बीस वर्षदेखि छोराको प्रतिक्षामा छन् बेपत्ता पारिएका व्यक्तिका परिवार

२०८० मंसिर १

छोरो बेपत्ता परिएको २० वर्ष भयो । तर पनि अझै मानबहादुर र धनकुमारी मगर भने छोरोको प्रतीक्षामा नै हुनुहुन्छ । रामेछापको सुनापति गाउँपालिका-३, हिलेदेवीका राजकुमार थापा मगरलाई सशस्त्र द्वन्द्वको बेलामा राज्य पक्षबाट बेपत्ता पारिएको २० वर्ष भयो । तर अझै उहाँको पत्तो लागेको छैन ।

एसएलसी परीक्षा दिने बित्तिकै २०५९ सालबाट माओवादी पार्टीमा लाग्नुभएका राजकुमारलाई २०६० सालको अन्तिम तिर गिरफ्तार गरेको थियो । सुरक्षाकर्मीले सिन्धुपाल्चोकको पिस्करबाट उहाँलाई गिरफ्तार गरेको हो । हातहतियार तथा खरखजाना मुद्दामा १० महिना जेल सजाय सुनाइएका मगरलाई सिन्धुपाल्चोक कारागारमा राखिएको थियो । सिन्धुपाल्चोक कारागारले राजकुमारलाई जेलसारी गरेर काठमाडौँ पठाएको अनौपचारिक जानकारी दियो । तर राजकुमार सिन्धुपाल्चोक जेलबाट निस्किएको वा निकालिएको कसैले थाहा पाएनन् । उहाँलाई निकालिएको कुरा न कुनै अभिलेखले प्रमाणित गर्छ ।

Photo_080-8-1_Ramechhap

उहाँका बुबा मानबहादुर मगरले २०६१ सालको जेठ महिनामा छोरालाई सिन्धुपाल्चोक कारागारमा भेट्नु भएको थियो । त्यसपछि पुनः मङ्सिर महिनामा भेट्न जानुभयो । त्यसपछि द्वन्द्व अझ चर्किएकाले उहाँ सिन्धुपाल्चोक जान सक्ने अवस्था भएन, छोराको कुनै खोजी गर्न सक्नु भएन । एकै पटक शान्ति सम्झौतापछि छोराको हालचाल बुझ्दा छोरो जेलमा नभएको खबर आयो । ‘जेलमा छैन भन्ने खबर आयो, छुटेर कहाँ गयो ? कसैले भन्दैन, जेलबाटै बेपत्ता पारियो’, मानबहादुरले भन्नुभयो । छोराको पर्खाइमा बसेको २० वर्ष भयो । तर न छोरो आउँछ, न मारिएको औपचारिक खबर नै आउँछ । ‘कुखुराको चल्लो हराउँदा त खोजी हुन्छ, हाम्रो त मान्छे हराएको २० वर्षमा पनि खोजी भएन’, राजकुमारकी आमा धनकुमारीले भन्नुभयो ।

छोरो फर्केला भन्ने आस बिस्तारै उहाँहरूको मनबाट धमिलो हुँदै गएको छ । ‘२० वर्ष भयो, बाँचेको भए त घर सम्झिएर आउनु पर्ने नि, तै पनि आमाको मन हो लास न देखुञ्जेल सासको आस, अहिलेसम्म यहाँ मारियो भनेर कसैले भनेका छैनन्, तै फर्किएर आउँछ कि भन्ने धमिलो आशा अझै बाँकी त छ’, धनकुमारीले भन्नुभयो । शान्ति प्रक्रिया सुरु भएपछि राज्य र पार्टी मार्फत मानबहादुरले छोराको खोजी नगर्नु भएको पनि होइन । तर कसैले उहाँको अवस्था बारे सही खबर दिएनन् । खबर नदिएको भन्दा पनि दिन नचाहेको जस्तो लाग्छ मानबहादुरलाई । ‘त्यति बेलाका विद्रोही र सत्ता पक्ष अहिले दुवै एकै ठाउँमा छन्, दुवै थरी मुख जोडेर बसेका छन्, चाहने हो भने सत्य तथ्य बाहिर ल्याउन सकिहाल्छन् नि, न चाहेर हो, उनीहरूका छोरा–छोरी हराएको भए पो खोजी हुन्थ्यो, सर्वसाधारण दुनियाँका छोरा–छोरी हराएका छन्, उनीहरूलाई के चासो’, मानबहादुरले भन्नुभयो ।

