बेपत्ता छोराहरूको आशमा बस्दै ७९ वर्षीय गोपाल थारु
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने समय थियो । त्यही समयमा गेरुवा गाउँपालिका–३, गणेशपुरका ७९ वर्षीय गोपाल थारुको छोराहरूलाई हतियारको बलमा राज्यले बेपत्ता पारिदियो ।
राज्यले बेपत्ता पारिदिएका छोराहरू आउने थारुको आश अझै मरेको छैन । अझै पनि आँखाहरू प्रतिक्षारत छन् । घर आँगनमा बसेर छोराहरू पर्खिरहनु भएको छ । थारु भन्नुहुन्छ - ‘छोराहरू मारिएको भए लाश त भेटिन्थ्यो होला नी । छोराहरू पक्कै घर खोजेर आउछन् भन्ने आश छ ।’
राज्य पक्षले ०५८ साल फागुन २३ गते बिहिबार बिहान घरबाट जेठो छोरा २० वर्षीय गणेशबहादुर चौधरी र १७ वर्षीय जनकबहादुर चौधरीलाई घरबाट बेपत्ता पारिदियो । त्यसपछि छोराका खोजिमा अनेक ठक्कर खाँर्दै थारु अनेक ठाउँमा धाउनु भयो । तर छोराको अवस्था थाहा पाउन सक्नु भएको छैन ।
उहाँले छोरा आउँछ भन्दै पत्नीको पनि मृत्यु भएको बताउनु भयो । उहाँले भन्नुभयो - ‘छोरी पनि बेला बेला बिरामी हुन्छ । काम गर्न सक्दिन शरीर बुढो भयो । मर्ने आज हो की भोली थाहा छैन । राज्यले छोराहरूको अवस्था सार्वजनिक नगरिदिँदा झन् पीडा हुन्छ । मर्नु अघि छोराको बारेमा सत्य थाहा पाउने मन छ । सरकारले बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्छ ।’
शहीद तथा बेपत्ता परिवारको लागि भन्दै सरकारले दिएको रकम बुझ्नु भएको छ । ‘पैसाले बेपत्ता छोराको क्षतिपूर्ति हुन नसक्ने रहेछ । घरमा एउटा छोरी छ । छोरीको पनि विवाह भयो । अब मलाई रेखदेख गर्ने पनि कोही छैन् । बुढेशकालमा एक्लो भएको छु । छोराहरू आउँछन् कि भन्ने पनि आश छ । मर्नु अघि जिउँदो भए छोराको मुख हेर्ने नभए पनि छोराको बारेमा थाहा पाउने मन छ’- थारुले भन्नुभयो ।
राज्य पनि बेपत्ता परिवारको मुद्दामा गम्भीर भएर लाग्न नसकेको थारुको बुझाइ रहेको छ । उहाँले भन्नुभयो - ‘राज्य गम्भीर हुन्थ्यो भने बेपत्ताको अवस्था सार्वजनिक भइसक्ने थियो ।’ इन्सेकको अनुसार गणेशबहादुर चौधरीलाई र जनकबहादुर चौधरीलाई ०५८ फागुन २३ गते घरमा सुतिरहेको अवस्थामा घरबाट बाहिर ल्याएर मरणासन्न हुने गरी कुटपिट गरेको अभिलेख रहेको छ । त्यसपछि गणेशबाबा चोकबाट गाडीमा हालेर सेनाले लगेको थियो । हालसम्म पनि दुई दाजुभाइको अवस्था सार्वजनिक हुन सकेको छैन ।
राज्यले बेपत्ता पारिएका व्यक्तिको परिवारको आवाज नसुनेको गुनासो
दश वर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएर शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको छ । देशलाई शान्ति प्रक्रियामा लैजान सात राजनीतिक दल र तत्कालीन युद्धरत पक्ष माओवादी बिच २०६३ मङ्सिर ५ गते सम्झौता भएको थियो । तर शान्ति सम्झौता भएको यतिका वर्ष हुँदा समेत बेपत्ता पारिएका व्यक्तिको परिवारको आवाज राज्यले सुन्न सकेको छैन । पटक पटक शान्ति सम्भौतामा हस्ताक्षर गर्ने नेताहरू नै सत्तामा पुगे । तर पीडितको आवाजको सुनुवाइ हुन सकेन । दलहरूले सम्झौताका हस्ताक्षर सुकेर खुइलिन थालिसके । तर पीडितको आँसु सुक्न सकेको छैन ।
