बुबा र आमा गुमाएका बालकहरूलाई बाँच्नै सङ्कट, पढाइ पनि छुट्ने अवस्था

२०८० कार्तिक १

गएको वर्षको दशैँको अष्टमीको दिन खाना खाएर सुत्नुभएकी मन्थली नगरपालिका-६, भलुवाजोर डाँडाखर्ककी गीता बसेलको शव महानवमीको दिन घरभित्र झुण्डिएको अवस्थामा फेला पर्‍यो ।

‘अरूको घरमा दशैँको रमझम चलिरहेको बेला हाम्रो घरमा शोक पर्‍यो, घर भित्रै आमाले पासो लगाएर झुण्डिनु भएछ’, गीताकी छोरा १८ वर्षीय लेखबहादुर बसेल भन्नुहुन्छ । चार जना छोराकी आमा गीताले ४१ वर्षको उमेरमा आत्महत्या गर्नुभयो । पति भक्तबहादुर पहिलादेखि नै रक्सीको कुलतमा हुनुहुन्थ्यो । गीताको मृत्युपछि झन् शोक थपियो । सधैँ रक्सीकै नसामा झुम्न लाग्नुभयो । ‘अन्न खानै नमान्ने, सधैँ रक्सी खाने, रक्सी पाए खाने, अरू खानेकुरा नखाने भयो’, भक्तबहादुरकी आमा ९० वर्षकी काली सार्कीले भन्नुभयो । रक्सीकै कुलतमा लाग्नुभएका भक्तबहादुरलाई यस वर्ष जण्डिस भयो । मुख बार्नुभएन । जण्डिसको बिरामी हुँदाहुँदै पनि रक्सी खाएर मुख नबारेपछि असोज २० गते रगत छादेर उहाँ बित्नुभयो । ‘आमा अघिल्लो वर्ष बित्नुभयो, आमा बितेको एक वर्ष भएको छैन, बुबा पनि बित्नुभयो’, लेखबहादुरले आँसु पुछ्दै सुनाउनु भयो ।

बुबा आमा दुवै बिन्नुभयो । ९० वर्षीया हजुरआमा काली सार्की छोराहरूलाई अंश दिएर वर्षौँदेखि छुट्टै बस्नुहुन्छ । ठुलोबुबा महेन्द्र सार्की, माहिलो बुबा डोठे सार्की दुवै जना छुट्टै बस्नु भएको छ । छुट्ट भिन्न भएर बसेका ठुलाबुबाहरू, हजुरआमा, अब छिमेकी मात्रै हो । बुबा आमा दुवै बितेपछि परिवारको सबै बोझ १८ वर्षका लेखबहादुरको काँधमा आइपरेको छ । तीन ओटा लालाबाला भाइहरूलाई हुर्काउने, घर व्यवहार धान्ने, ऋण, धन अब सबै लेखबहादुरको टाउकोमा थुप्रिएको छ ।

भाइहरू माहिलो सञ्जीव १६ वर्षका छन्, साहिँलो सरोज १२ वर्षको छ, अनि कान्छो सन्दीप आठ वर्षका छन् । आर्थिक विपन्नताकै कारण लेखबहादुरले पाँच कक्षा पढेर छाड्नु भयो । माहिलो भाइले पनि सात कक्षाभन्दा बढी पढ्न सक्नुभएन । आमा बितेपछि पाँच कक्षामा पढ्ने सरोज पनि गत सालदेखि विद्यालय जानुभएको छैन । कान्छो सन्दीप भने तीन कक्षमा पढ्दै हुनुहुन्छ । ‘दुई ओटा भाइहरू सानै छन्, यिनीहरूलाई कसरी पढाउने, कसरी हुर्काउने केही सोच्न सकेको छैन’, लेखबहादुरले भन्नुभयो ।

आर्थिक रूपले अति विपन्न यो परिवाको यति बेला देखिने सम्पत्ति भनेको गोठमा बाँधेका तीन ओटा गोरु हुन् । अलिकति पाखो जमिन, त्यो पनि आफन्तले सहकारी संस्थामा धितो राखेर ऋण खाएका छन् । ‘पाँच लाख रुपियाँ ऋण झिकेको भन्ने सुनेको हो, कसको नाममा झिकेको छ, कति तिरे, कति तिर्न बाँकी छ, केही थाहा छैन, जे होस् ऋण झिक्न भनेर जग्गाधनी पुर्जा लगेको चाहिँ थाहा छ’, लेखबहादुरले भन्नुभयो । त्यही जग्गा पनि घरमुनिको सानो पाटो बाहेक अरू सबै बाँझो छ । ‘के जग्गा भन्नु सबै पाखो, उब्जनी हुँदैन, जङ्गल भइसक्यो’, लेखबहादुरका माहिलो बुबा डोठे सार्कीले भन्नुभयो । त्यही भएको जग्गा पनि सहकारीले कहिले लिलाम गर्ने हो ठेगान छैन । बास बसेको दुई कोठे घर पनि कतिखेर लिलामीमा चढ्ने हो - अबोध बालबालिकालाई केही थाहा छैन । उनीहरूको कतिखेर उठिबास लाग्ने हो कुनै निश्चित छैन ।

बुबा आमा दुवै गुमाएपछि उनीहरूसँग हाललाई खाली घर बाहेक केही बाँकी छैन । ‘हाम्रो समुदायमा मान्छे मरेपछि उसले प्रयोग गरेको ओढ्ने, ओछ्याउने, लुगा, कपडा, केही प्रयोग गर्नु हुँदैन, त्यसैले सबै लगेर मिल्काइ दियौँ, अब हामीसँग घरमा ओढ्ने ओछ्याउने पनि छैन’, लेखबहादुरले आफ्नो समस्या सुनाउनु भयो । बुबा बितेपछि विभिन्न सहयोगी दाताले दिएको चन्दाले क्रियाबाट उक्सिएर पानी चल्नेसम्म भए । क्रियामा भएको खर्च ऋण लिएको ठाउँमा अझै तिर्न बाँकी छ । तर उनीहरूको साथमा केही पनि छैन । ‘सहयोगको रकम, चन्दा उठाएर पानीबाट उक्सिने काम भयो, कतिपय ठाउँमा सामान ल्याएका, ऋण आदिको तिरो तारो बाँकी छ’, लेखबहादुरका माहिला बुबा डोठेले भन्नुभयो ।

उहाँको असोज २९ गते १० दिनको दिन काम सकियो । कामबाट निस्किएपछि घरमा टिप्ने अन्नको गेडो थिएन । धन्न मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ पाँच बोरा चामल लिएर पुग्नु भएको कारण मलामी र पाहुनालाई खुवाउने चामल भयो । अब केही दिन त्यही चामलले ती बालकहरूको चुलो बल्ने भयो । त्यसपछि के गर्ने ? केही थाहा छैन । पकाउन सामान भएर मात्र पनि के गर्नु उनीहरूलाई पकाएर खान दिने मान्छे समेत छैनन् । जेठो र माहिलो ज्याला मजदुरी गर्न हिँडेपछि घरमा दुई जना साना बालक मात्र बाँकी हुन्छन् । ‘यिनीहरूलाई पकाएर खान दिने मानिस समेत हुँदैन, सधैँ अरूले हेरिदिन पनि भ्याउँदैनन्, यी बच्चाहरू कतिखेर कहाँ पुग्छन्, कसले हेरचाह गरिदिने, कसले स्याहार गरिदिने, यिनीहरूलाई संरक्षण गरेर पठाइदिने कुनै संस्था भए हुन्थ्यो, नत्र त यिनीहरूको सडकमा बास हुने स्थिति आयो’, स्थानीय समाजसेवी शङ्कर थापा भन्नुहुन्छ ।

आफूहरूको छुट्टै व्यवहार भएकोले सधैँ सघाउन पनि नसकिने ठुलोबुबा महेन्द्र सार्की बताउनुहुन्छ । ‘आफ्नो आफ्नो व्यवहार हुन्छ, कतिखेर कहाँ पुगिन्छ, यसो परेको बेलामा त सहयोग गरौँला तर सधैँ सहयोग गर्न पनि सकिँदैन, यिनीहरूलाई संरक्षण गर्ने र हुर्काउने कुरा समस्या नै भयो’, उहाँले भन्नुभयो । डाँडा माथिकी हजुरआमा ९० वर्षीया काली सार्कीलाई बुढेसकालमा छोरो गुमाउनु परेको शोक त छँदै छ । त्यस माथि साना नातिहरूको भविष्य के होला भन्ने चिन्ता छ । ‘आफू केही गर्न सक्दिन, अचेलका बालबालिका भनेको पनि त्यति मान्दैनन्, आफैलाई कसले पकाएर खान देला, कसले स्याहार्ला भन्ने अवस्था छ, यिनीहरूको बिजोग हुने भयो’, उहाँले भन्नुभयो ।

- नवराज घिमिरे