Photo_080-8-1_Ramechhap2

देश शान्ति प्रक्रियामा गएपछि बेपत्ता पारिएकाहरूको खोजी होला, सहिद परिवारको सम्मान होला भन्ने विश्वास मानबहादुर र धनकुमारीलाई थियो । तर सत्तामा पुगेपछि सहिद र बेपत्ता परिवारको स्वयम् त्यति बेलाको युद्धरत पार्टीले नै अपमान गरेको उहाँहरूको गुनासो छ । दुनियाँका छोराछोरीको रगत किनेको जस्तो व्यवहार हुन लागेको उहाँहरूको गुनासो छ । ‘राज्यले सहिद र बेपत्ता परिवारलाई १० लाख रुपियाँ दियो, हाम्रा सन्तानको रगतको मूल्य १० लाख जस्तो पो भयो, त्यो १० लाख रुपियाँ नलिनु पर्ने रहेछ, अहिले गल्ती गरियो जस्तो लाग्छ, १० लाख रुपियाँमा यता उता गरियो सक्किहाल्यो, अहिले तिमीहरूलाई १० लाख रुपियाँ दिएको छ त भन्ने जस्तो व्यवहार पो गर्छन्’, मानबहादुरले गुनासो गर्नुभयो ।

अहिले घरमा मानबहादुरका दम्पती मात्रै हुनुहुन्छ । छोरी विवाह भएर आफ्नो घर जानुभयो । कान्छो छोरो पत्नी सहित काठमाडौँ तिरै बस्नु हुन्छ । ‘घरमा जम्मा दुई जना पति पत्नी छौँ, त्यही छोराको शोकले बुढी सधैँको बिरामी जस्ती भएकी छ, लामो समयसम्म काउन्सिलिङ गर्नु पर्‍यो, डिप्रेसनमा जानबाट धन्न जोगिएकी छ’, मानबहादुरले पारिवारिक समस्या सुनाउनुभयो । अहिले फेरी धनकुमारी लडेर घाइते हुनुभएको छ । उहाँको एउटा हातको पातो नै खुस्किएको छ । ‘मनमा शान्ति छैन, मन भरी पीडा छ, के के हुन्छ के के, काल पर्खन पनि गाह्रो भयो’, धनकुमारीले भन्नुभयो ।

राजकुमारको खोजी गर्न र पीडकलाई कारबाहीको माग गर्दै पीडित परिवारले बेपत्ता पारिएकाहरूको छानबिन आयोगमा उजुरी पनि गर्नुभयो । तर सुनुवाइ भएन । ‘हाल्न त त्यति बेलाका प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नै उजुरी हालियो नि, प्रधानमन्त्री उहाँ नै हुनुहुन्थ्यो, त्यसैले घटनाको जिम्मा उहाँले नै लिनु पर्छ भनेर उहाँको विरुद्ध उजुरी हालियो, तर खोइ सुनुवाई भएन’, मानबहादुरले गुनासो गर्नुभयो । उहाँहरूले मानव अधिकार अयोगमा पनि उजुरी दिनुभयो, खोजीको लागि पहल गरिदिन विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थामा पनि धाउनुभयो । तर अहँ, कतैबाट राजकुमारको पत्ता लागेन ।

Photo_080-8-1_Ramechhap3

सरकारले त पीडितलाई सामान्य सान्त्वना पनि दिएन । १० लाख रुपियाँ दिएर एक खालको दम्भ देखायो । मृतक र बेपत्ताको मूल्य तोके जस्तो व्यवहार गर्‍यो । ‘बरु आइसीआरसी लगायत मानव अधिकार संस्थाका मानिसहरू भेट्न आए, अहिले पनि के छ ? कसो छ ? भनेर भेट्न र सोध्न आउँदै छन्, राज्य त कहाँ हो कहाँ हो, कुनै पत्तो छैन, आफ्नै पार्टीका मान्छेहरू समेत नदेखेजस्तो गरी हिँड्छन्’, मानबहादुरको गुनासो छ । राजकुमार जीवित नै फर्कने सम्भवपन मर्दै गएको छ बुबाआमाको मनमा । राज्यले छानबिन गरेर यथार्थ सार्वजनिक गरिदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ । राज्यबाट त्यही काममा ढिलाइ भएको प्रति उहाँहरूको आक्रोस छ । ‘मान्छे हराएको पो हो त, खोजेर अवस्था सार्वजनिक गरिदिनु पर्दैन ? कम्तीमा मारिएको भनेर सार्वजनिक गरिदिए पनि आफ्नो रीतिथिति अनुसार काजक्रिया त गर्नु हुन्थ्यो, त्यो गर्न पनि पाइएन’, मानबहादुरले भन्नुभयो ।

यसरी माओवादी बन्नुभएको थियो राजकुमार

राजकुमार गाउँबाट झण्डै एक घण्टा टाढाको पशुपति मावि, साँदीडाँडामा अध्ययन गर्न जानुहुन्थ्यो । माओवादीले २०५२ सालबाट नै सशस्त्र द्वन्द्व सुरु गरिसकेको थियो । रामेछापको बेथान प्रहरी चौकीमा माओवादीले २०५३ सालको पुसमा सशस्त्र आक्रमण गरेर प्रहरीको हत्या गरी हतियार कब्जा गरेको थियो । हिलदेवी र बेथान गाविससँगै जोडिएको थियो । माओवादीले रामेछापको गाल्पा पारीको क्षेत्र आफ्नो आधार इलाका जस्तै बनाएका थिए । २०५७/०५८ तिर माविमा पढ्ने राजकुमारलाई विद्यालय आउँदा जाँदा माओवादीले नभेट्ने कुरै भएन ।