युद्ध भयो । शान्ति सम्झौता भयो । नेताहरू राष्ट्रपति भए, प्रधानमन्त्री मन्त्री भए, विभिन्न पदमा पुगे तर पीडितहरूको आवाज सुनुवाइ हुन सकेन । थारु भन्नुहुन्छ - ‘सत्य थाहा पाउने अधिकार छ भन्ने छोराहरूको बारेमा सत्य थाहा पाउनु पर्छ । हामी पीडित भोगेको पीडामा मलम लगाउनु पर्छ । हाम्रो सुख, दुःख, हाँसो र आँसुमा साथ दिनुपर्छ । बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राज्यले न्याय दिनुपर्छ । पीडित परिवारको लागि गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था राज्यले गरिदिनुपर्छ ।’
विवाहपछि पनि बुबाको रेखदेख गर्दै छोरी जानकी
पत्नीको मृत्यु भएपछि एक्लै हुनु भएका थारुको रेखदेख छोरीले गर्दै आउनु भएको छ । उमेरसँगसँगै जोश, जाँगर र शक्ति हराएर घरमा एक्लै बस्न थालेपछि ३५ वर्षीय जानकीकुमारी चौधरीको साथमा हुनुहुन्छ । जानकी भन्नुहुन्छ - ‘राज्यले दाइहरूलाई बेपत्ता पारेपछि हाम्रो परिवारले अनेक कष्ट सहनु पर्यो । मैले चाहे अनुसार पढ्न पाइन । जागिर खाने अवसरबाट वञ्चित हुनुपर्यो । बुबा बुढो हुनुभयो । जसका कारण बाहिर जान सकिएन । धेरै अवसरहरूबाट वञ्चित हुनुपर्यो ।’
दाइहरूको अवस्था सार्वजनिक गरिदिए हुन्थ्यो भन्ने आफूलाई पनि लाग्ने उहाँको भनाइ छ । कि सास कि लास भइदिए पनि मनमा सन्तोष हुने जानकीले उल्लेख गर्नुभयो । राज्यले बेपत्ता परिवारको पीडा नबुझेको र धेरै ढिला गरी सकेको उहाँको भनाइ छ । अब ढिला नगरी आफूहरूको पीडा बुझेर दाइहरूको अवस्था सार्वजनिक गरी राज्यले पीडित परिवारलाई परिपूरणको व्यवस्थापन गर्नुपर्ने चौधरीको माग रहेको छ ।
- प्रकाश पौडेल
सम्बन्धित फिचरहरू
चिसोसँगै खाद्यान्नको अभाव झेल्दै राउटे समुदाय ! (फोटो फिचर)
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे…
आरनबाटै जीविका चलाउँदै कालीगढहरू !
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका…
दोरम्बा घटनामा पति मारिएपछि एक्लिएकी मेन्दो !
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी…
वैकल्पिक व्यवस्था नगरेरै भूमिहीन सकुम्बासीकाे उठिबास !
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा…
वैदेशिक रोजगारीको प्रभाव, बढ्दै सम्बन्ध विच्छेद
धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३७ वर्षीय मङ्गलबहादुर विश्वकर्मा ०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । तीन वर्ष मलेसिया बसेर ०७२ सालमा नेपाल फर्किदा उहाँकी पत्नी खेमकुमारी विश्वकर्माले दोस्रो विवाह…