बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति
पिँढीमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । चार/पाँच ओटा मसिना दाउरा संगेलेपछि एउटा हातले दाउरा समाएर अर्को हातले भुइँ छाम्दै घरभित्रको चुलो छेवैमा पुग्नुभयो । सलाइ चुलो छेउमै थियो । छामेरै हातमा लिनुभयो । दाउरा चुलोमा राखेर खोस्मेरा राखी सलाइ झ्वारर्र पारेर बाल्नुभयो र आगो सल्काउनुभयो । त्यतिबेला ज्ञानमति धेरै खुशी देखिनुहुन्थ्यो ।
बगनासकाली गाउँपालिका–७, खानीगाउँ मैदानबारीकी ६९ वर्षीया ज्ञानमति खाम्चाको आँखाको ज्योति गुमेको २० वर्ष बढी भइसक्यो । उहाँले यसैगरी छामछुम गरेरै जीवन गुजारा चलाउँदै आउनुभएको छ । एकातिर आँखा नदेख्ने । अर्कोतर्फ घरमा एक्लै भएका कारण उहाँले बुढेसकालको जिन्दगी कष्टकर रूपमा बिताउँदै आउनुभएको छ ।
ज्ञानमतिका पतिको मृत्यु १५ वर्ष अघि भयो । दुई भाइ छोरा र दुइ बहिनी छोरीमध्ये जेठो छोराको १० वर्ष अघि बिरामी भएर निधन भयो । कान्छा छोराले पनि आठ वर्षअघि आत्महत्या गरे । दुइ जना छोरीको विवाह भइसकेको थियो । अहिले छोरीहरू आफ्नै घरमा छन् । कहिलेकाहीँ माइत आउँछन् ।
पति र छोराहरू गुमाउने समयमै उहाँले दुबै आँखा नदेख्ने भइसक्नुभएको थियो । ५५ वर्षअघि विवाह गरेर घर भित्रँदा ज्ञानमतिले आँखा प्रष्टसँग देख्नुहुन्थ्यो । छोराछोरी पाउने अवस्थामा पनि उहाँले राम्रोसँग आँखा देख्नुहुन्थ्यो । पछि बिस्तारै आँखा कमजोर हुँदै गयो । गाउँमा लामाधामी गर्न थाल्नुभयो । बिस्तारै उहाँले आँखा देख्न छाड्नुभयो । अझै पनि अस्पताल गएर राम्रोसँग आँखा जचाउन र समस्या पहिल्याउन उहाँले पाउनुभएको छैन ।
ज्ञानमतिको घर भिरालो ठाउँमा छ । पहाडको बस्ती त्यसै पनि अप्ठ्यारो हुने नै भयो । शौचालय घरबाट टाढा छ । जान आउन समस्या छ । पानी थाप्न त्यस्तै अप्ठ्यारो । अरु बेला भन्दा पनि बिरामी हुँदा धेरै समस्या हुने ज्ञानमति भन्नुहुन्छ । बुढेसकालको एक्लो जीवन त्यसमा पनि दृष्टिबिहीन भएकोले दैनिकी बिताउन धेरै समस्या भएको ज्ञानमतिले बताउनुहुन्छ । ज्ञानमति घरमा एक्लै बस्नुहुन्छ । कहिलेकाहीँ नातिनीहरू भेट्न आउँछन् । माइतीका दाजुभाइ पनि आइरहन्छन् । घरको सरसफाइदेखि खाना पकाउने, खाने भाँडा माझ्ने लगायतका काम आफै हातले छामेर गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
बगनासकाली गाउँपालिका-७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले एकातिर दृष्टिबिहीन र अर्कोतर्फ घरमा पनि एक्लै भएकोले ज्ञानमतिको दैनिकी कष्टकर रहेको बताउनु भयो । ज्ञानमतिलाई स्थानीय सरकारको तर्फबाट हुन सक्ने सहयोग प्रदान गरिएको उहाँले बताउनु भयो । बेला बेलामा वडा र स्वास्थ्य चौकीको समन्वयमा घरमै स्वास्थ्य परीक्षण, न्यानो कपडा वितरण गरिएको उहाँले भन्नुभयो । ज्ञानमति वडा कार्यालयसम्म आउन जान समेत समस्या रहेको र भत्ता लिनका लागि बैङ्कसम्म जान पनि समस्या भएकोले उहाँलाई सहज रूपमा भत्ता पाउने र नविकरणको कार्य पनि घरमै पुगेर गर्ने गरी वडाले वातावरण मिलाएको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
- यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित फिचरहरू
बाढीपहिरो पीडितहरूको अवस्था बुझ्न अधिकारकर्मीहरूद्वारा अवलोकन (फोटो फिचर)
इन्सेक, नेपाल शान्ति संस्था र महिला एकता समाजका प्रतिनिधि सम्मिलित एक टोलीले असोज २१ गते काठमाडौँ र ललितपुरमा बाढीपीडितको अवस्था बुझ्न स्थलगत अवलोकन गरेको छ । टोलीले काठमाडौँको वङ्शीघाटमा बसोबास…
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
'न सकिन्छ गरी खान, न सकिन्छ मरी जान बुढेसकालैमा हो हो बुढेस कालैमा ।' बुद्धभुमी नगरपालिका–१, पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ ।…
‘यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने हो ?’
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’ काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नपा–११ पात्लेखेतका ५५ वर्षीय शिक्षक सदानन्द धिताल असोज १७…
उज्जवल भविष्यको चिन्तामा अभिभावक विहीन बालबालिका
बगनासकाली गाउँपालिका–३, नायरनमतलेसकी नौ वर्षीया सोनिया खाम्चाले स्थानीय सिद्धि माविमा कक्षा ४ मा पढ्नुहुन्छ । सोनियाका बुबाको निधन सात वर्ष अघि भइसक्यो । बुबाको निधन भएपछि आमाले पनि अर्कै विवाह…
संविधान प्रदत्त अधिकारबाट वञ्चित ‘बालुवाटारवासी’
‘नेपालको संविधानको भाग ३ को धारा २५ को (१) मा प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार…