बेपत्ता पारिएका व्यक्तिको परिवारले भन्नुभयो – हारहड्डी पाए किरिया गर्थेँ !

दाङ । ०८१ भदौ १४ गते

विवाह गरेको वर्षौँ बित्यो । सन्तान भएनन् । छोरी, छोरा नभए पनि एकले अर्कालाई जोरा त छ नी, भन्दै प्रेमपूर्ण जीवन बिताइरहेका थिए । रोल्पा राङकोट स्थायी घर, तर दाङको घोराही उपमहानगरपालिका–१४, आर्मी व्यारेक छेउमै दाल, चामलको व्यापार थियो । छोरा, छोरी परिवार भनेकै पति, पत्नी थिए, त्यसैले जीतबहादुर घर्तीले सीतली बुढालाई कहिल्यै वचन लगाएनन् । आमा बन्न नसक्नुको पीडा बिर्साएर सीतलीको मन जितेका जीतबहादुरले २०५८ तिरको राजनीतिक परिस्थितिलाई भने जित्न सकेनन् ।

Photo30082024Dang1

२०५८ मङ्सिर ८ गते घोराहीको आर्मी व्यारेक माओवादी आक्रमणमा पर्‍यो । व्यारेक छेउमै चामल, दाल बेचेर गुजारा गर्ने उनै जीतबहादुरलाई आर्मीले सोधपुछ भन्दै मङ्सिर ११ गते व्यारेक भित्र लगेपछि ७० वर्षीया सीतली बुढा २२ वर्ष यता एक्लिनु भएको छ । ‘सोधपुछ गर्नु छ, जाउँ भन्दै आर्मीले लगे, दिनभर चउरमा राखेका थिए । साँझ परेपछि जीतबहादुर कहाँ लगिए अहिलेसम्म अत्तो पत्तो भएन', सीतलीले भन्नुभयो । हप्तादिनसम्म त भित्रै राखेका छन् भन्ने हल्ला सुनाउथे छिमेकीहरूले । एक महिनापछि काठमाडौँ लग्यो रे भन्ने फेरि अर्को हल्ला सुनियो । अवस्था त्यस्तै भएकाले जीतबहादुरको खोजीमा आफूबाहेक अरु कसैले साथ नदिएको सीतलीको गुनासो छ ।

पेट पाल्नु पर्‍यो, त्यसैले आर्मी व्यारेक छेउमै दाल, चामलको पसल गरेका थियौँ । न कुनै पार्टी थाहा थियो, न कुनै राजनीति ? साधारण मान्छेलाई लगेर कहाँ पुर्‍याए होलान ? सीतलीले भन्नुभयो – ‘सन्तान त थिएनन् नै, भएको जोरा पनि बेपत्ता बनाइदिए, आउँछ कि जस्तो त लागिरहन्छ । तर खै ? यत्रो वर्ष भयो आउँदैनन् ?’ पति बेपत्ता भएपछि एक्लिनुभएकी सीतलीले पेटको जोहो गर्न घोराही बजारकै तीनकुनेमा ढ्याब्ली (घुम्ती) राखेर गुजारा गर्नुभयो । ढ्याब्लीबाटै दाल, चामल बेचेर गुजारा गर्नुभएकी सीतली उधारो नउठेपछि खुद्रा सामान बेच्नतिर लाग्नुभयो । त्यही ढ्याब्लीको व्यापार, त्यही ढ्याब्लीको बास देखेरे सीतलीलाई घोराही उपमहानगरपालिका वडा नं. १४ ले सेवारखोला छेउमा एकतले पक्की घर बनाइदिएपछि २०७८ चैतदेखि आफ्नै घरमा सर्नुभयो ।

ठूलै बैठक कोठा छ, एउटा बेडरुम, चर्पी र बाथरुम पनि छ । तर जोरा नभएको घरमा सीतलीलाई जीवन धकेल्न धौ धौ छ । ‘कहिले काहीँ सपनामा देख्छु, अझै मारिएको छैन होला जस्तो लाग्छ, आउँछन कि, आउँछन् कि भन्दै पर्खिँदै गरेको पनि आज २२ वर्ष बित्यो । कतै मारिएकै भए हारहड्डी देखाइदिए त्यही हड्डी ल्याएर किरिया गर्थेँ । प्राण नभए पनि हड्डी देखाइदिए हुन्थ्यो', सीतलीले भन्नुभयो । जीतबहादुर आइहाल्नुहुन्छ कि भन्दै आसै आसमा २२ वर्ष गुजार्नुभएकी सीतलीले काजकिरिया गर्न नपाएकोमा दुख पोख्नुहुन्छ । जोरा नहुँदा आफन्तले पनि वास्ता नगरेको सीतलीको गुनासो छ । ‘जोरा छैन त कोइ छैन, के गर्नु सन्तान पनि भएनन् आज कसलाई हेरेर चित्त बुझाउनु भन्नुस त ?' - सीतलीले प्रश्न गर्नुभयो ।

Photo30082024Dang

वडा सरकारले घर बनाइदिएपछि सुरक्षित बास बस्न पाउनुभएकी सीतलीलाई जीतबहादुरको अभावमा कतिबेला के हुन्छ भन्ने डर हटेको छैन । ‘छोराले आमा मारेको सुन्छु, बुबा मारेको सुन्छु यहाँ कस्को भर छ र ? महिनामा आउने ४ हजार भत्ताले हातमुख जोडेको छु । त्यही पनि लग्दिन्छन् कि भन्ने डर लाग्छ', सीतलीले भन्नुभयो । धन्न अहिलेसम्म सीतलीलाई औषधि खानु परेको छैन । कुनै रोगब्याध छैन । कहिलेकाहीँ सामान्य टाउको दुख्ने, ज्वरो आउने भए पनि दीर्घ रोग छैन । बिरामी परे कसले स्याहार गर्ला भन्ने चिन्ता सीतलीलाई छ । खोला छेउको बास छ । एक्ली सीतलीलाई मिठो मसिनो खान पनि मन लाग्दैन । पहाडबाट ल्याएको मकैको आँटोले जीवन धानिरहनु भएको छ । दुई/चार हल गोरु लाग्ने खेतबारी रोल्पाको राङकोटमा छ । त्यही पनि जेठाजुका छोरालाई दिनुभएको छ । सरकारले केही पैसा दिए, बाँकी जीवन सहज हुने आशा गर्नुभएकी सीतलीलाई जीतबहादुरको प्राण नभए हारहड्डीमात्रै पाए पनि हुन्थ्यो भन्ने छ । जीउँदो जाग्दोको ठेगान नभएपछि सम्झना स्वरुप जीतबहादुरको नाममा साँढे दुई लाख खर्च गरेर सीतलीले राङकोटमा चौतारो बनाउनुभएको छ । मन बुझाउन शालिक, चौतारा बनाए पनि द्वन्द्वमा बलपूर्वक बेपत्ता पारिएका दाङका १ सय ४१ जीतबहादुरहरू घर फर्किने आशामा धेरै सीतलीहरूले पर्खिरहेका छन् ।

- जयनारायण पुन