बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रश्नः छोराको स्थिति कहिलेसम्म थाहा पाउने ?

२०८० असोज १७

लाउँलाउँ, खाउँखाउँ उमेरको छोरा मुलुकको आमुल परिवर्तनका लागि हिँडेको दुई दशक बित्न लाग्यो । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता छोरा भेट्ने लामो प्रतिक्षामा हुनुहुन्छ कालिका गाउँपालिका-३ की ५९ वर्षीया आमा देवलक्ष्मी तामाङ र उहाँको परिवार । गहभरी आँशु छ । बेपत्ता छोराको तस्वीर देखाउँदै देवलक्ष्मीले भन्नुभयो, ‘राज्यले दुई दशकसम्म बेपत्ता पारेर एक मात्र छोराको कुनै ठोस प्रमाण दिन सकेन हामीले कहिले न्याय पाउने ?’ साविक धैबुङ्ग गाविस-३ हाल कालिका गाउँपालिका-३ का तत्कालिन माओवादी कार्यकर्ता १९ वर्षीय नरेन्द्रबहादुर तामाङलाई ०६१ मङ्सिर ५ गते नेपाली सेनाले गिरफ्तार गरेकोमा हालसम्म बेपत्ता हुनुहुन्छ ।

WhatsApp Image 2023-09-29 at 15.42.16 (1)

इन्सेकका जिल्ला प्रतिनिधिसँग कुरा गर्दै देवलक्ष्मीले लामो समयदेखि सिङ्गो परिवार नै चिन्तामा डुबेको र परिवाले छोरा भेट्ने लामो प्रतिक्षामा रहेको सुनाउनु भयो । उहाँको तीन छोरी र एक मात्र छोरा मध्ये दुई जना छोरीको विवाह भयो । कान्छी छोरी वैदेशिक रोजगारीका लागि ओमन पुगेर बिरामी परेर अहिले रोजगारीकै खोजीमा काठमाडौँमा हुनुहुन्छ । एक मात्र छोरा बेपत्ता भएपछि बुहारी सीताले पनि डेढ महिनाको बालक छोरालाई छाडेर अर्को विवाह गर्नुभयो । परिवार अहिले चरम बेरोजगारीको समस्यामा छ । उहाँले भन्नुभयो, 'स्वास्थ्य समस्याले सताएको बुढाबुढीले जुटाएर बिहान बेलुका छाक टार्न धौ धौ छ । १८ वर्षीय नाति आशिषले बल्लतल्ल गाउँकै सरकारी विद्यालयबाट १२ कक्षा पास गरेको छ । जायजेथा बेचेर पढाउन पनि कठिन छ । रोजगारी पाउन पनि मुस्किल छ । पीडितका परिवारलाई प्राथमिकतामा राखेनन् । अब यही नातिको भरोसामा बस्नु छ ।'

WhatsApp Image 2023-09-29 at 15.42.12

आशिषलाई बिएड पढ्न सरकारले छात्रवृत्ति दिँदैन भन्ने सुनेको छु । कहाँ कसरी पढाउने हाम्रो जीवनको लागि भरोसा भनेकै एक नाति उसको भविष्य कसरी बनाउने भन्ने विषयमा चिन्ता छ । न्यायको आशामा बसेको २० वर्ष भो पति अमृतको स्वास्थ्यको समस्याको उपचार र बेपत्ता छोराको खोजीमा खेत पनि बेचियो । पाखो बारी र घरमात्र छ देवलक्ष्मीले भन्नुभयो । त्यतिबेला सरकारबाट १० लाख रुपियाँ राहत पायौँ । उत्पादन हुने जग्गा जमिन पनि कमै छ । खेतीको उत्पादनले तीन महिना मात्रै खाना पुग्छ । पाखोबारीमा अन्नबाली उत्पादन गर्न सकिने अवस्था पनि छैन । जीविकोपार्जन गर्न निकै असहज छ ।

बेपत्ता छोराको खोजीमा लामो समयसम्म भौतारिएको ६२ वर्षीय बुबा अमृत बहादुर थोक्रा तामाङले बताउनु भयो । छोरो बेपत्ता भएको दुई दशक बित्न लाग्यो । खोज्दैमा स्वास्थ्य पनि बिग्रेको छ । हाडजोर्नी दुख्ने, ग्याष्ट्रिक जस्ता समस्याले अस्पताल जाने र औषधि उपचार गर्न खर्च अभाव छ । तामाङले भन्नुभयो,'हामी जस्ता द्वन्द्व पीडितको दुःखमा काम गर्ने कोही रहेनछन् । मानव अधिकार आयोग, बेपत्ता आयोग जस्ता नाममा तलब भत्ता खाने मात्र रहेछन्, हामीले कहिले न्याय पाउने?'

