बेनी नगरपालिकाले सुरू गर्‍यो नसर्ने रोगको शिविर

म्याग्दी । ०७९ जेठ १७ गते

म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ ।

ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क रूपमा शिविर सुरू गरिएको हो ।

हालै भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि नेपालको संविधानले तोकेको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयनमा लाने प्रतिबद्धता अनुरूप स्वास्थ्य शिविर थालिएको नगरप्रमुख सुरत केसीको भनाई छ ।

संविधानको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरीकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भन्ने उल्लेख छ ।

सोही अनुरूप नै नागरिकलाई स्वास्थ्यको हक प्रत्याभुत गर्नका लागि शिविर थालिएको नगरपालिकाले जनाएको छ ।

०७९ जेठ १५ गते पहिलो दिन कुल ६ सय ५० जना नगरवासीले सेवा लिएका छन् । नगरपालिकाको सबैभन्दा धेरै बेनी वडा नं ५, पुलाचौर स्वास्थ्यचौकीमा १ सय ४४ जनाले सेवा लिएको बेनी नगरपालिकको स्वास्थ्य शाखाले जनाएको छ ।

बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित शिविरमा १ सय ४२ जना, बेनी नगरपालिका–९, घतानमा १ सय १९, बेनी नगरपालिका–२, ज्यामरूककोटमा ९७, बेनी–१, रत्नेचौरमा ९३ र बेनी नगरपालिका–३, भकिम्ली स्वास्थ्यचौकीमा ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविर अब हरेक महिनाको १५ गतेका दिन नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

बेनी नगरपालिका–९ घतान स्वास्थ्यचौकीमा आयोजित शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पहिलो चरणमा नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमार्फत सुगर, प्रेसरलगायत नसर्ने रोगको पहिचान गर्न शिविर आयोजना गरिएको बताउनु भयो ।

आगामी दिनमा स्वास्थ्यचौकीहरूमार्फत पाठेघर तथा स्तन क्यान्सरलगायत अन्य रोगको पहिचान गर्नका लागि पनि स्वास्थ्यसम्बन्धी शिविरहरू निरन्तर सञ्चालन गरिने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक पहल गरिने बताउँदै निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमले समयमै नसर्ने रोगको पहिचान गर्न सकेको खण्डमा समुदाय तथा परिवारमा हुने आर्थिक र मानवीय क्षतिलाई कम गरी स्वस्थ नागरिक उत्पादन गर्न सकिने बताउनु भयो ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित नगर प्रमुख सुरत केसीले पदभारग्रहण गर्दै स्वास्थ्यसम्बन्धी तीन ओटा निर्णयमा गर्नुभएको थियो ।

पदभार ग्रहणका क्रममा नगरका स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एकपटक ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरूमा ४५ वर्षदेखि माथिका नागरिकहरूलाई लक्षित गरेर नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन तथा नगर भित्रका विपन्न २ सय घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरिएको थियो ।
photo20220531myagdi (1)

photo20220531myagdi (2)

photo20220531myagdi (3)

photo20220531myagdi (4)

photo20220531myagdi (5)

photo20220531myagdi (6)

photo20220531myagdi (7)

- अमृतप्रसाद पौडेल