वर्षीया आमा
‘गलत केही गरेको थिएन, अपराध केही गरेको होइन, आफ्नो सोझो गरेर खाने मान्छे, गाउँमा मर्दा पर्दा जहाँ जतिबेला बोलाए पनि जाने, उहाँको जीवनमा त्यही अभिशाप भयो’, तत्कालीन विद्रोही माओवादी पार्टीबाट…
पढाई खर्च नहुँदा विद्यालय छोड्दै बादी समुदायका बालबालिका
शारदा नगरपालिका–१ शान्तिनगरका सागर नेपाली अहिले १९ वर्षको हुनुभयो । कक्षा ६ सम्म पढेका उहाँले कापि, कलम, पोशाक नहुँदा बीचमा नै पढाइ छोड्नुभयो । ‘घरको आर्थिक अवस्थाले भ्याएन्, बुवा बिरामी…
नवजात शिशुको मृत्युदर घटाउने चुनौती
नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७…