WhatsApp Image 2023-09-30 at 10.58.10

खोजीको क्रममा नेपाली सेनाले छोरा जीवित छ भनेपछि कपडा, खानेकुरा पठाएको तर मुहार देख्ने इच्छा अधुरो रहेको छ । कहाँ जाने खोजी कसरी गर्ने केही थाहा छैन तामाङले भन्नुभयो । उहाँले राज्यबाट बेपत्ता परिवारको परिचय पत्र भने पाएको बताउनु भयो । बेपत्ताको बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्षपुस्तक, उनीहरू कहाँ छन् भन्ने पुस्तक र विभिन्न सञ्चार माध्यममा समेत बेपत्ताको विवरण प्रकाशित छ । उहाँले ०६२ माघ १२ गते आफ्नो बेपत्ता छोराको स्थिति पत्ता लगाउन राष्ट्रिय मानव अधिकार आयोगमा समेत जाहेरी दिनुभयो । ०६४ सालमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय समिति र तत्कालिन स्थानीय शान्ति समितिमा उजुरी दिए पनि छोराको खोजी नभएको उहाँको गुनासो छ । दुःखले जेनतेन गरेर १२ कक्षासम्म पढ्यो । केही काम गरेर भए पनि नाति आशिष तामाङलाई पढाउने देवलक्ष्मीले उल्लेख गर्नुभयो ।

WhatsApp Image 2023-09-29 at 15.42.12 (1)

छोरी ३४ वर्षीया अन्जना तामाङले अझैसम्म राज्यले बेपत्ताको स्थिति सार्वजनिक गर्न नसक्नु लाजमर्दो कुरा भएको बताउनु भयो । ‘धेरै दुःख गरेका द्वन्द्व पीडित र परिवारलाई न पार्टी र नेताले केही राहतको कार्यक्रम ल्याउन सके न कुनै रोजगारीमा जोडेर जीवीकोपार्जनमा सघाउ पुर्‍याए ।’, अन्जना तामाङले भन्नुभयो ।

'दुःख पाएकालाई कसैले केही मद्दत गरेनन् । रोजगारीको खोजीमा ओमन पुगेर दुई वर्षमा बिरामी परेर नेपाल फर्केको छु । हाम्रो परिवारमा कसैको रोजगारी छैन । आम्दानीको कुनै स्रोत पनि छैन । भाइ र म काम गर्न सक्ने थियौँ तर कुनै रोजगारी पाउन मुस्किल छ', अन्जना तामाङले उल्लेख गर्नुभयो ।

WhatsApp Image 2023-09-29 at 15.57.31

खोजीको लागि धेरै ठाउँमा गए पनि न्यायको प्रतिक्षामा धेरै समय बित्यो । अहिलेको सरकारले सास वा लास देखाइदिए हुन्थ्यो । झण्डै बीस वर्षदेखि छोरा हराएको र खोजिको निम्ती धेरै पटक धेरै ठाउँमा धाइसकेको तर कतैबाट पनि सुनुवाई भएन अमृतले भन्नुभयो ।

बेपत्ता छाेरा कहाँ, कसरी खाज्ने बारे थप जानकारी पनि भएन भने कानुनी सहायता पनि पाउन नसकेकोमा दु:ख लागेको छ । अहिले तीन तहकाे सरकारले कतै न्याय दिन्छ कि भन्ने आशा गरे पनि न्याय कसरी पाउने कानुनी प्रक्रियामा हाम्रो पहुँच नभएकोले समस्या भएको देवलक्ष्मीले दुखेसो पाेख्दै भन्नुभयो । आफूहरू दुई जना नियमित औषाधि उपचार गर्नु पर्ने बिरामी भए पनि नि:शुल्क स्वास्थ्य उपचार व्यवस्था नभएको उहाँले बताउनु भयाे ।

बेपत्ता परिवारको अवस्था बारे जानकारी लिन ०८० असोज १२ गते इन्सेक बागमती प्रदेशका प्रलेख अधिकृत सोम नेपाली र इन्सेक रसुवा जिल्ला प्रतिनिधि बेपत्ता परिवारको घर कालिका गाउँपालिका-३, धारापानी पुग्दा ५९ वर्षीया आमा देवलक्ष्मी तामाङले आर्थिक उपार्जन गर्ने छोरा बेपत्ता पारिए, आफू बुढेसकाल लागेर काम गर्न नसक्ने भएको कारण आर्थिक बिपन्नताले बाँच्न कठिन भएको कुरा उठाइ न्यायको लागि पहल गरिदिन अनुरोध गर्नुभयो । आर्थिक बिपन्नताले आफू र परिवार बाँच्न कठिन भएको र पीडितलाई न्याय दिन र रोजगारीका लागि प्राथमकिता राज्यले दिनु पर्ने उहाँले बताउनु भयो ।

Photo_080-6-17_Rasuwa.

- हेमनाथ खतिवडा