माओवादीले विद्यालयमा पनि विद्यार्थीको कमिटी बनाएका थिए । कमिटीमा माओवादीले राखेका थिए कि थिएनन् भन्ने मानबहादुरलाई यकिन त छैन तर माओवादी र विद्यार्थी सङ्गठनको कार्यक्रममा राजकुमार पक्कै सहभागी हुनुहुन्थ्यो भन्ने विश्वास मानबहादुरलाई छ ।

राजकुमार माओवादीमा लग्नै पर्ने कारण चाहीँ नेपाली कांग्रेस नेतृत्वको तत्कालीन स्थानीय तह बन्यो । हिलेदेवीमा त्यतिबेला गाविस अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । गाउँ नजिकै खुलेको प्राथमिक विद्यालयमा बजेट विनियोजन गर्ने विषयमा मानबहादुर र तत्कालीन गाविस अध्यक्षको विवाद भयो । सोही विवादको विषयलाई लिएर तत्कालीन गाविस अध्यक्षले एसएलसीको परीक्षा दिएर राजकुमार समेतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा हाल्नुभयो । त्यसपछि राजकुमारको तारेख सुरु भयो । हरेक महिना जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने भयो तारिख बोक्न । यो बिचमा राजकुमार दुई तिरको चेपुवामा पर्नुभयो । एकातिर सरकारी तारिख खेप्न महिनै पिच्छे सदरमुकाम धाउनु पर्ने, अर्कोतिर सदरमुकाम धाउन लागेपछि सुराकीको काम गर्न सक्ने भन्दै माओवादीको दबाब । दुई तिरको दबाबको बिचमा राजकुमारले माओवादी नै रोज्नुभयो र माओवादीको भूमिगत राजनीतिमा लाग्नुभयो । राजकुमार माओवादीमा लाग्नुभएपछि सिन्धुपाल्चोक खटिनुभयो । भूमिगत राजनीतिमा लागेको एक वर्ष नपुग्दै गिरफ्तारीमा पर्नुभयो । राजकुमारले न राजनीतिक परिवर्तन भएको देख्न पाउनुभयो । न फर्किएर घर आउन नै भ्याउनुभयो ।

छोरो परिवर्तनको लागि भनेर लड्यो, व्यवस्था परिवर्तन पनि भयो तर मानबहादुर र धनकुमारीको अवस्थामा केही परिवर्तन आएन । उही गाउँकै घर, खेतीपाती, हातमुख जोर्न बुढेसकालमा पनि त्यतिकै नङ्ग्रा खियाउनु परेको छ । ‘दुःख नगरी खान पाइँदैन, हराउने हराए पनि बाँच्नेले त खानै पर्‍यो, बुढेसकालमा पनि हामीले सुख पाएका छैनौँ, हाम्रा छोरा जस्ता धेरै नेपाली छोराहरूको रगत र मेहनत त्यतिकै खेर गयो जस्तो पो लाग्छ आजकल’, मानबहादुरले भन्नुभयो ।

मानबहादुरलाई छारो बेपत्ता भएको चिन्ता त छँदै छ, त्यस माथि बिस्तारै पत्नीको चिन्ता पनि थपिँदै गएको छ । ‘पत्नी रोगी हुँदै गइन्, त्यही छोराको चिन्ता पनि भयो, हिँड्दा हिँड्दै लडेर खकालो नै खुस्काइन्, यसको आराम गर्ने बाहेक अरू कुनै उपचार पनि हुँदैन रे, पातो नै खुस्केको छ, रोगमाथि रोग थपियो, बुढेसकालकी साथि पत्नी पनि रोगी भइन्, दुःखमाथि झन् दुःख थपिँदै गएको छ, अझै कति भोग्नु पने हो’, उहाँले सुनाउनुभयो ।

मानबहादुर र धनकुमारीको जीवनमा अब कुनै ठूलो इच्छा छैन, अनि उत्साह र उमङ्ग पनि । उहाँहरूको एउटै इच्छा छ– आफ्नो जीवन कालमा छोराको अवस्था सार्वजनिक होस् भन्ने । ‘मरे बाँचेको जे भए पनि अवस्था सार्वजनिक होस् र दोषीलाई कारबाही होस्, हाम्रो इच्छा त्यति हो, अरू केही छैन’, धनकुमारीले भन्नुभयो ।

Photo_080-8-1_Ramechhap1

- नवराज घिमिरे